+
+
राष्ट्रपति रनिङ शिल्ड :

निर्देशिका विपरीत अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी प्रतिस्पर्धामा

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असार ३० गते १३:३५
प्रतियोगिताको उदघाटन समारोह ।

३० असार, काठमाडौं । केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अहिले काठमाडौंमा भइरहेको छ । स्थानीय तह, जिल्ला, प्रदेशस्तरीय प्रतियोगिता हुँदै सात प्रदेशका टोलीहरुले विधिन्न ६ खेलका विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

निर्देशिका लत्याउँदै राष्ट्रपति रनिङ शिल्डको केन्द्रीय प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी सहभागी भएको पाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को चौथो संशोधनअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी यो प्रतियोगितामा सहभागी हुन पाउँदैनन् ।

तर, गण्डकी प्रदेशबाट प्रतियोगितामा सहभागी भएका एकजना खेलाडी बादल कार्की अन्तर्राष्ट्रिय पदक विजेता हुन् । गत फागुनमा भारतको नागाल्याण्डमा आयोजित साफ क्रसकन्ट्री च्याम्पियनसिप अन्तर्गत ८ किलोमिटर दौडमा नेपालका लागि कांस्य जितेका बादलले राष्ट्रपति रनिङ शिल्डमा ३ हजार मिटर दौडतर्फ रजत पदक जितेका छन् ।

सो स्पर्धामा कर्णाली प्रदेशका अजय बिकले ९ मिनेट ४०.८ सेकेण्ड टाइमिङसहित स्वर्ण जित्दा साफ कांस्य विजेता बादलले ९ मिनेट ४१.४ सेकेण्डमा दूरी पूरा गरे ।

चार गुणा चारसय मिटर रिले दौडमा पनि बादल सम्मिलित गण्डकी प्रदेश टोलीले रजत पदक जितेको छ । यो स्पर्धामा उनीहरु लुम्बिनी प्रदेशको टोलीसँग पराजित भएका हुन् ।

राष्ट्रपति रनिङ शिल्डको निर्देशिका परिच्छेद–५ विविधतर्फ १८ नम्बर बुँदामा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी समावेश गरेमा हुने कारबाहीको बारेमा यसरी लेखिएको छ, ‘प्रतियोगितामा मापदण्ड विपरीतका खेलाडीले पदक प्राप्त गरेको खण्डमा त्यस्तो पदक खोस्ने र निकटमत प्रतिस्पर्धी खेलाडीलाई सो पदक प्रदान गरिनेछ । मापदण्ड बाहिरका खेलाडी सहभागी गराउने निकायलाई आयोजक समितिले अनुशासनको कारबाहीस्वरुप बाँकी सबै इभेन्टमा सहभागी गराउने छैन । टिम गेमको हकमा पनि सोही नियम लागू हुनेछ ।’

केन्द्रीय राष्ट्रपति रनिङ शिल्डका आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)का खेलकुद प्रतियोगिता तथा योजना विभागका विभागीय प्रमुख मिन शर्माले त्यस्ता खेलाडी समावेश गरिएको प्रमाणित भए टिमलाई कारबाही गरिने बताए ।

गण्डकी प्रदेशका एथलेटिक्स प्रशिक्षक गजबहादुर गुरुङले आफ्नो टिममा अनधिकृत खेलाडी समावेश नगरिएको दावी गरेका छन् । नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्यसमेत रहेका गुरुङसँग अनलाइनखबरले बादल कार्कीको बारेमा जिज्ञाशा राख्दा सुरुमा अरु टिमहरुले पनि त्यस्तै गरेको हुनाले आफूले पनि समावेश गरेको बताए ।

निर्देशिकामा उल्लेख भएको प्रावधानसहित पुनः प्रश्न गर्दा उनले बादलले भारतमा जितेको प्रतियोगिताको विधा एथलेटिक्सको ट्र्याक एण्ड फिल्डमा नपर्ने बताए । ‘त्यो प्रतियोगिता एथलेटिक्समा नपर्ने भएका कारण उनलाई हामीले समावेश गरेका हौं,’ उनले भने ।

बाग्लुङ काठेखोला गाउँपालिका, ७ रेसका स्थानीय बासिन्दा बादल श्रीरेस नुन्थाला माविमा १० कक्षामा अध्ययनरत छन् । १५ वर्षीय बादलले स्थानीय तह हुँदै जिल्ला र प्रदेशमा पहिलो भएर केन्द्रीय प्रतियोगितामा सहभागी भएका हुन् । उनले पनि क्रसकन्ट्री च्याम्पियनसिप फरक विधा भएकाले यहाँ सहभागी भएको बताए ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?