+

घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?

२०७९ कात्तिक  ३ गते १४:२९ २०७९ कात्तिक ३ गते १४:२९
घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?

अनिच्छित गर्भ रहेमा गर्भपतन गर्ने सुविधा छ, अहिले । आधिकारिक स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गर्न सकिन्छ । यद्यपि गर्भपतनका लागि अहिले औषधि पनि उपलब्ध छ, जसका लागि अस्पताल जानैपर्ने अवस्था नहुन सक्छ । घरमै बसेर पनि गर्भपतन गर्न सकिन्छ ।

तर घरमै गर्भपतन गराउँदा विभिन्न कुरामा ध्यान दिनुपर्छ । यसमा आउन सक्ने जटिलता के के छन् ?

औषधिबाट घरमै गर्भपतन

घरमै गर्भपतन गराउन सकिन्छ । यसको प्रचलित र प्रभावकारी विधि औषधि सेवन हो । औषधि सेवन गरेर घरमै सुरक्षित गर्भपतन गराउने विधि लामो समयदेखि चल्दै आएको छ । यो विधिमा पाँचवटा औषधि सेवन गर्नुपर्ने हुन्छ ।

औषधिको पहिलो मात्रा अस्पताल वा गर्भपतनको लागि मान्यता प्राप्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराएर गर्नुपर्छ भने बाँकी चार मात्रा घरमै सेवन गर्न सकिन्छ । कोरोना महामारीको समयमा भने फोनमार्फत परामर्श लिएर औषधिको माध्यमबाट गर्भपतन गराउने सुविधा थियो ।

घरमा गर्भपतन गराउनुअघिको तयारी

घरमै गर्भपतन गराउनु परेमा केही तयारी गर्नुपर्ने हुन्छ । गर्भपतन गराउने औषधिको सेवनपछि पेट दुख्ने भएकाले घरमा पेनकिलर राख्नुपर्छ । रगतको माध्यमबाट गर्भ खेर जाने भएको घरमा प्याडको व्यवस्था गर्नुपर्छ । साथै पानी र सफा शौचालयको पनि उचित व्यवस्था हुनुपर्छ ।

गर्भ रहेको कति दिनमा गर्भपतन ?

१० हप्तासम्मको गर्भ औषधि सेवनबाट गर्भपतन गराउन सकिन्छ ।

सम्भावित जटिलता

औषधि सेवन गरेर गर्भपतन गराउँदा खासै ठूलो जटिलता त देखा पर्दैन । तर कहिलेकाहीं पूर्ण रूपमा भ्रुण नष्ट नहुने, धेरै रगत बग्ने र पेट दुख्नेजस्ता जटिलता देखा पर्न सक्छन् । यसले दीर्घकालीन रूपमा भने केही असर गरेको अहिलेसम्म देखिएको छैन । तर कसैकसैलाई केही समय एलर्जी, ज्वरो, वाकवाकी र पखाला लाग्नेजस्ता सामान्य समस्या देखा पर्न सक्छन् ।

रक्तश्रावको भय

एक घण्टामा दुईवटा प्याड भिज्ने गरी रगत गयो भयो भने त्यो धेरै रक्तस्राव हो । धेरै रक्तस्राव भएको खण्डमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

पूर्ण रुपमा भ्रुण नगएमा

गर्भपतनको औषधि खाएर पूर्ण रूपमा भ्रुण नष्ट भयो कि भएन भनेर जाँच गर्ने तरिका स्वास्थ्य संस्थामा सिकाइन्छ । यदि औषधि सेवन गर्दा पूर्ण रूपमा गर्भको भ्रुण नष्ट नभएमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

औषधिले गर्दैन हानि 

अढाइ महिनामा गर्भमा बच्चा ठूलो भइसकेको हुँदैन । त्यसैले औषधिको सेवन गरेर गर्भपतन गर्दा कुनै हानि हुँदैन । यो विधिमा प्रयोग गरिने औषधि भनेको महिलाको शरीरमा हुने हर्मोन नै हो । बच्चा जन्माउने बेलामा महिलाको शरीरमा जुन हर्मोन निस्कन्छ । त्यही हर्मोनको कृत्रिम रूप औषधि हो, जसले बच्चा बाहिर निकाल्न सहयोग गर्छ ।

संक्रमणको जोखिम ?

औषधिको सेवनबाट घरमै गर्भपतन गराउँदा संक्रमणको भय हुँदैन । यो विधिबाट गर्भपतन गराउँदा पाठेघरमा केही पनि राखिएको हुँदैन, त्यसैले संक्रमणको डर हुँदैन । यो विधि बच्चा जन्माउने प्राकृतिक उपायजस्तो हुन्छ ।

गोपनीय पनि  

घरमा गर्भपतन गराउँदा सकेसम्म एक जना साथीलाई बताउनु उचित हुन्छ । यसो गर्दा गर्भपतनको समयमा केही समस्या देखियो भने साथीको सहयोग लिन सकिन्छ । यदि गर्भपतन गराउने महिला स्वस्थ र तन्दुरुस्त छिन् भने उनी आफैंले गोप्य हिसाबले गर्भपतन गराउनु पनि जोखिमरहित नै हुन्छ ।

(मेरी स्टोपका क्लिनिकल म्यानेजर डा. रैफसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

गर्भपतन डा. अब्दुल रैफ
लेखक
डा. अब्दुल रैफ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय