+

बच्चाको दाँत कीराले खाए वा बाङ्गोटिङ्गो भएमा के छ उपचार ?

२०७९ कात्तिक  २३ गते १४:२४ २०७९ कात्तिक २३ गते १४:२४
बच्चाको दाँत कीराले खाए वा बाङ्गोटिङ्गो भएमा के छ उपचार ?

बालबच्चाको मुख ‘आँ’ गर्न लगाएर हेर्ने हो भने १०० मा ९० जना बालबच्चाको दाँत कुनै न कुनै रुपले बिग्रिएको भेटिने दन्त चिकित्सकले बताउने गरेका छन् । खासगरी कीराले खाने, सड्ने, थोते हुने र बाङ्गोटिङ्गो हुने समस्या बच्चाको दाँतमा देखिन्छ ।

यसरी दाँत खराब हुनु सामान्य होइन । दाँतको नाता अनुहारको सौन्दर्यसँग मात्र छैन, समग्र स्वास्थ्यसँग छ । शरीरलाई आवश्यक सम्पूर्ण पोषकतत्व हामीले खाने आहार हो र त्यसलाई चपाउन अनि टुक्राउन दाँत बलियो हुनैपर्छ । यदि दाँत नै खराब छ भने त्यसले पाचनयन्त्रलाई त असर गर्छ नै शरीरमा जरुरी पोषकतत्व पनि सही ढंगले आपूर्ति नहुन सक्छ ।

यसको अर्थ हो, दाँत बलियो र सही हुनैपर्छ ।

बच्चाको दाँतमा देखिएका मुख्य तीन समस्या

धेरैजसो बालबच्चाको दाँत कीराले खाएको देखिन्छ । दाँत बाङ्गोटिङ्गो हुने समस्या पनि कम छैन । त्यसैगरी गिजाको समस्या अहिले धेरैमा देखिएको छ । मुखको फोहोर वा ज्वरो लगायत कारणले गिजा सुन्निने गरेको पाइन्छ । अहिले बालबच्चामा देखिएको मुख्य तीन समस्या यही हुन् ।

समस्या चकलेटमा होइन, सरसफाइमा

चकलेट खाएर बच्चाको दाँत बिग्रियो भन्ने कुरा धेरै सुनिन्छ । तर ठोकुवा गरेर चकलेटलाई दोष दिन सकिंदैन । दाँतमा धेरै समयसम्म रहने वा टाँसिने खानेकुराले नै दाँत बिगार्ने हो । त्यसैले खानेकुरा खाइसकेपछि राम्ररी मुख कुल्ला गर्ने, सफा गर्ने बानी जरुरी छ ।

कुनै पनि खानेकुरा खाएपछि कुल्ला गर्ने बानी राम्रो हो । यसो गरिएन भने खानेकुरा दाँतको चेपमा अल्झिएर वा टाँसिएर बस्छ, जसले मुखमा भएको किटाणुलाई सक्रिय बनाउँछ । त्यसले सोही खानेकुरा खाएर एसिड पैदा गर्छ । यही एसिडले गर्दा दाँत मक्किने गर्छ । यसले गर्दा दाँतको क्याल्सियम र खनिजमा क्षति पुग्न थाल्छ ।

यसको असर के हुन्छ भने दाँत खुकुलो हुन्छ र आँखाले नदेखिने स–साना छिद्रहरु बन्न थाल्छ । यो क्रम जारी रहेपछि दाँत कमजोर हुन्छ र सजिलै भाँचिने हुनसक्छ । यसलाई क्याबिटी भन्ने गरिन्छ ।

जब दाँत बिग्रिन्छ

दाँतमा कीराले खाएपछि त्यो कुन स्थितिमा छ भनेर जान्नुपर्ने हुन्छ । पहिलो चरणमा दाँतको इनामेलमा असर गर्छ । यसमा नसा हुँदैन, त्यसैले इनामेलमा असर गर्दा दाँत फुलेको देखिन्छ । यसका लागि अतिरिक्त उपचार गर्नु जरुरी छैन, राम्ररी हेरचाह गरे पुग्छ । जस्तो कि सही खानपान गर्ने, खाइसकेपछि राम्ररी सफा गर्ने, कुल्ला गर्ने, सही समयमा ब्रस गर्ने ।

त्यसो त यसका लागि औषधि पनि प्रयोग गर्न सकिन्छ । फ्लोराइडजस्ता औषधि लगाएपछि यो स्थिति सामान्य बन्छ । तर यस चरणमा ख्याल गरिएन भने दाँत मक्किंदै जान्छ र क्याबिटी हुन थाल्छ । त्यसबेला भने एउटै विकल्प बाँकी रहन्छ, दाँत भर्ने । दाँत भरिएन भने त्यो ठाउँमा खानाहरु बाँकी रहने र मक्किने क्रम बढ्ने हुन्छ ।

यो क्रममा पनि दाँतको उपचार गरिएन भने दाँतको नसाहरुको हाँगालाई असर गर्न थाल्छ । त्यस हाँगामा जाँदा सिरिङ्ग हुने र दुख्ने हुन्छ । यस्तो स्थितिमा दाँतलाई कडा औषधि दिएर लठ्याउने गरिन्छ र कुहिएको नसा निकालेर औषधि हालेर दाँत भर्न सकिन्छ । जरामा पनि खाएको छ भने पलपेक्टटोमी गर्ने गरिन्छ ।

बच्चालाई दाँत दुखेमा के गर्ने ?

दाँत दुखेको छ भने सबैभन्दा पहिले त खानेकुरा अल्झिएको छ वा छैन हेर्नुपर्छ । गिजामा पनि खाल्डो परेर खानेकुरा अड्किएको हुनसक्छ । कुनै कुराले गिजाको नसामा थिचिएपछि दुख्ने हो ।

त्यसैले उक्त खानेकुरा टुथपिक वा डेन्टल फ्लसले निकाल्नुपर्छ । त्यसो गर्दा भएन भने मनतातो पानीले कुल्ला गर्नुपर्छ ।

विगतमा दाँत दुख्दा ल्वाङ प्रयोग गरिन्थ्यो । त्यसले लठ्याउने काम गर्छ । कहिलेकाहीं नसालाई मार्ने समेत हुँदा सानो उपचारले ठीक हुने समस्या पनि ल्वाङको असरले ठूलो उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।

दाँत दुखाइमा जटिलता

बच्चालाई सहनै नसक्ने गरी दाँत दुखेको छ भने अस्पताल लानुको विकल्प छैन । गाला सुन्नियो, सास फेर्न गाह्रो भयो, आँखा नै बन्द हुन लाग्यो वा पिप आयो भने तुरुन्त चिकित्सकलाई भेट्नुपर्छ ।

यदि सहन सक्ने किसिमले दुखेको छ भने घरमै पारासिटामोल दिन सकिन्छ । अरु पेनकिलर दिन हुँदैन । दाँतको दुखाइ भनेको त्यहाँको नसामा असर भएर वा नसा मरिसकेपछि हो । रगतको प्रवाहले दुखाइ फैलाउने हो । नसासम्म पुगेर नदुखोस् भनेर उपचार गर्नु उत्तम हुन्छ । पेनकिलरले क्षणिक दुखाइ कम गरे पनि दीर्घकालीन उपचार होइन ।

अर्को दाँत राख्नुपर्ने भएमा

यदि कुनै कारणवश दाँत फुत्किएमा अर्को दाँत राख्ने गरिन्छ । बुद्धिबंगारा फुत्किएको छ भने यसको खासै काम हुँदैन र अर्को दाँत राख्नुपर्ने नहुन सक्छ । यदि अरु दाँत फुत्किएको छ भने खाली भागमा ब्रेसेस राखेर मिलाउनुपर्छ ।

यदि दाँत बाङ्गोटिङ्गो छ भने त्यो मिलाउने क्रममा केही दाँत नै फुकाल्नुपर्ने पनि हुनसक्छ । सोही दाँतलाई फुकालेर पुनः मिलाएर राख्न सकिन्छ । तर मिलेको ठाउँकै दाँत फुत्किएको छ भने नक्कली दाँत राख्नुपर्ने हुन्छ ।

खासगरी बच्चामा अस्थायी दाँत हाल्नुपर्छ, जुन झिक्न र राख्न सजिलो हुन्छ । किनभने बच्चाको टोकाइ सन्तुलिन भइसकेको हुँदैन । यस्तो अवस्थामा स्थायी दाँत राख्न २० वर्ष उमेर पुगेको हुनुपर्छ ।

अर्को दाँत उम्रिने सम्भावना न्यून

बच्चाको दाँत कारणवश खोल्नुपरेमा त्यो खाली ठाउँमा अर्को दाँत आफैं उम्रिने हुँदैन, यो एकदमै विरलै हुने कुरा हो । त्यस्तै कुनै व्यक्तिको दाँत ३२ वटा हुनुपर्नेमा ३३ वटा पनि हुनसक्छ । यो पनि बिरलै हुने कुरा हो ।

