+
+
कविता :

माछा

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०७९ असोज १४ गते १४:३५

उसले फेरि

एउटा स्टाटस फाल्छ फेसबुकमा

माछा पार्ने जाल फाले झैं

समय नदी बग्दै जान्छ

लाइक र कमेन्ट पार्ने ध्याउन्न

जालमाथि सार्छ

माछा परे नपरेको हेरे झैं

घरीघरी

घुरीघुरी हेर्छ

लाइक र कमेन्टहरू

लाइकहरू आउँछन्

संख्या हेर्छ

कमेन्ट गन्छ

मन फुरुङ्ग पार्छ

थपिंदै जान्छन्

कोही बाल्यवस्थादेखिका साथी

कोही कलेज साथी

कोही अफिसतिरका साथी

आउँछन् उनका कमेन्टहरू

सँगै उसको मानसपटलमा नाच्छन्

उनीहरूसँग जोडिएका तमाम यादहरू

अनि त्यस्तै आउँछन्

लाइकहरू

र नि

त्यसमा केही खड्किरहेछ

ऊ अझै कुरिरहन्छ

एउटा

विशेष व्यक्ति

विशेष लाइक

विशेष कमेन्ट

पछि

सदा झैं पाउँछ त्यो

मख्ख पर्छ ऊ

दिन बन्यो ठान्छ ऊ

राम्रो माछा परे सरी

हल्का खोल्दै, हेर्दै गर्छ जाल

त्यही विशेष लाइक र कमेन्ट

बारम्बार हेर्छ

अनि उनको प्रोफाइलतिर जान्छ

फेरि हेर्छ

घुरीघुरी हेर्छ

मुखाकृति हेर्छ

सदा झैं राम्रो लाग्छ

आकर्षक लाग्छ

‘लभ रियाक्ट’ दिन्छ उनलाई

जाल थापेर बसेको छु ठान्थ्यो ऊ

कसैलाई जालमा अड्काइरहेको छु नि मान्थ्यो ऊ

तर

आफैं माछो भएको पत्तै पाउँदैन

अर्कैको जालमा आफू पसेको हेक्कै हुँदैन ।

अझै

त्यतै उनको टाइमलाइनमा अड्किरहेछ ऊ

त्यतै त्यतै अल्झिरहेछ ऊ

अनि

अल्झाइरहेछ ऊ अरुलाई

यसरी

सञ्जाल जालमा अल्झिरहेछ सारा दुनियाँ

ऊ र उनीहरू

यसैगरी, यसैगरी ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?