+
+

प्रकाश सपुतको ‘परदेशी २’को टिजर : अमेरिकी सपनाले सम्बन्धमा पारेको असरको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १३:४७

काठमाडौं । सात वर्षअघिको व्यावसायिक सफल फिल्म ‘परदेशी’को दोस्रो श्रृंखलाको टिजर शुक्रबार सार्वजनिक भएको छ । २ मिनेट ४० सेकेन्ड लामो टिजरमा नेपाली युवापुस्ता माझ हुर्किएको अमेरिकी सपनाले सामाजिक सम्बन्धमा पारेको असरको कथा भन्छ ।

यही फिल्मबाट अभिनयमा डेब्यु गरेका गायक प्रकाश सपुतलाई मुख्य भूमिकामा चित्रण गरिएको फिल्म उनकै वरपर घुम्छ । अघिल्लो श्रृंखलामा मुख्य भूमिकामा देखिएका पूर्व इण्डियन आइडल प्रशान्त तामाङलाई भने यसपटक छोटो भूमिकामा खुम्च्याइएको छ ।

दिलीप रायमाझी, केकी अधिकारी र वर्षा सिवाकोटीलाई समेत टिजरमा चित्रण गरिएको छ । संगीतकार समेत रहेका नारायण रायमाझी निर्देशित फिल्मले टिजरमार्फत आगामी असोज १४ गतेलाई आधिकारिक प्रदर्शन मितिको रुपमा समेत घोषणा गरेको छ ।

परदेश पुगेकाहरुको कथा–व्यथालाई प्रस्तुत गरिएको टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व र गीतको मिश्रण छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा ‘गोर्खापल्टन’ निर्माता राजेश वंशल र नारायण रायमाझीले फिल्म निर्माण गरेका हुन् ।

कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बीजीले लेखेका हुन् । फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

बीबी अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?