+
+

यसरी सम्भव हुन्छ सामुदायिक कुकुरको वैज्ञानिक व्यवस्थापन

नेपालमा करिब ३० लाख सामुदायिक कुकुर छन्। काठमाडौं उपत्यकामा मात्र करिब २० हजार भन्दा बढी सामुदायिक कुकुर भएको तथ्यांक छ। देशका विभिन्न शहरमा यस्ता सामुदायिक कुकुरको सङ्ख्या बढ्दो छ।

डा. प्रकाश अधिकारी डा. प्रकाश अधिकारी
२०७९ साउन ८ गते १०:१२

केही दिनअघि काठमाडौं महानगरपालिकाको छैटौं बैठकमा वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले औषधि पाए विष खुवाएर सडकका २५०० कुकुरलाई मार्ने अभिव्यक्ति दिएपछि उनी निकै आलोचित भए। लगत्तै पशु कल्याण संघले उच्च अदालत पाटनमा कार्की विरुद्ध रिट दिएको छ।

गत वर्ष धुलिखेलमा कुकुरलाई बिजुलीको पोलमा बाँधेर फलामको रड र कोदालोले हिर्काएको घटना र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुकुर मारेको घटनाले सामाजिक संजालमा तरंग नै ल्यायो। यी त प्रतिनिधि घटना मात्र हुन् हरेक वर्ष यस्ता घटना नेपालमा विभिन्न ठाउँमा हुँदै आएका छन्।

सामुदायिक कुकुरको व्यवस्थापन स्थानीय सरकार र समग्र राज्यको दायित्व हो। सडकका कुकुरहरूको सिर्जनात्मक, वैज्ञानिक र दीर्घकालीन व्यवस्थापनमा लाग्नुको साटो राज्यका जिम्मेवार जनप्रतिनिधिबाट नै पशु अधिकार बर्खिलाप हुने गरी यस्तो अभिव्यक्ति आउनु दुःखद पक्ष हो।

एक अध्ययन अनुसार हाल नेपालमा करिब ३० लाख सामुदायिक कुकुर छन्। काठमाडौं उपत्यकामा मात्र करिब २० हजार भन्दा बढी सामुदायिक कुकुर भएको तथ्यांक छ। देशका विभिन्न शहरहरूमा यस्ता सामुदायिक कुकुरहरूको सङ्ख्या बढ्दो छ। बाटोमा कुकुरहरूले पैदल हिंड्ने मानिसलाई टोक्ने, चिथोर्ने, झम्टिने गर्दा सडकमा पैदल यात्रा गर्न असुरक्षित महसुस गर्ने गरेका छन्। यस्ता कुकुरहरूकै कारण सवारी साधन दुर्घटनाको जोखिम पनि बढेको छ। यसका साथै कुकुरको टोकाइबाट ज्यान गुमाउनेको संख्या पनि उल्लेखनीय छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्याङ्क अनुसार नेपालमा वार्षिक १० देखि १५ जनाले कुकुरको टोकाइबाट रेबिज रोग लागेर ज्यान गुमाउँछन् भने करिब २० हजार व्यक्तिले कुकुरको टोकाइपश्चात् पोस्टएक्सपोजर खोप लिने गरेका छन्। कुकुर मार्ने कार्य अझै पनि रेबिज प्रकोप नियन्त्रणको लागि गलत आपतकालीन प्रतिक्रियाको रूपमा प्रयोग गरिन्छ। नेपालमा पनि सामुदायिक कुकुरको व्यवस्थापन गर्ने भन्दै विष खुवाई वा अन्य अमानवीय क्रियाकलाप गरी कुकुर मार्ने घटना भैरहन्छन्। नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काई, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट व्यवस्था छ। त्यसकारण पशु कल्याणको सिद्धान्तलाई सम्मान गर्दै सडक कुकुरहरूको वैज्ञानिक र दीर्घकालीन व्यवस्थापन गर्नु आजको आवश्यकता हो।

सामुदायिक कुकुरको वैज्ञानिक व्यवस्थापनका विधि

विश्वका विभिन्न देशले सामुदायिक कुकुर व्यवस्थापनको लागि भिन्नभिन्न मोडेल तथा विधि अवलम्बन गरेका छन्। जुनसुकै मोडेल अवलम्बन गरे पनि सामुदायिक कुकुरको व्यवस्थापनको प्रमुख उद्देश्य र विधि भनेको कुकुरको संख्या नियन्त्रण गर्नु नै हो।

कुकुरको सङ्ख्या व्यवस्थापन एक बहुआयामिक अवधारणा हो जसले सामुदायिक कुकुरको स्वास्थ्य र कल्याणमा सुधार ल्याउँछ। उनीहरूले निम्त्याउने समस्यालाई कम गर्ने र संख्या घटाउन मद्दत गर्दछ। यसका लागि योजनाबद्ध तरिकाले विश्व पशु स्वास्थ्य संगठन लगायत अन्य पशु कल्याणसँग सम्बन्धित संघसंस्थाले मान्यता दिएका विधिहरू अनुसरण गरी कुकुरको सङ्ख्या नियन्त्रण कार्यक्रम संचालन गर्नुपर्दछ।

  • सामुदायिक कुकुरको स्रोतको खोजी गर्ने

कुकुरको सङ्ख्या नियन्त्रणको लागि सर्वप्रथम सडक/समुदायमा रहने कुकुरको स्रोतको खोजी गर्नुपर्दछ। विशेषगरी सडकमा देखिने कुकुरहरू स्वतन्त्र रूपमा घुम्ने घरपालुवा कुकुर हुन्। रोगी/अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरूले घर निकाला गर्ने वा सडकमा ल्याई छाड्ने चलन छ। यसका साथै सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पनि सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गर्दछ। त्यसैले यी तीन स्रोतमध्ये मुख्य स्रोत खोजी गरी त्यहींबाट नै कुकुर व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनुपर्दछ।

  • सामुदायिक कुकुर सङ्ख्या, वितरण र पारिस्थितिकीयको अध्ययन/आकलन गर्ने

कुकुरको जनसङ्ख्या व्यवस्थापनका लागि यथार्थपरक योजना बनाउन र संचालन गरिएको कार्यक्रमहरूको सफलताको मूल्यांकन गर्नको लागि कुकुरको सङ्ख्या अनुमान गर्नु आवश्यक हुन्छ। सङ्ख्या अनुमान गर्नको लागि सडकमा रहेका कुकुरको स्रोत पत्ता लगाउनुपर्दछ। क्षेत्र निर्धारण गरी तोकिएको क्षेत्रमा देखिने कुकुरको गणना गर्ने, सङ्ख्या आकार पत्ता लगाउने सबैभन्दा सरल तरिका हो। पशु चिकित्सक वा यो क्षेत्रमा काम गर्ने अन्य विज्ञहरूको सल्लाहमा अन्य वैज्ञानिक विधि अवलम्बन गरी कुकुरको सङ्ख्या यकिन गर्न सकिन्छ।

  •  सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण

 कुकुरको अनियन्त्रित प्रजनन हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुरको सङ्ख्या नियन्त्रणको सबैभन्दा महत्वपूर्ण र प्रभावकारी विधि हो। शल्यक्रिया मार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरको लागि उपयोगी हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि हो।

नेपालमा विगत १० वर्षदेखि विभिन्न निकायबाट कुकुरको बन्ध्याकरणका कार्यक्रम संचालन हुँदै आइरहेका छन्। पशु सेवा विभाग अन्तर्गतको केन्द्रीय रिफरल पशु चिकित्सालयको सहकार्यमा विभिन्न पालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने र रेबिज रोग विरुद्ध खोप लगाउन शिविर नै संचालन गर्ने गरेका छन्। यसका साथै स्नेहा केयर, हार्ट, एनिमल नेपाल आदि जस्ता गैरसरकारी संघसंस्थाहरूले पनि देशका विभिन्न स्थानमा सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिरहेका छन्। कुकुरको स्थायी बन्ध्याकरण र रेबिज रोग विरुद्धको खोप लगाउने कार्यक्रमलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सके सामुदायिक कुकुरको जनसंख्या नियन्त्रित भई नेपालले सन् २०३० सम्म कुकुरको टोकाइबाट मानिसमा हुने रेबिज रोग शून्यमा झार्ने लक्ष्य र प्रतिबद्धतालाई टेवा पुग्नेछ। यसका साथै बन्ध्याकरण गरिएका कुकुरमा मानिसलाई टोक्ने, झाँट्ने जस्ता समस्याग्रस्त व्यवहार र घुम्ने प्रवृत्ति पनि कम हुन्छ।

  • घरपालुवा कुकुरको जिम्मेवार स्वामित्व प्रवर्धन गर्ने जनजागरण

कुकुरको सङ्ख्या र कुकुर-सम्बन्धित समस्या मानव व्यवहारमा धेरै निर्भर हुने गर्दछ। पहिले पहिले परिवार वा व्यक्तिहरूको समूहद्वारा सामूहिक रूपमा हेरचाह गरी कुकुर पाल्ने चलन भएता पनि अहिले कुकुरलाई एकल स्वामित्वमा पाल्ने गरिन्छ। कुकुरलाई उचित खाना, पानी र आश्रयको व्यवस्था गर्नु, पशु स्वास्थ्य हेरचाह र पर्याप्त व्यायाम प्रदान गर्नु कुकुर मालिकको जिम्मेवारी हो। कतिपय मानिसले रहरले कुकुर पाल्ने तर रोग लागेपछि उपचार गर्न नसकी बाटोमा ल्याएर छाड़ने गर्दछन्। त्यसैले भेटेरिनरी सेवाको सहज र सुलभ पहुँच प्रवर्धन गर्नु आवश्यक हुन्छ।

  •  कानुनी र नीतिगत व्यवस्था

घरपालुवा कुकुरहरूको दर्ता, पहिचान र कुकुर प्रजनन गरी व्यापार गर्नेहरूलाई इजाजतपत्र दिन स्थानीय तहले आफ्नो कानुन निर्माण गरी लागू गर्न सक्दछन्। कुकुरको प्रजनन सम्बन्धी कानूनको निर्माण र कार्यान्वयनले कुकुरको सङ्ख्या-सम्बन्धित समस्या समाधान गर्न मद्दत पुर्‍याउँछ नेपालमा पोखरा महानगरपालिका लगायत अन्य केही पालिकाले कुकुर दर्ता प्रक्रियाको सुरुवात गरे पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन। कुकुर मालिकहरूलाई जनावरहरूलाई तिनीहरूको घरको घेराभित्र सीमित गर्न र वार्षिक रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था गर्न सके सामुदायिक कुकुरको नियन्त्रणमा टेवा पुग्छ।

  •  कुकुर आश्रमको स्थापना तथा संचालन

उच्च आय भएका देशहरू कुकुरलाई सडकबाट सङ्कलन गरी आश्रममा लगेर राखिन्छ, जहाँबाट उनीहरूलाई सम्बन्धित मालिकहरूले फिर्ता लैजाने वा नयाँ व्यक्तिले लैजाने गर्दछन्। यस्ता कुकुरहरूलाई ग्रहण गर्ने व्यक्तिहरू उपलब्ध नभएमा आश्रमले नै पालनपोषण गर्ने गर्दछ। नेपालमा पनि विभिन्न गैरसरकारी संस्थाहरूले कुकुर–आश्रम संचालन गरिरहेका छन्। कुकुरको आश्रम स्थापना र संचालन गर्न बढी लागत लाग्ने भएकाले हालसम्म नेपालमा सरकारी निकायद्वारा यस्ता आश्रम सञ्चालन हुनसकेका छैनन्।

  •  फोहोरमैलाको उचित व्यवस्थापन

बजार वरपर फालिएका फोहोर खाने र फोहोर फालिएको स्थानलाई सामुदायिक कुकुरहरूले आफ्नो बासस्थान बनाउँछन्। त्यसैले शहरको फोहोरमैलाको अवस्थामा पनि कुकुरको सङ्ख्या निर्भरता हुन्छ। खाद्यजनित फोहोरहरू जस्तै सडकमा फालिने फोहोर, वधशाला वरपरको फोहोर, मासु पसल र बजार क्षेत्रहरूबाट फालिने फोहोरको उचित व्यवस्थापन गर्दै यस्तो फोहोरहरूमा कुकुरको पहुँच रोक्नु कुकुरहरूको संख्या नियन्त्रण गर्ने व्यावहारिक, सस्तो र दिगो उपायहरूको रूपमा लिइन्छ।

  •  योजनाको प्रभावकारी अनुगमन तथा मूल्यांकन

कुकुरको सङ्ख्या नियन्त्रण गर्न संचालन गरिएका कार्यक्रमहरूको समयसापेक्ष अनुगमन र मूल्यांकन गर्नुपर्दछ। यसको मूल्याङ्कन गर्नको लागि बजेट अनुसारको गतिविधिबाट प्राप्त गरिएका उपलब्धिहरू सावधानीपूर्वक रेकर्ड गर्नुपर्छ। खर्च गरिएको प्रयास/लागत र परिणाम/प्रभाव/लाभ बीचको तुलनात्मक लेखाजोखा गरी कार्यक्रमलाई परिष्कृत गर्दै लैजानु आवश्यक हुन्छ।

  • समन्वय र पैरवी

सामुदायिक कुकुरको व्यवस्थापन गर्नु स्थानीय तहको प्रमुख जिम्मेवारी हो। यद्यपि कुकुर व्यवस्थापन कार्यलाई प्रभावकारी रूपमा संचालन गर्न संघीय र प्रादेशिक सरकारका पशुपक्षी र वातावरणसँग सम्बन्धित सरकारी निकायहरूको महत्वपूर्ण भूमिका रहन्छ। पशु सेवा विभाग, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी प्रशासन र कुकुरको क्षेत्रमा कार्य गर्ने गैरसरकारी संघसंस्था र निजी क्षेत्र बीचको समन्वय र सहकार्यबाट मात्र सामुदायिक कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न सकिन्छ। सामुदायिक कुकुर र यसबाट सिर्जित समस्याको रोकथाम र नियन्त्रण गर्ने सरकारी निकायको प्रयासमा आम जनमानसको सहयोग र सहकार्य अपरिहार्य छ।

(लेखक कृषि तथा पशुपक्षी विकास मन्त्रालयको पशु सेवा विभागमा कार्यरत छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?