+

‘आफैंलाई थाहा नहुने गरी दाँत भित्रभित्रै खराब भइसकेको हुनसक्छ’

२०७९ साउन  १७ गते २०:१० २०७९ साउन १७ गते २०:१०
‘आफैंलाई थाहा नहुने गरी दाँत भित्रभित्रै खराब भइसकेको हुनसक्छ’

१७ साउन, काठमाडौं । ‘मिलेका ती दाँतका पंक्ति’, ‘अनारका दाना झैं दाँत’, ‘लागेछ मायाको दन्ते मोहनी’ । गीत, कविता, कथामा सौन्दर्यको विम्ब बनाइन्छ दाँतलाई । तर दाँतको नाता सौन्दर्यसँग मात्र छैन, यो त मानव शरीरकै यस्तो हिस्सा हो, जसले समग्र स्वस्थ्यको अभिभारा बोकेको हुन्छ ।

शरीरका लागि जरुरी पोषक तत्वको प्रवेशद्वार हो, दाँत । खानेकुरालाई दाँतले टुक्राएपछि पाचन पक्रिया सुरु हुन्छ । त्यसैले खानालाई जति मिहिन ढंगले चपाइन्छ, त्यो उत्ति नै सुपाच्य हुन्छ । अतः खानेकुरामा निहित पोषकतत्व पाचनतन्त्रले सहज रुपमा अवशोषित गर्न सक्छ । तर दाँत नै खराब भइदियो भने ?

जवाफ सटिक छ, खानेकुरा टुक्र्याउन कठिन हुन्छ । यस्तो खानेकुराबाट पर्याप्त पोषक तत्व प्राप्त नहुने मात्र होइन, पाचन प्रणाली नै बोझिलो हुन्छ । जबकि दाँतप्रति हामी त्यति सजग छैनौं, जति यो संवेदनशील छ । त्यसैले त दाँतसम्बन्धी अनेक समस्या बढ्दैछन् । दाँतसम्बन्धी यिनै समस्या, यसको उपचार र दन्त सौन्दर्य लगायतका विषयमा दन्त तथा गिजारोग विशेषज्ञ डा. नियुक्ति अर्जेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं दन्त तथा गिजारोग विशेषज्ञ भएको नाताले तपाईंकहाँ कस्ता कस्ता समस्या लिएर धेरैजसो बिरामी आउँछन् ?

दाँतको सरसफाइमा हेलचेक्राइँ गर्दा देखिने समस्या नै लिएर धेरै जना आउनुहुन्छ । दाँत दुख्ने, गिजा सुन्निने, गिजाबाट रगत आउने, सास गन्हाउने, दाँत हल्लिने जस्ता समस्या नै धेरैमा मैले पाएको छु । हुन त मैले काठमाडौं केन्द्रित भएर उपचार गर्ने गरेका कारण यस्ता समस्या बढी देखेको हुनसक्छ,  दूरदराजमा यो भन्दा फरक प्रकृतिका समस्या पनि बढिरहेका हुन सक्छन् ।

सिरिङ्ग हुनु भनेको दाँतको प्वाल बढ्दै जानु हो र यसमा केही समस्या छ है भनेको हो । दाँतमा खाल्डो परेको हो कि भनेर संकेत दिएको हो ।

नेपालीहरु दाँतको सुरक्षालाई लिएर कति सचेत देखिन्छन् ?

मानिसहरुमा दाँत र मुख स्वास्थ्यलाई लिएर सचेतना चाहिं बढेको छ । नियमित चेकअप गराउनेहरु पनि बढेका छन् । तर समस्या कहाँनेर छ भने दाँतको केही सानो समस्या देखिएको छ भन्यो भने उहाँहरु स्वीकार्न नै तयार हुनुहुन्न । अर्थात् यो ठूलो समस्या होइन, आफैं ठीक भइहाल्छ किन उपचार गर्नु भनेर भन्ने गरेको पाएको छु । अर्को भाषामा भन्दा दाँतको समस्यामा हेलचेक्राइँ गर्ने प्रवृत्ति धेरै छ ।

दाँत कमजोर हुनुमा के के कुराले प्रभाव पारेको हुन्छ ? यसमा गिजाको अवस्थाले कस्तो भूमिका खेल्छ ?

गिजामा आउने समस्याकै कारण दाँतमा पनि समस्या आउने हो । दाँत अडिने नै गिजामा भएकाले गिजा कमजोर भए दाँत हल्लिने, रगत आउने समस्या हुन्छ । गिजा र मुखको हड्डी बलियो राख्न पौष्टिक खानेकुराको भूमिका पनि उत्तिकै हुन्छ । आवश्यक पौष्टिक तत्वको अभाव पनि गिजा र दाँत कमजोर हुनुको एउटा कारक हो ।

सबैभन्दा महत्वपूर्ण कारण त दाँतको सरसफाइमा हेलचेक्राइँ, नियमित जाँच गराउन अल्छी मान्ने प्रवृत्ति नै हो ।

गिजामा के के कारणले समस्या आउँछ ?

एउटा त उमेरको कुरा पनि हुन्छ । वृद्ध उमेरका व्यक्तिको शरीर नै कमजोर हुँदै जाने भएकाले दाँत र गिजा पनि कमजोर नै हुने भइहाल्यो । अर्को वयस्क व्यक्तिमा पनि वंशाणुगत लगायत कारणले गिजा कमजोर हुनसक्छ । गिजामा पहिलेदेखि नै कुनै न कुनै समस्या भइरहेको हुनसक्छ । अनि एकैपटक जँचाउन आउँदा एउटा होइन, १५-२० वटा दाँत नै खराब भइरहेको पनि देखिन्छ । यो भनेको दाँतमा हामीले थाहा नपाउने गरी पनि भित्रभित्रै धेरै समस्या भइरहेको हुनसक्छ । दाँत दुखेको हुँदैन, तर गिजा खराब भएर धेरैवटा दाँत बिग्रिसकेको हुन्छ ।

यो भनेको दाँतको नियमित हेरचाह नगर्दा हुने हो । ढिलो आउँदा उपचार हुने ठाउँ नै बाँकी नरहेर दाँत नै फुकालेर पठाउनु परेका घटना निकै छन् । त्यसैले दाँत र मुख स्वास्थ्यमा हामी गर्ने लापरवाही नै गिजामा आउने समस्याको कारक हो । दाँत सजिलै हल्लिंदैन । कुनै इन्फेक्सन भएपछि, दुर्घटना भएपछि मात्रै दाँतले गिजाको सपोर्ट छाड्दै जान्छ ।

अनि अर्को कुरा गिजाको अवस्था हेरेर पनि अहिले डाइबिटिज भए नभएको पत्ता लगाउन सकिन्छ ।

दाँतसम्बन्धी समस्या उमेर अनुसार फरक-फरक हुन्छ कि, सबैमा उस्तै प्रकृतिको हुन्छ ?

समग्रमा त उस्तै नै हुन्छ । तर दाँत हल्लिने र खिइएर जाने समस्या भने वृद्ध उमेरमा बढी हुन्छ । तर पनि बुढेसकाल लाग्दैमा दाँत कमजोर हुने होइन । यसका लागि कारण चाहिन्छ, कित कुनै दुर्घटना नै हुनुपर्‍यो । नत्र बच्चामा पनि र वयस्कमा पनि दाँत र मुख स्वास्थ्यमा गरिने लापरवाहीले समस्या ल्याउने हो ।

बच्चाहरुमा चकलेट वा गुलियोजन्य खानेकुरा बढी खाने बानी हुन्छ । बढी चकलेट खाँदा बच्चाहरुको दाँत बिग्रिरहेको छ । हामीमध्ये धेरै त बच्चाको दूधे दाँत बिग्रेर केही हुँदैन, परमानेन्ट दाँत (नयाँ दाँत) राम्रो भएर आइहाल्छ नि भन्ने सोच हुन्छ । यो गलत हो, दूधे दाँत कीराले खाएमा नयाँ दाँत स्वस्थ भएर आउन पनि समस्या हुनसक्छ । त्यसैले बच्चालाई गुलियो कुराबाट टाढा राख्ने कोशिश गर्नुपर्छ ।

दाँतका लागि खानेकुराको भूमिका चाहिं कति हुन्छ ? दाँत कमजोर हुनुमा हामीले खाने खाना पनि कारक होला नि ?

