+

महिनावारी सुकेपछि के हुन्छ ?

२०७९ कात्तिक  १५ गते १३:३० २०७९ कात्तिक १५ गते १३:३०
महिनावारी सुकेपछि के हुन्छ ?

काठमाडौं । महिलाको शारीरिक संरचना यति जटिल हुन्छ कि त्यसले विभिन्न क्षणमा ठूलो उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । ९ देखि १३ वर्षको उमेरमा रजस्वला सुरु हुनु, युवावयमा गर्भवती हुनु, प्रसूति पीडा खेप्नु अनि फेरि उमेर ढल्किंदै गएपछि रजोनिवृत्ति हुनु ।

शारीरिक र भावनात्मक रुपले यी चरणहरु महिलाका लागि त्यति सहज हुँदैनन् । मोनोपोज अर्थात् रजोनिवृत्ति एक यस्तै चरण हो, जहाँ महिलाले फरक स्थितिबाट गुज्रिनुपर्ने हुन्छ । महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाई रजोनिवृत्ति भनिन्छ । यस अवस्थामा महिलाको अण्डाशयको काम स्थायी रूपमा बन्द हुन्छ । प्रजनन् शक्ति समाप्त हुन्छ ।

यो एउटा प्राकृतिक प्रक्रिया हो । महिनावारी हुन छाडेपछि महिलाको शरीरमा विभिन्न हर्मोनल परिवर्तन हुन्छ । जसको कारण महिलामा विभिन्न समस्या देखा पर्न सक्छन् । ४५ देखि ५५ वर्ष उमेरभित्रमा महिलाहरूमा रजोनीवृत्ति हुन्छ । धेरैजसो महिलामा ५० वर्षमा महिनावारी सुक्छ ।

पाठेघरको दुईतिर दुईवटा डिम्बाशय रहेको हुन्छ । त्यसले ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ नामक  हर्मोन उत्पादन गर्छ । यो हर्मोनले गर्दा नै महिनावारी नियमित हुन्छ । रजोनिवृत्ति भएपछि दुईवटा डिम्बाशयले काम गर्न छोड्छ र हर्मोनको उत्पादन पनि हुन छाड्छ ।

यी दुई हर्मोन बन्न छाडेपछि शरीरमा यसको कमी हुने र जसकारण महिनावारी सुकेपछि विभिन्न समस्या देखा पर्न थाल्छ ।

रजोनिवृत्तिपछि शारीरिक र भावनात्मक परिवर्तन  

महिनावारी रोकिएपछि महिलाको शरीरमा ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोनको कमी हुन्छ, जसले विभिन्न शारीरिक परिवर्तन देखा पर्छन् । हर्मोनको कमीले निद्रा नलाग्ने, खलखल पसिना आउने, एकदमै जाडो र गर्मी हुनेजस्ता लक्षण देखा पर्छन् ।

यी हर्मोनले शरीरमा क्याल्सियम अवशोषित गर्ने काम पनि गर्छ । जसकारण हाडजोर्नी कमजोर भएर ढाड, कम्मर र जोर्नी दुख्नेजस्ता समस्या देखिन्छन् । कतिमा त मुटुमा नै समस्या देखिने पनि हुनसक्छ ।

‘पाठेघरमा ठूलो ‘ट्युमर’ भयो वा अन्य कुनै जटिल समस्या भएर पाठेघर तथा दुवैतिरको डिम्बासय नै निकाल्नुपर्ने अवस्था आएमा ‘एस्ट्रोजोन’ एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोन उत्पादन हुँदैन र महिनावारी पनि हुँदैन ।

हर्मोनको कमीले गर्दा भावनात्मक परिवर्तन  देखा पर्छ । जसले गर्दा मुड परिवर्तन हुने, सानो सानो कुरामा रिस उठ्ने र झर्को लाग्ने पनि हुन सक्छ ।

कृत्रिम रजोनिवृत्ति पनि हुनसक्ने

प्राकृतिक रजोनिवृत्ति हुने एउटा निश्चित समय हुन्छ । तर कृत्रिम रजोनीवृत्ति भने ३५, ४० वर्ष जुनसुकै उमेरमा पनि हुन सक्छ । पाठेघरमा ठूलो ‘ट्युमर’ भयो वा अन्य कुनै जटिल समस्या भएर पाठेघर नै निकाल्नुपर्ने अवस्था आएमा ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोन उत्पादन हुँदैन र महिनावारी पनि हुँदैन । जसलाई कृत्रिम रजोनिवृत्ति भनिन्छ ।

केही महिलामा कुनै स्वास्थ्य समस्याका कारण डिम्बाशयले राम्ररी  काम गर्न सकेको हुँदैन । पाठेघर र डिम्बाशयको क्यान्सरका बिरामीमा रेडिएसन दिनुपरेमा पनि डिम्बाशयले काम गर्न छाड्ने र त्यस्तो अवस्थामा महिनावारी सुकेर जान्छ ।

साथै शरीरमा प्रोल्याक्टिन भन्ने हर्मोन बढी छ भने महिनावारी सुक्छ । शरीरमा  थाइराइड हर्मोन कम वा बढी भएको छ भने पनि महिनावारी गडबडी हुने वा सुक्ने समस्या देखापर्छ ।

रजोनिवृत्तिपछि देखिने समस्याको उपचार

महिनावारी रोकिएपछि हर्मोनको कमीले शरीरमा विभिन्न परिवर्तन तथा समस्या देखा परेको छ भने त्यसको उपचार हर्मोनल रिप्लेसमेन्टबाट हुन्छ । कमी भएको हर्मोनलाई बाहिरबाट औषधि वा भजाइनामा लगाइने जेलको माध्यमबाट दिएर शरीरमा हर्मोनको मात्रा बढाइने गरिन्छ ।

बाहिरबाट दिएको त्यो हर्मोनल औषधिको प्रयोग डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ । यसो गरेमा हर्मोनको कारणले शरीरमा भएको परिवर्तन र समस्या कम हुन्छ ।

कृत्रिम रजोनिवृत्ति हुने विभिन्न कारण हुन्छन् । थाइराइड तथा प्रोल्याक्टिन हर्मोनको कारण यस्तो समस्या भएको हो भने ती हर्मोनलाई सही अवस्थामा ल्याउनुपर्छ ।

पाठेघर तथा अण्डाशयमा समस्या भएर कृत्रिम रजोनिवृत्ति भएको खण्डमा भने हर्मोनल पिल्सको सेवन गर्नुपर्ने हुन्छ । लामो समयसम्म हर्मोनल थेरापी गर्नुपर्ने हुन्छ । यस्ता समस्या भएका महिलाले ६ महिना वा एक वर्षको अन्तरालमा अस्पताल गएर  फलोअप गर्नुपर्छ । जसले गर्दा त्यो औषधिको सेवनले अन्य समस्या निम्तिन पाउँदैन ।

महिनावारी महिला स्वास्थ्य रजोनीवृत्ति
डा. श्वेता सिंह
लेखक
डा. श्वेता सिंह
प्रसूति तथा स्त्रीरोग एवं नि:सन्तानपन विशेषज्ञ

डा. सिंह हाल ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । नि:सन्तानपन तथा प्रजनन् स्वास्थ्यमा फेलोसिप गरेकी छन् ।  उनको मेडिकल काउन्सिल दर्ता नम्बर ७८९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?