+
+
ब्लग :

व्यस्त बाबुआमा, अस्तव्यस्त सन्तान

यमुना अर्याल (काफ्ले) यमुना अर्याल (काफ्ले)
२०७९ भदौ २८ गते १६:२३

सूचना प्रविधिको युगमा जन्मेका अहिलेका बच्चाहरू जन्मिन नपाउँदै प्रविधिमा छाइसकेका हुन्छन् । जन्मेपछि न्वारान हुन नपाउँदै प्रविधिमा रमाउन थालेका हुन्छन् । मोबाइल विना बच्चा हाँस्न सक्दैनन्, बोल्न सक्दैनन् ! खाना खुवाउने बेलामा समेत त्यही मोबाइल चाहिन्छ ।

मोबाइल विना बच्चाहरू एक किसिमले केही पनि गर्न नसक्ने जस्तै भएका छन् । निकै शानले आमाहरू भन्छन्- जन्मेको भर्खर दुई महिना मात्रै भएको छ मेरो बच्चा त मोबाइलमा भिडियो देखेर दंग पर्छ बा !

दुई महिनाको बच्चालाई डिजिटल स्क्रिनको लतले छोएको आमालाई पत्तै छैन । बच्चाहरू डिजिटल दुनियाँसँग रमाउन खोज्दा कताकता पारिवारिक माहोलबाट भने विस्तारै टाढिन थालेको आभास हुन्छ ।

बच्चाहरू सानो कुरामा पनि झर्कने, खान मन नगर्ने, रिसाउने, एकोहोरो हुने, ध्यान एकातिर काम अर्कातिर गर्ने, खाना खान थाल्यो भने पनि आँखा त्यही मोबाइल वा टीभीमा हुने, अगाडि किताब फुकाए पनि ध्यान उही कार्टुनमा हुने… । यस्ता गुनासा अधिकांश अभिभावकका छन् । यी साझा समस्या हुन्, सहरिया बाबुआमाका समान भोगाइ हुन् ।

लेखक : यमुना अर्याल (काफ्ले)

अहिले पहिले जस्तो संयुक्त परिवारको जमाना छैन । हजुरबा आमाका एकादेशका कथा सुन्ने अवसर छैन । सहरमा बस्ने, परिवारको एक्लो बच्चाको लागि बाबुआमा बाहेक कोही आफन्त हुँदैन ।

बाबुआमा दुवै आफ्नो काममा व्यस्त हुन्छन् । त्यो बच्चासँग बोल्ने, ऊसँग खेल्ने, रमाइलो गर्ने कोही हुँदैन । बाबुआमाले एउटा ट्याब, मोबाइल वा टीभीको व्यवस्था गरेका हुन्छन् । बच्चा त्यसमै रमाओस्, आफूलाई डिस्टर्ब नगरोस् भनेर ।

त्यो बच्चाको लागि सारा संसार त्यहीभित्र हुन्छ । उसलाई आफन्त, इष्टमित्र, साथीभाइ कोही चाहिंदैन । कम्तीमा दुईवटा बच्चा हुनेको परिवार तिनै बच्चा एकआपसमा साथी बनेका हुन्छन् । आपसमा झगडा गर्ने, खेल्ने, रुने, कराउने जे–जे गरे पनि कम्तीमा साथी त हुन्छन् । तर एक्लो बच्चा हुने परिवारमा बच्चाको सारै बिजोग भएको स्वयम् आफन्तहरू नै बताउँछन् ।

एकजना आफन्तको एक्लो छोरी घरमा बोल्दै नबोल्ने, निकै कम बोल्ने थिई । बाबुआमालाई छोरी नबोल्ने हो कि भन्ने निकै तनाव थियो । जब त्यो नानी स्कुल जान थाली बल्ल उसको बोली फुट्यो । घरमा बच्चासँग दोहोरो संवाद गर्ने व्यक्ति नभएपछि मोबाइल, टीभी हेरेको भरमा मात्रै बोल्न सक्ने रहेनछन् भन्ने आभास धेरैपछि मात्रै त्यो परिवारले गर्‍यो ।

अहिले बाबुआमा कम्तीमा एक घण्टा आफू पनि बच्चा बनेर त्यो छोरीसँग कुराकानी गर्ने, खेल्ने, सँगै कार्टुन हेर्ने, भाँडाकुटी खेल्ने गर्छन् । अहिले छोरीका साथी जस्तै बनेका छन् बाबुआमा । यस्तो व्यवहारले छोरी निकै परिवर्तन भएकी छ, एकदिन आमाले सुनाएकी थिइन् ।

एकजना हाकिम साबको पनि यस्तै गुनासो थियो । आफू सरुवा भएर कहिले कता कहिले कता । आमालाई छोराले फिटिक्कै नटेर्ने । महिना दिनमा घर आउँदा छोराको माया लाग्दा हप्कीदप्की गर्न भएन । पर्सिपल्ट डिउटीमा गइहाल्छु । सबै होमवर्क गरें भन्दो रहेछ । परीक्षामा ए प्लस आयो भन्दो रहेछ तर स्कुलले छोराको कम्प्लेन सुनायो ।

‘मन लगाएर पढ्दैन, होमवर्क गर्दैन अलि सम्झाउनुपर्‍यो’ भनेर । आफूले फोनमा सम्झायो– हस् ड्याडी भन्छ । मक्ख पार्छ, आमालाई नटेर्ने । पढाइमा यति कमजोर भयो कि तीन कक्षामा पढ्ने बच्चा नर्सरीको लेभलको । हाकिम साबलाई करिअरको चिन्ता, राम्रो स्कुलमा भर्ना गरेपछि जसरी पनि पढ्छ भन्नेमा ढुक्क । महिनामा तीस हजार फि तिर्दा पनि छोराको कम्प्लेन आउँछ स्कुलबाट ।

अर्को गुनासो, बाबुआमा दुवै जना उच्च पदमा कार्यरत छन् । दुवै जनाको कार्यक्षेत्र घरभन्दा बाहिर । घरमा मिलेसम्म महिनामा एक–दुई पटक मात्रै आउने । घरमा पाको एक जना सहयोगी दिदी र बिरामी हजुरआमा । हजुरआमा केही गर्न नसक्ने, उनै दिदीको भरमा दुईवटा छोरा छोड्दा पढाइ जिरो । सोध्ने, खोज्ने कोही छैन ।

बाबुआमा तत्काल आउँदैनन् । छोराहरूलाई ढुक्क । कसको लागि पढ्ने ? किन पढ्ने, नपढ्दा, मोबाइल, टिभी हेर्दा गाली गर्ने कोही छैन । बाबुआमाको हाईहाई छ । तर छोराहरू पढाइमा कमजोर मात्रै होइन, अनुशासन छैन, एकोहोरो, कसैलाई नटेर्ने भइसकेका छन् । अरू बेलामा समय नदिने बाबुआमा रिजल्टको बेलामा मात्रै किन यति थोरै नम्बर भनेर मात्रै बच्चाको रोइलो गर्नुको के औचित्य होला र ?

बाबुआमा सधैं व्यस्त हुँदा छोराछोरी अस्तव्यस्त भएका उदाहरण धेरै छन् । बच्चा त काँचो माटो हुन् । उनीहरूलाई कस्तो आकार दिने भन्ने जिम्मा अभिभावकको हो ।

अर्को गुनासो, एकजना आफन्तको आठ कक्षामा पढ्ने छोरा छ । बाबुआमा दुवै जागिरे छन् । बिहान छोरासँगै अफिस निस्कन्छन्, दुवैजना । बेलुका छोरोभन्दा ढिलो हुन्छ घर आइपुग्दा । छोरो एक्लै हुन्छ घरमा, बिहानको खाना हुन्छ, बट्टामा सातु, चिउरा हुन्छ तर उसले घरमा भएको चिज कहिल्यै पनि खाँदैन । उसले प्रायः जंकफुड नै खान्छ ।
आमाबाबुले निकै पुल्पुल्याएर हुर्काएका, एक्लो छोरो हो, आफूले कति दुःख गरियो, यसले हामीले भोगेजस्तो दुःख भोग्न नपरोस् भनेर कुनै कुराको कमी गराइएन । कुरै कुरामा आमाले सुनाइन् ।

छोरो तीन महिनाको भए पनि शिशु स्याहार केन्द्रमा राखियो । आफ्नो जागिरको बाध्यता, घरबाट कोही आउन नसक्ने अवस्था । अनि भरपर्दो बच्चा हेर्ने मान्छे पनि भनेको बेलामा पाइएन । बाध्य भएरै चाइल्ड केयरमा राख्यौं ।

दिनभरि चाइल्ड केयरमै हुन्थ्यो, साँझ–बिहान टीभीमा भिडियो लगाइदियो, टीभीमा कार्टुन लगाइदियो आफ्नो काम गर्‍यो । त्यति गरिएन भने भान्साको कामै गर्न नदिने, के गर्नु ? आँखा खराब हुन्छ भन्ने थाहा पाउँदापाउँदै पनि बच्चालाई टीभी र मोबाइलको लतमा पुर्‍याएँ’  उनले विगत सम्झँदै भनिन् ।

उसको बाबाको कहिल्यै फुर्सद नहुने । प्राइभेट जागिर त्यो पनि फिल्डमा हिंडिरहनुपर्ने । कहिले सात दिनमा घर आउने, कहिले दुई सातासम्म पनि फिल्डमै खटिनुपर्ने । एक्लो आमाले घर, बच्चा, अफिस कहाँकहाँ कसरी भ्याउने ? मेरो छोरालाई यसमै लत बस्ला कि ? मेरो छोराको आँखा कमजोर होलान् कि ? भन्ने थाहा पाउँदापाउँदै पनि बाध्यताले उसलाई भुलाउन कहिले मोबाइल, कहिले टीभीको लतमा पारें ।

छोरो ठूलो हुँदै गयो, अरूका बच्चा जस्तो धेरै बोल्ने भएन । एकदम कम बोल्ने, कोठाको पनि कुनाकुनामा मात्रै बस्ने, पर्दा लगाएर अँध्यारो कोठामा बस्ने, एकोहोरो हुने, एकचोटि बोलाउँदा नसुन्ने, खान दियो दुई घण्टासम्म पनि नखाने । सधैं खाना खुवाइदिनुपर्ने ।

कोही आफन्तको घरमा जाऊँ भन्दा पनि जान मन नगर्ने, एकदम जिद्दी गर्ने, उसले भनेको माग जसरी पनि पूरा हुनैपर्ने, आँखा रातोरातो हुने, सधैं थाकेको जस्तो देखिन थाल्यो । अफिसमा साथीभाइसँग कुराकानी हुन्थ्यो । अहिलेका बच्चाहरू सबै त्यस्तै हुन्, मोबाइल, टीभी भएन भने त केही गर्दैनन् भन्थे । म पनि आफ्नो छोरामा त्यही देख्थें, सबैको उस्तै होला भन्थें ।

एकपटक गिजुभाइका बच्चा हुर्काउने टिप्स पढें । मोबाइलबाट बच्चाको लत छुटाउने टिप्स पढें । विभिन्न उत्प्रेरक भनाइहरू हेर्न थालें । ती भनाइहरू आफ्नो छोरामा लागू गराउन खोजें तर पटक्कै सफल भइनँ । जति गर्दा पनि मेरो छोराको लत हटाउन सकिनँ । उसलाई व्यावहारिक बनाउन सकिनँ । जब आफूलाई मनपर्ने कार्यक्रम टीभीमा आउँछ, एकैछिन लगाउन पाएको हुँदैन छोरो रोइकराइ गरेर उसकै कार्टुन लगाउँछ ।

एकछिन समाचार हेरौं भन्यो रिसाएर, फन्केर हिंड्छ । उसकै जिद्दीले स्थान पाउनै पर्छ । मोबाइल नहेर, पढ भन्यो झनक्क रिसाउँछ । जतिबेला पनि आँखा कि त मोबाइल या त टीभीको स्क्रिनमै हुन्छ । बाबाले कति गाली गर्छन्, ताल परे हात पनि उठाउँछन् । जति पिट्दा पनि छोरो तह लगाउन सकिएन ।

उमेरले आफूभन्दा ठूलो, अनुभवले आफूभन्दा धेरै परिपक्व, आफ्नो छोरो आठ वर्षको पुग्यो ती आफन्तको छोरो आठ कक्षा पढ्ने भइसक्यो । जान्ने भई टोपलेर अर्ती दिन जरूरी देखिनँ ।

ती आफन्तले कुरो निकालिन्, ‘ए नानी तिम्रो छोरो त मेरोभन्दा धेरै सानै छ तर कति संस्कारी छ हो …! संस्कृतका मन्त्र पनि भनेको देख्छु । पूजापाठ पनि गरेको देख्छु, पढेको पनि देख्छु । तिम्रो छोरो मोबाइल, टीभी हेर्दैन ?’

एकैछिन यो प्रश्नमा मौन बसें । के भनौं के भनौं जस्तो लाग्यो, ‘शहरमा हुर्केका बच्चा हाम्रो वशमा के हुन्थे र आन्टी ! सबैका बच्चा त्यस्तै हुन् नि ! तर घरमा एउटा समयतालिका बनाउने हो र त्यो तालिका अनुसार आमाबाबु चल्ने हो भने धेरै हदसम्म बच्चा नियन्त्रणमै हुने रहेछन्,’ मैले आफ्नो अनुभव सुनाएँ ।

मेरो छोरा पनि जिद्दी छ, उसले भनेकै कुरा चाहिन्छ । उसले भनेको कुरा मोबाइल, टीभीमा हेर्नै पर्छ । आफूले माग गरेको कुरा एकचोटि भनेपछि चाहियो चाहियो … । यो बालस्वभाव पनि हो । हामी कस्तो परिवेशमा हुर्केका थियौं, अहिलेका बच्चामा त्यही चाहँदा पाउन सकिंदैन तर आफू पनि अनुशासनमा बस्ने हो भने धेरै हदसम्म बच्चा आफ्नो लाइन समात्न सक्छन् ।

जस्तो परीक्षाको बेलामा घरको इन्टरनेट बन्द गरिदिने । त्यो बेलामा आफूले पनि इन्टरनेट नचलाउने । बच्चाले कार्टुन हेर्छ भने उसलाई समय छुट्याइदिने, यति समय हेर भनेर । सकिन्छ र भ्याइन्छ भने एकैछिन भए पनि बच्चासँगै बसेर कार्टुन वा बच्चाले जे हेर्छ त्यही हेर्ने, यसमा के के सिकायो ? के भनेको बाबु, नानी भन्ने । यो कार्टुनको खास महत्व के हो ? यस्ता प्रश्न गर्न थालियो भने बच्चा चनाखो भएर जवाफ दिन्छन् ।

उनीहरूलाई पनि आहा मेरो बाबा–ममी मसँगै बसेर कार्टुन हेर्नुहुन्छ भन्ने लाग्दो रहेछ । मैले प्रायः सबै कार्टुन छोरासँगै एकछिन एकछिन बसेर हेरेकी छु । धेरै कुरा सिकाउँदो पनि रहेछ । त्यसपछि बाबु अब समाचार हेर्ने वा अरू कुनै च्यानल हेर्ने भन्यो भने जिद्दी नगरिकन आफैं लगाउँछ ।

म घरमा नहुँदा पनि एकछिन कार्टुन हेर्छ । त्यसपछि हजुरआमालाई भजन लगाइदिएर हिंड्छ । आमाबाबुले हेर्ने च्यानल पनि ऊ सँगै बसेर हेर्छ । बच्चाले पढ्दा, लेख्दा आफूले हातमा मोबाइल लिने अनि बच्चालाई पढ्, लेख भनेर ऊ कुनै हालतमा पढ्दैन, लेख्दैन रहेछ । कामै नभए पनि एकैछिन केही लेखेजस्तो, पढेजस्तो गरेपछि ऊ साँच्चिकै पढ्ने रहेछ । यो आफ्नै अनुभव हो ।

बिहान म सधैं पत्रिका हेर्छु, मेरो छोराले आजको मुख्य समाचार यो छ भनेर सुनाउँछ । पत्रिकाका प्रायः सबै नाम उसलाई थाहा छ । कुन पत्रिकाको कुन समाचार हो उसले सर्सर्ती भन्छ । बिहान सधैं भगवानको दर्शन गर्ने, सूर्य नमस्कार गर्ने, चन्दनको टीका लगाउने रुटिन छ । ऊ बिहान उठेर हातमुख धुन्छ । एक आम्खोरा पानी तुलसीलाई चढाउँछ ।

भगवानलाई ढोग्छ, सूर्यलाई नमस्कार गर्छ अनि निधारमा टीका लगाउँछ । त्यसपछि बल्ल खाना खान्छ । सुरुसुरुमा सम्झाएँ तर अहिले उसलाई बानी भइसक्यो । मोबाइल हेर्न, खेल्न, टिभी हेर्न समय छुट्याउनुपर्ने रहेछ । यो समयमा यो काम गर भनेपछि बच्चाहरू गर्छन् तर त्यसमा आफू पनि सचेत चाहिं हुनै पर्ने रहेछ ।

जस्तो खाने बेलामा केही हेर्न नपाउने भनियो तर जति गर्दा पनि छोराले जिद्दी गर्न छोडेन । आँखा मोबाइलमा, खाना सेलाएर चिसो हुँदासम्म पनि नखाने । पछि आफैं उपाय निकालें— ल बाबु तिमी यो घरको क्याप्टेन हौ, तिमीले घरको लागि नियम बनाऊ … ।

ऊ फुरुक्क पर्‍यो र नियम बनायो । खाना खाने बेलामा कसैले पनि फोनमा कुराकानी गर्न नपाउने, मोबाइल चलाउन नपाउने, कुराकानी गर्दै खाना खाने । त्यसपछि छोरो नै हाम्रो निगरानी गर्न थाल्यो । खाने बेलामा कसैको फोन आए पनि नउठाउने शर्त उसको सामु राखियो ।

यस्ता शर्तले धेरै हदसम्म काम गर्छ र गरेको पनि छ । स्कुलबाट आएपछि हातखुट्टा धुने, लुगा फेर्ने, खाना खाने, होमवर्क नगरिकन खेल्न नपाइने नियम छ । यो काम सिध्याएर मात्रै ऊ खेल्छ ।

सकेसम्म बाहिरको जंकफुड नखुवाउने, केही सीप लागेन भने पहिले घरको रोटी, भात, मकै जे हुन्छ खाने त्यसपछि मात्रै खायो भने उसले धेरै बाहिरको खान सक्दैन । सुन्दा सामान्य लागे पनि यी स–साना कुराले दैनिक जीवनमा धेरै महत्व राख्दा रहेछन् आन्टी ।

मेरो कुरा एकोहोरो सुनेकी आन्टीको बोली फुटेन । एकैछिनपछि बल्ल बोली आयो । खै नानी आफ्नो त के भयो भयो … ! जति गर्दा पनि सुधार्न सकिन हो छोरालाई !
यो समस्या यी आन्टीको मात्रै होइन हामी अधिकांश बाबुआमाको हो ।

हामी बच्चामाथि हैकम जमाउन खोज्छौं । बच्चा स्वतन्त्रता चाहन्छन् । चाहिने भन्दा बढी स्वतन्त्रताले उल्टै हानि गर्दोरहेछ । एकदम सम्पन्न परिवारका बच्चाहरू पनि सुध्रनै नसक्ने गरी बिग्रेको हाम्रै आँखाले देखेका छन् ।

निम्नवर्गीय परिवारका बच्चा स्याहार नपाएर बिग्रेका छन्, सम्पन्न परिवारका बच्चा धेरै लाडप्यारले बिग्रेका छन् । मध्यम वर्गीय परिवारका बच्चा मध्यमार्गी धारमा हिंड्न खोज्छन् र यिनीहरू धेरै हदसम्म आफ्नो सीमामा बस्छन् ।

बाबुआमा सधैं व्यस्त हुँदा छोराछोरी अस्तव्यस्त भएका उदाहरण धेरै छन् । बच्चा त काँचो माटो हुन् । उनीहरूलाई कस्तो आकार दिने भन्ने जिम्मा अभिभावकको हो । हामी आफू मोबाइलमा झुन्डिने बच्चालाई मोबाइल नहेर भन्ने । आफू टीभीका सिरियलमा एकोहोरो बसिरहने, बच्चालाई कार्टुन नहेर भनेर मात्रै सुध्रिने होइन ।

पहिले हामी बाबुआमा सच्चिनुपर्छ । बाबुआमा पढेको देखेपछि बच्चा मोबाइल, टीभीमा पक्कै जाँदैन । बाबुआमा काम गरेको देखी देखी बच्चा टीभी हेर्दैन । काम सिकाउनुपर्छ, आफ्ना लुगा आफैं पट्याउन, घर्रामा राख्न, किताब कापी मिलाएर राख्न, आफ्नो कोठा सफा राख्न, फूलमा पानी राख्न, परेवालाई चारो दिन, घरमा कोही आउँदा पानी दिन सिकाएपछि बच्चालाई अझ जिज्ञासा हुन्छ ।

सक्ने काम गर्छन् । बच्चा हाम्रै कारणले बिग्रेका हुन्, बच्चालाई दोष दिएर, अरूसँग तुलना गरेर उनीहरूलाई हतोत्साहित नबनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?