+
+
अभिनेता प्रदीप खड्कासँग संवाद :

‘टाढाको होइन, मान्छे नजिकको स्टार बन्न चाहन्छु’

विष्णु शर्मा विष्णु शर्मा
२०७९ साउन ३ गते ९:००

काठमाडौं । ‘स्टार’ र ‘एक्टर’बीच त्यस्तो के कुराको भिन्नता हुन्छ ? स्टार हुन आनन्द कि कलाकार ? कलाकारले राजनीति र समाजलाई कसरी बुझिराखेको हुन्छ ? अभिनयमा मानक बनाउन संघर्षरत् एक कलाकारका लागि यी आधारभूत प्रश्न हुन् ।

यी प्रश्न हामीले पछिल्लो छिमलका अभिनेता प्रदीप खड्कालाई सोध्यौं । कोरोना महामारीपछि आफू अभिनित पछिल्लो फिल्म ‘प्रकाश’बाट दर्शकमाझ पुनरागमनको तयारी गरिरहेका खड्का अनलाइनखबरको स्टुडियोमा यिनै प्रश्नबाट घेरिए । यो गफगाफमा उनले कसरी अभिनय र चरित्रलाई बुझे, यी कुरा जान्नु निकै रोचक हुनेछ । प्रस्तुत छ, अभिनेता प्रदीप खड्कासँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

हालै तपाईंले हिरोबाट एक्टर बन्न प्रयत्न गर्दैछु भन्नुभयो । एक्टर नबन्दै गरेका कामलाई कसरी लिनुहुन्छ । एक्टरबिना काम हुनु भनेको के हो ? एक्टरबिना स्टारले के गर्दोरहेछ ?

फिल्मी हिरो एउटा टाइपको भयो, अन्तिममा हिरोइनलाई बचाउने खालको । धेरै जनाले हिरो भन्ने बित्तिकै त्यो खालको माइन्डसेट आएको भन्ने बुझे । बीचमा मैले के पनि महसुस गरें भने फिल्मको हिरोबाहेक समाजको हिरो पनि उत्तिकै महत्वपूर्ण हुने रहेछन् । उहाँहरुले सामाजिक कार्यबाट पनि आफूले आफूलाई हिरोको रुपमा स्थापित गर्नुभएको छ । समाजको प्रत्येक क्षेत्रमा हिरो हुन्छन् भन्ने कुरा महसुस भयो ।

यदि म स्टार हुँ भनेपछि कस्तो खालको स्टार हो र बन्न चाहन्छु भने राति अँध्यारोमा त करोडौं तारा देखिन्छ नि । तर दिउँसो एउटा स्टार उदाउँछ र त्यो नजिक हुन्छ । रातिको त्यो स्टार भए पनि नभए पनि कसैको भ्यालु छैन । तर दिउँसो उदाउने स्टार जसलाई हामी सूर्य वा घाम भन्छौं ।

अन्तिममा बचाउने पात्र मात्रै त हुँदैन समाजमा । समाजमा दयनीय अवस्थाबाट गुज्रिएका समाजका सीमान्तकृत वर्ग पनि हुन्छन् । मैले सधैं सेभियर भएर हिरोको रोल मात्र गर्ने हो भने त्यो वर्गको भूमिका चाहिं कसले गर्ने त ? समाजमा बाँकी रहेका व्यक्तिलाई पनि प्रतिनिधित्व गर्नु त जरुरी छ । म सधैं हिरो भइराख्न नसकुँला, तर म कलाकार भएँ भने फिल्ममा सधैं रहिरहन सक्छु भन्ने बुझेको छु ।

एक्टर हुनु भनेको के रहेछ ? कुन लाइन क्रस गरेपछि एक्टर भइँदोरहेछ त ? आफैंलाई कसरी अनुभूति हुँदोरहेछ कि म एक्टर हुँ भनेर ?

फिल्मप्रति मेरो सोचाइ के थियो भन्ने कुराले म को हुँ भन्ने अर्थ राख्छ । म जुन ठाउँबाट आएँ, त्यहाँ हिरो हुनु भनेको लास्टमा बचाउन आउने नै हो । बनिराख्या पनि त्यस्तै थियो र हेरिराख्या पनि त्यस्तै नै थियो । साथै मेरो दिमागमा हिरो भनेको हाइट, बडी, लुक्स, कपालको स्टाइल भन्ने थियो । पहिलो कुरा त म यसमा फिट नै हुँदैनथिएँ ।

मेरो विचार कहिल्यै हिरो बन्ने पनि थिएन । तर कसैले तिमी पनि चकलेटी हिरो बन्न मिल्छ भनेर विचार हालिदियो भने ओहो म त हिरो पनि बन्न मिल्दो रहेछ । त्यही हिरो बन्न खोज्दाखोज्दै विभिन्न फिल्म गरें । यसमा आएको रेस्पोन्सले चाहिं केही माया र केही गुनासो पनि पाइयो । त्यो गुनासोलाई सुरुमा हेर्दा अलिकति नकारात्मक रुपले पनि लिएँ हुँला किन मन पराएको छैन त भन्ने हिसाबले ।

पछि बुझ्दा लाग्यो, उहाँहरुलाई मप्रति आशा रहेछ । प्रदीपले यति दर्शकलाई कनेक्टेड गरेको छ र ती समूहको प्रतिनिधित्व गरेको छ भन्ने लाग्यो । उसले यस्तो खालको फिल्म गर्दियो भने नेपाली फिल्मको राम्रो हुन्छ भन्ने आशाले त त्यो लेख्या रहेछ भन्ने महसुस गरेपछि मैले त्यो पक्षमा पनि अघि बढ्न खोजेको हुँ । यो ग्रोथको पाटो पनि हो जस्तो लाग्छ । मैले जे बुझ्दै गएँ, त्यसरी अघि बढ्दै गएँ ।

स्टार र कलाकारबीच के भिन्नता हुँदो रहेछ ?

जसको कथा भनिराख्या छैन । सबै सुखी र अन्तिममा ह्याप्पी एन्डिङ पनि त छैन नि । कति चीज अव्यवस्थित छन् । त्यस्ता चीजलाई प्रतिनिधित्व गर्ने पात्रको काम गर्नु पनि एउटा कलाकारको दायित्व हो । फरक चाहिं त्यही नै हो, लास्ट फाइट खेल्ने र जिन्दगीभर फाइट खेल्नेबीचको भिन्नता नै होला ।

तपाईंले जुम्ला पुगेर एक-डेढ महिना घुम्नुभयो । त्यो पात्रलाई आत्मसात गरें भन्नुभयो, कसरी त्यो सम्भव छ ? त्यो पात्रलाई आत्मसात गर्न त्यहाँ एक महिना बसेको समय र काठमाडौंमा गरेको वर्कसपले पर्याप्त हुन्छ त ? त्यसको प्रोसेस के हो ? यी चीज आफूले गरेजस्तो लाग्छ ?

आत्मसात नै भन्ने कुरा निकै गाह्रो कुरा । त्यहाँ उहाँहरुले जे भोग्नुपरेको छ त्यो गाह्रो कुरा हो । वस्तुगत स्थिति त्यहाँको उहाँहरुलाई नै थाहा होला । तर हामीले अवलोकन गर्न सक्छौं । उहाँहरुको परिस्थितिलाई हामीले त्यो ठाउँमा राखेर महसुस गर्न सक्छौं । कसैले प्रसूति व्यथा लागेर बच्चा पाउँदै हुनुहुन्छ भने उहाँहरुलाई हेरेर पीडा भएको महसुस गर्न त सक्छौं, तर वास्तविक रुपमा उहाँ वा उहाँजस्ता पात्रहरुलाई थाहा होला ।

मैले सबै बुझें र गहन रुपमा अध्ययन गरें त भन्न सक्दिन, तर त्यसको मौलिक गुणलाई लिएर, त्यसलाई अब्जर्भेसन गरेर, त्यो परिवेशमा बसेर काम गर्ने प्रयास चाहिं गरेको छु ।

त्यो पात्रमा के चीज थियो, जसले प्रदीप खड्कालाई सबैभन्दा बढी छोयो ? तपाईं र त्यो पात्रबीच सम्बन्ध के छ त ?

मैले फुल स्क्रिप्ट हेरेर साइन गरेको थिइनँ । लक्ड स्क्रिप्ट हेरेर त्यसरी काम गरेको छैन सायद । म फिल्ममा टिम हेर्छु र त्यो टिममा कन्फिडेन्स भयो भने पहिलो दिनदेखि नै स्क्रिप्ट हेर्न रुचाउने मान्छे हुँ । दिनेश राउत (निर्देशक) र विकास सुवेदी (लेखक)सँग भेट भएपछि आइडिया फुरेको हो । विगतमा सशस्त्र विद्रोह भयो र त्यसले एउटा व्यवस्था ल्यायो । यो व्यवस्थामा यस्ता कमीकमजोरी छन्, जसले भविष्यमा अर्को विद्रोह निम्त्याउन सक्छ ।

