+
+

किन बिरामीलाई भेन्टिलेटरमा राखिन्छ ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ कात्तिक ३० गते १३:४३

काठमाडौं । ‘फलानोलाई त भेन्टिलेटरमा राखिएछ’ कसैले यस्तो खबर सुनाउँदा हाम्रो मन चिसो हुन्छ । ‘भेन्टिलेटरमै राख्नुपर्ने भएछ ?’ हामी आफैंलाई विश्वस्त तुल्याउन प्रतिप्रश्न गर्छौं ।

वास्तवमा भेन्टिलेटर के हो ? कुन अवस्थामा बिरामीलाई भेन्टिलेटरमा राखिन्छ ? भेन्टिलेटरमा राखिएको बिरामी पुनः सामान्य अवस्थामा फर्किन्छ ? यस्तो जिज्ञासाले हामीलाई बेचैन बनाइरहन्छ ।

बिरामीलाई भेन्टिलेटरमा राखेको भन्दैमा आत्तिनु नपर्ने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।

‘भेन्टिलेटर भनेको कृत्रिम श्वासप्रश्वास गराउने एउटा मेसिन हो । मेकानिकल सञ्चालन गर्ने भएकाले मेकानिकल भेन्टिलेटर पनि भनिन्छ,’ उनी भन्छन्, ‘यसले बिरामीलाई श्वासप्रश्वास गराएर अक्सिजन फोक्सोमा पु¥याउँछ र कार्बनडाइअक्साइड फोक्सोबाट बाहिर निकाल्छ । यसरी एउटा स्वास्थ्य प्रणालीले गर्ने काम मेसिनले गर्छ ।’

फोक्सोको काम अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने हो । तर श्वासनलीहरू साँघुरिएर निमोनिया भयो, मान्छे बेहोस भयो, श्वासनलीमा खाना अड्कियो, पक्षघात भयो वा हृदयघात भएर श्वासप्रश्वास राम्ररी हुन सकेन भने कृत्रिम रूपमा श्वासप्रवास प्रक्रियालाई सुचारु गर्न भेन्टिलेटरमा राखिने डा. बम बताउँछन् ।

भेन्टिलेटरमा विभिन्न मोड हुन्छन्- अशिष्ट/कन्ट्रोल भेन्टिलेसन (एसी), प्रेसर सपोर्ट भेन्टिलेसन (पिएसभी) र सिंक्रोनाइज्ड इन्टरमिटेन्ट म्यान्डेटरी भेन्टिलेसन (एसआइएमभी) । जसले कृत्रिम रूपमा फोक्सोलाई चलाइदिन्छ र शरीरमा चाहिने अक्सिजनको मात्रा पु¥याउँछ । शरीरमा भएको कार्बनडाइअक्साइडलाई बाहिर फलिदिन्छ ।

भेन्टिलेटरमा राखेपछि के हुन्छ ?

फोक्सोमा संक्रमण भयो वा दम भयो भने फोक्सोले राम्ररी काम गर्न सकिरहेको हुँदैन । यसबेला बिरामीलाई भेन्टिलेटरमा राखेर कृत्रिम रूपमा श्वासप्रश्वास गराइन्छ । बिस्तारै फोक्सोको संक्रमण नियन्त्रण हुन्छ र श्वासप्रवास सम्बन्धी विभिन्न समस्या ठीक हुँदै जान्छ । फोक्सोलाई केही समय आराम मिलेपछि यसले बिस्तारै आफ्नो काम गर्छ र भेन्टिलेटरको सपोर्ट बिस्तारै घटाउँदै बन्द गरिन्छ । फोक्सोले आफैं काम गर्न थालेपछि भेन्टिलेटरबाट निकालिने बम बताउँछन् ।

‘भेन्टिलेटरमा ठ्याक्कै कति दिन राख्ने भनेर भन्न सकिंदैन । जबसम्म फोक्सोले आफ्नो काम राम्ररी गर्न सक्दैन तबसम्म भेन्टिलेटरमा राख्नुपर्छ,’ उनी भन्छन्, ‘फोक्सोमा केही संक्रमण भयो भने बिरामीलाई भेन्टिलेटरमा राख्दा भेन्टिलेटरले काम गर्दै जाँदा फोक्सोले आराम पाउँछ ।’

फोक्सोमा भएको समस्याको उपचार गर्दै जाने र फोक्सो ठीक भएर आफ्नो काम गर्न थालेपछि भेन्टिलेटरको सपोर्ट घटाउँदै गएर निकालिन्छ ।

सामान्य अवस्थामा फर्किन कति समय ?

युवा उमेरका व्यक्ति कुनै दुर्घटनामा परेका छन् र बेहोस अवस्थामा छन् भने भेन्टिलेटरमा राख्दा छिटै सामान्य अवस्थामा फर्किन्छन् । तर घरमै लामो समयदेखि अक्सिजन दिएर राखिएका श्वासप्रश्वाससम्बन्धी रोग भएका वृद्धवृद्धाको शरीर कमजोर भइसकेको हुन्छ ।

यस्ता व्यक्तिलाई भेन्टिलेटरमा लामो समय राख्नुपर्ने हुनसक्छ । कतिपय अवस्थामा संक्रमण भएर मृत्यु समेत हुनसक्छ ।

भेन्टिलेटरमा पुगेका बिरामीमा देखिने समस्या

भेन्टिलेटरमा पुगेका बिरामीमा पछि समस्या देखा पर्न सक्ने डा. बम बताउँछन् । ‘के कारणले बिरामी भेन्टिलेटरमा गएको हो त्यसमा भर पर्छ । दम, मुटुरोग जस्ता दीर्घरोगको कारणले बिरामी भेन्टिलेटरमा पुगेको हो भने फेरि पनि समस्या देखिन सक्छ,’ उनी भन्छन्, ‘कुनै दुर्घटनामा परेर एउटा युवा भेन्टिलेटरमा आएको छ उपचार पछि उसको सम्पूर्ण अंगले राम्ररी काम ग¥यो भने फेरि भेन्टिलेटरमा जानुपर्ने हुँदैन ।’

शरीरको बनावट र रोगको प्रकृति हेरेर समस्या निम्तिन सक्छ कि सक्दैन भन्ने कुरा निर्धारण हुन्छ । कोरोनाको समयमा भेन्टिलेटरमा उपचार गरेका केही बिरामीमा पछि समस्या देखियो भने केहीमा नदेखिएको डा. बम बताउँछन् ।

‘१० देखि १५ प्रतिशत बिरामीमा भेन्टिलेटरजन्य संक्रमण विशेषगरी निमोनिया हुने सम्भावना देखिन्छ,’ उनी भन्छन्, ‘भेन्टिलेटरमै बसेको बिरामीमा भेन्टिलेटरजन्य संक्रमणले पनि अन्य समस्या थपिन सक्छ ।’

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?