+

स्वादे जिब्रो, जसले स्वास्थ्य स्थिति पनि बताउँछ

२०७९ कात्तिक  ९ गते १५:०६ २०७९ कात्तिक ९ गते १५:०६
स्वादे जिब्रो, जसले स्वास्थ्य स्थिति पनि बताउँछ

काठमाडौं । जब तपाईं बिरामी भएर अस्पताल पुग्नुहुन्छ, चिकित्सकले ‘आँ गर्नुहोस्’ भन्छन् । अनि तपाईंले मुख बाएर जिब्रो निकाल्नुहुन्छ । चिकित्सकले तपाईंको जिब्रो हेर्छन् र स्वास्थ्य स्थितिको प्रारम्भिक अनुमान गर्छन् ।

हामीलाई लाग्छ, जिब्रोको काम स्वाद पहिचान गर्नु मात्र हो । मुखको स्वास्थ्य र समग्र पाचनक्रियाकै लागि जिब्रोको खास भूमिका हुन्छ, तर मानव स्वास्थ्यको कुरा गरिरहँदा जिब्रोको चर्चा खासै गरिंदैन ।

मुखको अधिकांश फोहोर जिब्रोमा नै जम्मा हुन्छ, त्यसैले जिब्रो सफा गर्नु दाँत जत्तिकै महत्त्वपूर्ण भएको काठमाडौं मेडिकल कलेजकी लेक्चरर डा. प्रीति सिंह बताउँछिन् । ‘जिब्रोमा सरसफाइमा ध्यान नदिंदा धेरै रोग लाग्न सक्छन् । यसबाहेक जिब्रोमा जमेको फोहोरका कारण सास गन्हाउने समस्या पनि देखा पर्न सक्छ ।’

जिब्रो हाम्रो शरीरको एकदमै महत्त्वपूर्ण अंग हो । यसको बनावट पनि अन्य अंगभन्दा फरक छ । गिजा र दाँतमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने जिब्रोमा दुईवटा स्नायुले प्रवाह गर्छ । जिब्रोको अघिल्लो भागमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने पछिल्लोमा अर्को स्नायुले । जिब्रोलाई सम्पूर्ण स्वास्थ्यको संकेतक पनि भन्न सकिने सिंह बताउँछिन् ।

जिब्रोले बोल्न, खाना चपाउन र स्वाद थाहा पाउन धेरै कुरामा सहयोग गर्छ । जिब्रोकै सहायताले शरीरको विभिन्न रोग पनि पहिचान गर्न सकिन्छ । यसको कलरले पनि शरीरको विभिन्न रोगको आँकलन गर्न सहयोग गर्ने उनी बताउँछिन् । ‘कसैको रोग प्रतिरोधात्मक क्षमता कम छ भने त्यो पनि जिब्रोले बताउँछ । त्यसैले मुख र त्यसमा पनि जिब्रोलाई शरीरको ऐना पनि भनिन्छ,’ उनी भन्छिन् ।

डा. प्रीति सिंह

यसले कसरी स्वाद पहिचान गर्छ ?

जिब्रोको विभिन्न भागमा टेस्ट बर्डहरु फैलिएर बसेको हुन्छ । जिब्रोको टुप्पोमा एक प्रकारको छेउछाउको भागमा र पछाडि भागमा अर्को फैलिएर बसेको हुन्छ । हाम्रो जिब्रोको पछिल्लो भागले तीतो, टुप्पोले गुलियो र बीचको छेउछाउको भागले नुनिलो र अमिलो स्वाद थाहा पाउँछ । । डा. सिंह भन्छिन्, ‘उदाहरणका लागि हामीलाई गुलियो स्वाद थाहा पाउनुपर्‍यो भने छेउछाउको टेस्ट बर्डहरुले स्वाद थाहा पाउँछन् । त्यस्तै तीतो खानेकुराको स्वाद जिब्रोको पछाडिपट्टि भएको टेस्ट बर्डले थाहा पाउँछ ।

पाचन प्रक्रियामा जिब्रोको भूमिका

जिब्रोले स्वाद पहिचान गर्छ र खानालाई राम्ररी चपाउन सजिलो बनाउन र्‍यालसँग खानालाई मिसाउँछ । ¥याल मिसिएर खाना नरम हुन्छ र निल्न पनि सजिलो हुन्छ । खाना नली हुँदै त्यो खाना पेटमा पुग्छ र पेटले पनि त्यो खानालाई राम्ररी पचाएर पाचनतन्त्रको कामलाई सजिलो बनाइदिन्छ ।

यदि खाना राम्ररी चपिएन नै त्यसलाई पचाउन पाचनतन्त्रलाई धेरै मेहनत गर्नुपर्छ र त्यसमा समस्या पनि देखा पर्न सक्छ । त्यसैले पाचनक्रियालाई सहज बनाउन जिब्रोको महत्त्वपूर्ण भूमिका हुने डा. सिंह बताउँछिन् ।

जिब्रोलाई स्वस्थ राख्न के गर्नुपर्छ ?

दाँतलाई सफा गर्ने बेला हामी जिब्रोलाई भने सफा गर्न बिर्सने गर्छौं । दाँत सफा गरेपछि दाँतमा भएका कीटाणु त बाहिर निस्कन्छन् । तर जिब्रो सफा गरिएन भने फोहोर तह बनाएर जिब्रोमा बस्छ र त्यहाँ विभिन्न कीटाणुहरू बढ्न थाल्छन् ।

जिब्रोको यी कीटाणुको कारणले सास गन्हाउने समस्या समेत हुन्छ । त्यसैले जिब्रोलाई नियमित सफा गर्नुपर्ने उनी सुझाउँछिन् । ‘यसले जिब्रोको मृत छाला र कीटाणुलाई हटाउँछ,’ डा. सिंह भन्छिन् ।

जिब्रो सफा गर्न बजारमा ‘टङ्ग क्लिनर’ पाइन्छ । कतिपय ब्रसको पछाडिपट्टिको भागमा पनि ‘टङ्ग क्लिनर’ हुन्छ त्यसले जिब्रो सफा गर्नुपर्ने उनी बताउँछिन् ।

जिब्रोसँगै सम्पूर्ण शारीरिक स्वास्थ्यको लागि भिटामिन, मिनरल्स भएका खानेकुरा बढी खानु उचित हुन्छ । सिंह भन्छिन्, ‘जिब्रोलाई स्वस्थ र सफा राख्न हरेक पटक खाना खाइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ ।’

जिब्रो स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय