+

के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?

२०७९ भदौ  ५ गते १८:३८ २०७९ भदौ ५ गते १८:३८
के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?

मकहाँ यौनाङ्ग चिलाउने समस्या लिएर दिनहुँ धेरै जना महिला आउने गर्छन् । खासमा यो आम समस्या हो । आम भए पनि यो सामान्य भने होइन । यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने जस्ता कुराले सामान्य दिनचर्यामा महिलाहरुलाई असहज बनाइरहेको हुन्छ । यस्तो कुरा उनीहरुले खुलेर भन्न पनि सक्दैनन् ।

स्त्रीरोग ओपीडीमा आउने सय जना महिलामध्ये ५० जना महिला यौनाङ्ग चिलाउने, पोल्ने र सेतो पानी बग्ने समस्या लिएर आउने गर्छन् । महिलाहरूमा यौनाङ्ग चिलाउने समस्या विभिन्न कारणले देखा पर्छ, तर मुख्यतया सरसफाइमा ध्यान नदिएर र यौन सम्पर्कको कारण संक्रमण भएर यो समस्या हुन सक्छ ।

अविवाहितहरूमा सुगन्धित साबुन, क्रिम, डिटर्जेन्टको प्रयोग, दैनिक रूपमा पेन्टी परिवर्तन नगर्ने र योनीको सरसफाइमा ध्यान नदिएर संक्रमण हुने गर्छ । यही संक्रमणका कारण यौनाङ्ग चिलाउने, दुर्गन्धित पानी बग्ने आदि समस्या देखा पर्छ ।

विवाहित महिलाहरूमा भने यौन सम्पर्कको कारण यो समस्या देखा पर्छ । यदि श्रीमान् वा श्रीमतीमध्ये एकमा यौनरोग छ भने अर्कोमा सरेर पनि महिलामा यो समस्या देखा पर्न सक्छ ।

यस्तो समस्या धेरै महिलामा देखा पर्ने भए पनि यस विषयमा उनीहरु खुलेर कुरा गर्न चाहँदैनन् । अलिअलि समस्या हुँदा सहेर नै बस्छन्, समस्या अलि धेरै भएपछि मात्र अस्पताल आउँछन् ।

ढुसी संक्रमण, ब्याक्टेरियाबाट हुने संक्रमण र एचआईभी जस्ता संक्रमणका कारण महिलाहरूमा योनी चिलाउने, गन्हाउने पानी बग्ने, पोल्ने जस्ता समस्या देखिन्छन् ।

योनी एकदमै संवेदनशील अंग हो । यसको सरसफाइमा ध्यान दिइएन भने छिटो संक्रमण हुन्छ । संक्रमणलाई सामान्य रूपमा लिएर सरसफाइमा ध्यान दिइएन भने यो समस्या योनी, पाठेघर हुँदै पेटसम्म पनि पुग्छ ।

यौनाङ्ग चिलाउने समस्याले महिलाहरूको दिनचर्यामा नै असर गर्छ । धेरै पानी बगेर प्याडको नै प्रयोग गर्नुपर्ने हुन्छ । यौनाङ्ग चिलाएर एकदमै असहज महसुस हुने र अरूको अगाडि जान नै अप्ठ्यारो लाग्ने समेत हुन्छ ।

महिलाहरूको अण्डाशयमा अण्डा बन्ने क्रममा पनि सेतो पातलो पानी बग्ने समस्या हुन सक्छ । महिनावारी हुनुअघि पनि पातलो सेतो पानी बग्ने र अलिअलि यौनाङ्ग चिलाउने समस्या देखा पर्छ भने त्यो सामान्य हो, यसमा डराउनु पर्दैन । यस्तो समस्या आफैं निको पनि हुन्छ । तर, दूध फाटेको जस्तो बाक्लो पानी बग्ने पानीको कलर पहेंलो हरियो भयो, यौनाङ्ग अत्यधिक चिलायो भने चाहिं त्यो समस्या हो । त्यसको उपचार गर्नैपर्छ ।

उपचार के छ ?

यौनाङ्ग चिलाउने समस्याको उपचार प्रायः दुई किसिमले हुन्छ । पहिलो सरसफाइमा ध्यान दिएर र अर्को एन्टिबायोटिक तथा अन्य औषधिको प्रयोग गरेर ।

समस्या भर्खरै सुरु भएको छ र अलिअलि चिलाउने सेतो पानी बग्ने समस्या छ भने यौनाङ्गको सरसफाइमा ध्यान दिनुपर्छ । यौनाङ्ग सफा गर्दा सुगन्धित साबुन, क्रिम, डिटर्जेन्टको प्रयोग नगर्ने, मनतातो पानीको मात्र प्रयोग गरेर सफा गरे पुग्छ । महिनावारी भएको बेला कपडाको प्रयोग नगर्ने, त्यसले पनि संक्रमण हुन्छ । पेन्टी दैनिक रूपमा परिवर्तन गर्ने, त्यसलाई धोएर घाममा राम्ररी सुकाएर मात्र पुनः प्रयोग गर्ने गरियो भने यो समस्या कम हुन्छ ।

यदि समस्या धेरै छ भने सरसफाइमा मात्र ध्यान दिएर हुँदैन । अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार औषधिको पनि प्रयोग गर्नुपर्छ । यौनाङ्ग चिलाउने तथा सेतो पानी बग्ने समस्या अन्य यौनरोगको कारणले पनि हुनसक्ने भएकाले चिकित्सकलाई देखाएर उपचार गराउनुपर्छ ।

यो समस्याको विभिन्न घरेलु उपचार पनि हामीले सुनिरहेका हुन्छौं । जस्तो योनीलाई सुख्खा राख्ने, फिट्किरीको प्रयोग र पाउडरको प्रयोग गर्ने भन्ने सुनिन्छ । तर यस्तो घरेलु उपायले समस्याको समाधान हुने भन्दा समस्यालाई थप बढाउन सक्छ । त्यसैले अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार नै उपचार गर्नुपर्छ ।

(डा. शाहसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

जनस्वास्थ्य डा. साधना शाह यौनाङ्ग
लेखक
डा. साधना शाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय