+
+

धनुषा ३ : जुली चुनावी तयारीमा, राजेन्द्र महतो अलमलमै

धनुषा ३ मा नेकपा एमालेको एकल सिफारिसमा परेकी जुलीकुमारी महतोले चुनावी तयारी थालिसकेकी छन् । लोसपाको एकल सिफारिसमा परेका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भने कताबाट उठ्ने भन्ने दोधारमा देखिन्छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ असोज ६ गते १९:२८
लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो, एमाले नेता जुलीकुमारी महतो र कांग्रेस नेता परमेश्वर महासेठ ।

६ असोज, जनकपुरधाम । मधेश प्रदेशको स्थायी राजधानी, धार्मिक नगरी र हेभिवेट नेताहरुको चुनावी भिडन्तका कारण प्रतिनिधिसभाको धनुषा क्षेत्र नम्बर ३ मा धेरैको चासो छ ।

यो क्षेत्र स्थायी प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले यसपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा नउत्रिने निर्णय गरेका छन् । उनी २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतोसँग पराजित भएका थिए ।

तत्कालीन संघीय समाजवादी फोरमसँग गठबन्धन गरेका महतोले ३० हजार ७५० र निधिले २७ हजार ८४७ मत पाएका थिए । महतोलाई वाम गठबन्धनको एउटा घटक नेकपा एमालेले मौन समर्थन गरेको थियो ।

निधिले यसपटक आफूलाई समानुपातिकबाट सिफारिस गराएर संसदमा सुरक्षित हुन खोजेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापतिमा शेरबहादुर देउवासँग भिडेर पराजित भएका निधि त्यसयता पार्टीभित्र, बाहिर सबैतिर कमजोर भएका छन् ।

स्थानीय निर्वाचनमा गठबन्धनबाट मेयरका उम्मेदवार लालकिशोर साह (जसपा) लाई सहयोग नगरेको आरोप पनि निधिलाई लागेको थियो । आगामी निर्वाचनमा आफूविरुद्ध पनि अन्तर्घात हुनसक्ने आंकलनका कारण पनि यसपटक उनी ‘ब्याक’ भएको आंकलन छ ।

कांग्रेसले यो क्षेत्रको लागि परमेश्वर महासेठ र गणेश तिवारीको नाम सिफारिस गरेको छ । यद्यपि पाँच दलीय गठबन्धनमा निर्वाचन क्षेत्रको भागबण्डा टुंगिन बाँकी नै छ । धनुषा क्षेत्र नं. ३ का कांग्रेस सभापति कोमलकान्त झा भने पार्टीको पकड क्षेत्र भएको यो क्षेत्रमा कांग्रेसकै उम्मेदवार हुने बताउँछन् ।

लोसपा गठबन्धनमा आएको खण्डमा चाहिँ राजेन्द्र महतोलाई यो क्षेत्र छाड्न सकिने उनले बताए । करिब दुई महिनाअघि लोसपा नेता महतोसँग भेटघाट गरेका कांग्रेस नेता निधिले पनि गठबन्धनको प्रस्ताव राखेका थिए । तर यसबारे केही टुंगिएको छैन ।

धनुषा ३ मा नेकपा एमालेको एकल सिफारिसमा परेकी जुलीकुमारी महतोले चुनावी तयारी थालिसकेकी छन् ।

लोसपाको एकल सिफारिसमा परेका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भने कताबाट उठ्ने भन्ने दोधारमा देखिन्छन् ।

मधेश आन्दोलनको रापताप र निधि हराउ अभियानका कारण २०७४ मा धनुषा ३ मा सानदार जित हात पारेका महतोलाई यसपटक त्यस्तो अनुकुलता छैन । स्थानीय निर्वाचनमा जनपुरधाम उपमहानगरपालिकाको नेतृत्व पनि लोसपाबाट फुत्कियो । त्यसैले महतो आफ्नै गृह जिल्ला सर्लाहीको क्षेत्र नं. २ बाट उठ्ने सम्भावना पनि उत्तिकै छ । उनलाई धनुषा ३ भन्दा सर्लाही २ सहज हुने लोसपाकै एक नेताले बताए ।

कांग्रेस नेता निधि सामानुपातिकमा गएर धनुषा ३ मा महतोलाई सहज बनेको कतिपयको तर्क छ । एमालेबाट उम्मेदवार निश्चित बनेकी जुली महतोले भने राजेन्द्रले धनुषा ३ मा आफूलाई छाडिदिने दाबी अनलाइनखबरसँग गरिन् ।

महतो धनुषा क्षेत्र नं. ३ बाट ब्याक भए लोसपाले प्रदेश सांसद परमेश्वर साहलाई उठाउने सम्भावना छ । त्यो अवस्थामा धनुषा ३ मा एमालेकी जुली महतो, कांग्रेसका परमेश्वर महासेठ र लोसपाका परमेश्वर साहबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

धनुषा ३ को अंकगणित

धनुषा ३ मा जनकपुरधाम उपमहानगरको २५ मध्ये १७ सहित ३८ वटा वडा पर्छन् । स्थानीय चुनावमा ३८ मध्ये १९ वटा वडा कांग्रेसले जितेको छ भने एमालेले ११, जसपाले ४, लोसपाले ३ र एकीकृत समाजवादीले एक वडा जितेको छ ।

वडातहमा पाएको मत आधारमा कांग्रेसबभन्दा अगाडि देखिन्छ । उसको २२ हजार ४२८ मत छ । एमालको १७ हजार ९६, लोसपाको ८ हजार ७६३, लोसपाको ८ हजार २४३ र एकीकृत समाजवादीले ३ हजार ७१३ मत देखिन्छ ।

यसरी हेर्दा सत्ता गठबन्धनको साझा उम्मेदवार उठाउने हो भने धनुषा ३ मा उनीहरुलाई सहज हुने देखिन्छ । तर प्रदेश र संघको चुनावमा स्थानीय तहमा जस्तै मतदान हुन्छ भन्ने हुदैन । साथै अन्तर्घात कति हुन्छ भन्नेमा पनि भर पर्ने भएकाले नै निधिले जोखिम नउठाएको नेताहरु बताउँछन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?