+
+

चुनावमा खटिएका कर्मचारीलाई निर्देशन : दल र उम्मेदवारप्रति झुकाव नराख्नू

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ३ गते १९:५०

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न निर्देशन दिएको छ ।

शनिबार विशेष निर्देशन जारी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नाेस् ।’

यसैमा थपलियाले थपेका छन्, ‘निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की, आदि आउन सक्छन् । तर कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित वा प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न र गराउन प्रतिबद्ध भएर लाग्नोस् ।’

राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य गर्नन र मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरूबाट पर्न सक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न भनिएको छ ।

मतदान अधिकृत, मतगणना अधिकारी र कर्मचारीको जिम्मेवारी, पाउनु गर्वको विषय भएको उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले जिम्मेवारी गरिमा र मर्यादालाई कायम राख्दै मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्न भनेका छन् ।

निर्देशनमा नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्ण रूपमा पालना गर्न, मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्रीको दुरूपयोग गर्न नदिन भनिएको छ । ‘कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानुनबमोजिम प्रतिकार गर्नाेस् तर कदापी यस्ता कार्यको मतियार नबनोस्’ निर्देशनमा उल्लेख छ ।

साथसाथै, आयोगले मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?