यति लाइन सुनिसकेपछि मलाई के लाग्यो भने एउटा कलाकारको हिसाबले र साहित्य क्षेत्रमा काम गर्ने मान्छेको हैसियतले कलाको माध्यमबाट भविष्यमा यस्तो हुनसक्छ भनेर प्रक्षेपण गर्नु भनेको त एकदम ठूलो कुरा हो । म त्यो आइडियामा कन्भिन्स भएको हुँ । त्यो आइडियामा सहमत भएपछि जब स्क्रिप्ट लक्ड भएर आयो, त्यतिबेला मलाई महसुस भएको हो कि यो त मैले गर्न सक्दिन कि भन्ने पनि लाग्यो ।

म एक समय कथावस्तुसँग आबद्ध हुनसकेको थिइनँ । न मैले जुम्ला देख्या छु, न मैले खेत जोत्या छु । मैले कुनै पनि कुरामा जागिर खान संघर्ष पनि गर्‍या छैन । यति भनेपछि मैले त्यो पात्रमा कसरी चित्रण गर्न सक्छु त भन्ने आशंका ममा पनि आएको हो ।

स्टारडम र कलाकार दुवै पक्ष मेन्टेन हुन जरुरी हुन्छ । कलाकार भएपछि कलाकारिताको मूल्य मेन्टेन हुन पनि गाह्रो कुरा हो । हुन चाहिं सकिन्छ । तर मेरो फोकस चाहिं मेन्टेन हुने कुरामा छ

त्यसपछि मैले निर्देशकलाई म फेल भएँ भनेदेखि त्यति समस्या नहोला, एउटा संरचनामा फिल्म गरिरा’को, अर्को गर्दाखेरि केही भयो होला भनिन्छ । तर म फेल हुँदा लेखक फेल भयो, निर्देशक फेल भयो, निर्माता फेल भयो र उसको साढे दुई करोड डुब्यो भने त म बोझ त बोक्न सक्दिन भनेपछि उहाँले मलाई तिमी कन्फिडेन्ट नभए पनि यो पाँच ६ महिनाको संगतमा तिमीलाई चिन्या छु, मैले बुझ्या छु ।

एक्टर सही पर्‍यो वा गलत त्यो एक्टरको गल्ती होइन । त्यो निर्देशकको दायित्वको कुरा हो । त्यो मेरो जिम्मेवारी हो, तिमी अझै आत्मविश्वासी बन्न चाहन्छौं भने एक्टिङ क्लास लिन सक्छौ भने म कन्भिन्स भएको हो । म त्यही नबसे पनि नेपालीको समस्या के छ भन्ने कुरा त हामीले बुझ्या छौं । कृषि प्रधान देश भनिएको छ, हलीको हालत के छ, त्यत्रो द्वन्द्व गरेर हामी आज त्यो व्यवस्थामा छौं । जे खोजेर त्यो द्वन्द्व भएको थियो, त्यो पाएका छैनौं भन्ने त सबैलाई थाहा छ ।

जुम्लामा बसेर प्रत्येक नागरिक जसरी राजनीतिप्रति अभिन्न छन्, उसैगरी म पनि अभिन्न छु ।

राम्रो देखिनु, ह्यान्डसम हुनु कतै तपाईंको बाधक त होइन ? तपाईंलाई कलाकारको रुपमा ग्रो हुन कतै यसले हानी त पुर्‍याएको छैन ?

पहिलो एक्सपोजर त मैले लुक्सले गर्दा पाएँ होला । दर्शकले पनि माया गर्नुभयो । काम आफ्नो ठाउँमा छ, तर तपाईंले कुनै पनि सामान किन्नुअघि त्यसको प्याकेजिङ हेरेर कन्भिन्स त हुनुहुन्छ नि कतिपय समयमा । किनिसकेपछि सामान भित्र काम नलाग्ने रहेछ भनेर गुनासो पनि आउला । एक हिसाबले मलाई बजारमा बिक्नयोग्य प्याकेजिङले नै गरायो । म त्यसलाई बाधकको रुपमा त हेर्दिनँ, तर एकचोटि किनेको मान्छेले त्यही प्याकेजिङ हेरेर त्यही सामान फेरि किन्छ कि किन्दैन ।

प्याकेजिङको भरमा एकपटक फस्ला तर अर्को चोटि त फस्दैन । त्यो चीजमा म बाधक होइन, ग्रोथ भइनँ भने आफूले आफूलाई ब्याकफायर गर्न सक्छु । प्याकेजिङले मात्र मलाई ब्याकफायर हुनसक्छ भन्नेमा म मान्यता राख्छु ।

प्रकाशजस्तो फिल्म गरिसकेपछि कलाकार बन्ने चक्करमा स्टार हुने कोसिसबाट अब टाढा हुन लाग्नुभएको हो त ?

यदि म स्टार हुँ भनेपछि कस्तो खालको स्टार हो र बन्न चाहन्छु भने राति अँध्यारोमा त करोडौं तारा देखिन्छ नि । तर दिउँसो एउटा स्टार उदाउँछ र त्यो नजिक हुन्छ । रातिको त्यो स्टार भए पनि नभए पनि कसैको भ्यालु छैन । तर दिउँसो उदाउने स्टार जसलाई हामी सूर्य वा घाम भन्छौं । त्यो उदाउँदा हाम्रो दिनचर्या सुरु हुन्छ अस्ताउँदा हाम्रो दिनचर्या समाप्त भएको फिल गछौं । त्यसको ताप र प्रकाशले हाम्रो दैनिकीलाई प्रभाव गरिराख्या छ भनेपछि यदि म स्टार भएँ भने उदयसँगै दिन सुरु हुने र अस्तसँगै दिनचर्या समाप्त हुने स्टारजस्तो हुन चाहन्छु ।

मैले काम गरेको फिल्म प्रकाशको जुन काम छ, त्यस्तै स्टार बन्ने लक्षण भएको र दैनिक जीवनसँग जोडिने पात्र भएको हो जस्तो लाग्छ । मेरो विचारमा म स्टार हुनको लागि टाढा होइन, झन् नजिकको स्टार बन्न चाहन्छुजस्तो लाग्छ ।

भन्नुको अर्थ, नेपाली फिल्मको मूलधारले जे कुरालाई स्टार भन्छ, त्योबाट दूरी निर्माण गर्न खोज्नुभएको हो ?

म मासलाई अपील गर्ने पात्रमा काम गर्दिन त भनेकै होइन । तुरुन्तै मासलाई अपील गर्ने मेरो फिल्म आउँदैछ । मलाई सोध्नुहुन्छ भने प्रेमगीत पनि आर्ट नै हो । प्रकाश पनि आर्ट नै हो । कुनै शान्त र ध्यान दिएर बुझ्ने खालको आर्ट होला, कुनै आँखाले मात्र मनोरञ्जन दिएर बुझ्न सकिने आर्ट होला, कुनै हृदयले मनोरञ्जन गर्न सकिने आर्ट होला । कला कला नै हो । कमर्सियल भ्यालु कति छ भन्ने कुरा भोलि बजारमा बिक्रीमा बसेपछि देखिएला ।

म प्रेमगीतपछि प्रकाश र प्रकाशपछि प्रेमगीतजस्तो फिल्म गर्छु भन्ने होइन । दुइटै गर्छु जुनमा म कन्भिन्स हुन्छु । एक समय म मासलाई अपील हुने फिल्म गर्छु, अर्को समय प्रकाशजस्तो फिल्म पनि गर्छु । म अलग भएर बस्न सक्दिनँ ।

स्टार हुन आनन्द कि कलाकार हुन ?

आनन्द ? (हाँस्दै) । आनन्दलाई कसरी परिभाषित गर्न सकिन्छ भन्ने कुरा हो । स्टार हुन सजिलो होला । स्टार हुन मान्छेले एकरातमै प्रशंसा गर्न सक्छ । तर कलाकार हुन धेरै साधना चाहिन्छ । कला भन्ने कुरा त धेरै गहन विषय हो नि त । स्टार त जो पनि भइरहेका छन् ओभरनाइट । कुनै पनि कुरा मेन्टेन हुन जरुरी हुन्छ । स्टारडम र कलाकार दुवै पक्ष मेन्टेन हुन जरुरी हुन्छ । कलाकार भएपछि कलाकारिताको मूल्य मेन्टेन हुन पनि गाह्रो कुरा हो । हुन चाहिं सकिन्छ । तर मेरो फोकस चाहिं मेन्टेन हुने कुरामा छ ।

प्रकाश फिल्मको मुख्य पात्र पनि सशस्त्र द्वन्द्वबाट प्रभावित भएकै हो । तपाईंले माओवादी द्वन्द्वलाई कसरी हेर्नुहुन्छ ? को सही थियो वा को गलत ?

काठमाडौंमा हुर्किएको मान्छे, काठमाडौंमा हुर्कियो, बढियो । सायद कक्षा १२ सम्म त म थानकोट कटेर बाहिर पनि गइनँ । अझ भन्ने हो भने एसएलसीसम्म त रिङरोड क्रस गरेर धरहरा पनि देख्या थिइनँ मैले । म त्यति सीमित चीजमा हुर्किएको मान्छे हुँ । द्वन्द्वले कतिलाई असर पार्‍यो भन्ने कुरा महसुस गर्न म सक्दिनँ । तर बुझ्ने अवस्थामा आइसकेपछि देखेको, सुनेको र भोगेको कुरा गर्ने हो भनेदेखि नियत नराम्रो चाहिं होइन । जनताबाट पनि साथ पाएकै हो तर नतिजा के रह्यो त ? अन्ततः नतिजाले नै अर्थ राख्छ नि त ।

राम्रो नियत हुँदाहुँदै पनि नतिजा राम्रो भएको छैन भने त त्यसलाई सफलता वा असफलता कसरी लिने ? मैले के भोगें भन्दा पनि सारा जनताले त्यसलाई कसरी लिइराख्या छन् भन्ने कुरा अर्थपूर्ण हुन्छ । फिल्म प्रकाशको कुरा गर्दा, द्वन्द्व पछाडिको मात्र पनि होइन, प्रेमको मात्र पनि होइन । कुनै युवाले जागिर खानलाई गरेको संघर्ष पनि होइन । हामीले दैनिक जीवनमा भोगिरहेको चीज हो र कलात्मक रुपमा प्रस्तुत गरिएको व्यावसायिक तत्वसहितको चीजले हो ।

आजको राजनीतिबारे तपाईंको धारणा के छ त ?

म राजनीतिमा त्यति धेरै रुचि राख्दिन, तर राखे पनि नराखे पनि राजनीतिले मेरो दिनचर्यालाई त असर गरिराख्या छ । राजनीतिमा युवापुस्ताले ठाउँ नपाएको त हो तर युवापुस्ता आएर पनि काम गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न रहन्छ । नयाँ र पुरानो पुस्ता बसेर मध्यमार्गी बाटोबाट जानुपर्छ । हाम्रोजस्तो मुलुकमा यो मल्टिपाटी (बहुदलीय) प्रणाली पनि ठीक हुन्छ जस्तो लाग्दैन । दुई पार्टी प्रणालीमा गयो भने अथोरिटी पनि हुन्छ र सजग गराउने चीज पनि चाहिन्छ । मल्टिपाटी भएर गोलमाल भयो जस्तो पनि लाग्छ ।

अनुप बरालसँग तपाईंले एक्टिङ सिक्नुभो । अनुप बरालसँग वास्तवमा तपाईंले के सिक्नुभयो ? कुन सिकाइपछि तपाईंलाई फिल्ममा काम लाग्यो त ?

एउटा महसुस चाहिं के गरें भनें, मलाई पहिले मैले गाएको पोशाक नै एउटा पात्र लाग्थ्यो । मैले डाक्टरको लुगा लगाएँ, म डाक्टर बनें । मैले आर्मीको युनिफर्म लगाएँ, म आर्मी बनें । मलाई त्यो भ्रम रहेछ । मैले गिटार बोकें, म सिंगर भएँ । एउटा बिन्दुमा पुगेर मलाई के लाग्यो भनें मैले गिटारै बोक्दा, डाक्टरकै लुगा लाउँदा, आर्मीकै लुगा लाउँदा किन म एउटै देखिएको छु त ? मेरो नजरमा त त्यो अलग-अलग हो । तर हेर्नेको नजरमा एउटै भएको छ । म कन्फ्युज थिएँ ।

अभिनय कक्षाले मलाई सिकाएको एउटै कुरा के हो भने युनिफर्म परिवर्तन हुँदा पात्र परिवर्तन हुँदैन । कलाकारको रुपमा म प्रदीप खड्का, मेरो अभिनय त्यही छ र स्वीकार गर्ने कुरा त्यही छ भने जुनसुकै कपडा फेरे पनि म प्रदीप खड्का नै देखिने रहेछु ।

मैले पहिलो सिकेको कुरा मेरो नेचुरल ह्याबिट के-के हो पत्ता लाउनुपर्‍यो र त्यसलाई रोक्नुपर्‍यो । मेरो हाउभाउलाई कन्ट्रोल गर्दा पनि नयाँ चरित्र देखिंदो रहेछ भन्ने आधारभूत कुरा सिकें ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?