+
+
कभर स्टोरी :

बाघ दोब्बर बढे, तर यो उपलब्धि मान्छेलाई महँगो

नेपालले बाघ संरक्षणमा उल्लेख्य प्रगति गरेको छ । यस बापत देश अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुँदैछ । तर, जंगल र निकुञ्ज आसपासका विपन्न र पहुँचहीन नागरिकका दृष्टिमा मुलुकका लागि यो निकै महँगो उपलब्धि हो ।

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०७९ साउन १३ गते १९:३५

१३ साउन, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ धनौराकी रमिता थारूले एकै दिन श्रीमान् र भाइ गुमाइन् । घर र माइती एकै दिन शोकमा डुब्यो । ११ कात्तिक २०७७ बिहान घाम नझुल्किंदै च्याउ टिप्न गएका श्रीमान् दिनेश दिउँसोसम्म नफर्किएपछि भाइ रमेशसहितका आफन्तहरूलाई लिएर श्रीमान् खोज्न जंगलमा गएकी रमिताले अन्ततः भाइ पनि गुमाउनुपर्‍यो ।

गाउँले र सुरक्षाकर्मीको टोलीले साँझपख जंगलमा दिनेश र रमेशको शव एकै जसो ठाउँमा भेट्टाए । शव नजिकै रहेको पाटेबाघ लखेटेर उनीहरूले दुई वटा शव गाउँ ल्याए । दिनेशको शरीरको आधाभन्दा बढी भाग बाघले खाइसकेको थियो । रमेशको भने घाँटीमा गहिरो चोट थियो ।

रमिता अहिले दुई छोरीसहित कष्टको जिन्दगी बिताइरहेकी छिन् । श्रीमान्को मृत्यु भएपछि उनको घरका तीन जना दाजुभाइ पनि छुट्टिए । पछिल्ला दिनहरूमा आडभरोसा दिनेहरू पनि टाढिंदै गएका छन् ।

सानो कच्ची घर, पाँच कट्ठा जमिन भएकी रमितालाई हातमुख जोर्न, नाबालक छोरी हुर्काउन र पढाउन हम्मे छ । बच्चालाई कापी–कलम, डे«स र झोलाको व्यवस्था गर्न पनि उनलाई गाह्रो छ । घटना भएयता रमिता र उनको परिवारका सदस्यहरू जंगल जान छाडेका छन् । यसले वर्षाैंदेखि गर्दै आएको बाख्रापालन प्रभावित भएको छ ।

रमेशकी श्रीमती २६ वर्षीया पूजाका पनि दुई छोरी छन् । जेठी छोरी रोजिता ४ र कान्छी प्रकृति २ कक्षामा पढ्छन् । रमेश घर बनाउने मिस्त्री थिए । कमाउने मुख्य मान्छेलाई नै बाघले सिध्याएपछि उनको काँधमा नाबालक दुई छोरी हुर्काउने र पढाउने जिम्मेवारी छ ।

अहिले पनि पूजा त्यही जंगल नजिकै रहेको कच्ची घरमा नाबालक दुई छोरीसँग बस्दै आएकी छन् । निकुञ्जले राहतस्वरुप दिएको १० लाख रुपैयाँबाट उनले ५ कट्ठा जग्गा किनेकी छन् । त्यही नै उनको जिउने आधार भएको छ । पूजा भन्छिन्, ‘नाबालक छोरीहरूको शिक्षा–दीक्षामा सहयोग गरिदिने कोही मनकारी भए हुन्थ्यो ।’

रमेशकी आमा

रमिता र पूजाले श्रीमान् गुमाएको धनौरा गाउँ बर्दिया राष्ट्रिय निकुञ्ज, भारतको कतरनियाघाट ‘वाइल्ड लाइफ सेन्चुरी’ सँग जोड्ने खाता जैविक मार्ग (करिडोर) क्षेत्रमा पर्छ । बाघ, हात्ती, गैंडा लगायतका वन्यजन्तु ओहोरदोहोर गर्न संरक्षण गरिएको खाता करिडोर बाघ संरक्षणका दृष्टिले अन्तर्राष्ट्रिय रूपमै चर्चित छ ।

खाता जैविक मार्गले दुर्लभ वन्यजन्तुको संरक्षणमा निकै ठूलो योगदान पुर्‍याएको छ । तर पछिल्ला वर्षहरूमा खाता करिडोर क्षेत्र मानव वन्यजन्तु द्वन्द्वका दृष्टिले सबैभन्दा जोखिम क्षेत्र बन्दै गएको छ । खाता करिडोर क्षेत्र समेत पर्ने मधुवन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण मल्ल भन्छन्, ‘पछिल्लो दुई वर्षको अवधिमा करिडोर क्षेत्र अर्थात् मधुवन नगरपालिका वडा नं ३ मा मात्रै बाघको आक्रमणबाट ७ जनाको ज्यान गयो ।’

खाता करिडोर बाघको घना उपस्थिति भएको ठाउँ हो । मान्छेलाई आक्रमण गर्ने दुई वटा बाघलाई नियन्त्रणमा लिए पनि अहिले पनि खाता करिडोर क्षेत्र बाघको आक्रमणको उच्च जोखिम भएको क्षेत्र हो । बाघको आक्रमण बढेपछि डिभिजन वन कार्यालय बर्दियासँग समन्वय गरेर करिब १७ सय मिटरमा तारबार गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका भनाइमा सामान्य तरिकाको तारबार, सोलार फेन्स र आरसीसी वालले वन्यजन्तुलाई बस्तीमा पस्नबाट धेरै हदसम्म रोक्न सकिन्छ । तारजालीले बँदेल र चित्तललाई बस्तीमा पस्नबाट रोक्छ । त्यति मात्र होइन, आहारा लखेट्दै आएको बाघ पनि गाउँ बस्तीमा पस्ने जोखिम कम हुन्छ । तर, बाघलाई तारजाली लगाएर मात्रै रोक्न सकिंदैन । उसले चाह्यो भने यो नाघेरै पनि आउन सक्छ ।

बर्दियाको गोला क्षेत्रमा वन्यजन्तुबाट हुने क्षति रोक्न गेरुवा गाउँपालिकाले लगाएको तारबार ।

बाघ संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याए बापत बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्गले यस वर्ष अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त ‘टी एक्स टु’ पुरस्कार पाउँदैछन् । सन् २०१० मा रूसमा भएको बाघ पाइने राष्ट्रका प्रमुखहरूको पहिलो सम्मेलनले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य निर्धारण गरेको थियो ।

बाघ संख्या दोब्बर बनाउने लक्ष्य पूरा गरेकोमा बाघ दिवसकै दिन रसियामा दोस्रो सम्मेलन आयोजना गरेर यो पुरस्कार दिने तयारी भए पनि रूस–युक्रेन युद्धले पुरस्कार हस्तान्तरण समारोह केही पर धकेलिएको छ ।

दुर्लभ पाटेबाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेर मुलुक पुरस्कृत हुँदा त्यही बाघको आक्रमणमा श्रीमान् गुमाएका खाता जैविक मार्ग क्षेत्रका रमिता र पूजा जस्ता पीडित परिवारका सदस्यहरू दर्दनाक पीडा खेपेर बसेका छन् । तर बाघ संरक्षणको बलियो उपलब्धिका अगाडि उनीहरूको पीडा ओझेलमा परिरहेको छ । किनकि दुई वर्षमा एउटै वडामा बाघको आक्रमणबाट ७ जना मान्छेको ज्यान जाँदा समेत तीन तहका सरकारमध्ये कसैको पनि गम्भीरतापूर्वक ध्यानाकर्षण भइरहेको छैन ।

रमिता र पूजा छोरीहरूको साथमा

१४ असार २०७७ मा बर्दिया राजापुर नगरपालिका वडा नं १० लालपुरका मोहन थारू घर नजिकै गेरुवा नदी किनारामा भैंसी चराउन जाँदा बाघको आक्रमणमा परे । गेरुवा नदी बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा क्षेत्रमा पर्छ ।

बाघले उनको दायाँ हातको कुमको मासु लुछेर लग्यो । गम्भीर घाइते मोहनलाई आफन्तले उद्धार गरेर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याए । एक महिना जति अस्पताल बसेर उपचार गरेपछि घाउ त सञ्चो भयो तर, हात अझै पनि राम्रोसँग चल्दैन । उनको उपचारमा करिब ४ लाख रुपैयाँ खर्च भयो । तर, उनले डिभिजन वन कार्यालयबाट उपचार खर्च बापत १ लाख ९० हजार रुपैयाँ मात्रै सहायता पाए ।

मोहन मुक्त कमैया हुन् । उनको आफ्नो सम्पत्ति भनेको गेरुवा नदी किनारामा रहेको कच्चीघर र एक कट्ठा जग्गा हो । उपचारका क्रममा लागेको करिब ३ लाख रुपैयाँ ऋण उनले अझै तिर्न सकेका छैनन् । सामान्य लेखपढ मात्रै गर्न सक्ने उनका छोराहरू सानै छन् । घाइते भए पनि परिवार पाल्नुपर्ने जिम्मेवारी मोहनकै जिम्मामा छ । अहिले पनि एउटा हातको भरमा उनी अर्काको जमिनमा बटैया काम गरेर चार जनाको परिवार पालिरहेका छन् ।

राजापुर नगरपालिका वडा नं १० लालपुरका मोहन थारू

८ फागुन २०७८ मा बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरका २८ वर्षीय वकिल गद्दी बाघको आक्रमणमा परेर गम्भीर घाइते भएका थिए । गाउँ नजिकैको सामुदायिक वनमा घाँस काट्न गएका बेला आक्रमणमा परेका गद्दी आफूसँग भएको हँसियाले बाघलाई हिर्काएर भाग्न सकेका कारण बाघको शिकार हुनबाट बचेका थिए ।

बाघले गद्दीको घाँटीमा टोकेको थियो । गम्भीर घाइते उनलाई स्थानीय बासिन्दाले नेपालगञ्जको भेरी अस्पतालमा पुर्‍याएका थिए । करिब तीन हप्ता अस्पताल बसेका उनी अझै पूर्ण रूपमा निको भएका छैनन् । उनी अहिले राम्रोसँग बोल्न पनि सक्दैनन् । विपन्न परिवारका सदस्य गद्दीको पेशा खेतीपाती र पशुपालन हो । औषधि उपचारमा १ लाख ५० हजार रुपैयाँ खर्च भए पनि ‘कागजात नमिलेका कारण’ उनले अहिलेसम्म राहत रकम पनि पाएका छैनन् ।

बाघको आक्रमणमा परेर घाइते बिरामीको उपचार गरेका मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका प्लाष्टिक सर्जन डा. विनोद कर्ण भन्छन्, ‘बाघको आक्रमणमा परी घाइते भएका धेरैजसो बिरामीको अनुहार, घाँटी र हातखुट्टामा चोट हुन्छ । बाघले टोकेर शरीरबाट मासुका टुक्राहरू नै निकालिदिएको हुन्छ । त्यस्ता घाइतेहरूको जनरल सर्जन, नाक–कान–घाँटी रोग विशेषज्ञ र प्लाष्टिक सर्जनहरूको टिम मिलेर नै उपचार गर्नुपर्ने हुन्छ । बिरामीलाई एक हप्तादेखि एक महिनासम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ ।’

तीन वर्षमा ५३ मारिए, धेरै बर्दियामा

पछिल्लो तीन वर्षमा नेपालमा बाघको आक्रमणमा परेर ५३ जना मारिएको तथ्यांक छ । यो अवधिमा बाघको आक्रमणबाट २७ जना घाइते भएको विवरणबाट देखिन्छ । पछिल्लो तीन वर्षका घटना विश्लेषण गर्दा हरेक महिना नेपालका निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा दुईभन्दा बढी बाघको आक्रमणमा पर्ने गरेको देखिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा १६ जना माएिर भने ७ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ३ जना मारिए र ३ जना घाइते भएका थिए भने २०७६/७७ मा २ जना मारिएका थिए ।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द सन्जेलका अनुसार निकुञ्जका बाघको आक्रमणमा परेर आर्थिक वर्ष २०७८/७९ मा ६ जना मारिए र ४ जना घाइते भएका छन् । यस्तै २०७७/७८ मा १२ जना मारिए भने ८ जना घाइते भए । आर्थिक वर्ष २०७६/७७ मा ५ जना मारिए भने ३ जना घाइते भएका थिए ।

त्यस्तै बाँके राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको आक्रमणबाट आर्थिक वर्ष २०७८/७९ मा ५ जना मारिए भने १ जना घाइते भएका छन् । यस्तै आर्थिक वर्ष २०७७/७८ मा २ जना मारिए भने २०७६/७७ मा बाघको आक्रमणबाट २ जनाको ज्यान गएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी दिलबहादुर पुर्जा पुनका अनुसार, पछिल्लो तीन वर्षमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक जनाको ज्यान गएको छ भने पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट १ जना सख्त घाइते भएका छन् । बाघको आक्रमणबाट घाइते र मृत्यु भएकाहरूको विवरण घटना भएको क्षेत्रका आधारमा निकुञ्ज, वन कार्यालय र उपभोक्ता समितिहरूसँग हुन्छ । बाघको आक्रमणबाट कति मानवीय क्षति भयो भन्ने एकिन गर्न ती सबै क्षेत्रको विवरणलाई केलाउनुपर्छ । यो विवरण ती सबै निकायसँग समन्वय गरेर तयार पारिएको हो ।

बाघ आक्रमणका सबैभन्दा धेरै घटना बर्दियामा छन् । पछिल्लो तीन वर्षमा यस जिल्लामा २३ जनाको मृत्यु माघको आक्रमणबाट भएको छ । गम्भीर घाइतेको संख्या आधा दर्जन जति छ । बर्दियाको गेरुवा गाउँपालिका क्षेत्र बाघको आक्रमणका दृष्टिले उच्च जोखिममा छ ।

जस्तो कि २५ असोज २०७८ मा गेरुवा गाउँपालिका वडा नं ४ शान्तिपुरका जनकबहादुर शाही र सोही वर्ष मंसिर १२ गते सोही वडाको राजीपुरका कालुराम थारू बाघको आक्रमणमा परेर मारिए । गेरुवा नदीकै किनारामा रहेको राजापुर नगरपालिकाको वडा नं १० भगतपुरकी कमला जैसीको भदौ ३ गते र असोज २३ गते सोही वडाको दक्षिण खैरीका बेचन चौधरी पनि बाघबाट मारिए । त्यसैगरी पुस २९ गते वडा नं. ९ दिपनगरकी धुसिया थारूको ज्यान गएको थियो । गेरुवा नदी किनारामा मात्रै आधा दर्जनभन्दा बढी घाइते अहिले पनि कष्टकर जीवन विताइरहेका छन् ।

‘बाघ निकुञ्ज भन्दा बाहिरको मध्यवर्ती क्षेत्रमा बस्न थालेको छ । तर, त्यस क्षेत्रका समुदायले जंगलमा जाँदा यो क्षेत्रमा बाघ पनि बस्न थालेको छ भनेर पर्याप्त सावधानी नअपनाउँदा आक्रमणको घटना भएको’ राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा.लामिछाने बताउँछन् ।

बाघको आक्रमणबाट पशुधनको क्षति भएका घटना पनि उत्तिकै छन् । जुन निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका सर्वसाधारणको प्रमुख सम्पत्ति हो । बितेका तीन वर्षमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा बाघले ८१९ वटा पशुमाथि क्षति पुर्‍याएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको तथ्याङ्क अनुसार, २०७६/७७ मा १७५, २०७७/७८ मा ३०६ र २०७८/७९ मा यो संख्या ३३८ पुगेको छ । सबैभन्दा बढी घरपालुवा पशुमा क्षति बर्दिया निकुञ्ज आसपासमा भएको छ । बर्दियामा २०७६/७७ मा ९५ वटा, २०७७/७८ मा १४१ वटा, २०७८/७९ मा १७२ वटा घरपालुवा जनावरलाई बाघले आक्रमण गरेको देखिन्छ ।

सरकारले बाघको आक्रमणबाट स्थानीय बासिन्दा र उनीहरूको सम्पत्ति जोगाउन ध्यान नदिएको गुनासो संरक्षणकर्मी आशिष चौधरीको छ । उनी भन्छन्, ‘अब बाघको संख्या बढाउने भन्दा पनि बाघको बासस्थान सुधारका लागि घाँसे मैदान, पानीका लागि कृत्रिम पोखरी निर्माण र आक्रमणको जोखिम भएको क्षेत्रमा तारबार आवश्यक छ ।’

बर्दियाको खाता करिडोर । बाघ संरक्षणका दृष्टिले अन्र्तराष्ट्रियस्तर मै चर्चित क्षेत्र ।

जंगलको बीचमा रहेका मधुवन नगरपालिकाका पत्थरभुजी, धनौरा, झगरैया र कोठिया गाउँका बस्तीका बासिन्दा अहिले पनि बाघको आक्रमणको उच्च जोखिममा रहेकाले ती बस्ती तत्कालै अन्यत्र सार्नुपर्ने संरक्षणकर्मी चौधरीको भनाइ छ ।

बाघ आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा पनि आक्रोश बढ्दै गएको छ । २३ जेठ २०७९ दिउँसो बाघ (कतिपयले चितुवा पनि भनेका छन्) को आक्रमणमा परी बर्दियाको मधुवन नगरपालिका २ की ४१ वर्षीया अस्मिता थारू घाइते भइन् । यसपछि आक्रोशित स्थानीयवासी बर्दियाको गुलरिया–राजापुर सडक खण्ड बन्द गरेर आन्दोलनमा उत्रिए ।

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा गोली लागेर मधुवन २ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भयो । नवीनाको मृत्यु भएपछि तीन दिनसम्म बर्दियाको मधुवन क्षेत्र तनावग्रस्त बन्यो । मृतकका परिवारलाई २० लाख रुपैयाँ दिने र घाइतेको निःशुल्क उपचार गर्ने आश्वासन दिएर जनआक्रोश थामथुम पारियो । तर, पीडित परिवारलाई डिभिजन वन कार्यालयले १० लाख रुपैयाँ मात्रै दिएको थियो । घाँस–दाउरा गर्न जंगल जानै पर्ने र यसरी जंगल जाँदा जतिखेर पनि आक्रमणमा परिने भएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दा अत्यन्त तनावपूर्ण अवस्थामा बाँच्न विवश छन् ।

राहत र क्षतिपूर्तिमा समस्या, जीविकोपार्जन कार्यक्रम बन्दै

नेपाल सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ जारी गरेको छ । यसको तेस्रो संशोधन २०७५ को दफा ३ को (क) मा संरक्षित क्षेत्र र राष्ट्रिय वन क्षेत्र बाहेक अन्य क्षेत्रमा बाघ, चितुवा, गैंडा र हात्ती लगायतका जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यु भएमा मृतकका परिवारलाई १० लाख र गम्भीर घाइतेलाई उपचारका लागि २ लाख रुपैयाँ दिने व्यवस्था उल्लेख छ । २ लाखभन्दा बढी खर्च लाग्ने घाइतेलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था निर्देशिकामा छ ।

तर, बाँके र बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएका ९० प्रतिशत बढी घटना निकुञ्जको कोर क्षेत्र भन्दा बाहिर, मध्यवर्ती, राष्ट्रिय वन र सामुदायिक वन क्षेत्रभित्रै भएका छन् । यसरी निर्देशिका अनुसार यस्तोमा क्षतिपूर्ति दिन मिल्दैन ।

निकुञ्जको कोर एरिया निषेधित क्षेत्र भए पनि राष्ट्रिय वन, समुदायले नै संरक्षण गरेको सामुदायिक र मध्यवर्ती क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध छैन । स्थानीय बासिन्दाहरू आफ्नो आवश्यकता पूरा गर्न घाँसदाउरा, सागपात टिप्न, गाईबस्तु चराउन यो वनमा जान्छन् ।

त्यही वन क्षेत्रमा गएका बेला उनीहरू बाघको आक्रमणमा पर्ने गरेका छन् । तर वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाले राष्ट्रिय वन क्षेत्रमा गएका बेला बाघको आक्रमणमा परेका व्यक्तिले पनि राहत रकम नपाउने व्यवस्था गरेको छ ।

तर, निर्देशिकाले राहत दिन नमिल्ने व्यवस्था गरेको भए पनि स्थानीय बासिन्दाको आक्रोशलाई मत्थर पार्न स्थानीय सरकार, निकुञ्ज तथा वन प्रशासनले संरक्षित क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा भएका आक्रमणका घटनालाई पनि ती क्षेत्रभन्दा बाहिर घटना भएको किर्ते विवरण बनाएर क्षतिपूर्ति दिने गरेका छन् ।

बर्दिया निकुन्जको खोरमा राखिएको मान्छेलाई आक्रमण गर्ने बाघ ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्का भन्छन्, ‘राहत निर्देशिका संशोधन गरेर राष्ट्रिय वन क्षेत्रमा भएका घटनामा पनि क्षतिपूर्ति दिने व्यवस्था मिलाउनु जरूरी छ ।’

तर बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ बाघ आक्रमण बढेसँगै यो समस्यालाई समग्र रूपमै सम्बोधन गर्ने उद्देश्यले गएको वर्षदेखि पाँचवर्षे रणनीतिक योजना बनाएर काम गरिरहेको दाबी गर्छन् । श्रेष्ठका अनुसार, सो रणनीतिक योजना अनुसार, निकुञ्जको आसपासको क्षेत्रमा बसोबास गर्नेलाई बाघ आक्रमणको जोखिम र त्यसबाट बच्न व्यवहार परिवर्तन सम्बन्धी सचेतना अभियान चलाइएको छ ।

त्यस्तै पछिल्लो एक वर्षमा करिब १२ हजार मानिसलाई बाघको आक्रमणको जोखिम र त्यसबाट बच्ने उपाय सिकाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाको भनाइ छ ।

स्थानीय बासिन्दाको वनजंगलप्रतिको निर्भरतालाई कम गर्न विभिन्न सीपमूलक तालिम, होमस्टे संचालन, नेचर गाइड तालिमका लागि प्रोत्साहित गर्दै आएको बर्दिया राष्ट्रिय निकुञ्जको दाबी छ । त्यसैगरी बाघले मान्छेलाई आक्रमण गरेलगत्तै आक्रमण गर्ने बाघको पहिचान गरी नियन्त्रण गर्ने गरिएको र पछिल्ला तीन वर्षमा मान्छेलाई आक्रमण गर्ने ६ वटा बाघलाई नियन्त्रण गरी निकुञ्जकै होल्डिङ सेन्टर र काठमाडौंस्थित चिडियाखानामा पठाइएको उसको भनाइ छ ।

बाघको संख्या बढेसँगै मानवीय क्षति पनि बढ्दै गएपछि सरकारले बाघ संरक्षण र मानव वन्यजन्तु द्वन्द्व घटाउन एक अर्ब रुपैयाँको कोष खडा गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय बाघ संरक्षण समितिको ४ साउन २०७८ मा बसेको बैठकले ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ संचालन गर्ने निर्णय गरेको छ । कार्यक्रम संचालनका लागि १ अर्ब रुपैयाँको कोष खडा गर्न वन मन्त्रालयले अर्थ मन्त्रालयलाई रकम निकासा गर्न आग्रह गरेको छ ।

मानव र वन्यजन्तु सहअस्तित्व

विज्ञहरूका भनाइमा, मानव र वन्यजन्तुको सहअस्तित्वमा आधारित संरक्षणका कार्यक्रममा भन्दा बाघको संख्या बढाउनेमा मात्र बढी जोड दिंदा बाघको संख्या वृद्धि भई आक्रमणका घटना बढेका हुन् ।

बाघको आक्रमणबाट बाँके र चितवन राष्ट्रिय निकुञ्ज किनाराको बस्तीका आदिवासी थारू, चेपाङ लगायत गरिब तथा विपन्न समुदायका मानिसले क्षति व्यहोर्दै आएका छन् । बर्दिया गेरुवाका घाइते मायाराम खनाल जनताको जीवन रक्षा भन्दा बाघ संरक्षण बढी प्राथमिकतामा पर्ने संरक्षणको यो मोडल नै परिवर्तन हुनुपर्ने बताउँछन् ।

बाघको आक्रमणमा परेर भाग्यले बाँचेका बर्दिया गोलाका मायाराम खनाल

हुन पनि वन्यजन्तु संरक्षणका क्रममा सर्वसाधारणलाई उठिवास लगाउने प्रयास पनि भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको दक्षिणी सीमा क्षेत्रमा रहेको गेरुवा नदीले धार परिवर्तन गरी गेरुवा गाउँपालिकाको वडा नं ४, ५ र ६ का किसानले खनजोत गर्दै आएको करिब १२०० बिघा जग्गा कटान गरेको छ । नदी कटानबाट प्रभावित करिब १ हजार परिवार अहिले बर्दिया राष्ट्रिय निकुञ्जबाट थप पीडित छन् ।

नदी कटान र वन्यजन्तुको आक्रमणको जोखिम बढेपछि करिब ३०० परिवार थातथलो छाडेर त्यस क्षेत्रबाट विस्थापित भएको गेरुवा नदी कटान पीडित संघर्ष समितिका सचिव महादेव थारू बताउँछन् । थारूले भने, नदीले कटान गरे पनि सरकारलाई मालपोत तिर्दै आएका किसान अहिले बाघको डरले आफ्नै खेतबारीमा जान नसक्ने अवस्था छ ।’

बाघ संरक्षण र आसपासका बासिन्दाको जीवन रक्षाका विषयमा सरकारी कार्यक्रम सन्तुलित नभएको विज्ञहरू पनि बताउँछन् । डा. प्रकाशकुमार पौडेलले जैविक विविधताका विषयमा विद्यावारिधि गरेका छन् । काठमाडौं इन्ष्टिच्युट अफ एप्लाइड साइसेन्सका कार्यकारी निर्देशक डा. पौडेल भन्छन्, ‘सरकारले मानिसको नजरबाट संरक्षणका कार्यक्रम ल्याइरहेको छ । जनताको माग अनुसारका कार्यक्रम ल्याएर मात्रै हुँदैन । बाघ बस्तीमा आएर मान्छेलाई आक्रमण नगर्ने अवस्था सिर्जना गर्ने हो भने बाघको आवश्यकता पूर्ति गर्ने किसिमको कार्यक्रम बनाउनुपर्छ ।’

उनको विचारमा यसका लागि बाघको आहारा प्रजातिका जनावरको उपलब्धता बढाउनुपर्छ । त्यसका लागि घाँसे मैदान र पानीपोखरीहरूको निर्माण गर्नुपर्छ । पछिल्ला दिनहरूमा बाघ निकुञ्ज भन्दा बाहिर, मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन, चुरे क्षेत्रको जंगल, सामुदायिक वनहरूमा पनि बस्न थालेको छ । तर, ती क्षेत्रमा बाघका लागि आहाराको अभाव छ । ती क्षेत्रहरूमा घाँसे मैदान, पानीपोखरी र सिमसार क्षेत्र नहँुदा ऊ आहारा र पानीको खोजीमा घुमफिर गरिरहेको हुन्छ । यसरी घुमफिर गरिरहेका बेला गाईबस्तु र मान्छेलाई आक्रमण गर्ने संभावना हुन्छ ।

‘त्यसैले बाघ जंगलमै बस्ने वातावरण सिर्जना गर्न जंगल क्षेत्रमै बाघले सहज रूपमा आहारा पाउने वातावरण सिर्जना गर्न आवश्यक छ’ डा. पौडेल भन्छन्, ‘निकुञ्ज भन्दा बाहिरी क्षेत्रमा बस्ने बाघका लागि आहारा प्रजातिको संख्या बढाउन घाँसे मैदान र पानीपोखरी निर्माणको काम गर्नु आवश्यक छ । त्यसतर्फ खासै काम हुनसकेको छैन ।’

पौडेलका भनाइमा, मान्छेलाई आक्रमण गर्ने बाघलाई दोष दिएर उम्कने भन्दा पनि किन जंगलमा चित्तल, बँदेल खाएर बस्ने बाघ बस्ती नजिकका जंगलमा आएर गाईबस्तु र मान्छे खान थाल्यो भनेर ध्यान दिनु आवश्यक छ ।

यसको उपाय भनेको के हो ? डा. पौडेलका भनाइमा, बाघको आक्रमणको जोखिम भएको क्षेत्रमा बस्ने मानिसको वनजंगलप्रतिको निर्भरता कम गर्न आयमूलक कार्यक्रम संचालन गर्नुपर्छ । तर हाम्रा सरकारी निकायहरू आक्रमण घटाउने कार्यक्रममा केन्द्रित हुनुपर्नेमा राहत र औषधि उपचार खर्च दिने व्यवस्था छँदैछ नि भनेर बसेका छन् । यसबाट सरकार बाघ आक्रमणका घटनामा गम्भीर बन्न सकेको छैन भन्ने देखिन्छ ।

डा. पौडेल भन्छन्, ‘भोट बढाउने गरी सरकारले ल्याउन लागेको प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रमबाट पनि मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसका लागि मान्छे र बाघ दुवैलाई केन्द्रित गरेर कार्यक्रमहरू संचालन गर्नुपर्छ ।’

मानव वन्यजन्तु द्वन्द्वका विषयमा विद्यावारिधि गरेका राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार चाहिं बाघको संख्या वृद्धि गर्ने सरकारको नीति अनुसार चोरीशिकारी नियन्त्रण भएका कारण पनि यसको संख्या वृद्धि हुँदै गएको हो । संख्या बढ्दै गएपछि बाघहरू निकुञ्ज भन्दा बाहिर रहेका मध्यवर्ती क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पनि बस्न थालेका छन् ।

लामिछाने भन्छन्, ‘बाघ नबस्दा स्थानीय बासिन्दाहरूले घाँसदाउरा काट्ने, सागपात टिप्ने, माछा मार्ने जंगल र खोलाका किनाराहरूमा अहिले आक्रमणका घटना धेरै भइरहेका छन् । स्थानीय बासिन्दाहरूले जंगल जाँदा यहाँ त बाघ पनि हुन सक्छ भन्ने आकलन गरेर सावधानी अपनाउने हो भने बाघको आक्रमणको जोखिम कम गर्न सकिन्छ ।’

अधिकारकर्मी जगत देउजा वन्यजन्तुको आक्रमणको जोखिम भएका कारण आफ्नो घरजग्गा छाडेर भूमिहीन बन्न विवश जनताका समस्याका बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका छन् । उनी भन्छन्, ‘संरक्षणको कार्यले स्थानीय समुदायलाई सहयोग पुग्नुपर्छ । वन्यजन्तुको संरक्षणको लागि मानिसको जिन्दगी साट्न सकिंदैन । प्रकृति र मानव दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउने नीति र कार्यक्रम आजको खाँचो हो ।’

उनका भनाइमा, सरकारको नीति मान्छे र प्रकृति दुवैलाई सन्तुलनमा राख्ने हुनुपर्छ । जनतालाई बेवास्ता गरेर वन्यजन्तुको मात्रै संरक्षण गर्ने नीति नै गलत छ । त्यो नीति परिवर्तन गरी निकुञ्ज क्षेत्र किनाराका बस्तीका मानिसले खेप्दै आएका समस्यालाई सम्बोधन गर्नु आवश्यक छ ।

उनी भन्छन्, ‘नेपालले कति बाघ संरक्षण गर्न सक्छ भन्ने यकिन गर्नुपर्छ । दाता खुसी पार्न जनतालाई पीडा दिने काम गर्नुहुँदैन ।’ उनका भनाइमा, हामीलाई बाघ लगायतका लोपोन्मुख वन्यजन्तु कति चाहिने हो ? हामीले कति संख्यामा तिनको संरक्षण गर्न सक्छौं  ? संरक्षण गर्ने उपयुक्त वासस्थान कहाँ हो ? यकिन गरेर स्थानीय बासिन्दाले खेप्नु परेका समस्यालाई सम्बोधन गरेर संरक्षणका कार्यक्रमहरू संचालन गर्नु जरूरी छ ।

अधिकारकर्मी देउजा भन्छन्, ‘नत्र मान्छेको जीवन जोखिममा पारेर बाघको संख्या त केही बढ्ला तर त्यो दिगो हुन सक्दैन ।’

नेपालमा कति छन् बाघ ?

सन् २०२२ मा गरिएको बाघ गणनाको रिपोर्ट आज (शुक्रबार) सार्वजनिक गरिएको छ । जसअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । पछिल्लो १० वर्षमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य नेपालले पूरा गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ थियो । सन् २०१८ को गणनामा यो संख्या २३५ पुग्यो । यसअघि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९३, बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ थिए । त्यसैगरी पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार, भाले बाघहरू एउटै ठाउँमा बस्दैनन् । एउटै क्षेत्रमा दुईवटा भाले बाघ भए भने आपसमा लड्छन् । जित्ने बाघ आफ्नै ठाउँमा बस्छ हार्ने त्यो क्षेत्र छाडेर नजिकको मध्यवर्ती क्षेत्र, सामुदायिक वनतर्फ जान्छ ।

जवान भाले बाघले २० देखि ५० वर्गकिलोमिटर क्षेत्रलाई आफ्नो ‘टेरिटोरी’ बनाउँछ । आहाराको उपलब्धताका आधारमा बाघको ‘टेरिटोरी’ घटबढ हुन सक्छ । भाले बाघले ३ देखि ५ वटासम्म पोथी बाघलाई आफ्नो ‘टेरिटोरी’ भित्र राख्छ । तर अर्को भाले बाघलाई भने आफ्नो ‘टेरिटोरी’ मा छिर्न दिंदैन ।

 

कभर स्टोरी
लेखकको बारेमा
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?