+
+

काठमाडौंका हरेक वडामा डाक्टर र इन्जिनियर, नगर प्रहरीलाई दैनिक ५०० भत्ता

अमृत चिमरिया अमृत चिमरिया
२०७९ भदौ १२ गते १९:१४

१२ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा एक–एक जना इन्जिनियर, एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ । आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने प्रस्ताव पारित गरेको छ ।

हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने मेयर बालेन साहले बताए । वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न एक जना नर्स रहने उनले बताए । जनरल फिजिसियन डाक्टर राखेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह दिन र कुनै समस्याको तत्काल उपचार गर्न सक्ने उनको भनाइ छ ।

त्यस्तै हरेक वडामा हुने विकास निर्माणको अनुगमनका लागि इन्जिनियर पनि करारमा राख्ने भएको छ । यस वर्ष वडामा बजेट वृद्धि गरिएको र त्यहाँ हुने विकास निर्माणको काम अनुगमन गर्न इन्जिनियर चाहिने मेयर बालेनले बताए । उनको प्रस्तावलाई नगर कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने पनि महानगरको कार्यपालिका बैठकले निर्णय गरेको छ ।

५ जना कानुनी सल्लाहकार

काठमाडौं महानगरपालिकाले ५ जना कानुनी सल्लाहकार राखेको छ । मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गरेका थिए । महानगरका प्रवक्ता नविन मानन्धरले मेयर, उपमेयर र वडाध्यक्षको छलफलबाट कानुनी सल्लाहकारको नाम छनोट गरिएको जानकारी दिए । यसअघि महानगरले ४ जना कानुनी सल्लाहकार राखेको थियो ।

महनगरपालिकाले फुड टेक्नोलिजीमा स्नातकोत्तर गरेको ४ देखि ५ जना कर्मचारी करारमा राख्ने भएको छ । मेयर बालेनले मासु पसल, खाद्य पसलहरुमा अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव गरेका थिए ।

बैठकले टेकुको फोहोर उठाउन १५ वटा टिपर भाडामा लिने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले बोन म्यारो भएको एक बालकलाई एक लाख रुपैयाँ उपचार खर्च दिने, बञ्चरेडाँडामा भएको प्रदर्शनमा घाइते स्थानीय कमल तामाङको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ ।

महानगरपालिकाले सबै वडामा लिफ्ट जडान गर्ने प्रस्ताव पनि कार्यपालिका बैठकले पारित गरेको छ । यस्तै काठमाडौं महानगरपालिकाले ‘घ’ वर्गको निर्माण व्यवसायीको अनुमति पत्र दिने अधिकार उपमेयरलाई दिने निर्णय गरेको छ । निर्माण कार्यको लागि सहज गराउन अधिकार उपप्रमुखलाई प्रत्यायोजन गरेको बताए मेयर बालेनले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नक्सा अनुसार भवनको प्रयोजन नभएमा कारबाही गरिरहेको विषयलाई कार्यपालिका सदस्यहरुले साथ दिएको बताएका छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?