+
+

छठमा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

सुरेश बिडारी सुरेश बिडारी
२०७९ कात्तिक १३ गते १७:५७

१३ कात्तिक, वीरगञ्ज । छठको मुख्य दिन आज नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।

निर्जल र निराहार ब्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । अघ्र्य दिँदै गर्दा उनीहरुले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलार्ई ‘सँझिया घाटे’ पनि भनिन्छ ।

ब्रत नबसेका घरका सदस्यले दिउँसै दौरामा छठी माता, शिरसोप्ताको पूजा र सूर्यलाई अघ्र्य दिने सामाग्री छठघाटमा पुर्‍याएका हुन्छन् । फर्कने बेलामा पनि उनीहरुले नै बोकेर ल्याइदिने चलन छ ।

कोशी भर्ने भाकल गरेकाहरुले घरमा फर्किएर छठी माताको आराधाना गर्दै कोशी भरेका छन् । कोशी भर्ने विधिमा परिवारका सबै सदस्य सामेल हुन्छन् । घाटमा नगएका परिवारका सदस्य पनि कोशी भर्ने कार्यमा सहभागी हुने गरेका छन् ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति मिल्नुको साथै मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । परिवारको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै छठको ब्रत बस्ने गरेको वीरगञ्ज महानगरपालिका-३० लालपर्साकी लिलावती देवीले बताइन् ।

भोलि सोमबार सप्तमीका दिन बिहान सबेरै उठेर ब्रतालुले नुहाउँछन् । पुनः घरका पुरुष सदस्यको सहयोगमा दौरा लिएर घाटमा पुग्छन्, शिरशोप्तामा पूजा गर्छन् । उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ ।

तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ । घर फर्किएपछि इनार, गाई लगायत चलनचल्ती अनुसार सबैको पूजा अर्चना गरिन्छ । ब्रतालुले आफूभन्दा आदरणीय व्यक्तिसँग ढोगेर आशिर्वाद लिन्छन् र सानालाई आशिर्वाद दिन्छन् । त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर ब्रत तोडेर मात्रै भोजन गर्ने चलन छ ।

देशभर फैलदै छठ

पहिले तराई मधेशमा मात्र मनाइने छठ पर्व देशभर फैलंदै गएको छ । भोजपुरी भाषा सँस्कृतिमा विद्यावारिधी गरेका प्राध्यापक डा. विश्वम्भर शर्मा छठ पर्व पहाडी र मुस्लिम समुदायले पनि मनाउन थालेको बताए ।

‘छठमा सूर्यको उपासना गर्ने चलन छ, यसो गर्दा रोगब्याधिबाट मुक्ति मिल्छ, पुत्र एवं धन सम्पत्ति प्राप्ती हुन्छ भन्ने मान्यता छ’, उनले भने ‘प्रविधिको विकाससँगै पर्व तराई मधेसमा मात्रै सीमित छैन, सबैतिर फैलिएको छ ।’

हेटौंडा, पोखरा, काठमाडौं लगायतका शहरमा समेत छठ पर्व मनाउने सँस्कृतिको विकास हुनु सुखद भएको उनले बताए ।

भोजपुरी सँस्कृतिविद उमाशंकर द्विवेदी छठ पर्व एकताको राम्रो उदाहरण बन्दै गएको बताउँछन् । ‘तराई मधेशमा मात्रै मनाइन्थ्यो, विस्तारै फैलिरहेको छ । अब देशभरि नै पुग्ने जस्तो देखिन्छ’, उनले भने ‘एकताको राम्रो उदाहरण हो यो ।’

छठीमातासँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास बलियो हुँदै गएकोले पनि पर्व फैलिएको हुन सक्ने उनको बुझाइ छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?