+
+

ईश्वर पोखरेल : युवा प्रतिस्पर्धीलाई रोक्दै जित जोगाउने चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १०:३८

२० माघ २०१० मा ओखलढुंगामा जन्मिएका ईश्वर पोखरेल अहिले टोखा, काठमाडौंका स्थायी बासिन्दा हुन् ।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनी २०२४ देखि राजनीतिमा छन् । उनले २०२७ सालमा १७ वर्षकै उमेरमा नेपाल कम्युनिस्ट पार्टी (पूर्व कोशी प्रान्तीय कमिटी)को सदस्यता पाएका थिए ।

२०३० सालबाट भूमिगत राजनीति सुरु गरेका पोखरेल २०३५ मा नेकपा (माले)को संस्थापक केन्द्रीय सदस्य बने । माले र नेकपा (मार्क्सवादी) मिलेर २०४७ मा बनेको नेकपा (एमाले)मा उनी पोलिटब्यूरो र स्थायी समिति सदस्य भए । उनी २०६५ र २०७० को पार्टी महाधिवेशनबाट महासचिवमा निर्वाचित भए ।

२०५१ सालमा एमालेको अल्पमतको सरकार बन्दा प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको भूमिका निभाएका पोखरेलले राजनीतिक जीवनमा १५ वर्ष भूमिगत र पटक-पटक गरी दुई वर्ष जेल जीवन बिताए ।

३ जेठ २०७५ एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय सदस्य पोखरेल पार्टी विभाजनपछि चितवनमा भएको एमालेको १०औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ।

पोखरेलको संसदीय यात्रा २०५४ मा राष्ट्रिय सभा सदस्यको रूपमा भएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा उनी काठमाडौं-३ बाट निर्वाचित भए । उनी मन्त्री भने २०६१ मा मात्र बने, नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ।

त्यसपछि उनी २०६९ जेठमा १३ दिन उपप्रधानसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बने ।

२०७४ को निर्वाचनमा पोखरेल काठमाडौं-५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि २०७४ फागुनमा उपप्रधान एवं रक्षामन्त्री भए, २०७८ असारसम्म ।
पोखरेलका ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ पुस्तक प्रकाशित छन् ।

प्रतिकूलता/अनुकूलता

एमालेको बलियो संगठन भएको र २०७४ मा जितेको काठमाडौं-५ बाट उम्मेदवार बन्नु ईश्वर पोखरेलको लागि अनुकूलता देखिन्छ । गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरूले काठमाडौं-५ मा पार्टीगत रूपमा पाएको मतको आँकडाले पनि त्यही बताउँछ ।

उक्त निर्वाचनमा एमालेले १९ हजार २२९, नेपाली कांग्रेसले १४ हजार ५३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ७३९, नेकपा (एकीकृत समाजवादी) ले १ हजार ५५३ र नेकपा (माओवादी केन्द्र)ले एक हजार १३९ मत पाएका थिए । पुराना राजनीतिक खेलाडी पोखरेलले २ हजार ७३९ मत आफ्नो पक्षमा डोल्याउन राप्रपासँग तालमेल गरेका छन् ।

पार्टीभित्र सधैं संस्थापन बनेर नेतृत्व रिझाएका पोखरेललाई निर्वाचनमा जनता रिझाउने चुनौती छ । त्यसमाथि, सामाजिक सञ्जालमा ‘भर्चुअल पर्सेप्सन’मा उनको नकारात्मक छवि बनेको छ । खास गरेर नयाँ पुस्ताका मतदाता यस्तो ‘भर्चुअल पर्सेप्सन’मा देखिन्छन् ।

यसपटक पोखरेलको प्रतिस्पर्धा नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणय राणा, रञ्जु दर्शनालगायत स्वतन्त्र उम्मेदवारसँग हुँदैछ । यी सबै नयाँ, युवा र अहिलेका तुलनात्मक रूपमा लोकप्रिय नाम हुन् । यिनीहरूले एमालेबाट निराश मत तान्न सक्छन् ।

लामो समय सत्तामा रजगज गरेको अनुभवले यसै पनि नकारात्मक असर पार्ने परिवेश अहिले छ । फेरि, कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)को नेतृत्वमा रहँदा धेरै आलोचित भएका थिए, तत्कालीन उपप्रधान तथा रक्षामन्त्री पोखरेल । त्यसबाट सिर्जित प्रतिकूलता अहिले उनलाई छ।

पोखरेलले विजय दोहोर्‍याउन एमालेको पुरानो मत छरिन नदिई त्यसमा नयाँ मत जोड्नुपर्ने हुन्छ । पार्टी-संगठनको शक्ति र काठमाडौं-५ का जनतासँग चुनावअघिको उनको सम्पर्क-सम्बन्ध चाहिं सबल पक्ष छँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?