+

ओठलाई कसरी जाडोमा मुलायम राख्ने ?

२०७९ कात्तिक  १४ गते १५:५१ २०७९ कात्तिक १४ गते १५:५१
ओठलाई कसरी जाडोमा मुलायम राख्ने ?

जाडोमा मौसम सुख्खा हुने, बढी चिसो हुने, पानी कम खाने कारणले ओठ फुस्रो, रुखो, फुट्नेजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा ओठको सौन्दर्य जोगाइराख्न वा मुलायम बनाउन बजारमा लिप बामलगायत थुप्रै उत्पादन पाइन्छन् । बजारमा उपलब्ध यी सौन्दर्य सामग्रीमध्ये कुन बढी प्रभावकारी हुन्छ ? कसरी यसले ओठलाई मुलायम बनाइराख्छ ?

जाडोमा ओठको सुरक्षा

ओठको रङ व्यक्तिअनुसार फरक–फरक हुनसक्छ । नरम एवं मुलायम र गुलाबी ओठलाई स्वस्थ अनि आकर्षक मानिन्छ ।

ओठको सौन्दर्यलाई जोगाइराख्न लिप बामको प्रयोग गर्ने, पर्याप्त मात्रामा पानी पिउने, घरबाहिर हिंडडुल गर्दा खासगरी बाइकमा यात्रा गर्दा मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यसैगरी धेरै चिसो वा धेरै तातो खानेकुराले पनि ओठमा असर गर्छ । ओठलाई खराब बनाउने धुम्रपान पनि हो । यी कुरामा ख्याल गरेर ओठलाई सुरक्षा गर्न सकिन्छ ।

लिप बामको प्रयोग

खासगरी जाडोको लागि भनेर बजारमा विभिन्न कम्पनीका लिप बाम ल्याउने गरिन्छ । तर कतिपय कमसल र केमिकलयुक्त हुने भएकाले त्यसले ओठको सौन्दर्यमा असर गर्न सक्छ । त्यसैले राम्रो ब्रान्डको ग्लिसिरिनयुक्त, मोइस्चराइजर बढी भएको लिप बाम प्रभावकारी हुन्छ । निभिया, लोटस ब्रान्डका लिप बाम राम्रो हुन्छ । सामान्यतः तीन सय रुपैयाँभन्दा माथिको लिप बाम स्तरीय हुन्छ ।

सनस्क्रिनयुक्त लिप बामको प्रयोग गर्दा राम्रो हुन्छ । किनभने यतिबेला चर्को घामको असर छालामा जस्तै ओठमा पनि पर्न सक्छ । लिप बाम राति सुत्नुभन्दा अगाडि, बिहान मुख धोएपछि र मेकअप गर्नुभन्दा अघि लिप बाम लगाउनु जरुरी हुन्छ ।

लिपिस्टिकको छनोट

मोइस्चराइजरयुक्त लिपिस्टिकले ओठलाई मुलायम र राम्रो बनाउन मद्दत गर्छ । तर खाली म्याटको लिपिस्टिक मात्रै प्रयोग गर्न भने हुँदैन । यसले ओठलाई झन् कालो बनाउँछ । सकेसम्म सेमी म्याट प्रयोग गर्नु उपयुक्त हुन्छ ।

लिपिस्टिक लगाउनुअघि र पछि पनि लिप बाम लगाउनु आवश्यक छ । यसले ओठलाई फुट्न दिंदैन । ओठलाई मुलायम राख्न मद्दत गर्छ । लिपिस्टिक प्रयोग गर्दा क्रिम र मोइस्चरयुक्त भएको प्रयोग गर्नुपर्छ ।

ओठलाई मुलायम बनाउने घरेलु विधि

ओठलाई मुलायम बनाइराख्न हामीले महको प्रयोग ओठमा गर्न सक्छौं । यसले ओठलाई कालो हुन दिंदैन । नौनीले पनि ओठलाई राम्रो बनाउँछ । राति सुत्नुअघि लगाएर सुत्दा ओठलाई मुलायम बनाउँछ ।

बाहिरी प्रोडक्टले मात्र नभई ओठलाई स्वस्थ राख्न हामीले के खानेकुरा खाइरहेका छौं भन्ने कुराको पनि ख्याल राख्न जरुरी छ । त्यसैले ओठलाई मुलायम  र स्वस्थ राख्न पर्याप्त पानी खाने, फलफूल बढी खाने गर्नुपर्छ ।

ओठ फुट्ने र कलेंटी पर्ने समस्या

चिसो हावा, सूर्यको किरणजस्ता वातावरणीय प्रभाव, गुणस्तरहीन लिप कलर प्रयोग गर्ने, पानी कम खाँदा ओठ फुट्ने, कलेंटी पर्नेजस्ता समस्या आउँछ । आफ्नो ओठ फुस्रो भएमा लगातार चाट्ने बानी गर्नु हुँदैन । किनभने यो प्रक्रियाले थप सुख्खापन आउन सक्छ ।

जाडोमा ओठको लागि घरेलु उपचार

घिउकुमारी : घिउकुमारीले ओठलाई मुलायम र कोमल बनाइराख्न सहयोग गर्छ ।

मह : महलाई एक अद्भूत मोइस्चराइजर भनिन्छ । जसमा फुटेको ओठको उपचार गर्न निको पार्ने र जीवाणु प्रतिरोधी गुण छन् । मह र ग्लिसिरिनको मिश्रण बनाएर ओठमा लगाएर रातभर छाड्नुपर्छ ।

गुलाब र दूध : केही ताजा गुलाब लिने र तिनीहरूलाई केही घण्टाको लागि काँचो दूधमा डुबाउनुपर्छ । अब यो दूध दिनमा कम्तीमा दुईदेखि तीन पटक आफ्नो ओठमा लगाउँदा प्रभावकारी हुन्छ । दूध र गुलाबमा मोइस्चराइजिङ प्रभाव हुन्छ, जसले तपाईंको ओठलाई गुलाबी बनाउन मद्दत गर्छ ।

चिनी : चिनीले स्क्रबको रूपमा काम गर्छ, जसले ओठको मृत छाला हटाउन मद्दत गर्दछ । तिनीहरूलाई कोमल र नरम देखाउँछ । अलिकति मह लिएर यसमा चिनी मिसाएर स्क्रब गर्ने र आफ्नो ओठमा राम्रोसँग मसाज गर्नुपर्छ । यसलाई केहीबेर राख्ने, मनतातो पानीले धुने र त्यसपछि प्राकृतिक लिप बाम लगाउनु राम्रो हुन्छ ।

नरिवल तेल : नरिवल तेल उत्तम प्राकृतिक मोइस्चराइजरमध्ये एक हो । नरिवलको तेलले आफ्नो ओठमा मसाज गरे ओठलाई सुरक्षा प्रदान गर्छ ।

(सौन्दर्य व्यवसायी पाठकसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

ओठ सौन्दर्य
लेखक
खुसी पाठक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय