+

पिसाबको रंगले शरीरमा पानी पुगे नपुगेको संकेत गर्छ : डा. बस्नेत

२०७९ कात्तिक  २० गते १६:१९ २०७९ कात्तिक २० गते १६:१९
पिसाबको रंगले शरीरमा पानी पुगे नपुगेको संकेत गर्छ : डा. बस्नेत

काठमाडौं । तपाईंले याद गर्नुभएको छ, दिनमा कति पटक पिसाब गर्नुहुन्छ ? पिसाबको रंग कस्तो छ ? यसको हिसाब–किताबले तपाईंको केही स्वास्थ्य स्थितिबारे पनि बताउँछ ।

धेरै वा थोरै पिसाब लाग्नु स्वभाविक मानिंदैन । वास्तवमा दिनमा कति पटक पिसाब लाग्नुलाई सामान्य वा स्वस्थ मानिन्छ ? पिसाबको रंग कस्तो हुनुपर्छ ? जाडोमा किन बारम्बार पिसाब लाग्छ ? पिसाब रोक्दा के कस्तो समस्या हुनसक्छ ? यिनै विषयमा मूत्ररोग विशेषज्ञ डा. रविनबहादुर बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश :

जाडोयाममा अलि बढी नै पिसाब लाग्छ । के कारणले यस्तो हुन्छ ?

हामीले खाएको पानी र झोलिलो पदार्थ किड्नीले फिल्टर गरेपछि पिसाब बन्छ । हामीले खाएको झोलिलो पदार्थ शरीरले विभिन्न माध्यमबाट बाहिर निकाल्छ । किड्नीले पिसाबको मध्यमबाट, छालाले पसिनाको माध्यमबाट र शौचमा र सास फेर्दा आद्र्रताको माध्यमबाट झोलिलो पदार्थ र पानी बाहिर निस्कन्छ ।

जाडो महिनामा तापक्रम चिसो हुने भएकोले छालाले पसिनाको माध्यमबाट कम पानी निकाल्छ । हामीले खाएको पानी र झोलिलो पदार्थ शरीरले कुनै न कुनै माध्यमबाट त बाहिर निकाल्नुपर्‍यो । पसिनाको माध्यमबाट कम निस्कने भएकाले जाडोमा पिसाब बढी लाग्छ ।

जाडोमा शरीरमा तापक्रम जोगाउन मांसपेशी खुम्चिएर बसेको हुन्छ । तापक्रम जोगाउनकै लागि पिसाब थैलीको मांसपेशी पनि खुम्चिन्छ, जसले गर्दा मूत्राशयको कार्यक्षमता अलि कम हुन्छ र यसले गर्दा पनि जाडोमा बढी पिसाब लाग्ने हुन्छ । जाडोमा छिटो छिटो पिसाब लाग्ने प्रमुख दुई कारण यही नै हुन् ।

सामान्यतः दिनमा कति पटक पिसाब आउनु वा गर्नु स्वस्थ मानिन्छ ?

सामान्यतः एक वयस्क र स्वस्थ मानिसले दिउँसोको समयमा दुई घण्टामा एकपटक पिसाब गर्नु सामान्य हो । रातभरमा दुई पटक पिसाब गर्नु पनि स्वस्थ मानिन्छ ।

रातिमा दुई पटकभन्दा बढी र दिउँसोको समयमा आठ पटक भन्दा बढी पिसाब लाग्यो भने त्यसलाई भने सामान्य मानिंदैन ।

पिसाबको रंग कस्तो हुनुपर्छ ?

पिसाबको रंग पानी जस्तै पारदर्शी हुनुपर्छ । एउटा पारदर्शी बट्टामा पिसाब राखेर त्यसमुनि पत्रिका राख्यौं भने त्यो पत्रिका पढ्न सक्ने खालको पिसाबको रंग हुनुपर्छ ।

पिसाबको रंगले शरीरमा पानीको मात्रा बढी वा थोरै भएको संकेत गर्छ ?

पिसाबको रंगले शरीरमा पानीको मात्रा बढी वा थोरै भएको संकेत गर्छ । शरीरमा पानीको मात्रा पुगेको छ भने पिसाबको रंग पानीजस्तै पारदर्शी हुन्छ । यदि शरीरमा पानीको मात्रा कम भएको भने पिसाबको रंग पहेंलो हुन्छ ।

जाडोमा धेरै पिसाब लाग्ने भएपछि शरीरमा पानीको अभाव पनि हुने होला नि ?

जाडोमा धेरै पिसाब लाग्ने भए पनि त्यसकै कारण शरीरमा पानीको अभाव हुँदैन । शरीरले अन्य माध्यमबाट पानी फाल्न नपाएको हुनाले जाडोमा धेरै पिसाब लागेको हो । त्यसैले बढी पिसाब लागेर पानीको अभाव नै हुने हुँदैन । एउटा स्वस्थ व्यक्तिले दिनमा साढे दुईदेखि तीन लिटर पानी पिउनुपर्छ ।

जाडोमा कसरी शरीरको पानी परिपूर्ति गर्नुपर्छ ?

जाडोमा चिसोको कारण धेरैले गर्मीमा भन्दा कम पानी पिउँछन् । यस्तोमा जाडोमा पानीको कमी परिपूर्ति गर्न तातो सुप, दूध, दाल र गेडागुडीको झोलजस्ता झोलिलो पदार्थ सेवन गर्न सकिन्छ ।

जस्तो, जाडोमा पिसाब लागे पनि अल्छी गरेर पिसाब च्याप्ने गर्न सक्छन् । यसले गर्दा यो सिजनमा पिसाबसम्बन्धी समस्या बढेको पाइन्छ ?

जाडो मौसममा धेरैले पिसाब लागे पनि अल्छी गरेर पिसाब च्यापेर बस्छन् । जसले गर्दा जाडो सिजनमा पिसाब र पिसाबथैली सम्बन्धी समस्या बढ्ने गर्छ । लामो समय पिसाब रोकेर राख्दा पिसाब र पिसाबथैलीको संक्रमण हुनसक्छ ।

पिसाब रोक्दा के कस्ता समस्या हुन सक्छन् ?

पिसाब च्याप्ने बानीले अप्ठ्यारो हुने र तल्लो पेट दुख्ने समस्या पनि हुन्छ । साथै पिसाब रोक्दा त्यो लामो समय पिसाबथैलीमा नै रहन्छ, जसले पिसाब र पिसाबथैलीको संक्रमण हुनसक्छ ।

वृद्धावस्थाका पुरुष जसको ‘प्रोस्टेट’ ठूलो भएको हुन्छ, उनीहरूमा पिसाब च्याप्ने बानी रह्यो भने पिसाबथैली फुलेर खुम्चिन नसक्ने अवस्थामा पुग्छ र आफैं पिसाब फेर्न नसकेर पाइप राख्नुपर्ने अवस्था समेत हुनसक्छ ।

लामो समयसम्म पिसाब रोक्ने बानी भएका व्यक्तिमा पिसाबको संक्रमण र पछि गएर पिसाब चुहिने समस्या हुनसक्छ ।

हाम्रो किड्नीबाट पिसाबथैलीसम्म आउने नलीलाई युरेटर भनिन्छ । पिसाबथैलीमा जम्मा भएको पिसाब युरेटरबाट किड्नीतिर फिर्ता जाँदैन । तर लामो समयसम्म पिसाब रोकिरह्यो भने पिसाबनली फुल्न सक्छ र भविष्यमा किड्नी नै बिग्रिन सक्ने सम्भावना हुन्छ ।

(डा. बस्नेत वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट न्युरोसर्जन तथा युरोलोजी विभागका प्रमुख हुन् ।)

डा. रविनबहादुर बस्नेत पिसाब
डा. रविनबहादुर बस्नेत
लेखक
डा. रविनबहादुर बस्नेत
प्रमुख कन्सल्टेन्ट युरोसर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४५४८ एमएस, एमसीएच हाल काठमाडौंस्थित वीर अस्पतालमा युरोलोजी विभागीय प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय