+

किन हुन्छ पटक-पटक गर्भपात ?

२०७९ भदौ  ६ गते १४:३८ २०७९ भदौ ६ गते १४:३८
किन हुन्छ पटक-पटक गर्भपात ?

बारम्बार गर्भपात भइरहन्छ भने त्यो समस्या जटिल बन्न सक्छ । आफ्नो सन्तान गुमाउनु  वास्तवमा कुनै पनि महिलाको जीवनमा धेरै दुःखद् अवस्था हो । यसले उनीहरूको शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि असर गर्छ ।

त्यसैले बारम्बार गर्भपात भइरहेको छ भने यसको ठोस कारण पत्ता लगाउन आवश्यक छ ।  सामान्यतयाः गर्भधारणको २० हप्ताअघि नै भ्रुणको मृत्यु गएमा त्यसलाई गर्भ खेर गएको भनिन्छ । विश्व स्वास्थ्य संगठनले गर्भावस्थाको २२ हप्ताअघि नै भ्रुणको मृत्यु हुनुलाई गर्भ खेर गएको मान्छ ।

चिकित्सा क्षेत्रमा गर्भपात वा मिसक्यारेज भनिने यो समस्या आम समस्या भने होइन । अझ बारम्बार भइरहने गर्भपातले प्रजननसँगै स्वास्थ्यमा नै जटिलता निम्त्याउँछ । यससँगै उचित उपचारको अभावमा यसबाट आमाको मृत्यु समेत हुने सम्भावना रहन्छ ।

गर्भपात हुनुबाट जोगाउन गर्भवती भएको पहिलाको तीन महिनामा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा सवारीसाधन चढ्दा, बाइकको पछाडि बसेर यात्रा गर्दा, खराब सडकमा पेट छचल्किने हुन्छ । यसले भ्रुणमा असर पारेर गर्भपात हुन सक्छ । बढी तनाव लिंदा पनि गर्भमा रहेको शिशुलाई प्रभाव पर्ने हुन्छ । त्यसकारण सुरुको तीन महिना अन्य बेलामा भन्दा बढी ध्यान दिनुपर्छ ।

गर्भपात हुनुबाट जोगाउन गर्भवती भएको पहिलाको तीन महिनामा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा सवारीसाधन चढ्दा, बाइकको पछाडि बसेर यात्रा गर्दा, खराब सडकमा पेट छचल्किने हुन्छ । यसले भ्रुणमा असर पारेर गर्भपात हुन सक्छ ।

के कारणले हुन्छ बारम्बार गर्भपात ?

कतिपय महिलाले बारम्बार गर्भपातको सामना गर्नुपर्ने हुन्छ । कम्तीमा २२ हप्ताको गर्भावस्थाअघि दुई  वा त्यसभन्दा बढी गर्भपात भएका महिलाले विशेषज्ञको सल्लाह लिनुपर्छ । महिलाहरूमा बारम्बार गर्भपात ब्याड अब्स्ट्रेटिक हिस्ट्री, ओएच (खराब प्रसूति इतिहास)को कारण हुन्छ अर्थात् कमजोर प्रसूति इतिहासको कारणले गर्दा पनि गर्भपात हुने गर्छ ।

मानिसको शरीरमा हुने सानो संरचनालाई क्रोमोजोम भनिन्छ । यी संरचनाहरूले जीन लाने र लैजाने कार्य गर्छ । कुनै पनि अवस्थामा जब पुरुषको शुक्राणु अण्डासँग मिलन हुन्छ, एउटा अण्डा वा शुक्रकीटमा त्रुटि देखिएको छ भने परिणामस्वरूप भ्रुणमा क्रोमोजोमहरूमध्ये एकको असामान्य मिलन हुन्छ, परिणाम स्वरूप गर्भपात हुन्छ । जब महिलाको पाठेघरको आकार असामान्य हुन्छ र पाठेघरको विभाजन हुन्छ, यसले गर्भपात हुन सक्छ ।

अर्को इम्युनोलोजी डिसअर्डरका कारण पनि गर्भपात हुन सक्छ । कहिलेकाहीं इम्युनोलोजी डिसअर्डरका कारण भ्रुण पाठेघरमा प्रत्यारोपण नगर्ने हुँदा पनि गर्भपतन हुन सक्छ । इम्युनोलोजी विकारहरूले दम, एलर्जी, अटोइन्फ्लेमेटरी सिन्ड्रोम जस्ता समस्या निम्त्याउन सक्छ ।

महिलाको पाठेघरको मुख गोलो नभईकन खुडे  भए कतिपय दम्पतीले सन्तानको योजना बनाए पनि पटकपटकको प्रयास असफल हुने गर्छ । यसका लागि स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्ने हुन्छ । यसको उपचार सम्भव छ ।

गर्भपात हुनुका अन्य कारण

पीसीओएस भएका महिलाहरूमा गर्भपातको जोखिम बढी हुन्छ । यस्तो अवस्थामा प्रोजेस्टेरोन र एस्ट्रोजन हर्मोनको सन्तुलन बिग्रन्छ, जसले अण्डाको विकास हुन सक्दैन ।

३५ वर्षभन्दा माथिको उमेरमा गर्भधारण गर्दा पनि बारम्बार गर्भपात हुने समस्या आएको देखिन्छ । यस्तै गर्भवती भएको बेला धेरै दौडिनु वा पहिलो र तेस्रो त्रैमासिकमा यात्रा गर्दा गर्भपतन हुन सक्छ ।

गर्भावस्थामा महिलाको पेट दुख्यो वा दबाब भयो भने पनि गर्भपातको सम्भावना हुन्छ । यसैगरी महिलालाई योनीमा संक्रमण हुनु सामान्य कुरा हो । यस्तो अवस्थामा बारम्बार योनी संक्रमणले गर्भपात हुन सक्छ ।

नेपालमा गर्भपातको अवस्था

यूएन बडीका अनुसार विश्वमा औसत १० देखि १५ प्रतिशत महिला गर्भपातको सिकार भएको पाइएको छ । सन् २०१६ मा नेपाल डेमोग्राफिक हेल्थ सर्भेले गरेको अध्ययनले नेपालमा झण्डै ९ प्रतिशत महिलाको गर्भपात हुने देखाएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि गर्भवतीले आफ्नो शिशु जन्मअगावै गुमाउने एक प्रमुख कारणमा गर्भपातलाई राखेको छ ।

गर्भपात कति प्रकारका हुन्छन् ?

मिस्ड गर्भपात : यो अवस्थामा गर्भावस्था आफैं समाप्त हुन्छ । यस अवधिमा रगत बग्दैन र कुनै लक्षण पनि देखिंदैन । कतिपय अवस्थामा गर्भपतनपछि पनि भ्रुण पाठेघरमा नै रहन्छ र गर्भमा भ्रुणको विकास रोकिएपछि थाहा हुन्छ । यो अल्ट्रासाउन्डद्वारा पत्ता लगाइन्छ ।

अपूर्ण गर्भपतन : यसमा महिलाले धेरै रगत बग्ने र तल्लो पेटमा गहिरो दुखाइको अनुभव गर्छन् । भ्रुणको एक भाग मात्र बाहिर आउन सक्छ ।

पूर्ण गर्भपतन : कडा पेट दुख्नु र भारी रक्तस्राव पूर्ण गर्भपातको लक्षण हो । यसमा भ्रुण पाठेघरबाट पूर्ण रूपमा बाहिर आउँछ ।

अपरिहार्य गर्भपात : यस अवस्थामा रक्तस्राव जारी रहन्छ र पाठेघर खुल्छ । भ्रुण बाहिर आउन अनुमति दिन्छ । यस अवधिमा महिलाको पेटमा लगातार दुखाइ हुन्छ ।

सेप्टिक गर्भपतन : गम्भीर संक्रमणको कारण यस्तो गर्भपात हुन्छ ।

गर्भपातको लक्षण

गर्भपातको सबैभन्दा सामान्य लक्षण पेट दुख्ने र योनीबाट रक्तस्राव हुन् । योनीबाट खैरो वा गाढा रातो रंगको रगत बग्नु गर्भपतनको मुख्य लक्षण हो । यसबेला दाग, रगत जम्ने वा अत्यधिक रक्तस्राव हुन्छ ।

गर्भावस्थाको समयमा ढाड दुखाइ सामान्य हो, तर कहिलेकाहीं असह्य किसिमले ढाड दुखेमा भने गर्भपातको जोखिम हुन्छ ।

यस्तै तल्लो पेटमा दुखाइ गर्भपातको लक्षणमध्ये एक हो । यो चिन्ताको विषय हुन सक्छ, किनकि यो दुखाइ महिनावारीको समयमा हुने दुखाइ भन्दा पनि तीव्र हुन सक्छ ।

गर्भपातको जोखिम कसरी थाहा पाउने ?

यदि सही समयमा गर्भपतनको समस्या निदान भयो भने संक्रमण जस्ता समस्याबाट बच्न सकिन्छ । त्यसो नगर्दा महिलाको स्वास्थ्य खतरामा पर्न सक्छ ।

अल्ट्रासाउण्ड गरी पाठेघरको फैलावटको जाँच, भ्रुणको मुटुको धड्कन जाँच गरेर अवस्था थाहा पाउन सकिन्छ । यस्तै चिकित्सकले रगतको नमुना लिएर र पहिलेको स्तरसँग मानव कोरियोनिक गोनाडोट्रोपिन (एचसीजी)को स्तर तुलना गर्न गरिन्छ । यदि यो परिवर्तन भएको खण्डमा गर्भपातको जोखिम हुन सक्छ ।

यदि पाठेघरबाट तन्तुहरू निस्कन थालेका छन् भने गर्भपतन हुन सक्ने सम्भावना हुन्छ । त्यसैले यसको परीक्षण गराइरहनुपर्छ ।

गर्भपात डा. लक्ष्मी तामाङ
लेखक
डा. लक्ष्मी तामाङ, यौन तथा प्रजननविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय