+
+

तीन शिर चुम्ने हुटहुटी र बादलमा हराएका सपना

काशीराज भण्डारी काशीराज भण्डारी
२०७९ असार २५ गते १५:४५

माछापुच्छ्रे  र अन्नपूर्ण चौथो हिमालको बीचमा कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित तीन शिर भनिने पवित्र स्थान छ । हिन्दू धर्मावलम्बीमा भगवान शिवले गंगाजीलाई आफ्नो जटामा थापेर वेग साम्य पारेको स्थान तीन शिर यही हो भन्ने विश्वास छ । त्यस्तै शिवको जटा हुँदै स्वर्गबाट मर्त्यलोकमा झरेकी गंगा यही स्थानबाट तीनतिर बगेकी छन् भन्ने विश्वास पनि रहेछ ।

शिवको जटाबाट पृथ्वीमा ओर्लंदा तीन धारा भएर बग्ने भएकाले गंगा नदीको नाम त्रिपथगा रहेको जनश्रुति छ । तीन शिरबाट झरेका तीन धारामध्ये शुक्लागण्डकी (वा पोखराको मध्यभाग भएर बग्ने सेती नदी) र मादी नदी दक्षिणतिर बहेका छन् भने उत्तरतर्फ बगेको धारा कालीगण्डकीमा मिल्छ भन्ने स्थानीयको विश्वास छ ।

वि.स.२०५४ सालसम्म जनैपूर्णिमाको अवसरमा तीर्थालुहरु जोखिम मोलेर भएपनि तीन शिरमा जाने गरेका तर बुंगाखर्क र माछापुच्छ्रे शिखरको फेदमै रहेको रानीखर्कको बीचमा पर्ने डाङडुङे भीरमा दुर्घटना भएपछि तीर्थालुहरु जाने क्रम रोकिएको भन्ने स्थानीयबाट हामीले थाहा पायौं ।

विष्णु भगवानले मधुकैटव दैत्यलाई समुद्रमा काखीमाथि राखेर मारेपछि उनीहरुको हाडबाट हिमालय र अन्य पर्वतमालाहरु बनेको स्कन्दपुराणमा उल्लेख छ । भगवान शिवकी अर्धाङ्गिनी पार्वतीकी पिता र ऋषिमुनीहरुको तपोभूमिको रुपमा हिन्दु धर्मावलम्बीहरुले हिमालय पर्वतलाई मान्दछन् ।

भूर्गभविदहरु भने दक्षिण तर्फबाट निरन्तर उत्तरतर्फ सरिरहेको इन्डो–अष्टेलियन प्लेट र उत्तरको युरेसियन प्लेट करिब ५ करोड ५० लाख वर्षअघि जुध्दा यहाँ रहेको टेथिस सागरमुनिको भाग उठेर हिमालय पर्वतमालाको निर्माण भएको मान्दछन् ।

जे भएपनि हिन्दू धर्ममा आस्था राख्ने सबै र हामी नेपालीमाझ हिमालय पर्वत श्रृंखलाको विशिष्ट महत्व छ । पर्यटन, जलस्रोत, प्राकृतिक तथा जैविक र साँस्कृतिक विविधताका हिसाबले अत्यन्तै महत्वपूर्ण यो पर्वतमाला पाकिस्तान, भारत, नेपाल, चीन र भुटानमा गरी करिव २४०० किलोमिटर लामो छ । सगरमाथा लगायतका आठ हजार मिटर भन्दा अग्ला धेरै हिमशिखर हिमालय पर्वतमै पर्नै भएकाले हिमालय पर्वतलाई पर्वतारोहण र पदयात्राका लागि विश्वमै अग्रणी मानिन्छ ।

पदयात्रीमाझ अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै स्थानहरु र पदमार्गहरु प्रख्यात छन् । तर विकासको नाममा अदूरदर्शी र जथाभावी निर्माण गरिएका कच्ची सडक मार्गहरुका कारण केहीे पदमार्ग छोट्टिएका छन् भने केहीको अवसान भइसकेको छ ।

तथापि यस क्षेत्रमा वैकल्पिक पदमार्ग मात्र नभई धार्मिक पर्यटकहरुका लागि पनि आकर्षक स्थान तीन शिर पनि हुन सक्ने भएकाले जेठ महिनाको तेस्रो हप्तामा गण्डकी प्रदेशको नेपाल पर्वतारोहण संघ र नेपाल पर्यटन बोर्डको पहलमा शुक्लागण्डकी र मादी नदीको मुहान अर्थात् तीन शिरको अन्वेषण गर्ने जमर्को गरेर माछापुच्छ्रेको फेदतर्फ हामी उक्लंदै थियौं । सहभागीहरुलाई हिमनदी पार गर्ने तालिम दिने र तीन शिरलाई साहसिक र धार्मिक गन्तव्यको रुपमा पहिचान गर्ने हाम्रो मुख्य ध्येय थियो ।

यसवर्ष मनसुन अलि चाँडै सुरु भएर हिमाल र डाँडाकाँडालाई बादलभित्र लुकाइसकेको थियो । तर लेकमा अलि पानी कम पर्छ, हामी यसै वर्ष जानुपर्छ भनेपछि नेपाल पर्वतारोहण संघ (गण्डकी) का अध्यक्ष शेषकान्त शर्माको अगुवाइमा सगरमाथा आरोही एकजना शेर्पा, कास्कीको घाचोक गाउँका उत्साही स्थानीय र सहयोगीसहित २२ जनाको टोली घाचोकको टुसेबाट हिलेखर्क, खुमई हुँदै बुंगाखर्क पुगिसकेको थियो ।

विशेष परिस्थितिका कारण उनीहरुसँग जान नसक्ने हुँदा मैले शुक्लागण्डकीको किनारमा अवस्थित करुवा गाउँबाट हिंडेर पिलिचो र पिप्रहर हुँदै बुंगाखर्कमा उनीहरुलाई दुई दिनपछि भेट्ने योजना बनाएको थिएँ ।

करुवाबाट ठाडै उकालो, बर्षायामका घाँस र झारपातले ढाकिएको जुकाको साम्राज्य छिचोलेर पहिलो रात पिलिचो भन्ने स्थानमा पुग्यौं । करुवादेखि अगाडि कुनै मानव वस्ती छैन । यहाँ भेडीगोठ जस्तो सेल्टर टान पोखराको पहलमा बनेको रहेछ ।

मसंगै पथप्रदर्शक र भरिया बनेर गएका बम तामाङले भाङ्ग्राबाट खुर्पा निकालेर गोठभित्रका दाउरा चिरेर आगो बाले अनि वर्षाको पानी जम्मा भएको भाँडोबाट पानी ल्याएर उमाले । करुवा गाउँबाट लगेको खाना खाएर स्लिपिङ ब्याग ओढेर सुत्यौं ।

भोलिपल्ट बिहानै उठेर हामी पिप्रहर खर्क जान हिंड्यौ । सिमसिम पानी परिरहेको थियो । नाकको डाँडी ठोक्किने उकालो करिव ३ घण्टा हिंडेपछि बादलले ढाकेको पिप्रहर खर्कमा पुग्यौं । खर्क बाबियो र रङ्गीचङ्गी फूलले ढाकिएको थियो भने वरपर गुराँसका बुटाहरु थिए । यहाँ पनि भेडीगोठ र सानो पोखरी रहेछ ।

३२०० मिटरको उचाइमा रहेको पिप्रहरबाट सफा मौसममा उत्तरतर्फ हिमाल र दक्षिणतर्फ पोखरा उपत्यका अलौकिक देखिने रहेछ । हामीले त्यहाँ भेडीगोठ भित्रका दाउरा बलेर पोखरीको पानी उमालेर चाउचाउ पकायौं, साथमा पाउरोटीको ब्रेकफास्ट खायौं ।

त्यस दिन हामी बुंगाखर्क पुग्नैपर्ने भएकाले रेनकोट ओढेर फेरि उकालो चढ्यौं । झरी र बाक्लो बादलले हिमाल त के २०÷३० मिटर अगाडिका दृश्य पनि केही नदेखिने । चकमन्न, न बस्ती छ न मानिसको आवतजावत ।

राम्रो मौसममा मोबाइल फोन लाग्ने भएपनि बादलले वातावरण ढाकेपछि नलाग्ने भएकाले संसारसंग एक किसिमले हाम्रो सम्पर्कविच्छेद भएको थियो । बुंगाखर्कमा टोलीका साथीहरु कुरिरहेका छन् कि अगाडि बढिसके केही पत्तो छैन । कथंकदाचित उनीहरु अगाडि गइसकेको भए के गर्ने विकल्प थिएन । खानेकुरा र सुत्ने पाललगायत सामाग्रीहरु सबै उनीहरुसंग थिए, हामीसंग खानेकुरा पनि थिएन र बुंगाखर्कमा भेडीगोठ सेल्टर केही नभएकाले बस्ने ठाउँको पनि टुंगो थिएन ।

अघि बढ्दै जाँदा अझ धेरै भिराला खर्कहरु भेटिए । बादलले ढाकेका खर्क अनि स–साना निला, पहेँला, सेता फूलहरुले ढकमक्क ढाकिएका खर्कहरु अलौकिक देखिन्थे । लेकका प्राकृतिक बगैंचामा हिँड्दा बाक्लो कार्पेटमा हिंडे जस्तो लाग्ने, बादलमाथिको स्वर्ग जस्तो !

अलि माथि पुगेपछि पानी दर्कन थाल्यो, हामी गुराँसको फेदको ओढारमा ओत लाग्यौं । बम भाइले ‘म बुंगाखर्क ५ वर्षअघि गएको हो, सफा मौसममा त बाटो चिन्थें तर यस्तो खराब मौसममा त बाटो चिन्दिन होला’ भनेपछि मनमा चिसो पस्यो ।

पानी बिदा हुने छाँटकाँट नदेखिएपछि र बुंगाखर्कमा साथीहरु नभेटिने आशंका भएपछि तत्क्षण पिप्रहर खर्क फर्कने निधो गर्‍यौं । तीन शिर जाने मेरो सपना बादलमा हरायो, केवल कल्पनामा मात्र सीमित रहने भयो ।

हामी बाँकी पाउरोटी र चाउचाउको सुप खाएर अलि झकाएका मात्र के थियौं राति १०.३० बजे पानीमा भिज्दै र ओरालो चिप्लो भीरमा लड्दै पड्दै शेषकान्त शर्मा एकजना भरिया साथी लिएर हामीलाई खोज्दै पिप्रहर आइपुग्नु भयो ।

उहाँले टोलीलाई डाङ्गडुङ्गे भीर पार गर्न बिहानै पठाएको तर भीरमा पहिरो निरन्तर गइरहने भएकाले र उपकरणको सहयतामा पनि पार गरेर रानीखर्क जाने संभावना नभएकाले तीन शिरको मिसन परित्याग गर्नुपर्नै अवस्था आएकोले भीरमा गएको टोली फर्केपछि राति ८ बजे हामी अलपत्र र भोकै हुनसक्ने आशंकामा खोजीमा भेडीगोठ चहार्दै पिप्रहर आउनुभएको रहेछ ।

तीन शिर पहिचान गर्ने अभियान सफल नभएकोमा हामी दुखित थियौं । भोलिपल्ट शेषकान्तजीले खर्कभरि सर्पको मकै भनेर चिनिने तर अलि होचो, गुलाफी रङ्गको फुलेको र ठ्याक्कै सर्पकै जिब्रो जस्तो देखिने वनस्पति देखाउंदै ‘यो कोब्रा लिली प्लान्ट हो’ भनेर चिनाउनुभयो ।

जंगली जिरानियम, भायलेटका विभिन्न प्रजातिहरु, विख (एकोन्टिम स्पिकाटम), प्राइमरोज आदि र आयुर्वेदमा महत्वपूर्ण मानिने औषधियुक्त वनस्पति खर्कमा प्रशस्त पाइने रहेछ । शेषकान्तजीसंग पर्वतारोहणको गहन ज्ञान त छँदैछ पर्यटनमा असाध्य महत्व राख्ने फ्लोरा र फौना (वनस्पति र प्राणी)को बारेमा पनि जानकारी भएकाले पिप्रहरको लेकमा फुलेका फूलहरुको अघाउन्जेली दृश्यस्वादन गर्यौं ।

उपयुक्त मौसममा फेरि तीन शिरको साहसिक उपक्रम गर्ने अठोट गर्दै हामी तेस्रो दिनमा फेरि करुवा गाउँ झर्यौं ।

लेखक नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?