बच्चाको दाँत बाङ्गोटिङ्गो भएमा 

बच्चाको दाँत बाङ्गोटिङ्गो हुँदा टोकाइ मिल्दैन र खानेकुरा सही ढंगले चपाउन सकिंदैन । अनावश्यक दाँतहरुबीच घर्षण हुनसक्छ र दाँत खिइँदै जान्छ । यस्तो दाँतमा ब्रस गर्दा सही ढंगले सफा हुँदैन । जसकारण दाँत बिग्रिंदै जान्छ ।

त्यसैगरी दाँत बाङ्गोटिङ्गो भएमा त्यसले उनीहरुको आत्मबल कम गराउँछ । बोल्दा, हाँस्दा मुख छोप्नुपर्ने हुनसक्छ । यसले उनीहरुमा मनोसमस्या निम्त्याउँछ ।

दाँतले बच्चाको अनुहारको बान्की पनि मिलाउने हुँदा दाँत खराब भएमा अनुहारमा केही खोट देखिन सक्छ ।

दाँत फुकाल्दा गरिने गल्ती

बाल्यकालमै हाम्रो दाँत फेरिन्छ । सुरुमा उम्रिएको दाँत जसलाई हामी बोलीचालीमा दूधेदाँत भन्छौं, त्यो फुक्लिएर अर्को दाँत उम्रिन्छ । यस्तो दाँत फुकाल्दा हामीले केही गल्ती गर्छौं । जस्तो समयभन्दा पहिले फुकाल्ने, बेस्सरी हल्लाउने । दाँत फुत्किने आफ्नै समय हुन्छ ।

समयभन्दा अगाडि दाँत फुकाल्दा वरपरको दाँतले ठाउँ पाउँछ र त्यस ठाउँतर्फ ढल्किने गर्छ । नतिजा भित्रबाट आउने अर्को दाँत बाङ्गोटिङ्गो हुनपुग्छ ।

दूधेदाँतको जरालाई अर्को पटक उम्रिने दाँतले भित्रबाट खियाउँदै गएको हुन्छ । जरा खिइँदै गएपछि आफैं सानो हुन्छ र हल्लिन थाल्छ । धेरै खिएपछि लिरिलिरी हल्लिन थाल्छ, तब मात्र निकाल्नुपर्छ ।

बच्चाको ७-८ महिना वा जब चारवटा तल र चारवटा माथिको दाँत उम्रिन्छ, त्यही बेलामा नै बच्चाको दाँत पछि कस्तो हुन्छ भनेर अनुमान गर्न सकिन्छ ।

कुनै बच्चाको हड्डी सानो छ भने ३२ वटा दाँत अट्न सक्दैन र बाङ्गोटिङ्गो आउँछ । दाँत सिधा नआउने कारण वंशाणुगत पनि हुन्छ । दाँत निकाल्नेबेला चिकित्सकले सेट गर्ने, पहिले नै परीक्षण गरेर योजनाबद्ध रुपमा उपचार गर्न सकियो भने छिट्टै दाँत सच्याउन सकिन्छ ।

दाँतको उपचार विधि

पहिला दाँतको अवस्थाको परीक्षण गरिसकेपछि एक्स–रे गरी दाँतको नाप तथा मुख बाहिर वा भित्रको तस्वीरलाई लिई त्यसैको आधारमा दाँतको जटिलताअनुसार उपचार सुरु गर्ने योजना बन्छ । अर्थोडेन्टिक समस्या भएका दाँतलाई ब्रेस र तारले बाँधेर मिलाउने गरिन्छ । दाँतको बाहिरी भागमा ब्रेसेस राखेर दाँत मिलाउने गरिन्छ । दाँत मिलाउँदा केही दाँत निकाल्नुपर्ने पनि हुनसक्छ ।

यसरी गरिने उपचार प्रविधि बाहिरबाट देखिने भएको हुँदा कतिपयको हकमा सम्भव नहुन सक्छ । यसको लागि दाँतको भित्री सतह जिब्रोपट्टिको भागमा ब्रेस लगाएर उपचार गर्न पनि सकिन्छ । दाँत मिल्ने समय भनेको दुईदेखि तीन वर्षसम्म लाग्न सक्छ । नौ महिनामा यसको मिलाउने प्रक्रिया हुन्छ । अर्को ब्रेसको प्रयोग बिना नै दाँत मिलाउन पनि सकिन्छ, जसलाई क्लियर एलाइनर थेरापी भनिन्छ ।

(डा. मैनाली बालदन्त चिकित्सक हुन् ।)

दाँतको उपचार बालबच्चा
लेखक
डा. स्निधा मैनाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय