+

जे आउँछ, मज्जाले पचाउँछ

२०७९ असोज  २३ गते १२:४१ २०७९ असोज २३ गते १२:४१
जे आउँछ, मज्जाले पचाउँछ

दशैंको खानपानले कतिपयको पेट ढुस्स हुने, अपच हुने जस्ता समस्या भएको हुनसक्छ । किनभने दशैंको खानपान यसैपनि माछामासु, चिल्लोचाप्लो, मसलेदार हुने नै भयो । त्यसमाथि पाहुना लाग्दा कतिपय बाध्यत्मक स्थितीले पनि आवश्यक्ताभन्दा बढी खानुपर्ने हुन्छ । यस्तोबेला पेटको समस्या हुनेलाई भने हैरानी हुन्छ ।

यस्तो अवस्थामा आफ्नो पाचन क्षमतालाई कसरी चुस्त दुरुस्त राख्ने ? कसरी पेटको समस्याबाट छुटकारा पाउने ?

पाचन क्षमता बढाउने योगासन

भानुभक्त दाहाल, योग गुरु

संभव भएसम्म त सुपाच्य र सात्विक खानपान गरेकै राम्रो । यदि माछामासु खाएको छ भने पनि आफ्नो पाचन क्षमता अनुरुप खानु उचित हो । नेपालीमा भनाई नै छ, घाँटी हेरेर हाड निल्नु ।

सबैको पाचन क्षमता एकैनास हुँदैन । कतिपयले खानेकुरा सजिलै पचाउन सक्छन् भने कतिपयले पचाउन सक्दैनन् । पाचन क्षमता कमजोर हुनेले जथाभावी खानामा लोभ गर्नु उचित होइन ।

योग विधी एवं केही यस्ता आसन छन्, जसले पेटलाई सफा र बलियो बनाउन सहयोग गर्छ । जस्तो कि, बज्रासन । खाना खाइसकेपछि एकछिन बज्रासनमा बस्दा पनि पेटले धेरै राहत पाउँछ । यसले खासगरी खाना पचाउने काममा सहयोग गर्छ ।

बज्रासनमा बस्नु सजिलो छ । दुबै खुट्टालाई घुँडासम्म मोडेर खुट्टाको बलमा बस्ने । दुबै खुट्टाको औंला आपसमा मिलाएर, कम्मरलाई एकदम सिधा बनाएर बस्नुपर्छ । अनि आफ्नो दुबै हात घुँडाको माथि राख्नुपर्छ ।

दुवै खुट्टालाई घुँडासम्म मोडेर खुट्टाको बलमा बसेर, दुवै खुट्टाको औला एक आपसमा मिलाएर, कम्मरलाई एकदम सिधा राखेर, आफ्नो दुवै हातलाई घुँडाको माथि राखेर यो आसन गर्न सकिन्छ ।

यस योगासनले पाचन यन्त्रलाई बलियो बनाउँछ । ग्यास, एसिडिटी, अपच सम्बन्धी पेटको रोग हटाउँछ । रक्त प्रवाह बढाउनमा पनि सहयोग गर्छ । मुटुसँग सम्बन्धित रोग नियन्त्रण गर्छ । यसले अतिरिक्त बोसो जम्न नदिने भएकाले मोटोपन बढ्दैन ।

यसैगरी पेटका मांसपेशीहरूको स्ट्रेचिङ गर्न र पाचन प्रक्रियामा सुधार गर्नमा धनुरासन योगाभ्यास लाभकारी हुन सक्छ । यो योगाभ्यासले खुट्टा, तिघ्रा, छाती, घाँटी र काँधहरूको बलमा सुधार गर्छ । पेटलाई सन्तुलन गर्न र अतिरिक्त फ्याटलाई कम गर्न पनि यो योगासन लाभदायी हुन्छ ।

पाचन क्षमता बढाउन नौकासन पनि लाभदायी हुन्छ । यस आसनले पेटका सबै अङ्गहरूलाई पनि बल प्रदान गर्छ, जसले गर्दा पाचन प्रक्रियामा सुधार हुन्छ । यसले शरीरमा जम्मा भएको बोसोलाई पनि कम गर्छ ।

पाचन प्रक्रिया सक्रिय बनाउनको लागि बक्रासन पनि उपयोगी हुन्छ । बक्र भनेको बाङ्गो हो र यो आसन गर्दा शरीरको स्थिति बाङ्गिने भएकाले यसलाई बक्रासन भनिएको हो । बक्रासनले पनि मेरुदण्डका, पेटका अङ्गहरू, कलेजो, प्यानक्रियाज, आमसय र आन्द्राको रोगमा लाभदायी हुन्छ ।

यसैगरी खाना खाइसकेपछि शारीरिक क्रियाकपलाप गर्नु जरुरी हुन्छ । एकक्षण बज्रासनमा बसेपछि एक सय पाइला हिँड्नु उपयुक्त हुन्छ ।

सागपात र सलादमा जोड

आशिष न्यौपाने, पोषणविद्

चाडपर्वमा हामी माछामासु, तारेको, भुटेको खानेकुरा यति धेरै खाइदिन्छौं कि आफ्नो पाचन क्षमता कस्तो छ भनेर हेक्का नै राखिदैन । त्यही कारण दशैंपछि धेरैजसो पेटको समस्या झेल्न पुग्छन् ।

पेट गडबड भएमा खानपानमा सर्तकता अपनाउनैपर्छ । यतिबेला माछामासु कम गर्नु उचित हुन्छ । सागपात, दही, गुन्द्रक जस्ता पाचन क्रियालाई सहज बनाउने खानेकुरा खानु राम्रो हो । खानामा सागपात र सलादको मात्रा बढाउनुपर्छ ।

माछामासुले पेट भद्दा भएको हुनसक्छ । यसैले सजिलै पच्ने खालको हल्का खानेकुरामा जोड दिनुपर्छ । मौसमी सागसब्जी, चोकरयुक्त खानेकुरा खानुपर्छ । यसैगरी उसिनेको खानेकुरा पनि राम्रो हुन्छ । तारेको, भुटेको खानेकुराभन्दा उसिनेको खानेकुराले पाचन क्षमता राम्रो बनाउँछ ।

फलफूल र फलफूलको जुसमा पाचन प्रणालीलाई राम्रो बनाउने इन्जाइम हुन्छ । दैनिक फलफूल तथा फलफूलको ताजा जुसको सेवनले पचन क्षमता बढाउन सहयोग गर्छ ।

मेटाबोलिज्म बढाउने काइदा

डा. सुनिल अधिकारी

खानपानलाई नै औषधि हो भन्ने गरिन्छ । यसको अर्थ के हो भने, सही एवं सन्तुलिन खानाले शरीरलाई निरोगी, उर्जावान, चुस्त, छरितो राख्न मद्दत गर्छ । यसैले निरोगी शरीरको लागि खानपान पहिलो सर्त हो ।

हामीले जतिपनि खानेकुरा खान्छौं, त्यसलाई उर्जामा रुपान्तरण गर्ने कार्यलाई मेटाबोलिज्म भनिन्छ । मानव शरीरले आफ्नो कार्य सम्पन्न गर्नका लागि, रक्त परिसंचारण गर्न र श्वास एवं हर्मोनल सन्तुलन जस्ता तमाम काम गर्नका लागि उचित मात्रामा उर्जाको आवश्यक हुन्छ ।

अतः उक्त उर्जा भोजनबाट प्राप्त हुन्छ । यो उर्जा मेटाबोलिज्मबाट मिल्छ । यसको अर्थ मेटाबोलिज्म जति राम्रो हुन्छ, हामी उत्तिनै उर्जावान र सक्रिय रहन सक्छौं ।

मेटाबोलिज्म सही रहेन भने थकान, हाइ कोलेस्ट्रोल, मांसपेशीमा कमजोरी, छालामा रुखोपन, तौल बढ्ने जस्ता समस्या हुन्छ ।

मेटाबोलिज्म सही राख्नका लागि सही समयमा, सही ढंगले, सही खानपान गर्नु जरुरी हुन्छ ।

जीवनशैली पोषणविद् मेटाबोलिज्म
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय