+
+
चुनाव–२०७९ मा एकीकृत समाजवादी :

माधव नेपालको भयानक अलमल, कार्यकर्ताको गिर्दो मनोबल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते २०:०४

२० साउन, काठमाडौं । चुनाव आयो, तर माधव नेपाललाई अब कसरी जाने हो ठ्याक्कै थाहा छैन । उनी बिहान कांग्रेसलाई एक्लै हिँड्न खोजेको भन्दै बेस्मारी आलोचना गर्छन् । ‘कांग्रेसले दम्भ देखाउने हो भने हामी समाजवादी गठबन्धन बनाउँछौं,’ उनी यस्तै भन्छन् । दिउँसो उनको पारो मत्थर हुन्छ । साँझ त उनी सत्ता गठबन्धनको विकल्प नभएको भन्दै यसको अस्तित्व चुनावसम्म मात्रै होइन, त्यसपछि पनि यत्तिकै अघि बढ्ने दाबी गर्छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल ‘भयानक अलमल’मा रहेकोमा उनै सहकर्मी हैरान छन । तर नेकपा एमालेसँग ठूलो ईख राखेर बाहिरिएको हुनाले विकल्पविहीनताको यथार्थबोध उत्तिकै छ । सबै व्यथाहरु एकीकृत समाजवादीका नेताहरुले सार्वजनिक रुपमा खुलेर भन्न सम्भव छैन । अनौपचारिक गफमा भने खुलेरै असन्तुष्टि दर्शाउँछन्  ।

एकीकृत समाजवादी भित्रको सबैभन्दा ठूलो संकट- आगामी आम चुनावमा के भन्दै मतदाताकहाँ जाने हो, विषयवस्तुको कमी छ । विगत एमालेमा छँदा बाेलेकै कुरा बाेल्ने हाे भने एकीकृत समाजवादीकाे सार्थकता पुष्टि गर्नुपर्ने जाेखिम छ । अरु छुट्टै केही भन्न त पार्टी पङ्तिले जानेकै छैन ।

महासचिव वेदुराम भूसालले मोटो जवाफका भरमा चित्त बुझाउन खोजे । ‘भर्खरै चुनावको तिथि तय भएको छ, अब हाम्रो ध्यान घोषणापत्र निर्माणमा जानेछ,’ उनले अनलाइनखबरसँग भने, ‘हिजो सचिवालय बैठकमा यसबारे कुरा उठेको थियो । मुलतः हामी आर्थिक र सामाजिक विकासको कार्यक्रममा केन्द्रित हुनेछौं ।’

आर्थिक र सामाजिक विकासको मार्गचित्र कस्तो होला भन्नेबारे उनले प्रष्टता भने देखाउन सकेनन् । यत्ति थपे, ‘कार्यदल बनाएर मोडालिटी तय गर्छौं । फेरि हामीसँग समय पनि त थुप्रै छ ।’

तर खासमा एकीकृत समाजवादीका लागि धेरै समय बचेको छैन । भर्खरै गठन भएको पार्टी हो । स्थानीय चुनावभन्दा ठिक्क अगाडि अध्यक्ष नेपालले आफ्ना कार्यकर्ता संगठन बनाउन नखटिएको भन्दै खुलेआम आलोचना गरेका थिए । राजधानीको बुद्धनगरमा वैशाख तेस्रो साता आयोजित कार्यक्रममा उनले नयाँ पार्टी बनाउँदा हुनुपर्ने स्वतःस्फुर्त जोस नदेखिएको भन्दै कार्यकर्तासामू उनले आफ्नो युवाकालको स्फुर्ति सम्झना दिलाए । अनि त्यो जोस युवाहरुमा कहाँ गयो भन्दै लख्याए ।

नभन्दै स्थानीय चुनावमा त्यस्तै भयो । सत्ता गठबन्धनभित्रैबाट उनलाई एकातिरबाट कांग्रेस, अर्कातिरबाट माओवादी केन्द्रको पेलान पर्‍यो । अर्कातिर मतदाताले पनि उत्साहपूर्वक स्वागत गरेनन् । एकीकृत समाजवादी पार्टीको नाममा एकीकृत भए पनि त्यस्तो एकत्रित शक्ति देखिएन । ‘समाजवादी’ लाई समाजले पत्याएन । ७५३ पालिकाका प्रमुखहरुमध्ये एकीकृत समाजवादीको हात लाग्यो २० ।

चुनाव सकिन नपाउँदै  एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले खुला–खुला कांग्रेसलाई आक्रमण गरे । चुनावमा कांग्रेसले धोका दिएको भन्दै अब एमालेसँगै पुनः मोर्चाबद्ध हुनसक्ने संकेत गरे । त्यसयता एकीकृत समाजवादी आन्तरिक रुपमा मजबुत छैन । बाह्य रुपमा अझै कमजोर र अनिर्णायक बन्दै गएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई दैनन्दिन निर्णयहरुमा माधव नेपालको राय खासै नचाहिने हुन थालेको छ । यसलाई माधवले आफ्नो ‘अपमान’ ठानेका छन् ।

‘माधव कमरेडमा बिहान एउटा, बेलुकी अर्को अभिव्यक्ति दिने अवस्था यत्तिकै सिर्जना भएको होइन, कांग्रेसले उहाँलाई उपेक्षा गर्दै जान थालेको छ,’ एक पदाधिकारीले भने, ‘माधवजीलाई देउवा प्रधानमन्त्री हुनुमा मेरो हात भन्ने जति परेको छ, देउवालाई पनि उनी सानै पार्टीको भए पनि अध्यक्ष बन्न पाउनुमा मेरो साथ छ भन्ने परेको छ । इगो टसल चर्किदै गएको छ ।’

यति हुँदाहुँदै पनि एकीकृत समाजवादीका लागि गठबन्धनमा बसिरहन जति कठिन छ, गठबन्धन छाड्न झन् कठिन छ । गठबन्धनमा बसिराख्दा सिट बाँडफाटमा चर्कै किनारामा धकेलिन सक्छ । गठबन्धन छाड्दा उसले ०५६ को आम चुनावमा नेकपा माले पार्टीले भोगेको दुर्नियतिभन्दा ठूलो ठक्करका लागि तयार हुनुपर्ने हुन्छ ।

पार्टी सचिव रामकुमारी झाँक्री सामुन्नेको यो परिदृश्यलाई वस्तुवादी भएर आकलन गरिरहेको बताउँछन् । अनलाइनखबरको संवादमा उनले आगामी चुनावका लागि ठोस रणनीति बनाउने योजनाहरु सुनाइन् । ‘हामी सहर र गाउँका लागि, देशका विभिन्न भूगोल र आर्थिक वर्गका नागरिकका लागि आशा जगाउने कार्यक्रम ल्याउँछौं,’ उनले भनिन्, ‘हामीसँग केही शासन–प्रशासनको अनुभव पनि भइसक्यो, आगामी चुनावमा त्यसको प्रतिविम्ब पाइनेछ ।’

महासचिव भूसाल र सचिव झाँक्रीले आश्वासन दिलाएपनि विश्वास गर्ने आधार भने कमजोर छन् । संगठन बन्न पाइसकेको छैन । प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष केपी ओलीलाई आक्रमण गर्ने गरेको भए पनि एकीकृत समाजवादी स्वयंले संविधानको अपव्याख्या गराउँदै अध्यादेशको ‘चोरबाटो’बाट २० प्रतिशत सांसदको भरमा दल विभाजन गराउँदै नयाँ पार्टी बनाएको हो ।

राजनीतिक दलसम्बन्धी कानुनअनुसार दल फुटाउन नियमतः संसद र पार्टी केन्द्रीय समिति दुवैतिर कम्तिमा ४० सदस्य आवश्यक पर्छ । तर एकीकृत समाजवादी बनाउनकै लागि सरकारले मध्यरातमा संसदको अधिवेशन अन्त्य गरेर विहान अध्यादेश ल्यायो । त्यही अध्यादेशअनुसार एकीकृत समाजवादी बन्यो । अर्थात् संविधान मिच्नमा माधव नेपाल पनि कम छैनन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउने बेला एकीकृत समाजवादीभित्र प्रष्टै दुईवटा कित्ता देखिए । माधव नेपालले एमसीसी पारित गराउन साथ दिँदा पार्टीको उल्लेख्य पंक्ति विरोधमा थियो, जसको नेतृत्व झलनाथ खनालले गरेका थिए । आगामी चुनावमा यसको असर नदेखिएला भन्ने आधार छैन ।

देउवा सरकारमा आफूले पठाएका झाँक्री लगायत मन्त्रीले ठोस योजना बनाउने, त्यसलाई कार्यान्वयनको बाटोतर्फ लैजान अग्रसरता देखाएपनि माधव नेपालले पार्टीभित्रका मन्त्री आकांक्षी व्यवस्थापन गर्न सकेनन् । एक नेता भन्छन्, ‘हामी ओलीसँग जे कारणले निराश थियौं, माधवजीसँग त्योभन्दा बढ्ता निराश त्यही कारणले बनिरहेका छौं । कम्तीमा ओलीले सार्‍होगाह्रो पर्दा सोधखोज गर्छन्, माधव त त्यो पनि गर्दैनन् ।’

तिनै नेताले हामीसँगै प्रश्न गरे, जसमा सम्भावित उत्तर लुकेको थियो, ‘यस्तो कमजोर मनोबल लिएर हामी कसरी चुनावमा जाने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?