+
+

उपेन्द्र यादव : कमजोर चुनावी अंकगणित, बलिया प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १२:०८

उपेन्द्र यादव मधेश आन्दोलनले जन्माएको नेता हुन् । राज्य पुनर्संरचना र संघीयताको एजेन्डा छुटेपछि उनले अन्तरिम संविधान जलाएर आन्दोलन सुरु गरेका थिए । आत्मनिर्णयको अधिकारसहित समग्र मधेश एक प्रदेश र समावेशीपनको मुद्दा उठाएर अगाडि बढेका उनको मधेशी जनअधिकार फोरमलाई आन्दोलनले राष्ट्रिय शक्तिको रूपमा उभ्याइदियो ।

२०१६ पुसमा सप्तरीको भागवतपुरमा जन्मिएका यादव २०३२ सालमा एसएलसी गरेपछि धरानको हात्तीसार क्याम्पस भर्ना भए । त्यहाँबाट खाद्य प्रविधिमा आईएस्सी उत्तीर्ण गरेका उनले स्नातक र स्नातकोत्तर भने मानविकीमा विराटनगरको महेन्ऽ मोरङ बहुमुखी क्याम्पसबाट गरे ।

यादवको राजनीतिक पाइला २०३२ सालतिरै अघि बढेको थियो । पुष्पलाल समूहको अनेरास्ववियुमा लागेका उनले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाए । त्यसपछि उनी दुई कार्यकाल प्रगतिशील विद्यार्थी युनियनको उपाध्यक्ष भए ।

पुष्पलाल श्रेष्ठको मृत्युपछि यो समूहको अध्यक्ष सहाना प्रधान भइन् । प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (मार्क्सवादी) बनेपछि यादव त्यतै लागे । २०४३ सालमा नेपाली कांग्रेसले आहृवान गरेको सत्याग्रह उनलाई उचित लाग्यो र त्यसमा सहभागी हुन काठमाडौं आए । त्यसैबेला गिरफ्तार भएर केन्द्रीय कारागारमा डेढ वर्ष बिताए ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि माक्र्सवादी र नेकपा (माले) मिलेर नेकपा (एमाले) बनेपछि यादव सुनसरी-मोरङमा सक्रिय भए ।

२०५४ मा नेपालगञ्जमा भएको छैटौं महाधिवेशनमा पार्टीले तराई-मधेश, दलित, आदिवासी/जनजाति जस्ता सीमान्तकृतको राजनीतिक-सामाजिक-आर्थिक मुद्दा नउठाएको भन्दै यादव एमालेबाट अलग्गिए ।

त्यसपछि विराटनगरमा शिक्षण पेशा गर्दै गैरसरकारी संस्था मधेशी जनअधिकार फोरम, नेपाल गठन गरेर मधेश मुद्दामा सक्रिय भएका यादव सशस्त्र आन्दोलन गरिरहेको नेकपा (माओवादी)सँग नजिकिए । संकटकालको बेला भारत गएका उनी त्यहीं पक्राउ र जेल परे ।

२०६३/६४ सालको मधेश आन्दोलनका प्रमुख नेता यादवले २०६४ को पहिलो संविधानसभा निर्वाचनअघि गैरसरकारी संस्था मधेशी जनअधिकार फोरम, नेपाललाई राजनीतिक दल मधेशी जनअधिकार फोरममा रूपान्तरण गरेर मोरङ-५ र सुनसरी-५ मा चुनाव जिते ।

पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेको फोरमका अध्यक्ष यादव २०६५ सालमा परराष्ट्रमन्त्री बने । २०६७ मा उनी उपप्रधानसहित परराष्ट्रमन्त्री बने ।

२०७० को दोस्रो संविधानसभा चुनावमा पहिलेकै दुई क्षेत्रबाट उठेका यादव मोरङ-५ मा पराजित भए । त्यसपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग मिलेर संघीय समाजवादी फोरम बनाएका उनी २०७४ सालको निर्वाचनमा सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

त्यो निर्वाचनपछि गठन भएको केपी ओली नेतृत्वको सरकारमा यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री बने ।

२०७६ मा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेर समाजवादी पार्टी बनाएका यादवले त्यसको एक वर्षपछि तत्कालीन राष्ट्रिय जनता पार्टी समेतलाई मिसाएर जनता समाजवादी पार्टी (जसपा) गठन गरेर त्यसको कार्यकारी अध्यक्ष बने ।

पार्टी एकताको एक वर्षपछि महन्थ ठाकुर, राजेन्द्र महतोहरूको समूह अलग्गिए । २०७९ असारमा डा. भट्टराईले पनि जसपा छाडे । अहिले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका यादव यो पटक पनि सप्तरी-२ बाटै प्रतिनिधिसभा सदस्यमा उठेका छन् ।

चुनावी अंकगणित

प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारा नमिलेपछि उपप्रधानमन्त्री र मन्त्री पद छाडेर सरकारबाट बाहिरिएका उपेन्द्र यादव ओलीले गरेको संसद विघटनलाई प्रतिगमन भन्दै अन्य दलसँगै आन्दोलित भए । यो चुनावमा भने उनले तिनै ओलीको एमालेसँग तालमेल गरेका छन् ।

सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने नेताको रूपमा चिनिएका यादव विरुद्ध सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुर मैदानमा छन् ।

गत वैशाखको स्थानीय निर्वाचनमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा जसपा अगाडि छ ।

सप्तरी-२ को स्थानीय तहमा यादवको जसपाले १४ हजार ४०३, नेपाली कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५, नेकपा (माओवादी केन्द्र)ले ९ हजार ५३४, जनमत पार्टीले ४ हजार ५४२ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ४०८ मत पाएका छन् ।

स्थानीय चुनावको नतिजा अनुसार, यादव पक्षको गठबन्धनमा एमालेको समेत गरेर २० हजार ३५४ मत छ भने लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरको गठबन्धनसँग ३३ हजार १८४ । यो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. राउत पनि बलियो नै मानिन्छन् ।

चुनावको मुखैमा सत्ता गठबन्धनसँग सहकार्य अस्वीकार गरेको औचित्य पुष्टिका लागि समेत जित्नैपर्ने दबावमा रहेका यादव गठबन्धनमा सामेल दलहरूको अत्यधिक मत तान्न नसके हार्ने स्थितिमा देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?