+
+

हजयात्रा पठाउँदा भ्रष्टाचार भएको भन्दै संसदीय समितिमा उठ्यो प्रश्न, गृहमन्त्रीसँग जवाफ माग

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ साउन ९ गते १७:२४
महिला तथा सामाजिक समितिको बैठक । फाइल तस्वीर

९ साउन, काठमाडौं । मुस्लिम धर्मावलम्वीहरुले जीवनमा एक पटक हज गर्नै पर्ने मान्यता राख्दछन् । साउदी अरबको मक्कामा हज गर्न जाने मुस्लिमहरुका लागि सरकारले हरेक वर्ष केही रकम खर्च गर्छ । साथसाथै हज गर्न जानेहरुसँग पनि रकम उठाउँछ ।

तर त्यही हजका नाममा भ्रष्टाचार भएको भन्दै प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिमा सांसदहरुले प्रश्न उठाएका छन् । सांसदहरुले उठाएको प्रश्नलाई साथ दिँदै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरुले भ्रष्टाचार भएको भनी प्रश्न उठाउँदा हज समिति र गृहमन्त्रालय नै गम्भीर नभएको गुनासो गरेका छन् ।

महिला तथा समाजिक समितिमा सोमबार मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल थियो । छलफलमा भाग लिँदै सुरुमा नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले हज यात्रामा पठाउँदा अनियमितता भएको भन्ने आएको उल्लेख गर्दै वास्तावकिता के हो ? भनेर प्रश्न उठाइन् ।

‘हज यात्रामा अनियमितता भन्ने कुरा आएको छ यो के हो ?’ सांसद परियारले थपिन्, ‘यहाँहरु (मुस्लिम आयोग)ले स्वेतपत्र जारी गरेर आफू निश्कलंक भएर मुस्लिम समुदायका नाममा कुनै अनियमितता गर्न हामी आएको होइनौं भन्ने वातावरण बनाउन सक्नुहुन्छ कि सक्नुहुन्न ?’

त्यसपछि नेकपा एकीकृत समाजवादीका सांसद कलिला खातुनले हज यात्रामा पठाउँदा भ्रष्टाचार भएको आफूले समेत अनुमान गरेको बताइन् । भ्रष्टाचार भएको भनी छानबिनका लागि पटक–पटक गृहमन्त्रीलाई भेटेर सम्झाउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले दुखः व्यक्त गरिन् ।

‘हज कमिटीमा यति धेरै भ्रष्टाचार भएको छ भन्ने कुरा प्रत्यक्ष मैले अनुमान गरेको छु । मैले बारम्बार गृहमन्त्रीज्युलाई भेट्न गएँ, बारम्बार संसदमा कुरा उठाएँ । तर, केही भएन’, सांसद खातुनले भनिन् ।

मुस्लिम आयोगका अध्यक्ष अन्सारीका अनुसार गएको वर्ष हज जानेहरुसँग दुई लाख ३० हजार रुपैयाँ लिइएको थियो । यस वर्ष बढेर ४ लाख ६३ हजार ८ सय पु¥याइएको छ ।

हजयात्रीलाई विदाइ गर्दै गृहमन्त्री बालकृष्ण खाण ।

एक्कासी किन महँगो भयो भनेर छिमेकी राष्ट्रहरुमा बुझ्दा विश्व भरी नै ३० देखि ४० प्रतिशत बृद्धि भएको पाइएको अध्यक्ष अन्सारीले सुनाए । ‘पहिलेको तुलनामा विश्वभरी नै ३० देखि ४० प्रतिशत बृद्धि भएको छ । तर, नेपालमा शतप्रतिशत भन्दा बढी किन बृद्धि भयो ? भन्ने प्रश्न छ’, अन्सारीले भने ।

गत वर्षभन्दा यो वर्ष जहाज भाडा सस्तो भएको पनि उनले सुनाए । ‘प्लेन भाडा पहिले ७८ हजार वरिपरी थियो अहिले ६८ हजार रुपैयाँ मात्रै छ । १० हजार प्लेन भाडा कम हुनु भनेको २ लाख ३० हजारमा बृद्धि भएको हिसाबले २ लाख ५० हजार पुग्न सक्छ । बढीमा ३ लाख भित्र हुनुपर्छ भनेर हामीले गृहमन्त्रीज्यूलाई पनि भन्यौं । गृहमन्त्रीज्युले यसमा हामी छानबिन गर्छौं, के गर्छौं, इत्यादी भन्नुभयो तर, अहिलेसम्म कुनै छानबिन भएन’, अध्यक्ष अन्सारीले भने ।

आफूहरुले कुरा उठाउँदा उठाउँदै पनि हाजीहरुलाई बढी आर्थिक भार पारिएको, महंगो शुल्क लिएर पनि हाजीहरुलाई खाना र बसोबासको राम्रो प्रवन्ध नगरिएको स्वमं अध्यक्ष अन्सारीको गुनासो छ । उनी भन्छन्, ‘हामीले बुझ्दा हज जानेहरुले पहिला भन्दा धेरै कठिनाइ भोगेका छन्, बसोबासको पनि कठिनाइ, खानाको पनि कठिनाइ । खानामा दाल र भात मात्रै । दाल र भात मात्रै खुवाएर त्यसको ३० रियाल करसहित पर दिन । अर्थात नेपाली एक हजार भन्दा माथि पैसा लिइएको छ ।’

विगतमा पनि भ्रष्टाचारको आरोप लागेका हज कमिटीका अध्यक्षलाई सरकारले यसवर्षपछि नियुक्त गरेकोमा उनी रोष प्रकट गर्छन । अन्सारीले थपे, ‘हज कमिटीको अध्यक्षको कार्यकाल दुई वर्ष मात्रै हुन्छ । अख्तियार, गृहमन्त्रालय, मुस्लिम आयोग सबैतिर भ्रष्टाचार गरेको छ भनी उजुरी दिएपश्चात पनि फेरि उहाँलाई नै नियुक्ति दिनुको कारण के हो ? यसमा मुस्लिम आयोग अत्यन्तै गम्भीर छ ।’

हज जाने जस्तो तीर्थयात्रीसँग समेत महँगो शुल्क लिएर अनियमितता गरिनु अत्यन्तै गम्भीर विषय भएको अन्सारी बताउँछन् । भन्छन्, ‘तीर्थ जाने तीर्थ यात्रीलाई आर्थिक भारमा पार्ने, बिभिन्न प्रलोभन दिएर, सेवा सुविधाको नाममा बढी रकम लिने र गएपछि कुनै पनि सुविधा नदिने गर्नु राम्रो होइन ।’

भ्रष्टाचार भयो भनेर गृहमन्त्रीलाई भन्दा केही पनि सुनुवाइ भएन

यो हज कमिटीमा यति धेरै भ्रष्टाचार भएको छ भन्ने कुरा प्रत्यक्ष मैले पनि अनुमान गरेको छु । गृहमन्त्रीज्यूलाई भेट्न गएँ, बारम्बार संसदमा कुरा उठाएँ । पहिला साढे दुई लाख रुपैयाँमा गएका मुस्लिम समुदायहरुलाई अहिले ४ लाख ६३ हजार रुपैयाँ लागेको छ । बुझ्दै गर्दा त्यत्रो पैसा नबढेको अवस्था छ । मुस्लिम समुदाय त्यो ठाउँमा पुग्दा हज कमिटीको अध्यक्ष गायब हुनुभएको अवस्था भयो र हाजीहरुले दुख पाएर त्यहीँको सरकारले गाडीहरु खोजेर उनीहरुको व्यवस्थापन गर्ने कार्य गरेको हामीले पायौं ।

गृहमन्त्रीज्यूसँग म यति धेरै दुखी छु, एउटा मुस्लिम समुदायको महिलाले बारबार भ्रष्टाचार भएको भनेकी छु । हज भनेको मर्नु भन्दा अगाडि एकपटक त्यो ठाउँमा पुगौं भन्ने धार्मिक मान्यता छ । यही मान्यताका आधारमा आफ्नो जग्गा जमिन बेचेर त्यो ठाउँमा जान्छन् । कुनै सरकारी पैसामा गएका पनि हुँदैनन् । आफ्नो पैसाले जाँदैछन् त्यसमा पनि भ्रष्टाचार भएको छ भने रोक्नुपर्छ, यसमा यथार्थ के छ ? बुझ्नुपर्छ भनेर गृहमन्त्रीलाई भन्दा केही पनि सुनुवाइ भएन, यसमा म बहुत दुखी छु । उहाँ (गृहमन्त्री)प्रति दुख व्यक्त गर्न चाहन्छु ।

मैले हज कमिटीलाई पनि भनेको थिएँ पहिला हज कमिटीमा रहेका र एक पटक हज गरिसकेकोलाई जान दिन हुँदैन । अहिलेका कमिटीमा एक चोटी पनि हज नगरेको व्यक्तिलाई त्यो ठाउँमा पु¥याउनुपर्छ । यो कुरा गृहमन्त्रीज्यूसँग पनि बारम्बार माग राखेँ । आयोगका अध्यक्षलाई समेत गृहमन्त्रालय लिएर पुगेँ । पैसा तिरेर गएका हुन भनेर झुटो कुरा गरेर एक पटक हज गरिसककोलाई पनि हज कमिटीबाट त्यो ठाउँमा हज गर्न लानुको अर्थ के हो ? भनेर म अहिले पनि यहीँ (प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति) मार्फत गृहमन्त्रीको जवाफ चाहन्छु ।

(सोमबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा नेकपा एकीकृत समाजवादीका सांसद कलिला खातुनले व्यक्त गरेको विचार )

गृहमन्त्रीले छानबिन गर्छु भन्नुभयो तर छानबिन भएन

हजयात्राको कुरा सदनमा पनि उठेको मेरो जानकारीमा छ । मुस्लिम आयोगले पनि पटक–पटक गृहमन्त्रीलाई भेटेर लिखित रुपमा मौखिक रुपमा ध्यानाकर्षण गराएको छ । हज कमिटी भनेको गृहमन्त्रालय मातहतमा रहने समिति हो । हामीले सम्बन्धित निकायलाई नै, हज समितिलाई न हामीले के कारणले यति महँगो भयो भनेर पत्राचार गर्‍यौं । धेरै कठिनाई भयो जानकारी पाउन । गृहमन्त्रालयलाई पनि भनेपछि बल्ल बल्ल उहाँहरु (हज समिति)ले एक हप्ताको अन्तरालमा हिसाबहरु पठाउनुभयो । तर, उहाँहरुले दिएको कारणमा हामी सन्तुष्ट भएनौं । सन्तुष्ट भएनौं भनेर गृहमन्त्रालयलाई फेरि भन्यौं ।

गएको वर्ष दुई लाख ३० हजार भित्रै थियो हाजीहरुको आर्थिक भार । यसपाली ४ लाख ६३ हजार ८ सय भएको छ । के कारणले एक्कासी यति महंगो भयो भनेर हामीले भन्दै आएका छौं । हामीले छिमेकी राष्ट्रहरुको पनि हेर्‍यौं, आफ्नै माध्यमबाट जानकारी लियौं कति बृद्धि भएको छ ? भनेर । हामीले ३० देखि ४० प्रतिशत बृद्धि भएको रहेछ पहिलेको तुलनामा विश्वभरी नै । तर, नेपालमा शतप्रतिशत भन्दा बढी किन बृद्धि भयो ? भन्ने प्रश्न छ ।

प्लेन भाडा पहिले भन्दा अझ सस्तो भएको छ । पहिले ७८ हजार रुपैयाँ बराबर थियो अहिले ६८ हजार रुपैयाँ मात्रै छ । १० हजार प्लेन भाडा कम हुनु भनेको २ लाख ३० हजारमा बृद्धि भएको हिसाबले २ लाख ५० हजार पुग्न सक्छ । यसकारण बढीमा ३ लाख भित्र हुनुपर्छ भनेर हामीले गृहमन्त्रीज्यूलाई पनि भन्यौं । गृहमन्त्रीज्यूले यसमा हामी छानबिन गर्छौं, के गर्छौं, इत्यादी भन्नुभयो तर, अहिलेसम्म कुनै छानबिन भएन ।

सबैभन्दा दुखद कुरा, हज कमिटीमा उठेका जिज्ञासाको बारेमा, संसदमा उठेका कुराहरुमा पनि गृमन्त्रालयबाट समेत त्यसको रोकथाम नहुने, हाजीहरुको आर्थिक भार कम नहुने भएको छ । यसप्रति मुस्लिम आयोग गम्भीर छ ।

साथसाथै हामीले आश्वासन पाएका थियौं, यसपाली खानाको राम्रो प्रबन्ध हुनेछ, बसोबासमा राम्रो सुविधा पाउनेछ । हज कमिटीका अध्यक्षले यो कुरा भन्नुभएको भनेर गृहमन्त्रालयबाट आश्वासन पाएको हो । तर, हामीले बुझ्दा हज जानेहरुले पहिला भन्दा धेरै कठिनाइ भोगेका छन्, बसोबासको पनि कठिनाइ, खानाको पनि कठिनाइ । खानामा दाल र भात मात्रै । दाल र भात मात्रै खुवाएर त्यसको ३० रियाल करसहित पर दिन खानाको शुल्क । अर्थात हरेक दिन दाल र भात मात्र खाएको एक हजार रुपैयाँ भन्दा माथि तिर्नु परेको छ ।

अझ, खाना डोनरले खुवाउँछ । किनभने साउदीमा धेरै डोनरहरु हुन्छन् । दान गरेर पुण्य कमाउने हिसावले पनि फलफूल र ट्रकका ट्रक खानाहरु ल्याएर वितरण गर्छन । मलाई लाग्छ, यसपाली पनि त्यो खाना डोनरले नै दिएको हुनुपर्छ त्यो जुन किसिमको खाना छ । तर यहाँ हज कमिटीको भनाइ अनुसार जुन किसिमको खाना खुवाउँछौं भनेर आश्वासन दिएको थियो त्यो एकदमै भएन ।

यो विषयमा हज कमिटीको अध्यक्षमाथि यो भन्दा पहिले पनि भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा समेत उजुरी परिसकेको छ । उहाँको विरुद्धमा मुस्लिम आयोगमा समेत उजुरी दिएको थियो । गृह मन्त्रालयमा समेत उजुरी परेको थियो । यो भन्दा पहिल पनि भ्रष्टाचार भएको भनिएको थियो । हज कमिटीको अध्यक्षको कार्यकाल दुई वर्ष मात्रै हुन्छ । सबैतिर भ्रष्टाचार गरेको भनी उजुरी दिएपश्चात पनि फेरि उहाँलाई नै नियुक्ति दिनुको कारण के हो ? यसमा हामी मुस्लिम आयोग अत्यन्तै गम्भीर छ ।

यो हजमा जाने भनेको विशुद्ध आफ्नो कमाई खर्च गरेर जाने हो । कतिपय चिनेकै व्यक्तिहरु जग्गा बेचेर श्रीमान श्रीमती नै हजमा जानुभएको छ । खाडी मुलुकमा युवाहरु ४०÷४५ डिग्रीको तापक्रममा काम गरिरहेको छ । त्यसरी काम गरेर कमाएर पठाएको पैसाले उनीहरुका बाबुआमा हज जानुभएको छ । यसले पनि हज जानेको संख्या बढेको छ । २०६२ सालसम्म ५ सय हाराहारीमा मात्रै हुन्थे हज जाने । अहिले २ हजारसम्म पुगेको छ । यसको कारण, विदेशबाट कमाएर आफ्नो आमा बुबालाई हज पठाउनु हो ।

लुम्बिनीमा विश्वका बुद्धिष्टहरु आउने गर्दछन् । पशुपतिनाथमा धेरै हिन्दुहरु दर्शन गर्न आउने गर्दछन् । त्यस्तै हाम्रो मक्कामदिना भनेको हजको पवित्र स्थान हो । त्यहाँ पुग्ने हरेक मुस्लिमको चाहना हुन्छ । यस्ता तीर्थमा जाने तीर्थ यात्रीलाई आर्थिक भारमा पार्ने, बिभिन्न प्रलोभन दिएर, सेवा सुविधाको नाममा बढी रकम लिने र गएपछि कुनै पनि सुविधा नदिने गर्नु राम्रो होइन । हजमा १२/१३ जना समितिका मान्छे जान्छन् । समितिको तर्फबाट जानेको सम्पूर्ण खर्च सरकारले बेहोर्छ । उल्टै उहाँहरुलाई एक हजार डलर पकेट खर्च दिइन्छ । टिकट र बसोबासको ४ लाख ६३ हजार पनि सरकारले दिन्छ । त्यहाँ उहाँहरु जाने भनेको हाजीहरुको रेखदेखका लागि हो । तर, त्यहाँ गइसकेपछि एक जना हाजीसँग पनि भेट गर्नुहुन्न उहाँहरु । उहाँहरु आफ्नो काममा लाग्नुभएको र हाजीहरु अलपत्र परेको अवस्था छ ।

(सोमबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले व्यक्त गरेको विचार )

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?