+
+

कांग्रेसभित्र छलफल : ३ हजार मतमा ३० हजार खन्याउन सजिलो छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते २०:३६
फाइल तस्वीर : नेपाली कांग्रेसका शीर्ष नेता

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

सोमबार कांग्रेसका शीर्ष तहका नेताहरुको बैठकमा केही नेताले तालमेलको उद्देश्य प्रष्ट पार्न नसके परिणाम उल्टो आउने चेतावनी दिए । ‘तालमेलको बाटो पेचिलो छ । गठबन्धन जोगाउनुपर्ने पनि छ’ बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसको सांगठनिक अवस्था अनुसार मतको भारलाई ध्यान दिन सकेनौं भने गठबन्धनका उम्मेदवारलाई सोचे अनुसार मत खस्दैन ।’

बैठकमा नेताहरुले तालमेल गर्दा पार्टीको मत ख्याल गर्न नेतृत्वलाई आग्रह गरेका थिए । देशभर कांग्रेसको मत धेरै र सत्ता गठबन्धनका अरु दलको मत कम रहेकाले तालमेलमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने नेताहरुको मत थियो ।

‘कतिपय क्षेत्रमा हाम्रो ३० हजार मत छ । गठबन्धनका अर्को दलको ३ हजार मत छ’ बैठकमा उठेको विषयबारे एक नेताले भने, ‘विजयी सांसद भने गठबन्धनका अरु दलबाट छन् । ३ हजार मत भएको पार्टीलाई ३० हजार मत खन्याउने कुरा सजिलो हुँदैन ।’

तालमेल सकारात्मक रहेपनि सिट वाँडफाँट स्वाभाविक भएन भने त्यसले विपक्षलाई फाइदा पुग्ने नेताहरुको तर्क थियो ।

नेताहरुले मधेसमा पनि कांग्रेसको अवस्था राम्रो रहेको भन्दै त्यहाँ पनि धेरै सिट नछोड्न नेतृत्वलाई सुझाव दिएका छन् । ‘मधेसमा पहिले भन्दा अहिले बलियो अवस्थामा छौं । अरुलाई धेरै सिट छोड्न थाल्यौं भने दीर्घकालीन रुपमा कांग्रेसलाई क्षति पुर्‍याउँछ’ बैठकमा सहभागी नेताले भने ।

नेता विजय गच्छदारले थारू समुदाय पार्टीभित्रै बेवास्तामा परेको गुनासो गरेका थिए । थारू समुदायमा पार्टीप्रति असन्तोष रहेको उल्लेख गर्दै गच्छदारले कांग्रेसले समयमा बुझ्न सकेन भने समस्या आउने चेतावनी दिएका थिए ।

नेता बिमलेन्द्र निधिले पार्टीमा सबैलाई मिलाएर अघि बढ्न सभापति शेरबहादुर देउवलाई सुझाव दिएका थिए । पार्टीभित्रको वृहत एकतामा ध्यान नपुर्‍याए तालमेल परिणाममुखी नहुने उनले बताएका बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कुन दलको कहाँ अवस्था कस्तो छ भन्ने बारेमा प्रारम्भिक छलफल भएको बताए । सिटको दाबी गर्ने विषयमा कुनै छलफल नभएको उनले बताए ।

बैठकमा विमलेन्द्र निधि, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, महेन्द्र यादव, उमाकान्त चौधरी, किशोरसिंह राठौर लगायतका नेताले धारणा राखेका थिए ।

बैठकले साउन ३० र ३१ गते स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिले गरेको निर्णय अनुसार भाद्र २ देखि २४ गतेसम्म देशव्यापी विशेष अभियानमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?