+
+
कभर स्टोरी :

लामखुट्टे र भुसुना पहाड उक्लिएपछि …

मौसममा आएको बदलाव र अरू कारणले लामखुट्टे, भुसुना जस्ता तराईका रोग सार्ने कीराहरू पहाड र हिमाल उक्लिन थालेपछि ‘कीटजन्य’ रोग पनि हिमालसम्मै फैलिन थालेको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ कात्तिक ११ गते १८:२२
टेकु अस्पतालमा डेंगुको जाँच र उपचार गराउन आएका बिरामीहरू ।

११ कात्तिक, काठमाडौं । दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै बाहेक लामखुट्टे पाइँदैनथ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर, केही वर्षयता तराईका भू-भागमा मात्रै हुने भनिएका रोगहरू पहाड चढ्दै हिमालसम्मै पुगिसकेका छन् । यसले जनस्वास्थ्य प्रणालीमा ठूलै चुनौती दिइरहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा मलेरिया, हात्तीपाइले, कालाज्वर, चिकनगुनिया, डेंगु, स्क्रब टाइफसलगायतका कीटजन्य रोग बढी रिपोर्टिङ हुन थालेका छन् । त्यसमध्ये हरेक वर्ष वर्षायाम लागेसँगै नेपालमा डेंगु, स्क्रब टाइफस, कालाज्वर, मलेरिया जस्ता कीटजन्य रोग संक्रमण बढ्ने गरेको तथ्यांकले देखाउँछन् ।

केही वर्ष अघिसम्म तराई तथा धेरै गर्मी हुने ठाउँमा मात्रै कीटजन्य रोगको संक्रमण बढी देखिन्थ्यो । तर, पछिल्लो समय उच्च पहाडी र हिमाल क्षेत्रमा समेत यी रोग देखिन थाल्यो र यसको जोखिम बढ्दो क्रममा छ ।

जनस्वास्थ्यविद्का अनुसार, कीटजन्य रोग विस्तार हुनुमा जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, कीटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारकतत्व छन् ।

जनस्वास्थ्यविद् डा.शरद वन्त पहाडी र हिमाली क्षेत्रमा पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको बताउँछन् । ‘५ हजार फिटको उचाइभन्दा माथि हिजोका दिनमा औलो लाग्दैन भनिन्थ्यो । किनभने, त्यो उचाइमा औलो सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो’ डा. वन्तले भने, ‘अहिले आएर हिमाली जिल्लामा औलोका बिरामी छन् । जुन जलवायु परिवर्तनको प्रत्यक्ष असर हो ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख तथा वातावरणीय स्वास्थ्यमा विद्यावारिधि गरेका डा.मेघनाथ धिमालका अनुसार, तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा ढाल्दै गएका छन् ।

‘जलवायु परिवर्तनको असर उच्च भू-भागमा देखिएको छ । हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे, भुसुनाका कारण हुने कीटजन्य रोग फैलिएका छन्’ डा. धिमाल भन्छन्, ‘मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको हो ।’

कुनै एक समय अवधि र निश्चित भौगोलिक क्षेत्रमा मात्र देखिंदै आइरहेका यस्ता थुप्रै कीटजन्य सरुवा रोग सोही क्षेत्र वा स्थानमा मात्र हाल सीमित छैनन् । जस्तो कि मलेरिया, डेंगु, चिकुनगुनिया, कालाज्वर, स्क्रब टाइफस, जापानिज एन्सेफ्लाइटिस, हात्तीपाइले जस्ता कीटजन्य रोगहरू अब तराईबाट पहाड हुँदै हिमालतिर तीव्र गतिमा बढिरहेका छन् ।

डा. धिमालका अनुसार पहाड तथा हिमालका जिल्लामा तापक्रम वृद्धि अत्यधिक छ । ३०-४० वर्षको तथ्यांकलाई हेर्दा १.५ डिग्रीभन्दा बढी बढिरहेको कारणले माथिल्लो क्षेत्रमा पनि लामखुट्टे अनुकूल वातावरणमा हुर्किरहेको छ । नेपालको तापमान सन् १९६८ देखि १९९० को दाँजोमा सन् २०३० मा १.४ डिग्री सेल्सियस, सन् २०६० मा २.८ डिग्री सेल्सियस र सन् २०९० मा ४.७ डिग्री सेल्सियसका दरले वृद्धि हुने वैज्ञानिकहरूको अनुमान छ ।

केही डेंगु, कालाज्वर, स्क्रब टाइफस रोगको जोखिम वर्षभरि नै छ । ‘हिजो मौसमी रूपमा देखिने कीटजन्य रोग काठमाडौं उपत्यकाको उचाइमा अब वर्षभरि नै संक्रमणको जोखिम छ । यसको कारण भनेको तापक्रम बढ्नु र अस्वाभाविक रूपले वर्षा हुनु हो’, डा. धिमाल थप्छन् ।

हाल डेंगुले नेपालको इतिहासमै ठूलो महामारीको रूप लिएको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।

यसपछि सन् २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो । सन् २०१९ मा धरानबाट फैलिएको डेंगुले १८ हजार मानिसलाई संक्रमित बनाएको थियो । ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगुका कारण संक्रमित संख्या मात्रै बढेनन्, जिल्ला समेत विस्तार भयो ।

अहिले सन् २०२२ मा आइपुग्दा डेंगुले ४२ हजारभन्दा बढी संक्रमित भएर ५२ जनाको मृत्यु भइसकेको छ । यो वर्ष डेंगुले ७७ जिल्लालाई प्रभावित बनाएको छ । यसले पनि के देखाउँछ भने धेरै दु्रत गतिमा तल (तराई) बाट माथिल्लो (हिमाली) भागसम्म फैलिएको छ ।

हिजो प्रकोपकै रूपमा तराईमा देखिंदै गएका रोगको संक्रमण बरु त्यहाँ घट्दै गएको छ । किनकि, ३५ डिग्री नाघेपछि लामखुट्टे मर्छ । तर यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ । किनकि विज्ञका भनाइमा १२/१३ डिग्रीमा पनि डेंगु सहजै फैलिन सक्छ ।

सन् २०१० बाट २०१९ सम्म आइपुग्दा २० गुणा र सन् २०१९ बाट २०२२ सम्म आइपुग्दा झन्डै साढे दुई गुणाले डेंगु संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।

एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट यो संक्रमण हुनेगर्छ । सामान्यतः एडिस एजेप्टाई शहरी क्षेत्रमा बासस्थान बनाउने गर्छ । एडिस एल्वौपेक्टस झाडी तथा जंगलमा पाइने हुन्थ्यो । तर, यी दुवै प्रजातिको बसोबास क्षेत्रमा परिवर्तन आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग विशेषज्ञ गोकर्ण दाहाल बताउँछन् ।

ईडीसीडीले हालसालै गरेको एक अध्ययनमा एडिस एल्वौपेक्टसका प्रजाति प्रशस्त मात्रामा भेटिएको छ । ‘काठमाडौं उपत्यकामा एडिस एल्वौपेक्टस पाइन्छ भन्ने अनुमान नै गरेका थिएनौं । तर, उपत्यकाका जिल्लामा प्रशस्त मात्रामा एल्वौपेक्टसका प्रजाति भेटिए’, दाहाल भन्छन् ।

डेंगु संक्रमित संख्या फैलिएको जिल्ला

डेंगु संक्रमित संख्या फैलिएको जिल्ला
सन् २०१९ १७९९२ ४३
सन् २०२० ५३० ४३
सन् २०२१ ५४० ५४
सन् २०२२ ४१७४३ ७७

स्क्रब टाइफसको नेपालमा लामो इतिहास छैन । यसले नेपालमा पहिलो पटक सन् २०१५ मा केही बालबालिकामा कडा रूप लिंदा सबैको ध्यान तानेको थियो । यद्यपि, यो संक्रमण सन् २०१५ अगाडि नै नेपालमा देखिंदै आइरहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको एक अनुसन्धानले देखिएको छ ।

सरकारी तथ्यांकमा रिपोर्टिङ भएको सात वर्षको अन्तरालमा स्क्रब टाइफस नेपालका अधिकांश जिल्लामा देखिइसकेको छ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ नामक ब्याक्टेरियाको कारणले हुने गर्छ । यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा ‘चिगर माइट’ किर्नोले सार्ने गर्दछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ६६ जिल्लामा देखिएको स्क्रब टाइफसबाट सन् २०१९ मा १ हजार ६१० संक्रमित भएका थिए । सन् २०२२ मा आइपुग्दा यो फैलँदै ७१ जिल्लामा पुगिसकेको छ ।

‘चिगर माइट’ किर्नाले टोकेको ५ देखि २० दिनभित्रसम्ममा स्क्रब टाइफसका लक्षणहरू देखापर्ने गर्छन् । उच्च ज्वरो, असाध्य टाउको दुख्नु, आँखाको सेतो भाग रातो देखिनु, कानमा कृत्रिम आवाज सुनिनु, सास फेर्दा असहज महसुस गर्नु, शरीरमा बिमिरा देखिनु, लिम्फग्रन्थी सुन्निनु, पसिना आउने र सबैभन्दा महत्वपूर्ण संकेत ‘चिगर माइट’ किर्नाले टोकेर बनेको सानो घाउ वा पाप्रो देखिनु जस्ता स्वास्थ्य समस्याहरू स्क्रब टाइफसमा देखिने गर्छन् ।

स्क्रब टाइफस संक्रमित संख्या फैलिएको जिल्ला
सन् २०१९ १६१० ६९
सन् २०२० १७५४ ५८
सन् २०२१ २०१७ ६८
सन् २०२२ २५७६ ७१

त्यसैगरी, विगतमा कालाज्वर समुद्री सतहबाट ६०० फिटभन्दा माथि देखिंदैनथ्यो । तर, आर्थिक वर्ष २०६८/६९ मा करिब १३०० मिटर उचाइमा रहेको ओखलढुंगाको मानेभञ्ज्याङमा पहिलोपटक कालाज्वर देखियो । ईडीसीडीको तथ्यांक अनुसार नेपालमा सन् १९६० को दशकमा पहिलो पटक सरकारी तथ्यांकमा यो रिपोर्टिङ भएको देखिन्छ ।

त्यसपछिका केही वर्ष फाट्टफुट्ट देखिए पनि बीचमा केसहरू देखिएका थिएनन् । तर, पछिल्ला वर्ष कालाज्वरका बिरामी बढ्दै गएका छन् । कालाज्वरले देशका सबै जिल्ला प्रभावित बनाइसकेको छ । कालाज्वर सार्ने भुसुनाको आकार लामखुट्टेको दाँजोमा एक चौथाइ मात्रै हुन्छ । भुसुनाको शरीरको लम्बाइ १.५ मिलिमिटरदेखि ३.५ मिलिमिटरको बीचमा हुन्छ । २० देखि ३० डिग्री तापक्रम कालाज्वरका लागि उपयुक्त हुने विज्ञहरू बताउँछन् ।

विज्ञका अनुसार कालाज्वरको संक्रमण फरक ठाउँमा पनि देखिनुमा दुई मुख्य कारण छन् । पहिलो आयातित भएर र दोस्रो स्थानीय रूपमा नै फैलिनु हो । केही वर्ष अगाडिसम्म तराईका १३ जिल्लामा सीमित कालाज्वर हाल पहाडहुँदै हिमाली क्षेत्रसम्म पुगिसकेको छ ।