पौष्टिक खाना पूरै शरीरका लागि आवश्यक हुन्छ । हरियो तरकारी, दाल, गेडागुडी, पानीको मात्रा, दूध जस्ता भिटामिन र प्रोटिन पाइने खानेकुरा दाँतका लागि लाभदायक हुन्छन् ।

मुखको हड्डी, गिजा र दाँतमा पौष्टिक खानाले राम्रो गर्छ । भिटामिन, मिनरल, प्रोटिनको लेभल पूरै शरीरमा बढ्दा यसले मुख स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । यसले गालाको छाला, तालुको छाला स्वस्थ हुन्छ । यदि पौष्टिक तत्वको कमी भएमा दाँतमा असर गर्छ ।

दाँतमा कीरा कसरी लाग्छ ? अर्थात् दाँतमा कीरा लागेको भनेको के हो ?

दाँत बिगार्ने भनेको चिनी भएको खानेकुराले हो । चिनीजन्य खानेकुरा खाएपछि लामो समयसम्म मुख कुल्ला नगर्दा ब्याक्टेरियाहरु सक्रिय हुन्छन् । ती ब्याक्टेरियाले दाँतलाई प्वाल पार्दै जान्छन् । यसैलाई कीरा लागेको भनिन्छ ।

दाँतमा ब्याक्टेरियाले खाल्डो बनाउँदै गएपछि दाँत दुख्छ, सिरिङ सिरिङ हुन्छ । यो भनेको दाँतमा समस्या भइरहेको छ भन्ने संकेत हो ।

दाँतमा कीरा लागेमा कस्तो उपचार सकिन्छ ?

सबभन्दा पहिले त दाँतमा कीरा लाग्न नै नदिनु नै राम्रो हुन्छ । यदि कीरा लाग्यो भने पनि सुरुवाती अवस्थामा नै यसको उपचार गरिहाल्नुपर्छ । त्यसका लागि कीराले खाएको दाँत भर्ने, स्केलिङ गर्ने गर्नुपर्छ । तर सानो समस्यालाई स्वीकार गरिएन भने पछि ठूलो समस्या आउन सक्छ, जसको उपचार नै गर्न नसकिने हुन्छ । कीरा लागेको छ पछि देखाउँछु ठीक भइहाल्छ नि भनेर बस्नुहुँदैन ।

दाँत सिरिङ्ग हुँदा नै सतर्कताको संकेत दिइरहेको हुन्छ । सिरिङ्ग हुँदा दाँतको लेयरहरु घट्दै जान्छ । दाँतमा तीन तह हुन्छ, बाहिर इनामेल, त्यसभित्र डेन्टिङ र सबैभन्दा भित्र जरा हुन्छ ।

सिरिङ्ग हुनु भनेको दाँतको प्वाल बढ्दै जानु हो र यसमा केही समस्या छ है भनेको हो । दाँतमा खाल्डो परेको हो कि भनेर संकेत दिएको हो । जरासम्मै समस्या भइसकेको छ भने जराकै उपचार गर्नुपर्ने हुन्छ, त्यसलाई रुट क्यानल ट्रिटमेन्ट अर्थात् आरसीटी भनिन्छ । आरसीटी पनि गर्न नसक्ने अवस्था आएको छ भने दाँत नै निकाल्नुपर्ने हुन्छ ।

कतिपय व्यक्ति दाँतलाई कीराले खाइहाल्यो, यसको उपचार गर्नुभन्दा दाँत नै फुकालेर नयाँ राख्दा तनाव नै सकियो भन्ने पनि सोच्छन् नि, यसो गर्नु कति सही हो ?

यसो गर्नु पटक्कै ठीक होइन । जे भएपनि प्राकृतिक दाँत भनेको प्राकृतिक नै हो, कृत्रिमले यसको ठाउँ लिनै सक्दैन । दाँत बचाउनका लागि बेस्ट कोशिश गर्नैपर्छ । त्यही भएर म फेरि दोहोर्‍याउँछु समस्या आउनै दिनुहुँदैन ।

दाँत निकालेर खाली नै छाड्ने भन्ने पनि कतिले सोच्न सक्नुहुन्छ । तर यसरी खाली छाड्नु भनेको अरु समस्यालाई निम्तो दिनु हो । त्यसैले दाँतलाई बचाउने भरपुर कोशिश गर्नुपर्छ ।

बच्चाको दाँतको कुरा गरौं । उनीहरु चकलेट वा गुलियो खानेकुरामा धेरै आकर्षित हुन्छन् । उनीहरुको दाँत अलि बढी बिग्रिरहेको पनि देखिन्छ, बढी चक्लेट खाँदा दाँत बिग्रिने हो ?

गुलियो खाँदा बच्चाको मात्रै नभएर ठूलो मान्छेको दाँत बिग्रिन सक्छ । त्यही भएर बच्चालाई सकेसम्म गुलियो कुराबाट टाढै राखौं, नभए पनि खाइसकेपछि कुल्ला गर्न पनि सिकाऔं । दाँत माझ्ने सही तरिका पनि सिकाऔं ।

दाँत माझ्ने सही तरिका चाहिं के हो ?

हामी सुन्छौं, दिनको दुईपटक बिहान र बेलुकीको खाना खाइसकेपछि दाँत माझ्नुपर्छ भन्ने कुरा । यो कुरा त हामीले थाहा पाएका छौं, तर सही तरिकाले कसरी माझ्ने भन्ने कुुराबाट भने हामी बेखबरजस्तै छौं ।

दाँत माझ्दा ब्रस र टूथपेस्टको सही छनोट गर्नुपर्छ । राम्रो टूथपेस्टको प्रयोग गरी ब्रसलाई दाँतको चारैतिर घुमाएर माझ्नुपर्छ ।

ब्रसको छनोट गर्दा बच्चा र वृद्धले नरम खालको र वयस्क व्यक्तिले हल्का कडा खालको प्रयोग गर्नुपर्छ । दाँत माझ्दा हतार नगर्ने र धेरैबेरसम्म माझ्नु पनि आवश्यक हुँदैन । ब्रसलाई दाँततिर थोरै ढल्काएर र पछाडिको भागबाट माझ्न सुरु गर्नुपर्छ । तलको दाँत माझ्दा ब्रस तलतिरै ढल्काउने र माथि गर्दा माथितिरै ढल्काउने गर्नुपर्छ ।

दाँतमा धेरै घोट्नु भने हुँदैन । यसले दाँत सिरिङ्ग हुने समस्या हुनसक्छ । त्यसैले एक एक दाँतलाई फोकस गर्दै ब्रस गर्नुपर्छ । दाँत र गिजाको कापमा नदरालिने गरी ब्रस गर्नुपर्छ ।

बच्चाहरुले कसरी दाँत माझ्ने ?

बच्चाका लागि दाँत माझ्न सिकाउने खास तरिका हुन्छ । उनीहरुको ब्रस पनि सानो हुन्छ । यसका लागि अभिभावकले पहिले गरेर सिकाउने, पढाउन सिकाएजस्तै प्राटिकल गरेर सिकाउने, ब्रस समाउने तरिका, टूथपेस्ट ननिल्न सिकाउने गर्नुपर्छ ।

ज्येष्ठ नागरिकको हकमा पनि त्यस्तै हो । उहाँहरुले यसरी नै माझ्नुपर्छ भन्ने छैन, अन्य व्यक्तिले जस्तै हो । यदि शारीरिक रुपमा कमजोर भएर दाँत माझ्न सक्दैनन् भने परिवारका अरु सदस्यले सहयोग गर्नुपर्छ ।

दाँत यति समय माझ्नुपर्छ भन्ने छ ?

ठ्याक्कै त्यस्तो छैन । औसत २ मिनेटसम्म तरिका पुर्‍याएर दाँत माझ्दा काफी हुन्छ । कति समय माझ्ने भन्दा पनि कसरी माझ्ने भन्ने कुरा महत्वपूर्ण हो ।

दाँतमा ठूलै समस्या भएपछि फुकाल्नुको विकल्प हुँदैन होला, दाँत फुकाल्ने बेलामा के कस्तो होसियारी अपनाउनुपर्छ ?

उपचार नै नहुने अवस्थामा पुगेपछि दाँत फुकाल्नुपर्छ र नयाँ लगाउनुपर्छ । तर दाँत फुकाल्नका लागि केही सर्त भने अवश्य छन् । दीर्घरोग जस्तै मधुमेह, उच्च रक्तचाप, दमको समस्या भएका व्यक्तिले तुरुन्तै दाँत फुकालिहाल्नुहुँदैन । मधुमेह र रक्तचाप नियन्त्रणमा आएपछि त्यो पनि सम्बन्धित रोग हेर्ने चिकित्सकको सुझावका आधारमा मात्रै उहाँहरुको दाँत फुकाल्न सकिन्छ । तर दीर्घरोगीको दाँत फुकाल्नै हुँदैन भन्ने जुन कुरा छ, त्यो चाहिं सत्य होइन ।

महिलाहरुको दाँतको पनि कुरा गरौं । सामान्य अवस्थामा सबै उस्तै भए पनि गर्भवती भएको अवस्थामा दाँतमा समस्या आउँदा उनीहरुले कसरी र कस्तो उपचार गर्ने ?

यसमा एउटा कुरा राख्न चाहन्छु । शरीरको अन्य अवस्थाको जस्तै दाँत र मुखको पनि गर्भवती हुनुभन्दा अगाडि जाँच गराउनुपर्छ । यो विषयमा धेरैलाई थाहा नै छैन । कसैको विवाह गर्ने बित्तिकै प्रेग्नेन्सीको प्लानिङ छ भने विवाह अगाडि नै दाँतको राम्रोसँग चेकअप गराउन सुझाव दिन्छु ।

कति मानिसलाई गिजाबाट रगत आउने, सास गन्हाउने, गिजा सुन्निने जस्ता समस्या देखिइरहेका हुन्छन् । यी लक्षणले शरीरमा अरु केही खराबी भइरहेको संकेत गरेको हुन्छ । गर्भवती भएपछि दाँत दुख्यो, गिजाबाट रगत आयो वा अरु कुनै उपचार गर्नुपर्‍यो भने यस अवस्थामा अलि जोखिमपूर्ण हुन्छ । यसबेला हर्मोन परिवर्तन हुने भएकाले गिजामा पनि यसको प्रभाव पर्छ, जतिबेला सानो समस्या पनि ठूलो बन्न जान्छ ।

शरीरको अन्य अवस्थाको जस्तै दाँत र मुखको पनि गर्भवती हुनुभन्दा अगाडि जाँच गराउनुपर्छ । यो विषयमा धेरैलाई थाहा नै छैन । कसैको विवाह गर्ने बित्तिकै प्रेग्नेन्सीको प्लानिङ छ भने विवाह अगाडि नै दाँतको राम्रोसँग चेकअप गराउन सुझाव दिन्छु ।

दाँतलाई शरीरको ऐना पनि भनिन्छ । मिलेका दाँतले सुन्दरतामा निखार ल्याउँछ भन्ने मान्यता छ । आजभोलि खानपिन लगायतका कारणले दाँत बांगोटिंगो हुने क्रम पनि बढेको देखिन्छ ? दाँत मिलाउने विभिन्न प्रविधि आएका छन् ? के कस्ता विधि अहिले प्रचलनमा छन् ?

बांगोटिंगो दाँतलाई मिलाउन सबैभन्दा बढी प्रचलनमा रहेको विधि भनेको ब्रेसेस लगाउने हो, यसलाई अर्थोडेन्टिक ट्रिटमेन्ट भन्छौं । तार लगाएर दाँत मिलाउने प्रविधि हो यो । यसमा अहिले इन्भिजिबल टाइपको पनि पाइन्छ । यसले दाँतको अलाइन्टमेन्ट मिलाउँछ । यो सबैभन्दा चलेको विधि हो । यसमा समय र शुल्कअनुसार फरकफरक किसिमका ब्रेसेस पाइन्छ ।

अर्को हुन्छ, कसैको दाँत खप्टेको छ भने दाँतको आकारप्रकार मिलाएर गर्ने उपचार । यसमा बांगोटिंगो र भित्रबाहिर भएको दाँतको काटछाँट गरेर मिलाइन्छ । ब्रसेस लगाउने समय नभएकाहरुका लागि यस्तो किसिमको कस्मेटिक ट्रिटमेन्टद्वारा दाँत मिलाइन्छ । दाँतलाई कमभन्दा कम क्षति पुर्‍याएर पनि मिलाउने विधि अहिले प्रचलनमा छन् ।

दाँत मिलाउन कति समय लाग्छ ?

ब्रेसेस लगाउने हो भने एक वर्षभन्दा बढी नै लाग्छ । कसैलाई अढाइ वर्षसम्म पनि लागेको हुन्छ । कुन विधिबाट दाँत मिलाउने भन्ने कुरामा भर पर्छ ।

नयाँ दाँत लगाउने चाहिं के कस्ता तरिका छन् ?

यसमा रोज्ने सुविधा छ । लगाउने झिक्ने र फिक्स्ड राख्ने । फिक्स्ड राख्नेमा पनि अहिले इम्प्लान्ट भन्ने बढी चलेको छ । यो भनेको दाँत कतै पनि नकाटी हड्डीमा स्क्रु राखेर गर्ने विधि हो ।

समग्रमा दाँतको हेरचाह कसरी गर्ने ?

पहिलो कुरा त अनिवार्य रुपमा दिनको दुईपटक दाँत माझ्नैपर्छ, त्यो पनि सही तरिकाले । हरेक खानेकुरा खाएपछि प्रत्येक पटक कुल्ला गर्ने गर्नुपर्छ । चिया, खाजा जे खाए पनि खाइसकेपछि कुल्ला गर्नुपर्छ ।

कुल्ला गर्नका लागि बेसिन वा बाथरुममा जाने अवस्था नभएमा पानीलाई केहीबेर मुखमा राखेर फ्लस गर्ने र निल्ने गर्न सकिन्छ । अनि रेसा भएका खानेकुरा खाएको बेला डेन्टल फ्लस पाइन्छ । यसले ब्रस नपुग्ने भागमा भएका खानाका टुक्रा निकाल्न मद्दत गर्छ । यो कुनै पनि फार्मेसीमा पाउन सकिन्छ ।

अर्को कुरा चिनी धेरै भएको खानेकुरा सकेसम्म खानु हुँदैन । बिस्कुट, चाउचाउ, चाउमिन जस्ता मैदाले बनेका खानेकुरा कम खाने वा खानै परे राम्ररी कुल्ला गर्ने बानी गर्नुपर्छ । प्याकेटको खानेकुुरा भन्दा घरमै पकाएको खानेकुरालाई प्राथमिकता दिनु राम्रो हुन्छ ।

यसैगरी ६-६ महिनामा दाँत र मुखको नियमित जाँच गराउनुपर्छ । यसो गर्दा कुनै समस्या देखिए बेलैमा समाधान निकाल्न सकिन्छ । धुम्रपान र मध्यपानबाट टाढा रहनु बुद्धिमानी हुन्छ । धुम्रपानले सास गन्हाउनुका साथै गिजाको रोग पनि निम्त्याउँछ । त्यस्तै मदिराले मुख सुक्खा हुने र एसिडिटी बढाउने भएकाले दाँतमा समस्या ल्याउँछ ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

भिडियो सम्पादन : गारव योञ्जन

गिजारोग डा. नियुक्ति अर्जेल दाँत स्वास्थ्य
लेखक
खेम रिसाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय