+
+

तिलोत्तमामा मिल्यो भागवण्डा, नगर सभाबाट बजेट पारित

टोपराज शर्मा टोपराज शर्मा
२०७९ साउन ३ गते १६:४९

३ साउन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विषयगत समितिहरुमा नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागवण्डा मिलेपछि नगर सभा बैठक बसेको छ । मंगलबारको नगरसभा बैठकले आर्थिक वर्ष २०७९–८० को बजेट पारितसँगै विभिन्न चार वटा समिति संयोजक र सदस्यहरु चयन गरेको छ ।

यसअघि नगरपालिकाको विभिन्न समिति गठनका विषयमा विवाद हुँदा लगातार चारपटक नगरसभा बैठक स्थगित भएको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समितिका सदस्यसमेत नगरसभाले टुंगो लगाउनुपर्ने अडान राखेका थिए । तर नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले नगर सभाबाट बजेटमात्रै पारित गराउन खोजेपछि विवाद भएको थियो ।

पछिल्लोपटक आइतबार नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडपको स्थिति उत्पन्न भएको थियो । प्रमुख दुई दल नेपाली कांग्रेस नेकपा एमालेबीच भागबण्डामा भएको सहमति अनुसार नगर सभाले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ । संयोजक र सदस्य विश्वकर्मा एमालेबाट निर्वाचित हुन् भने बस्नेत कांग्रेसबाट निर्वाचित हुन् ।

यस्तै लेखा समितिमा एमालेबाट निर्वाचित फर्सुराम गिरीको संयोजकत्वमा उमेन्द्र बस्याल (एमाले) र पूर्णप्रसाद आचार्य (माओवादी केन्द्र) सदस्य रहेका छन् । त्यसैगरी कांगेसबाट निर्वाचित वडा नं १३ का अध्यक्ष नारायणप्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (कांग्रेस) र बालकृष्ण लम्साल (एमाले) सदस्य रहेको विधायन समिति गठन भएको छ ।

यस्तै कांग्रेसबाट निर्वाचित वडा नं ५ का अध्यक्ष रमेश डुम्रेको संयोजकत्वमा चूर्णाकुमारी विष्ट भण्डारी (कांग्रेस) र क्षितिजा पौडेल (एमाले) रहेको सुशासन समिति गठन गरिएको छ ।

नगरसभाले आर्थिक वर्ष २०७९–८० का लागि उपप्रमुख जगेश्वरी चौधरीद्वारा प्रस्तुत १ अर्ब ९८ करोड रुपैयाँको बजेट र आर्थिक विधेयक एवं विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोस्रो संशोधन) पनि पारित गरेको छ ।

एमालेका जनप्रतिनिधिहरुले विरोध जनाएपछि नगरप्रमुख रामकृष्ण खाँणले २ पटकसम्म गणपूरक संख्या नपुगेको भन्दै नगर सभा स्थगित गरेका थिए ।

सभा स्थगित भएपछि एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गर्दै विरोधमा उत्रेका थिए । आइतबार नगरसभा स्थगित भएपछि नाराबाजीका क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडाअध्यक्षलाई धकेलेर स्वीमिङ पुलमा खसालेका थिए । त्यसपछि स्थिति थप तनावग्रस्त बनेको थियो ।

नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

त्यसपछि एमाले र कांग्रेसका जिल्ला स्तरीय नेताको पहलमा सहमति भएको हो । नगरप्रमुख रामकृष्ण खाँणले विगतका कमी कमजोरी भुलेर सर्वसम्मत रुपमा नगरसभाले बजेट पारित र समितिहरु गठन गरेको बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?