+
+

भगवान कोइरालाको पुस्तक सार्वजनिक,नियमित संस्करण असोज पहिलो साता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १९:४१

२८ भदौ, काठमाडौं । तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार लोकार्पण भएको छ ।

विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको छ । यसको मूल्य २५ हजार रुपैयाँ छ । यो संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिने प्रकाशक फाइन प्रिन्टले जानकारी दिएको छ । विशेष संस्करण खरिद गरी सहयोग पु¥याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश हुनेछ ।

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचन उनले नै शल्यक्रिया गरेका दुई बालबालिकाले गरे । १३ वर्षका सौरभजंग केसीको २ वर्षमा र १३ वर्षकै एलिजा चन्दको १० वर्षको उमेरमा शल्यक्रिया भएको थियो । अहिले उनीहरु स्वस्थ छन् ।

डा. भगवान कोइराला र बालस्वास्थ्यमा समर्पित समूहले काठमाडौँसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ । यो बृहत परियोजनालाई सफल पार्न आफूहरुले सानो पहल मात्र गरेको फाइन प्रिन्टले जनाएको छ ।

विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्छन् ।

पुस्तकको नियमित संस्करण भने असोज पहिलो साता बजारमा उपलब्ध हुने फाइनप्रिन्टको भनाइ छ । नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ मूल्यमा उपलब्ध हुने फाइनप्रिन्टले बताएको छ ।

नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व सोही बाल अस्पताल निर्माण कोषलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् ।

निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी हुनेछ । ‘गंगालाल मुटुका लागि भर पर्दो संस्था बने झैं बालबालिकाका लागि किआच हुनेछ भन्ने हाम्रो विश्वास छ,’ फाइनप्रिन्टका नीरज भारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?