+
+

यस्ता छन्, जबरा विरुद्धका १७ प्रमाण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १९:५७

१४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा विरुद्ध बयान लिँदैछ ।

समितिले महाभियोगको प्रस्ताव, सरोकारवालाहरुले बुझाएको दस्तावेज र अन्य तरिकाले जबरा विरुद्धका प्रमाण संकलन गरिरहेको छ । समितिको सचिवालयमा पेश भएका जबरा विरुद्धका प्रमाणहरु यस्ता छन्–

१. घरजग्गा व्यवसायी इच्छाराज तामाङबीचको मुद्दामा अधिवक्ता रुद्र पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीच घुस संवाद हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पनि जोडिएका छन् । बारको दावी अनुसार, अधिवक्ता पोखरेलले प्रधानन्यायाधीश जबरासँग पटकपटक सम्पर्क गरेको बताएका छन् ।

२. सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता भएको थियो । जग खन्ने क्रममा फर्जी कागजातका भरमा काम हु दा प्रश्न उठेपछि ठेकेदारले करिव ६ करोड रुपैयाँ फिर्ता गरेका थिए । प्रधानन्यायाधीश जबराले प्रशासनिक रुपमा निर्णय गराउनुपर्नेमा आफै संलग्न भई भवन निर्माणवारे निर्णय गरेका थिए ।

३. संवैधानिक इजलास अवरुद्ध गर्ने गरी डा. गणेश रेग्मीको रिट निवेदनमा अन्तरिम आदेश भयो । त्यसको फैसलाको पूर्णपाठमा संवैधानिक पदाधिकारीको नियुक्तिमा जबराको स्वार्थ देखिएको विषयवस्तु उल्लेख छ ।

४. परिवार र नातेदारलाई बिचौलियाको रुपमा प्रयोग गरी सम्पत्ति आर्जन गरी आफन्तको नाममा लुकाए । जबराका सम्धी पूर्वगभर्नर तिलक रावल, ज्वाइँ विनय रावल, अर्का सम्धी रामशरण थापा, भाइ प्रभुशमशेर तथा दिदी भिनाजुको समेत सम्पत्ति जाँचबुझ हुनुपर्छ ।

५. कतिपय रंगेहात घुसका मुद्दाको सुनुवाइका लागि आफू अनुकुल इजलास गठन गरेको र प्रभावित भएर न्यायसम्पादन गराएको ।

६. विभिन्न जिल्लामा विचाराधीन मुद्दा फैसला गर्न निश्चित अवधिका लागि न्यायाधीश काजमा पठाएको । रामेछापमा न्यायाधीश बद्री ओलीलाई पठाएको ।

७. सिद्धबाबाको मुद्दा फैसलाका लागि चलखेल गरेको । जबराले सहकर्मी न्यायाधीशहरुमाझ राष्ट्रपति विद्यादेवी भण्डारीको दबावका कारण सिद्धबाबालाई सफाइ दिएको बताउने गरेका थिए ।

८. रञ्जनप्रसाद कोइरालाको मुद्दामा सजाय घटाउने फैसला न्यायमा विचलनको प्रमाण हो । मिसिल झिकाएर छानबिन हुनुपर्ने ।

९. प्रधानन्यायाधीश जबराले गत वर्ष टेलिभिजनमा दिएको अन्तर्वार्ता न्यायाधीशको आचार संहिता विपरीत क्रियाकलाप पुष्टि हुने प्रमाण हो ।

१०. संवैधानिक पदाधिकारीको नियुक्तिमा जबराले लिएको भागवण्डा । जसलाई स्वीकार गर्दै उनले उपयुक्त व्यक्तिको सिफारिस गर्नु आफ्नो कर्तव्य हुने बताएका थिए । उनले भनेका थिए, ‘त्यहाँ प्रधानन्यायाधीशलाई ल्याप्चे लगाउन मात्रै राखिएको हो त ?

११. कार्यपालिकासँग पदीय भागवण्डा गरे र आफ्ना नातेदार गजेन्द्र हमाललाई आपूर्तिमन्त्री बनाए ।

१२. अदालतमा विचाराधीन मुद्दामा परिवारका सदस्य प्रयोग गरेर सेटिङ गरे, सम्पत्ति र जग्गा हत्याए ।

१३. वीरगञ्ज र ठमेलमा मुद्दा परेका जग्गामा उनी र परिवारका सदस्यले मुद्दाका पक्षलाई प्रभावित पारेर चलखेल गरे ।

१४. नक्कली भ्याटबिलको मुद्दामा २ वैशाख २०७८ मा न्यायाधीशहरु तेजबहादुर केसी,  शुष्मालता माथेमा र हरि फुयाल रहेको तीन सदस्यीय पूर्ण इजलासलाई प्रभावित पार्ने प्रयास गरेर फैसला उल्ट्याउन चलखेल गरे ।

१५. ओरियन्टल बिल्डर्स एण्ड डेभ्लपर्स प्रालिका सञ्चालक सुधीर बस्नेत जोडिएको मुद्दामा भाइ प्रभुशमशेर मार्फत मुद्दाको सेटिङ मार्फत फैसलाको प्रयास गरे ।

१६. दुरसञ्चार प्राधिकरणको ठेक्का प्रक्रिया जोडिएको मुद्दामा ठेकेदारलाई फाइदा पुर्‍याइ प्राधिकरणलाई करिव डेढ अर्बको नोक्सानी गराए । यो मुद्दाको सेटिङमा जोडिएको आरोपमा उच्च अदालतका न्यायाधीश नवराज थपलियामाथि समेत छानबिन भइरहेको छ ।

१७. जबराले आफ्नो तलबको तुलनामा अस्वभाविक जग्गा खरिद गरेका छन् । मुस्ताङका राजपरिवारका सदस्यको जग्गा खरिद प्रक्रिया अस्वभाविक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?