+
+

अरब संसदका उपाध्यक्षसँग काठमाडौं आएका थिए विमानस्थलबाट भागेका अभियुक्त

प्रहरीले समात्नुपर्ने व्यक्ति, प्रहरीकै स्कर्टिङ सरर...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गरेर उम्किएका सुनसरीका ३० वर्षीय रिजवान आलम अरब संसद्का उपाध्यक्ष मोहमद अहमद अल्माहीसँग काठमाडौं आएको खुलेको छ

गौरव पोखरेल गौरव पोखरेल
२०७९ भदौ १८ गते २०:३१
मुस्लिम आयोगको निमन्त्रणामा काठमाडौं आएका अरब संसदका उपाध्यक्षसँग विमानस्थलबाट भागेका आरोपी रिजवान ।

१८ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गरेर उम्किएका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलम अरब संसद्का उपाध्यक्ष मोहमद अहमद अल्माहीसँग काठमाडौं आएको खुलेको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अल्माहीसँगै युएईका फेडरल नेश्नल काउन्सिल सदस्य महमद हमाद मोहमद अब्बुसेब अल्सुमाइदीसहित ५ जनालाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यही अनुसार शुक्रबार फ्लाई दुबईको विमानबाट बिहान ८ः४५ बजे उनीहरु काठमाडौंमा अवतरण गरेका थिए ।

उनीहरुलाई लिन परराष्ट्र मन्त्रालयले मिलाएको हायस विमान नजिकै पुग्यो । त्यहाँ युएईका भीआईपीसँगै ठगी मुद्दामा फरार आलम पनि थिए ।

‘सुरुमा उनलाई चिन्ने कुरा भएन, विदेशी पाहुना झैँ बसेपछि केही नसोची ल्यायौं’ विमानस्थलका एक अधिकारीले अनलाइनखबरसँग भने ।

उनीहरुलाई रिसिभ गर्न आयोगका अध्यक्ष अन्सारी, नेपालका लागि यूएईका राजदूत सैयद हमदान अल नकबीलगायत विमानस्थलमा पुगेका थिए ।

दूतावासले गरेको पत्रारचारका आधारमा पाँच जनाका लागि भीआईपी लाउन्जको पास परराष्ट्र मन्त्रालयबाट जारी भएको थियो । त्यही आधारमा विदेशी पाहुना त्यहाँ पुगेका थिए ।

तर ठगीका आरोपी छैठौं व्यक्ति पनि उनीहरुसँगै सिधै भीआईपी कक्षमा पुगे, कुनै चेकजाँच भएन । भीआईपी कक्षमा विदेशी पाहुनासँगै उनले पनि स्वागत पाए । सबैको पासपोर्ट ‘अराइभल’ छाप लगाउन अध्यागमनमा पठाइएको थियो ।

पासपोर्टको जाँच चलिरहेका बेला उनीहरु बाहिरिए, जहाँ २५/३० जना स्वागतमा बसेका थिए । त्यहाँ पनि उनले स्वागत थापे । पासपोर्ट स्क्रिनिङका क्रममा बल्ल अध्यागमनका कर्मचारीले उनी कालोसूचीमा रहेको थाहा पाए । उनी बाहेकको पासपोर्ट फिर्ता भयो, रिजवानबारे कर्मचारीले प्रहरीलाई खबर गरे ।

त्यतिञ्जेल रिजवान मुस्लिम आयोगका अध्यक्ष मियाँको गाडी चढेर विमानस्थलबाट निस्किसकेका थिए । मियाँमाथि पूर्वचिनजानका आधारमा उनलाई लुकाएर लैजान खोजेको आरोप लागेको छ ।

तर उनी भने रिजवानको उपस्थिति अनपेक्षित रहेको र भगाउनुपर्ने गरी चिनजान समेत नरहेको दाबी गर्छन् ।

उनका भनाइमा भीआईपी पाहुनाका लागि परराष्ट्र मन्त्रालय र नेपालस्थित युएईको दूतावासबीच समन्वय गरेर दुई वटा गाडी व्यवस्था गरिएको थियो । एउटा गाडीमा नेपालस्थित राजदूत थिए, त्यसमा दुईजना पाहुना बसेका थिए । अर्को गाडीमा तीनजना बसेका थिए ।

‘रिजवान पनि भीआईपीसँग गाडीमा गएका थिए, तर ठाउँ पुगेन’ आयोगका अध्यक्ष अन्सारीले अनलाइनखबरसँग भने, ‘त्यसपछि मैले मेरो गाडीमा राखेँ, गाडीमा मेरा पीएसओ पनि थिए ।’

उनीहरु सिधैँ मेरियट होटल पुगे । ‘होटलमा लबीमा पनि स्वागत कार्यक्रम थियो, त्यहाँ पनि अन्सारी सामान्यरुपमै बसेका थिए । फरार आरोपी होलान् भन्ने अनुमानै भएन,’ अन्सारीले भने, ‘शुक्रबार नमाज पढ्ने दिन थियो, त्यसैले कार्यक्रम २ बजेपछि मात्रै छ भनेर जानकारी गराएर म र राजदूत त्यहाँबाट निस्कियौं ।’

अन्सारी होटलबाट निस्किसक्दा नसक्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्याम ज्ञवालीले कालोसूचीमा परेको व्यक्ति पनि भीआईपीसँगै गएको खबर गरेका थिए ।

‘कालोसूचीमा परेको व्यक्ति भएको थाहा भएपछि सोधखोज गर्‍यौं, उनी विमानस्थलबाट निस्किसकेको खुल्यो । त्यसैले अन्सारीलाई फोन गरेर रिजवानलाई पठाइदिन भन्यौं,’ ज्ञवाली भन्छन् ।

अन्सारीले पनि विमानस्थलका सुरक्षा प्रमुख ज्ञवालीको फोन आएको स्वीकार गरे । ‘उहाँले तपाईंले लैजानु भएको टोलीमा एकजना कालोसूचीको व्यक्ति हुनुहँदो रहेछ भन्नुभयो, त्यसपछि उहाँ (रिजवान)लाई मैले एयरपोर्ट गएर क्लीयर गर्न भनेको थिएँ’ अन्सारीले भने, ‘त्यतिञ्जेल मलाई कारण के रहेछ भन्ने थाहा थिएन ।’

रिजवानले भने ‘केही कारोबार’ मिलाउन बाँकी थियो, त्यही कारण होला भनेको मुस्लिम आयोगका अध्यक्ष अन्सारीको दाबी छ ।

तर विमानस्थल प्रहरी स्रोतका अनुसार रिजवान प्रहरी कहाँ पुगेनन्, अन्सारीलाई फेरि फोन आयो । ‘दोस्रो पटक फोन आएपछि मैले तपाईंका कारण पाहुनाको पनि बेइज्जत भयो भनेको थिएँ । त्यसपछि उनी आफैं प्रहरीसमक्ष पुगे,’ अन्सारीको दाबी छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई भने रिजवानलाई शुक्रबार राति ९ बजेतिर होटल मेरियटबाटै पक्राउ गरिएको बताउँछन् ।

‘उनी फरार रहेकाले खोजी गरिदिन भन्दै विमानस्थल प्रहरीबाट पत्र आयो, त्यही आधारमा खोजी थालेका थियौं,’ भट्टराईले भने, ‘होटलकै एउटा कोठामा लुकेर बसेको अवस्थामा पक्राउ गरेका हौं ।’

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल कालोसूचीमा रहेका व्यक्ति सहजै विमानस्थलबाट बाहिरिनुले भीआईपी कक्षको कुन हदसम्म दुरुपयोग भइरहेको छ भन्ने देखाउने बताउँछन् ।

‘भीआईपी भनेका को हुन् र को को भीआईपी कक्षमा जान पाउँछन् भन्नेमै समस्या देखियो,’ मल्ल भन्छन्, ‘भीआईपी छन् भन्दैमा उनीहरुसँग आएका सबै व्यक्तिलाई त्यो सुविधा दिनु गलत हो ।’

स्वीकृति दिइएकाबाहेकका व्यक्ति भीआईपी कक्षमा आएका छन् छैनन् भन्ने जाँच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयान प्राधिकरणले गर्नुपर्नेमा चुकेको देखिएको मल्लले बताए ।

यूएई जाने अधिकांश भीआईपीसँग भेट्छन् आलम

सुनसरीका रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ । दाउद हुसेनले उनीसहित ११ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

हुसेनको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले २७ फागुन २०७८ मा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति मागेको थियो । तर दुबईमा बस्दै आएका आलम नभेटिएपछि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो ।

विमानस्थलको सीसी टीभी फुटेजमा देखिएका फरार अभियुक्त रिजवान आलम र उनीलाई पक्राउ गर्न अनुमति दिन भन्दै प्रहरीले अदालतलाई लेखेको पत्र ।

उनलाई पक्राउ गरिदिन भन्दै काठमाडौं प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को नेश्नल कन्ट्रोल ब्यूरो काठमाडौंंलाई पत्राचार गरेको थियो । त्यसअनुसार आलमविरुद्ध डिफ्यूजन नोटिस जारी हुने प्रक्रिया अघि बढेको प्रहरी बताउँछ ।

तर लामो समयदेखि दुबई बस्दै आएका उनी चाहिँ युएई जाने भीआईपीसँग सम्बन्ध गास्दै बसेका थिए । त्यहाँका भीआईपी समूहसँग पनि उनले निकट सम्बन्ध बनाएका थिए ।

असार पहिलो साता काठमाडौं आएका दुबईका राजपरिवार सदस्या मोक्तुमसँग दुर्गा प्रसाईं र रिजवान अन्सारी ।

झापाका मेडिकल व्यवसायी गत जेठमा दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमलाई भेट्न यूएई जाँदा पनि उनीसँग भएको भेटमा आलम पनि सँगै थिए ।

प्रसाईं निकट स्रोत उनलाई त्यहाँ भेट्न पुग्दा आलम पहिल्यै राजपरिवार सदस्यसँग भएको बताउँछ । प्रसाईं दुबईको अज्मानस्थित गल्फ मेडिकल युनिभर्सिटीमा जाँदा पनि आलमसँगै देखिएका थिए ।

‘त्यहाँको नेपाली समुदायको नेतृत्व गर्दै उनी भीआईपी भेट्न पुग्दा रहेछन्, उनले धेरैलाई ठगेको थाहा पाएपछि सतर्क भएका थियौं,’ प्रसाईं निकट एक व्यक्तिले भने ।

यस्तै निकटता देखाएर आलमले थुप्रै नेपालीलाई ठगेको जानकारहरु बताउँछन् । काठमाडौंमा पक्राउ परेपछि अहिले उनले पीडित हुसेनलाई रकम फिर्ता गरिदिने बताएका छन् । तर उनीबाट पीडित अन्य पनि काठमाडौं आएको स्रोतको भनाइ छ ।

गृह मन्त्रालयले पनि कसेको कमजोरी भयो भन्ने विषयमा आइतबारबाट छानबिन अघि बढाइने जनाएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?