कालाज्वर सार्ने भुसुना माटाको घरमा राम्ररी हुर्किन्छन् । पोथी भुसुनाले जनावर वा मानिसको रगत चुस्ने क्रममा रोगका कीटाणु सार्छ । कालाज्वर हल्का ज्वरो र कमजोरीले सुरु हुन्छ र केही सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो दुख्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, कमजोरी जस्ता लक्षणमा परिणत हुन्छ । बेलैमा उपचार नभए बिरामीको मृत्युसमेत हुन्छ ।

कालाज्वर संक्रमित संख्या फैलिएको जिल्ला
सन् २०१९ २०४ ५०
सन् २०२० २१५ ५०
सन् २०२१ २५७ ४९
सन् २०२२ २४० ४१

नेपालमा मलेरियाको इतिहास लामो छ । २०२७ सालमा पहिलोपटक मुगुका ३०० भन्दा बढीमा मलेरिया देखिएको थियो । कर्णाली नदी वारिपारिका बस्ती मलेरिया प्रभावित थिए ।

ईडीसीडीको तथ्यांक अनुसार, मलेरिया बिरामीको तथ्यांक विस्तारै घट्दैछ । तर, हिमाली क्षेत्रमा मलेरियाको प्रकोप बढ्दो क्रममा नै छ । ‘हामीले मलेरिया निवारणको लक्ष्य लिएका छौं । तर कालीकोट, बैतडी, दार्चुला, मुगु जस्ता क्षेत्रबाट अहिले पनि वार्षिकरूपमा संक्रमित केसको रिपोर्टिङ हुने गरेको छ’, विशेषज्ञ दाहाल भन्छन् ।

मलेरिया एनाफिलिज नामक लामखुट्टेबाट सर्छ । मलेरियाको मुख्य कारण ‘प्यारासाइट प्लास्मोडियम’ लाई पनि मानिन्छ । मानिसको शरीरमा प्रवेशपछि कलेजो र राता रक्तकोषमा विकास भई रगतको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिन्छ । यसपछि मानिसमा विभिन्न लक्षण देखा पर्दछन् । समयमै मलेरियाको उपचार भएन भने छोटो समयमै पनि ज्यान जान सक्छ । टाउको दुख्नु, बान्ता आउनु, शरीरका भित्री अंग सुन्निनु, ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् ।

सामान्यतया लामखुट्टे, किर्नाबाट सर्ने रोग तराईमा तुलनात्मक रूपमा कम हुँदै गएको विज्ञहरू बताउँछन् । अहिले यस्ता रोगको संक्रमणको चक्र बदलिंदैछ । लामखुट्टे तथा किर्ना कम तापक्रममा पनि बाँच्न सिकेका छन् । ‘लामखुट्टेले आफ्नो बानी परिवर्तन गरिसक्यो’, डा. धिमाल थप्छन् ।

दरबन्दी शून्य सरकारी लक्ष्यलाई चुनौती

‘वर्षासँगै डेंगुको प्रकोप हराएर जान्छ भन्ने बुझाइ र लापरबाहीले गर्दा अहिले ठूलो संख्यामा डेंगु फैलन पुग्यो । सरकारी कार्यक्रम प्रभावकारी भएको महसुस गर्न सकिएन’, जनस्वास्थ्यविद् डा.शरद वन्त, ‘राज्यबाट नै पहल नहुँदा नागरिकमा जागरुकता देखिंदैन ।’

लामखुट्टे लगायतबाट सर्ने रोगको अनुसन्धान तथा नियन्त्रणका लागि काम गर्ने इन्टोमोलोजिस्ट (कीट विज्ञान विशेषज्ञ) को अहिलेसम्म दरबन्दी नै छैन । एक जना सहायक इन्टोमोलोजिस्ट कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडामा कार्यरत छन् । जनस्वास्थ्य विषयमा अध्ययन, अनुसन्धान, त्यसका लागि नीति बनाउन इपिडिमियोलोजिस्ट आवश्यक पर्छ । तर, महाशाखाको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्य विशेषज्ञले चलाएर बसेका छन् ।

नेपालमा संघीयता लागू हुनुभन्दा अगाडि स्वास्थ्य मन्त्रालयअन्तर्गत विभिन्न निकायमा भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्टको दरबन्दी थियो । उक्त विज्ञले कीटजन्य रोग नियन्त्रणका लागि काम गर्दै आएका थिए । जनस्वास्थ्यविद् तथा ईडीसीडीका पूर्वनिर्देशक डा.बाबुराम मरासिनी सरकारले भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्ट दरबन्दी हटाएर ठूलो गल्ती गरेको बताउँछन् ।

‘सरकारले संघीयतापछि भएका सबै इन्टोमोलोजिस्टलाई पालिकास्तरमा जनस्वास्थ्य कार्यकर्ता भनेर पठायो’, डा.मरासिनी भन्छन्, ‘इन्टोमोलोजिस्टलाई जिम्मेवारीविहीन पारेर ठूलो गल्ती गर्‍यो । अन्य जनशक्तिले कीट रोग सम्बन्धी काम गर्न सक्दैनन् ।’

तराईबाट पहाड र हिमालतिर सर्दै गर्दा यस्ता रोग निवारण गर्ने सरकारी लक्ष्यमा चुनौती थपिएको छ । सरकारले हाल मलेरिया, कालाज्वर तथा हात्तीपाइले रोग निवारण गर्न समयसीमा तोकेको छ । तर, यसभन्दा अगाडि नै मलेरिया सन् २०२२ सम्ममा शून्यमा झार्ने सरकारी लक्ष्य थियो । हुम्ला, मुगु, डोल्पा, कालीकोटमा कालाज्वर देखिन सुरु गरेपछि झन् चुनौती थपियो ।

यसरी मलेरियाका केसहरू हिमाली क्षेत्रमा देखिंदै गएपछि उक्त लक्ष्यलाई पछि सार्दै सन् २०२५ सम्म पुर्‍याइएको छ । मलेरियालाई नेपालबाट निवारण गर्ने लक्ष्य लिएको कीटजन्य रोग विशेषज्ञ गोकर्ण दाहाल बताउँछन् ।

‘मलेरियाका केसहरूलाई शून्यमा झार्ने नेपालले रणनीति लिएको छ । तर, अन्य देशबाट आएका मलेरियाका केसहरूलाई हटाउनका लागि चुनौतीपूर्ण नै छ’ दाहालले भने, ‘तराईबाट पहाड हुँदै हिमाली भेगतिर सर्दै जाँदा यसको निवारणमा थप चुनौती थपिदिएको छ ।’

जनस्वास्थ्य सम्बन्धी जेठो कार्यक्रम मलेरियासँग नेपाल जुधेको १०० वर्ष पुग्न लागिसकेको छ । यस वर्ष पनि ४०० हाराहारीमा यसको संक्रमण देखिइसकेको ईडीसीडीको तथ्यांक छ । पछिल्ला वर्षमा हिमाली क्षेत्रमा समेत यस्ता केस बढ्दै जानु तथा मृत्युदर देखिएकाले निवारणको लागि ठूलो चुनौती रहेको ईडीसीडीका कीटजन्य रोग विशेषज्ञ गोकर्ण दाहाल बताउँछन् ।

‘कालाज्वर २०२० अन्तिमसम्ममा निवारण गर्ने लक्ष्य थियो । तर, विभिन्न कारणले गर्दा लक्ष्य पूरा गर्न सकिएन’ विशेषज्ञ दाहाल भन्छन्, ‘उक्त लक्ष्यलाई सन् २०३० सम्ममा सारेका छौं । प्रत्येक वर्ष हिमाली जिल्लामा देखिंदा चुनौती देखिएको हो ।’

‘कार्यक्रमलाई देशव्यापी बनाऔं’

कीटजन्य रोगको नियन्त्रणका लागि कुनै निश्चित ठाउँलाई मात्रै लक्षित गरेर कार्यक्रम बनाउन नहुने जनस्वास्थ्यविद्को सुझाव छ ।

सरकारले कीटजन्य रोग नियन्त्रणको लागि तराईकेन्द्रित सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ तर हिमाली तथा पहाडी जिल्लामा यससम्बन्धी खासै कार्यक्रम छैनन् । नियन्त्रणका लागि अपनाउँदै आएको तराईकेन्द्रित नीतिमा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको जनस्वास्थ्यविद् डा.वन्त बताउँछन् ।

हिमाली, पहाडीसहितका जिल्लामा रोग नियन्त्रण लगायतका कार्यक्रम नभएकाले यसको समस्या आएको डा. मरासिनीको भनाइ छ । ‘कीटजन्य रोगहरू जसरी परिवर्तन हुँदै गएका छन् त्यसअनुसार नै जनस्वास्थ्यको कार्यक्रम, रणनीतिलाई सुधार गर्न सक्नुपर्छ’ डा. मरासिनी थप्छन् ।

कीटजन्य रोग नियन्त्रणका कार्यक्रमलाई देशव्यापी बनाउनुपर्ने डा. वन्तको भनाइ छ । जलवायु र कीटाणुमा भएको परिवर्तनलाई रोक्न सकिंदैन । त्यसकारण सरकारले नै जनस्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी रूपमा राष्ट्रिय रूपमै कार्यान्वयन गर्न सक्नुपर्छ’ डा. वन्त भन्छन्, ‘व्यवस्थापनको नेतृत्व क्षमता, प्रतिबद्धता भएमा यी समस्या सम्बोधन गर्न सकिन्छ ।’

सरकारको व्यवस्थापन कमजोरीका कारणले यस्तो समस्या आएको विज्ञको निचोड छ । ‘सन् २०१९ मा पनि डेंगुले महामारीकै रूप लिएको थियो । लामखुट्टेको नियन्त्रण वा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको भए यस्तो अवस्था आउने थिएन’ परिषद्का अनुसन्धान प्रमुख डा. धिमाल भन्छन्, ‘तर दुर्भाग्यवश, हामीले विगतबाट पाठ सिकेको देखिएन ।’

जनस्वास्थ्यविद् डा. वन्त हाल भएका कीटजन्य रोगका तथ्यहरू स्थापित भइसकेकोले कुनै वैज्ञानिक खोज र अनुसन्धान गरिराख्नु नपर्ने जिकिर गर्छन् । ‘अहिले हाम्रो लागि व्यवस्थापनको मात्रै चुनौती छ । यी रोगका लागि नयाँ अनुसन्धान गरेर तथ्य स्थापित गर्नु अहिलेको आवश्यकता होइन’ डा. वन्त भन्छन्, ‘स्थापित भएका कुरा कार्यान्वयन गर्दा अहिले भएका समस्या हल गर्न सकिन्छ ।’

त्यसैगरी डा.मरासिनी पनि सरकारले समयमै नियन्त्रणका लागि काम नगरेर डेंगु जस्ता कीटजन्य रोग फैलिरहेको तर्क गर्छन् । ‘डेंगुलाई नियन्त्रण गर्न खोज तथा नष्ट अभियानलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सकिएको भए यस्तो अवस्था भोग्नुपर्ने थिएन’ डा.मरासिनी भन्छन्, ‘सही योजना बनाएर काम गरेको भए यति ठूलो क्षति भोग्नुपर्ने थिएन ।’

‘वर्षासँगै डेंगुको प्रकोप हराएर जान्छ भन्ने बुझाइ र लापरबाहीले गर्दा अहिले ठूलो संख्यामा डेंगु फैलन पुग्यो । सरकारी कार्यक्रम प्रभावकारी भएको महसुस गर्न सकिएन’ डा. वन्त भन्छन्, ‘राज्यबाट नै पहल नहुँदा नागरिकमा जागरुकता देखिंदैन ।’

कभर स्टोरी
लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?