+
+

सहकारीको समस्या : पैसा राख्नेभन्दा निकाल्ने धेरै

एक सहकारीका सञ्चालक भन्छन्, ‘पैसा लगानी भएको छ, त्यो रातारात उठ्दैन, वचत राख्नेहरु सबै एकैपटक लाइनमा आएपछि कसरी पैसा दिने ?’

विजय पराजुली विजय पराजुली
२०७९ भदौ ६ गते २०:१०
गौतमश्री सहकारीकाे वचत फिर्ता गराइदिन माग गर्दै सहकारी विभाग पुगेका वचतकर्ताहरु ।

६ भदौ, काठमाडौं । सोमबार कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको एउटा समूह र कर्मचारीबीच वादविवाद भयो । सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता आक्रोशित भएका थिए ।

सरकारीका अनुसार बिहीबार सफ्टवेयर सिस्टममा समस्या आउँदा बाहेक कारोबार भइरहेको छ । तर बचतकर्ताले झिक्न चाहेको जति रकम भने सहकारीले दिन सकेको छैन । साउनसम्म एक जनालाई एक पटकमा १ लाख रुपैयाँसम्म रकम झिक्न दिएको सहकारीले पछिल्लो समय २५ हजारको सीमा तोकेको थियो । आइतबारदेखि दैनिक एक जनालाई १५ हजार रुपैयाँभन्दा बढी बचत रकम झिक्न नपाउने सीमा तोकेको कान्तिपुर सहकारीका प्रबन्धक प्रेम लामा बताउँछन् ।

पछिल्लो समय सहकारीमा संकलन हुने बचतभन्दा झिक्ने रकम बढी हुुुँदा तरलता समस्या बढ्दै गएको उनको भनाइ छ । यो समस्या कान्तिपुरमा मात्र होइन, धेरै सहकारीमा देखिएको छ । काठमाडौं, कुलेश्वरको गौतमश्री, ललितपुरको देउराली, धरानको बराह जस्ता ठूला सहकारीमै समस्या देखिएका कारण बचतकर्ताको सहकारी संस्थामाथि विश्वास डगमगाएको छ र, सुशासनमा चलेका सहकारी संस्थामा पनि रकम झिक्न वचतकर्ता बढेका छन् ।

पछिल्ला दिनमा विश्वसनीय भनिएका सहकारीमा समेत समस्या देखिएपछि राम्रसँगै चलको सहकारीमा पनि पैसा झिक्न बचतकर्ताहरु पुग्न थालेका छन् । यसमा नेपाल विज्ञापन बोर्डमार्फत प्रकाशित लोक कल्याणकारी विज्ञापनले काम गरेको छ ।

खासगरी गौतमश्री सहकारीमा देखिएको समस्याले सहरी क्षेत्रका सहकारीका काउन्टरमा पैसा जम्मा गर्नेहरु नगण्य पुगिरहेका छन् भने झिक्नेहरुको ताँती छ । एक सहकारीका सञ्चालक भन्छन्, ‘पैसा लगानी भएको छ, त्यो रातारात उठ्दैन, वचत राख्नेहरु सबै एकैपटक लाइनमा आएपछि कसरी पैसा दिने ?’

उनका अनुसार सहकारीबाट ऋण लिएकाहरुलाई रकम फिर्ता गर्न दबाव बढाइएको छ । तर उनीहरु पनि नियमित किस्ताबाहेक रकम तिर्न नसक्ने बताइरहेका छन् । ‘हामी पैसा माग्न जाँदा उल्टै ऋणीबाट खप्की खानु परेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक सहकारी सञ्चालक भन्छन्, ‘वचतकर्तालाई कोटा तोकेर पैसा दिँदा पनि नसकेर काउन्टर सटडाउन गर्नुपर्ने जोखिम भइसक्यो ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल तरलता अभाव राष्ट्रिय समस्या बनेको बताउँछन् । ‘सहकारीले कुल स्रोतको ८० प्रतिशत जति लगानी गरेका हुन्छन्, अहिले व्यापार व्यवसाय राम्रोसँग नचल्दा लगानीको किस्ता तथा ब्याज राम्रोसँग उठेको छैन’, उनले भने, ‘वित्तीय स्रोत नियमित परिचालन भयो भने समस्या हुँदैन । लगानी गरेको पैसा नउठ्ने वचत पनि आउने, तर भएको वचत फिर्ता लैजाने परिस्थितिले तरलताको समस्या भएको हो ।’

उनका अनुसार विगतमा सहज अवस्था हुँदा थोरै प्रतिशत तरलतामा काम गर्ने गरेको पनि हुनसक्छ, तर अहिले केही सहकारीमा समस्या देखिएकाले वचत फिर्ता लिन चाहनेहरु धेरै भएका कारण पनि तरलताको समस्या भएको उनले बताए ।

‘केही ठूला सहकारीमा समस्या हुँदा बचत फिर्ता माग्ने क्रम झनै बढ्यो, यसले गर्दा पनि समस्या आयो’, उनले भने, ‘सामान्य अवस्थामा प्रणालीमा चलेका संस्थामा पनि एकैपटक पैसा झिक्नेको भिड लाग्दा समस्या आउँछ ।’

‘राम्रा’लाई पनि समस्या

वित्तीय प्रणालीमा देखिएको लगानीयोग्य स्रोत अभावले गत आर्थिक वर्षबाट बैंकहरुले पनि मागअनुसार कर्जा लगानी सकेका छैनन् । तर उनीहरुलाई वचतकर्ताले मागेअनुसार रकम फिर्ता गर्न पुग्ने तरलताको समस्या देखिएको छैन ।

शहरी क्षेत्रमा कमजोर नियमनमा रहेका र सीमित सञ्चालकको निर्णयका भरमा चल्ने सहकारी संस्थाहरुमा भने तरलता अभाव चुलिंदै जाँदा वचतकर्ताले मागेकै समयमा रकम फिर्ता गर्नै नसक्ने अवस्था सिर्जना भइसकेको छ । मुख्य गरी सहरी क्षेत्रमा सञ्चालित वचत र ऋणको कारोबार गर्ने धेरैजसो सहकारीमा तरलता अभावको समस्या बढ्दै गएको छ ।

पछिल्ला दिनमा विश्वसनीय भनिएका सहकारीमा समेत समस्या देखिएपछि राम्रसँगै चलको सहकारीमा पनि पैसा झिक्न बचतकर्ताहरु पुग्न थालेका छन् ।

यसमा नेपाल विज्ञापन बोर्डमार्फत प्रकाशित लोक कल्याणकारी विज्ञापनले काम गरेको छ । सहकारी लगायतका वित्तीय संस्थामा रकम जम्मा गर्दा त्यस्तो संस्थाको वित्तीय विशवसनीयताको परीक्षण गर्न आह्वान गर्दै सूचनामा भनिएको छ, ‘व्याजको लोभमा नफसौं, व्याजको लोभले साँवा समेत नगुमाऔं ।’

बोर्डले जारी गरेको लोककल्यणकारी विज्ञापनको सन्देश सही भए पनि केही सहकारीमा समस्या देखिएका बेलामा नै सरकारबाट प्रवाह भएको सूचनाले बजारमा थप त्रासको वातावरण बनाएको सहकारीका सञ्चालकहरु बताउँछन् ।

बैंकर मनोज ज्ञवाली पनि राम्रा सहकारीले समेत स्रोत व्यवस्थापनमा समस्या झेलिरहेको अवस्थामा यस्ता सूचनाले सहकारीको स्रोत परिचालनमा कति र कस्तो असर गर्छ ? भन्दै सामाजिक सञ्चालमा प्रश्न गरेका छन् ।

के गर्दैछ सहकारी विभाग ?

वित्तीय कारोबार (सदस्यहरुबाट वचत/निक्षेप लिएर सदस्यलाई ऋण दिने) गर्ने सहकारी संस्थाले सामान्यतः कुल वचतको ८० प्रतिशतसम्म रकम ऋण लगानी गर्नुपर्ने हुन्छ ।

कानुनतः निक्षेपको १० देखि २० प्रतिशत तरलता व्यवस्था गर्नुपर्ने भएपनि सहकारी संस्थाहरुले त्यसलाई पालना गरेका छैनन् । एकातिर राम्रा भनिएका सहकारीमै समस्या देखिने र अरुले पनि मागेअनुसार रकम वचतकर्तालाई दिन नसक्ने अवस्थाका कारण सहकारीमाथि नै अविश्वास बढ्दो छ ।

सहकारी विभागका रजिस्टार रुद्रप्रसाद पण्डित पनि सहकारी मूल्य मान्यता र सिद्धान्तअनुसार सञ्चालन नहुँदा एकपछि अर्को सहकारीमा समस्या देखिएको बताउँछन् । केही सहकारीमा देखिएको समस्याले गर्दा सुशासनमा चलेको सहकारीमा समस्या आएको उनको तर्क छ ।


सहकारी विभागले ३१ साउनमा स्रोत सुनिश्चितता नगरी दीर्घकालीन लगानी नगर्न निर्देशन दिएको छ । यस्तै स्थिर सम्पत्तिमा सकेसम्म लगानी नगर्न भनेको छ ।

कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा लगानी गर्न विभागले सुझाव नै दिएको छ । सहकारीमा समस्या देखिनुको प्रमुख कारक अनुत्पादक क्षेत्रमा लगानी भएको विभागको निष्कर्ष छ । सहकारी विभागका उप–रजिस्ट्रार टोलराज उपाध्याय समस्यामा देखिएका सहकारीले अधिकांश घरजग्गा लगायत अनुत्पादक क्षेत्रमा बढी लगानी गरेको पाइएको बताउँछन् ।

राष्ट्रिय सहकारी महासंघले पनि तरलता अभाव भएकाले वचतकर्तालाई एक पटकमा ५ प्रतिशतभन्दा बढी वचत फिर्ता नगर्न आह्वान नै गरेको छ । ऐच्छिक, साधारण एवं कारोबार वचतको भुक्तानी गर्दा सदस्यहरुलाई साप्ताहिक, मासिक वा आपसी सहमतिमा एक पटकमा वचत रकमको बढीमा ५ प्रतिशत मात्र भुक्तानी गर्ने व्यवस्था मिलाउन महासंघले आह्वान गरेको हो ।

धेरै जनाले एकैपटक वचत फिर्ताको माग गर्दा भुक्तानी प्रक्रियामा समस्या भएर आफ्नो संस्थाको छविमा नकारात्मक असर पर्ने कुरामा विशेष ध्यान दिन महासंघले वचतकर्तालाई आग्रह गरेको छ ।

नेपाल सरकारले सहकारी संस्थाको सम्बन्धमा अध्ययन गर्न बनाएको जाँचबुझ समितिको पूर्वअध्यक्ष समेत रहेका पूर्वन्यायाधीश गौरीबहादुर कार्की भने ५ प्रतिशत मात्र रकम फिर्ता गर्नु भन्ने उर्दी जारी गर्ने कानुनी आधार नभएको बताउँछन् ।

‘सहकारी महासंघको त्यो उर्दी कानुसम्मत छैन । सहकारी डुब्न लाग्यो भने आफूले राखेको पैसा माग्न किन नजाने ?,’ उनी भन्छन्, ‘वचतकर्ताले मागेपछि सहकारीले फिर्ता दिनुपर्छ । यति प्रतिशत उति प्रतिशत भन्ने कुरा कुनै कानुनमा छैन ।’

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?