+
+

पानीघट्टमा लाहुरेसँग विहे गरेकी ब्राम्हण युवतीको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते १९:२८

२५ असार, पोखरा । गह्रौं भारी बोकेर एकाबिहानै महिलाहरु उँधो झर्छन् । तल खोला किनारमा पानीघट्ट छ । घट्टमा आआफ्नो सामल कुटिइसकेपछि ती महिलाहरु गाउँ फर्किन्छन् ।

तिनै महिलामध्ये एकजना ब्राह्मण समुदायकी हुन्छिन् । गुरुङ समुदायले घेरिएको ठाउँमा ती युवती एकजना गुरुङ समुदायको प्रेममा पर्छिन् । दुखम्सुखम् परिस्थिति सामना गर्दै बिहेबारी गर्छन् । बिहेको केही समयपछि नै ती युवक लाहुर पस्छन् । र, परदेशमै ज्यान गुमाउँछन् । यता अन्तर्जातीय बिहे गरेकी ती महिला एक्लो बन्छिन् ।

बाल्यकालमा पानी घट्टबाट सुरु हुने प्रेमकथाबाहेक प्राञ्जलीले अर्को पनि अनुभव गर्न पाए । लाहुरे संस्कृतिले छपक्कै गाँजेको स्याङ्जामा गुरुङलगायत जनजाति समुदाय सानैदेखि शारीरिक सुगठनमा बढी ध्यान दिन्थे भने ब्राह्मण, क्षत्री समुदाय भने लोकसेवा ताकेर बस्थे । एकै ठाउँ, एकै समाजमा बसोबास गरेता पनि केही न केही फरक थियो ।

यो स्याङ्जाका लेखक सुरेश प्राञ्जलीले आफैंले भोगेको र सुनेको दृश्य हो । यो स्मृति लामो समयसम्म उनको मनस्पटलबाट हराएन । बरु बेलाबेला झस्काइरह्यो । तिनै बाल्यकालका स्मृति, सामाजिक व्यवस्थाबारे एउटा किताब निकाल्ने सोचे । त्यसपछि जन्मियो, पानीघट्ट ।

उक्त कृतिको शनिबार पोखरामा विमर्श गरिएको छ । लेखक प्राञ्जलसँग हसिना बस्नेतले कृतिबारे अन्तरंग कुराकानी गरिन् । त्यसका क्रममा उनले पानीघट्टको रचनागर्भ सुनाएका हुन् । उनले आफ्नो कृतिमा दुई फरक समुदायको सामाजिक अन्तरघुलनलाई समेट्न खोजेको बताए ।

‘कृतिमा मेरा काल्यकालसँग जोडिएका धेरै स्मृतिहरु जोडिएका छन् । त्यहीबेला एकजना युवतीले गुरुङ समुदायको युवकसँग बिहे गर्नुभयो । तर, उहाँको पछि लाहुरमै भएको बेला देहान्त भएको खबर आयो’, प्राञ्जलीले भने, ‘त्यतिबेला भाउजुको मनमा के खेल्यो होला भन्ने पछिसम्म मनमा खेलिरह्यो । उहाँको आँखाबाट पीडामात्रै बग्यो होला कि अरु पनि केही चिज बन्ने लागिरह्यो । पानीघट्ट त्यसकै वरिपरि छ ।’

पानीघट्टमा प्राञ्जलीले सामाजिक अन्तरघुलन र विभेदको विषयलाई मूल मुद्दा बनाएको उल्लेख गरे । उनले आफूले टेके, हिँडेको ठाउँको कथा लेखेका कारण ब्राहमण, क्षेत्री र गुरुङ समुदायलाई मुख्य मुद्दा बनाएको बताए ।

‘कथा लेख्दा कुन समाजको कुन कथा भन्ने भन्नेले धेरै फरक पार्दो रैछ । समाजको जातीय रेखा, सांस्कृतिक अन्तरघुलन रेखा मेट्नका लागि पनि मलाई यो लेख्न आवश्यक थियो’, उनले भने, ‘त्यसमाथि गुरुङ समुदायको संस्कृति विशिष्ट प्रकारको संस्कृति हो र यसलाई मूलधारको साहित्यमा ल्याउनुपर्छ भन्ने लागेर यही विषय रोजेको हुँ ।’

लेखक प्राञ्जलीले पानीघट्टमा सामाजिकसहित लैंगिक मुद्दालाई पनि मुख्य मुद्दा बनाएका छन् । समाजको विभेद देखाउन महिला पात्र नै हुनुपर्ने हो ? बस्नेतको प्रश्नमा उनले भने, ‘समाजको अन्तरघुलनलाई पुरुषले भन्दा महिलाले गम्भीर रुपमा बुझेका हुन्छन् जस्तो लाग्छ ।’ उनले जुनसुकै समाजमा पनि पुरुषभन्दा महिला नै बढी विभेदको शिकार हुनु परेको बताए ।

आफूले समाजमा देखेको सामाजिक र लैंगिक विभेदबारे पानीघट्टमा उतारेको लेखक प्राञ्जलीको भनाइ छ । ‘उहिले र अहिले सोचाइमा केही वृहतता आएको छ । तर, स्वरुप परिवर्तन भए पनि विभेदको स्थिति उस्तै छ,’ उनले भने ।

पानीघट्ट कृतिमा जुनमाया पात्रलाई मुख्य पात्र बनाएका छन् । ती पात्रकै वरिपरि रहेर कथा बुनिएको छ । ‘कथामा जुनमाया रुन्छे । तर, रोएपनि ऊ हरेक रुवाइबाट ऊर्जा प्राप्त गर्छे । उसको रुवाइ समाजप्रतिको निर्ममता पनि हो’, उनले भने, ‘समाजमा सुखभन्दा बढी दुख छ । समाजको कथा लेख्दा आँसु लेखिनु स्वभाविक हो ।’

लेखक गनेस पौडेलले कृतिमा जुनमायासँगै सामाजिक संस्कृति, लैंगिक विभेद, महिला हुनुका पीडासँगसँगै खुसीका हरफहरु आएको समीक्षा गरे । ‘समाजको मिहीन ढंगले अध्ययन गरेर कथा तयार पारिएको छ । समाजको सांस्कृतिक, धार्मिक, लैंगिक, आन्तरिक अन्तरघुलन सबै कथामा अटाएका छन्’, उनले भने ।

हसिना बस्नेतले पानीघट्टमा आफ्ै बाल्यकाल भेटेको बताइन् । उनले भनिन्, ‘त्यतिबेलाका ससाना प्रसंगहरुको पनि उल्लेख गरिएकोले कथा आफ्नै हो कि, मेरै अलिखित डायरी हो कि भन्ने पनि पढ्नेबेला लागिरह्यो ।’

प्राञ्जलीको पानीघट्ट दोस्रो कृति हो । यसअघि उनको तुइन नामक कृति प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?