+

कुपोषण जितेका छोराको भविष्य खोज्दै श्यामलाल

२०७९ असार  २७ गते १४:१८ २०७९ असार २७ गते १४:१८
कुपोषण जितेका छोराको भविष्य खोज्दै श्यामलाल

२७ असार, रोल्पा । रोल्पा नगरपालिका-४ लिवाङका श्यामलाल विकको उमेर ५० वर्ष भयो । उनका दुई छोरा विवेक र विकास सानै छँदा कुपोषणमा परे ।

दुई छोराको उपचार र स्याहारमा उनलाई लामो समय खर्चनु पर्‍यो । अहिले दुवै छोराको कुपोषणमा सुधार त आएको छ तर कुपोषणबाट उत्रिएका छोराहरूको भविष्य खोज्न भौतारिन्छन् उनी ।

अहिले जेठो छोरो विवेक सात वर्ष र कान्छो छोरो विकास छ वर्षका भए । दुवै छोरालाई कुपोषण भएपछि उनीहरूको जीवन रक्षाका लागि हारगुहार गरे । अन्ततः एक संस्थाले उनीहरुलाई पोषण गृहमा राखेर उपचार र स्याहार गर्न सहमत भयो । उनले सोही संस्थाको सहयोगमा छोराहरुलाई करिब एक वर्ष दाङमा रहेको पोषण सुधार गृहमा राखे ।

पोषण सुधार गृहमा राखेको छ महिनाभित्रै जेठो छोरा विवेकको कुपोषणमा सुधार आयो । कान्छो छोरा विकास भने अहिले पनि अपाङ्गता जस्तै छन् । छ वर्ष उमेर पार गरिसकेका उनी राम्रोसँग हिँडडुल गर्न सक्दैन । हात खुट्टा समेत राम्रोसँग चल्दैनन् । ‘दुवै छोरा कुपोषणबाट मुक्त त भए तर उनीहरूको साँझ बिहान हातमुख जोर्न ज्यालामजदुरी गर्छु’ श्यामलालले भने, ‘अन्तपात उब्जनी हुने जग्गा छैन, मागेर कति दिन चल्छ र ? त्यसैले काम खोज्दै भौतारिन्छु ।’

उनले अघि भने, ‘काम नखोजे के खाएर बाँच्ने, त्यसैले कान्छो छोरालाई दिनभरी घरको कोठामा थुनेर काममा जान्छु । कहिलेकाँही त बिहान निस्केको एकै चोटी बेलुका फर्कनु पर्छ । त्यस्तो बेला दिसापिसाबले घेरिएरको हुन्छ ।’

घरमा खानेकुरा नभएकाले अझैं पनि उनका छोराहरू दिनभरी भोकभोकै बस्छन् । ‘काम गरेको पैसाले साँझ बिहान छाक टार्न धौधौ हुन्छ अनि कसरी दिउँसोको नास्ता पुर्‍याइदिउँ,’ श्यामलालले भने ।

आमा अप्सरा विकले अर्को विवाह गरेपछि छोराहरू सानै उमेरमा अलपत्र परे । कान्छो छोरा विकास १ वर्ष नपुग्दै अप्सरा घरबाट निस्किएकी थिइन् । ‘श्रीमतीको खोजतलास गरेँ तर पत्ता लगाउन सकिनँ’ श्यामलालले भने, ‘अर्को विवाह गरेर गएको भन्ने खबर गाउँलेहरुबाट थाहा पाएँ ।’

कुपोषणबाट उत्रिएका छोराहरुको भविष्य खोज्न बिहानै कम्मरमा नाम्लो कसेर निस्कन्छन श्यामलाल । नाबालक छोराहरुलाई पालनपोषण गर्ने र पढाउने जिम्मा आएपछि जेठो छोरालाई गाउँकै विद्यालयमा  भर्ना पनि गरेका छन् उनले । ‘किताब नि:शुल्क पाएपनि विद्यालय पोशाक र कापी कलमका लागि खर्च जुटाउनु पर्छ,’ श्यामलालले भने ।

कुपोषण
लेखक
महेश न्यौपाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय