+
+

सिन्धुपाल्चोक २ : क्षेत्र फेरेका मोहन बस्नेतलाई शेरबहादुरको टक्कर

सिन्धुपाल्चोकको राजनीतिमा कांग्रेस र माओवादीको सम्बन्ध हार्दिक छैन । स्थानीय चुनावमा पनि माओवादीले देशभर कांग्रेससँग तालेमल गर्दा सिन्धुपाल्चोकमा हुन सकेन । त्यसको कारक बस्नेत मानिन्छन् । यो पटक पनि उनी गठबन्धनको विपक्षमै थिए । त्यसैले उनले माओवादीको सबै भोट पाउनेमा आशंका छ । उनका लागि ठूलो चुनौती यही नै हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते २०:११

२३ असोज काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नका लागि अग्निप्रसाद सापकोटा र मोहन बस्नेत दुबैको बलियो दाबी थियो ।

सभामुखसमेत रहेका सापकोटा २०७४ मा बस्नेतलाई पराजित गरेर माओवादी केन्द्रबाट सांसद निर्वाचित भएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्र भएकाले सत्ता गठबन्धनको भागवण्डामा क्षेत्र नम्बर १ मा कांग्रेसले पाउने सम्भावना कमै थियो । त्यसलाई बुझेका बस्नेतले बरु गठबन्धन नै नगर्ने, तर क्षेत्र नम्बर १ नछाड्ने अडान लिए ।

सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक १ त पायो, सापकोटाले टिकट पाएनन् । माओवादीले उनको साटो माधव सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो । क्षेत्र नम्बर १ कांग्रेसले पाउनुपर्ने माग सुनुवाइ नभएपनि बस्नेतले भने २ को टिकट पाएका छन् ।

३० वैशाखको स्थानीय चुनावमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मतका अधारमा हेर्दा सिन्धुपाल्चोक २ मा एमाले पहिलो दल हो । एमालेले ३१ हजार ७७६ मत पाउँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले २९ हजार ३०२ मत पाएको छ । नेकपा माओवादी केन्द्रको १६ हजार ७९ मत पाउँदा राप्रपाले ५ हजार ९३२ र नेकपा एकीकृत समाजवादीले १ हजार ६६३ मत पाएको छ ।

सत्ता गठबन्धनमा आवद्ध सबै दलको मत जोड्दा एमाले भन्दा सत्ता गठबन्धन अगाडि छ । तर बस्नेतका लागि चुनाव सजिलो छैन । किनकी यो उनको आफ्नो क्षेत्र होइन ।

त्यसमाथि सिन्धुपाल्चोकको राजनीतिमा कांग्रेस र माओवादीको सम्बन्ध हार्दिक छैन । स्थानीय चुनावमा पनि माओवादीले देशभर कांग्रेससँग तालेमल गर्दा सिन्धुपाल्चोकमा हुन सकेन । त्यसको कारक बस्नेत मानिन्छन् । यो पटक पनि उनी गठबन्धनको विपक्षमै थिए । त्यसैले उनले माओवादीको सबै भोट पाउनेमा आशंका छ । उनका लागि ठूलो चुनौती यही नै हो ।

ठीक विपरीत एमालेका उम्मेदवार शेरबहादुर तामाङको यो आफ्नै क्षेत्र हो । २०७४ मा पनि उनी वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा सिन्धुपाल्चोक–२ बाटै विजयी भएका थिए । साथै लामो समय माओवादीबाट राजनीति गरेका र हालै मात्र एमाले प्रवेश गरेका चौतारा साँगागढीका अमान सिंह तामाङलाई सिन्धुपाल्चोक २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाएका छन् ।

गठबन्धनका नेताहरु भने टिकट वितरण र विगतको राजनीतिमा जे जस्ता अनुभव भए पनि अब टिकट पाउनेलाई जिताउन प्रतिवद्ध रहेको बताउँछन् । देशभर एमाले नेतृत्वको गठबन्धन र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा रहेकाले प्रतिस्पर्धाको भावना अनुसार सिन्धुपाल्चोकमा पनि नेताहरुले भूमिका खेल्ने स्वयं बस्नेतको विश्वास छ । ‘चुनाव जित्नकै लागि कुनै समस्या रहेन, अन्तर फराकिलो बनाउने प्रयासमा रहन्छु’ नेता बस्नेतले भनेका छन् ।

सिन्धुपाल्चोक कांग्रेसका उपसभापति टंक कार्की पनि गठबन्धनका दलहरुको शतप्रतिशत खस्ने दाबी गर्छन् । ‘टिकट लिने बेलासम्म माओवादीसँग प्रतिस्पर्धा भएपछि अहिले सँगै गएर उम्मेदवारी दर्ता गर्‍यौं । माओवादी पनि एक ढिक्का भएर अगाडि बढेका कारण जित्नलाई कुनै अप्ठ्यारो हुँदैन’, कार्कीले भने ।

एमाले नेताहरु पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिस्ठासँग जोडेएको बताउँछन् । एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कमल नेपाल भन्छन्, ‘स्थानीय चुनावको मत नियाल्दा पनि हामी पहिलो दल हौं । गठबन्धनमा रहेका दलहरुको मत जोड्ने हो भने हामी केही कम देखिन्छौं । तर आत्तिनुपर्ने केही छैन, स्थानीय चुनावपछि हामीले ३ हजार बढी मत बढाएका छौं ।’

गठबन्धनमा रहेका दलहरुका बीचको किचलोका कारणले पनि केही सहयोग पुग्ने उनको विश्वास छ । भन्छन्, ‘कांग्रेस र माओवादीको किचलो सार्वजनिक भएकै छ । त्यसकारण गठबन्धनको मत सबै अर्को पक्षले नपाउादा हामीले आफ्न मत संरक्षण गर्दा पनि शेरबहादुर तामाङले चुनाव जित्नुहुन्छ ।’

हार जित हाराहारी

कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ मा चुनाव लडेका थिए । हालसम्म चुनाव लडेका उनले एउटा चुनाव जित्ने र अर्को हार्ने गरेको देखिन्छ ।

०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले ०५१ मा टिकट नै पाएनन् । ०५६ मा टिकट पाएका उनले बोहरालाई नै हराएर सांसद बने । ०६४ मा टिकट त पाए, तर चुनाव जित्न सकेनन् । ०७० मा टिकट पाएर चुनाव जितेका बस्नेत मन्त्री समेत भए । २०७४ मा भने उनले चुनाव हारेका थिए ।

एमाले उम्मेदवार तामाङले भने सुरुका दुई चुनाव हारे, भने पछिल्ला दुबै चुनाव जितेका छन् । पहिलो पटक ०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक ३ मा उम्मेदवार बनेका उनी पराजित भए । ०६४ मा एमालेबाट लडेका उनी जित्न सकेनन् ।

०७० मा सिन्धुल्पोल्चोक ३ बाटै पहिलो पटक चुनाव जिते । ३ वटा निर्वाचन क्षेत्र घटेर २ मा झर्‍यो । शेरबहादुरले २०७४ मा २ मा चुनाव लडे र जिते पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?