+
+

सातै प्रदेशमा बाल अस्पताल बनाउने भगवान–सपना

उनले सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौंमा बहुविशिष्टिकृत बाल अस्पताल खोल्दैछन् । जहाँ हरेक कलिला जीवन उनीजस्ता धेरै डाक्टरहरूले स्वस्थ बनाउने संकल्प राखेका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ भदौ ९ गते २१:४०

९ भदौ, काठमाडौं । चिर्न त उनले हजारौं मुटुहरू चिरिसकेका छन् । लाखौं मुटुका धड्कन छामिसकेका छन् । मान्छेका मुटुसँग उनको साइनो गाँसिएको करिब तीन दशक बित्यो ।

डा. भगवान कोइराला मुटुको चिरफार गर्ने डाक्टर हुन् । डाक्टरी जीवनमा अबको बाँकी यात्रामा ‘कलिला’ मुटुहरू छाम्ने उनको मनसुबा छ ।

हार्ट सर्जन विशेषज्ञ भएर सरकारी जागिरमा छिरेको पनि २८ वर्ष भइसक्यो । अवकाशको पूर्वसन्ध्यामै उनले अबको यात्राका लागि बाटोका रेखाहरू कोरिसकेका छन् – बाल अस्पताल ।

हुन त अहिले पनि उनले यी कलिला मुटुहरू नछामेका वा नचिरेका होइनन् । तर, अब उनले ती मुटुमात्रै होइन बालबालिकाको लागि बहुविशिष्टिकृत बाल अस्पताल स्थापना गर्ने घोषणा गरेका छन् । काम तीव्रतर अघि बढ्दो छ ।

उनले सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौंमा बहुविशिष्टिकृत बाल अस्पताल खोल्दैछन् । जहाँ हरेक कलिला जीवन उनीजस्ता धेरै डाक्टरहरूले स्वस्थ बनाउने संकल्प राखेका छन् ।

बालबालिका बिरामी पर्दा सम्पूर्ण रोगको उपचार एउटै छानामुनि हुनसक्ने विशिष्टिकृत स्वास्थ्य संस्थाको अभाव छ । सरकारले नै सञ्चालन गरेको अस्पताल भएपनि कान्तिमा विशिष्टिकृत बाल रोग सेवा प्रभावकारी छैन ।

जीवनको आधा उकालोमा तय भएको यो यात्राको सपना आजको होइन, तीन दशक अघि उनले अमेरिकामा बाल–मुटुरोगका बारेमा पढिसकेका छन् । त्यसमा विशेषज्ञता लिइसकेका छन् ।

मुटुरोगका विशेषज्ञ डाक्टर भएर बालरोगको उपचार हुने अस्पताल किन ? डा. कोइरालाले पछिल्लो समय सबैभन्दा बढी सुनेको प्रश्न नै यही हो ।

जवाफमा उनी बाल स्वास्थ्यमा काम गर्ने आफ्नो सपना सन् १९९३ देखिकै भएको भन्दै आफ्नो जीवनकालमा आधाभन्दा बढी मुटुको शल्यक्रिया बालबालिकाकै गरेको बताउँछन् ।

उनले त्यस बेला अमेरिकामा चिल्ड्रेन हार्ट सर्जरी गर्ने मौका पाएका थिए । पछि टोरन्टोमा संसारका प्रमुख तीनमध्येको बच्चाको मुटुसम्बन्धी अस्पतालमा एक वर्ष फेलोसिप गरे । त्यस बेलादेखि नै उनले बाल स्वास्थ्यमा चासो राख्दै आएका थिए ।

अमेरिकाको टोरोन्टोमा बच्चाको मुटुसम्बन्धी अस्पतालमा एक वर्ष फेलोसिप क्रममा डा. भगवान कोइराला ।

‘बालबालिकाको उपचारका क्षेत्रमा काम गर्ने मेरो रहर अहिलेदेखिको होइन । डाक्टरका रुपमा सेवा सुरु गरेदेखि नै मेरो बालबालिकाको स्वास्थ्यका क्षेत्रमा काम गर्न रुची थियो’, उनी मुस्कान सहित जवाफ फर्काउँछन् ।

विकसित देशमा युवा र बालबालिकाको लागि छुट्टै अस्पताल हुनुपर्ने मान्यता विकसित भइसकेको छ । नेपालको कुल जनसंख्याको ४० प्रतिशत अर्थात् करिब १ करोड २० लाख जना १८ बर्षभन्दा मुनिका छन् । तर, ती बालबालिकाको उपचार गर्न सरकारी स्तरमा एक मात्रै कान्ति बाल अस्पताल छ । त्यसबाहेक दुई–तीनवटा निजी अस्पताल र केही मेडिकल कलेजमा विभाग ।

बालबालिका बिरामी पर्दा सम्पूर्ण रोगको उपचार एउटै छानामुनि हुनसक्ने विशिष्टिकृत स्वास्थ्य संस्थाको अभाव छ । सरकारले नै सञ्चालन गरेको अस्पताल भएपनि कान्तिमा विशिष्टिकृत बाल रोग सेवा प्रभावकारी छैन ।

जन्मिएको पाँच बर्ष नपुग्दै उपचार अभावमा प्रति हजार ३० जना शिशुको ज्यान जान्छ । डा. भगवानलाई थाहा छ– ठीक सँग उपचार दिन सके अधिकांश बालबालिकालाई जोगाउन सकिन्छ ।

युवा र बालबालिकाको लागि विशेषज्ञ सेवा छुट्टाछुट्टै हुनुपर्छ भन्ने बुझाइको कमीका कारण अनौठो लाग्नु स्वभाविक नै हो । डा. भगवान भन्छन्, ‘बालबालिको उपचार युवालाई गर्ने तरिकाले हुँदैन । युवाको उपचार गर्ने चिकित्सकले कतिपय प्राविधिक कुरा गर्न सक्लान् । तर, समष्टिगत कुरामा बालबालिकाको केयर लागि ‘डेडिकेटेड’ टिम नै चाहिन्छ ।’

उनले अहिलेसम्मको डाक्टरी जीवनमा बुझेको कुरा नै यही हो । बालबालिकाको मुटुको अप्रेशन गर्दाको केसकै हकमा पनि विशेषज्ञ सहितको सेवा दिन सकेमा त्यसको नतिजाच राम्रो आउँछ । उनी अझ प्रष्ट पार्दै भन्छन्, ‘बालबालिका वयस्क होइनन्, विशेषज्ञ र तालिमप्राप्त जनशक्तिबाट विशिष्टिकृत सेवा दिनसकेमा प्रतिफल राम्रो आउँछ ।’

मुलुकभर ६ सयको हाराहारीमा बालरोग विशेषज्ञ कार्यरत छन्, तर ती अधिकांश काठमाडौं तथा सहर केन्द्रित नै छन् । तर, बालबालिकाको विधागत विशेषज्ञ त औंलामा गन्न सकिन्छ । दुर्गम क्षेत्रका बालबालिकामा जटिल रोगको उपचार एमडीजीपी इन जनरल प्राटिक्स गरेका चिकित्सकले गरिरहेका छन् कि त, उपचार विना नै मरिरहेका छन् ।

‘अहिले पनि सरकारीमै काम गर्छु । तर, जुन उमेरसम्म सक्रिय रहन सक्छु त्यो समयसम्म त सरकारीमा काम गर्न मिल्दैन,’ डा. कोइराला भन्छन्, ‘अवकाशपछिको जीवनमा शक्ति तथा वुद्धि रहुन्जेलसम्म बालस्वास्थ्यमा काम गर्छु ।’

डा. भगवानले बालबालिकाको लागि सपना देखेका छन् – एक दिन बाल मृत्युलाई घटाएरै छोड्ने । कोही कसैले उपचार वा पैसाको अभावमा मृत्यु हुनु नपरोस् । यही कुरालाई मध्यनजर राखेर काठमाडौंमा केन्द्रीय अस्पतालसहित सातै प्रदेशमा स्याटेलाइट सेन्टरको योजनाको रेखा कोरिसकेको उनी बताउँछन् ।

झण्डै तीन दशकभन्दा लामो समय मुटु सर्जनको रुपमा काम गरिसकेका उनले फेरि बालबालिकाको स्वास्थ्यमा परिर्वतन ल्याएर छोड्ने ठूलो जोखिम लिएका छन् । त्यही योजनाले उनलाई राति छटपटी हुन्छ, पसिना छट्छ । तर, हार भने पटक्कै मानेका छैनन् । उनको दृढ संकल्प छ, ‘दश वर्षभित्रमा सबै प्रदेशमा बालअस्पताल सञ्चालन गर्छु ।’

उनले करिब आठ वर्ष गंगालाल हृदय केन्द्रको नेतृत्व गरे । त्यसपछि, त्रिवि शिक्षण अस्पताल र मनमोहन कार्डियो सेन्टरलाई एक उचाइमा पुर्‍याए । एक व्यवस्थापकीय नेतृत्वमा पनि उनी दक्ष मानिन्छन् ।

‘अहिले पनि सरकारीमै काम गर्छु । तर, जुन उमेरसम्म सक्रिय रहन सक्छु त्यो समयसम्म त सरकारीमा काम गर्न मिल्दैन,’ डा. कोइराला भन्छन्, ‘अवकाशपछिको जीवनमा शक्ति तथा वुद्धि रहुन्जेलसम्म बालस्वास्थ्यमा काम गर्छु ।’

सरकारी सेवा प्रवेश भएसँगै डा. कोइराला रात–दिन सरकारी स्वास्थ्य सेवा सुधारमै खटिरहे । यो अवधिमा उनलाई निजी अस्पतालबाट ठूलो रकमको अफर नआएको पनि होइन । तर, उनले सरकारी सेवामै आत्मसन्तुष्टि देखे, पाए ।

स्वास्थ्य क्षेत्रमा गरेका कामका छाप विस्तारै मेटिदै जालान् । तर, योगदान भन्ने कुरा एकपटक गरेर जिन्दगीभरलाई नपुग्ने उनको भनाइ छ । ‘मैले व्यवस्थापकीय काम गर्दा चाहिँ हाइहाइ हुने, बच्चाको सेवा गर्दा चाहिँ किन अचम्म मान्नुपर्ने के छ र?’, उनी प्रश्न गर्छन् ।

बाल स्वास्थ्यको सुधार गर्न कुनै उनलाई कुनै बाध्यता थिएन । तर, राज्यले बाल सेवालाई केन्द्रीय तवरले नै विकेन्द्रित गर्ने कार्यक्रममा कुनै तत्परता देखाएन । उनी केही सहयोगी मनका साथ काठमाडौं इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच) स्थापना गरेर अगाडि बढेका छन् । जुन, गैरनाफामूलक संस्था मार्फत ‘पब्लिक सर्भिस’ मोडलमा अस्पतालको सेवा सञ्चालन गर्ने उनको योजना छ ।

प्रदेश १ मा तीन महिनापछि सेवा सञ्चालन

पहिलो चरणमा काठमाडौंमा केन्द्रीय अस्पतालका लागि सरकारले बूढानीलकण्ठ नगरपालिका– ७ मा उपलब्ध गराएको ४२ रोपनी जग्गामा भवन निर्माण भइरहेको छ । स्याटेलाइट सेन्टरको रुपमा पहिलोपटक प्रदेश १ मा दमक नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको भवनबाट तीन महिनाभित्र सेवा सुरू हुनेछ ।

काठमाडौंको बूढानीलकण्ठमा केन्द्रीय अस्पतालको स्केच (बायाँ) र निर्माणाधीन संरचना।

प्रदेश १ मा रेडक्रसले ३० बर्षका लागि निःशुल्क भवन हस्तान्तरण गरेको हो । जहाँ हाल उपकरण जडान र दक्ष जनशक्ति टिम बनाउने काम भइरहेको छ । काठमाडौं र झापाका दुई अस्पताललाई मोडलको रुपमा स्थापित गर्न सकेमा अन्य प्रदेशमा बाल अस्पताल फैलाउँदै जाने उनको लक्ष्य छ । केन्द्रीय स्तरमा काठमाडौंमा दुई सय बेड र अन्य प्रदेशमा स्याटेलाइट सेन्टरको रूपमा आवश्यकता अनुसार ५० देखि १०० बेडको अस्पताल निर्माण गर्ने लक्ष्य लिइएको छ ।

त्यहाँ पनि आईसीयू, एनआईसीयू, पीआईसीयू सबै उपलब्ध हुन्छन् । जनरल केयर, सर्जिकल केयर सबै हुन्छ । एकदमै जटिल र मल्टिस्पेसियालिटी सेवा चाहिँ काठमाडौंबाट उपलब्ध हुन्छ ।

‘उपचार शुल्क तिर्न नसक्ने बिरामीलाई सेवा निःशुल्क दिने र तिर्न सक्नेसँग लिने हो । शुल्क तिर्दा पनि सरकारी अस्पतालभन्दा महँगो हुँदैन’, डा. कोइराला थप्छन्, ‘धेरैजसो बाल समस्या तल्लो स्तरमै हल गर्छौं । जटिल केसलाई काठमाडौं रेफर गरिनेछ ।’

सबै प्रदेश अस्पतालमा एक बाल अस्पताल होस् भन्ने भगवानको चाहना छ । जसका लागि अझै एक दशक अथक प्रयास गर्नुपर्ने उनले बुझेका छन् । झट्ट हेर्दा काठमाडौं बाहिरबाट काम सुरू भएको भए आकर्षक पनि देखिन्थ्यो होला । तर, डा. कोइराला भन्छन्, ‘यस कार्यक्रमको जग बसाल्न र दक्ष जनशक्तिको विस्तार गर्न काठमाडौं नै उपयुक्त देखियो ।’

प्रदेश-१ मा सञ्‍चालन हुने क्रममा रहेको बाल अस्पतालको भवन ।

काठमाडौं र प्रदेश १ को दुई अस्पताललाई सम्पन्न नगरी अन्य प्रदेशमा हात नहाल्ने मानसिकतामा डा. कोइराला छन् । ‘गरिब बिरामीले खल्तीबाट पैसा तिर्नु नपरोस् वा अस्पतालबाट बिना उपचार फर्काउनु नपरोस् भन्ने संस्थाको वाचा हो,’ उनी थप्छन् ।

बाल अस्पतालमा सरकारी तहमा रहेका स्वास्थ्य बीमा, अन्य निःशुल्क स्वास्थ्य सेवाअन्तर्गतका सहुलियत कार्यक्रम पनि जोडिने भगवान बताउँछन् ।

यसका साथै, इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थमार्फत् उपचारात्मक सेवासँगै नसर्ने रोगको रोकथाममूलक कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य संस्थाको छ । जसले बाल मृत्युदर र बिरामी हुने दरमा कमी ल्याउने भगवानको विश्वास छ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँग मिलेर रोकथामका कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको उनले बताए ।

छुट्टै अस्पताल किन ?

उनलाई धेरै सहकर्मीले सरकारले गर्नुपर्ने काममा आफू किन अग्रसर भएको भनेर प्रश्न गर्छन् । केही समयअघि अमेरिकालगायत देशको भ्रमणमा उनले यस्ता प्रश्न सामना गरे । खासमा भगवान विदेशमा बसेर मेहनत गर्ने नेपालीहरुको श्रमको मूल्यसमेत यस अस्पतालमा मिसाउन चाहन्छन् ।

आफ्नो परियोजनमा विदेशमा रहेका नेपालीको सहायता माग्न भगवान अमेरिका गएका थिए । त्यतिबेला उनलाई किन यो काम सरकारी तहबाट नगरेको, अवकाशपछि जीवन निर्वाहका लागि त होइन भन्ने जस्ता प्रश्न सोधिएको थियो ।

उनले जीवनको अधिकांश ऊर्जाशील समय सरकारी अस्पतालमै बिताए । तर, सरकारी प्रणाली मार्फत यो योजना सम्भव छैन भन्नेमा उनी दृढ छन् । ‘सरकारी ढाँचामा कान्तिलाई थप विशिष्टकृत गर्ने र बाल सेवालाई केन्द्रीय तवरले नै विकेन्द्रित गर्ने ठूलो कार्यक्रम सरकारले ल्याउने भए सहयोग गर्न तयार थिएँ,’ डा. कोइराला भन्छन्, ‘तर, त्यो सम्भावना देखिएन ।’

कान्ति अस्पताललाई केन्द्रमा राखेर अन्य प्रदेशमा पनि सेवा विकेन्द्रिकृत गर्ने र त्यसका लागि सरकारी तहबाटै साधन स्रोत उपलब्ध गराउने प्रस्ताव लिएर भगवानले स्वास्थ्य मन्त्रालय र सरकारका उच्च तहका अधिकारीसम्म पुगेका छन् । तर, उक्त प्रस्ताव स्वीकार भएन ।

‘राज्यले कहिले गर्छ भनेर हात बाँधेर बस्न सकिएन । साँच्चै नेपालको लागि बाल स्वास्थ्यमा परिवर्तन ल्याउने योजनासहित व्यवस्थित रुपमा अगाडि बढेको हुँ,’ डा. कोइराला थप्छन्, ‘कसैले उचालेर यो योजना सुरु गरेको होइन । मनैबाट आएको भावनाबाट पछि हट्दिन ।’

डा. कोइरालालाई निजी अस्पतालमा काम गर्ने मोह छैन । केही अस्पतालले सेयरसहित भूमिका पनि अफर गर्लान् । तर, उनमा निजीमा सन्तुष्टि देख्दैनन् । ‘म त सरकारीलाई बनाएर चलाएर निजीलाई डुबाएर बसेको मान्छे हुँ’, डा. कोइराला भन्छन्, ‘निस्वार्थ भावनाले योगदान गर्छु ।’

आफूले सरकारलाई नै सघाउने अभियान सुरु गरेको डा. कोइराला बताउँछन् । भन्छन्, ‘सरकारले लिन चाहे सरकारको नै हुन्छ । मेरो व्यक्तिगत हुँदैन, मैलै त योगदान मात्र गर्ने हो ।’

अवकाशपछिको जागिरका लागि यो काम थालेको भन्दा उनको चित्त दुखेको छ । एकै ठाउँबाट बालबालिकामा नसर्ने रोगको अनुसन्धान, एउटै नेतृत्वले अस्पताल सेवा र समुदायस्तरको काम गर्ने मोडलबाट काम गर्न पाउनु ठूलो अवसर भएको भगवान बताउँछन् ।

ढिलो छिटो पूर्वाधार र उपकरण त तयार होलान् तर, सातै प्रदेशमा चिकित्सक जुटाउन, खटाउन र टिकाउनु पनि चुनौतीपूर्ण छ । नेपालमा हाल ६ सयको हाराहारीमा बालरोग विशेषज्ञ छन् । त्यसमाथि बहुविशिष्टिकृत बाल अस्पताल स्थापना, बालरोगका विभिन्न विधा, मुटु, मिर्गौला, क्यान्सरजस्ता रोगका जनशक्ति जुटाउन कठिन छ । डा. कोइराला पनि यो कुरा स्वीकार गर्छन् ।

‘धेरै विश्वविद्यालयहरू नेपालका चिकित्सकलाई तालिमको अवसर दिन तयार छन् । एमबीबीएस गरेका डाक्टरलाई बालरोग पढ्न पठाएरै पनि जनशक्ति जुटाउने योजना बनाएका छौं । कतिपय गोरेटो त खन्दै हिड्नुपर्ने छ’, डा. कोइराला भन्छन् ।

तीनवटा सरकारी अस्पताल सञ्चालन गरेको अनुभवले गुणस्तरीय सेवा र आर्थिक व्यवस्थापन चुस्त राख्दा सञ्चालन खर्च निकाल्न गाह्रो नहुने उनको भनाइ छ ।

****

भगवानले आफ्नो योजनालाई लगानीभन्दा पनि योगदानमा आधारित परियोजना भनेका छन् । उनको योजनामा पार्टनर र प्रमोटरका रूपमा धेरै व्यक्ति र संस्थाहरु जोडिदै गएका छन् । काठमाडौं र झापाको बाल अस्पताल राम्रो मोडलमा सञ्चालन गर्न सकेमा सहयोग जुटाउन गाह्रो नहुने उनी बताउँछन् ।

सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्न करिब ५ अर्ब रुपैयाँ (४० मिलियन डलर) लाग्ने भगवानले अनुमान गरेका छन् । प्रदेश १ मा अस्पताल सञ्चालन गर्न संरचना तयार भए पनि काठमाडौंमा निर्माणाधीन बहुविशिष्टिकृत बाल अस्पतालका लागि पूरा बजेट सुनिश्चित भएको छैन ।

तर, सहयोगी मनहरू भने थपिँदै गएका छन् । ‘शरीरले सक्दासम्म अस्पतालकै लागि काम गर्ने र परियोजना सफल पारेरै छाड्ने प्रण गरेको छु । सहयोग थपिँदै गएको छ । सफल हुनेमा विश्वस्त छु’, उनी भन्छन् ।

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष रहेका भगवान दैनिक १८ घन्टा काम गर्दै आएका छन् । अधिकांश समय मनमोहन कार्डियो सेन्टरमा रहने उनी मेडिकल काउन्सिलमा आवश्यकता अनुसार समय दिएको बताउँछन् ।

बाँकी रहेको समय बाल अस्पतालको योजना बनाउने जस्ता काममा व्यस्त रहन्छन् । ‘सबैतिर समय व्यवस्थापन गर्न दु: ख छ । तर, फुर्सद हुनुभन्दा व्यस्त हुनै राम्रो’ उनी मुसुक्क हाँस्दै भन्छन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?