+
+
एक्जिट पोल १ :

ललितपुर ३ मा पम्फाको हार निश्चित, तोसिमाको बलियो सम्भावना

सर्वेक्षणमा सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीमा भोट हालेको बताए । २४ प्रतिशतले नेकपा एमाले, ६ प्रतिशतले नेकपा माओवादी केन्द्र र ३ प्रतिशतले राप्रपालाई मत दिएको बताए । त्यस्तै ९ प्रतिशतले यीबाहेक अन्य दललाई र २३ प्रतिशतले कसलाई भोट हालेको खुलाउन चाहेनन् ।

अनलाइनखबर टिम अनलाइनखबर टिम
२०७९ मंसिर ४ गते १९:०७

४ मंसिर, काठमाडौं । ऊर्जामन्त्री तथा ललितपुर–३ कि सत्ता गठबन्धन उम्मेदवार पम्फा भुसालको हार निश्चित देखिएको छ । यसअघि सोही क्षेत्रबाट जितेकी माओवादी केन्द्रकी नेतृ भुसाल यसपल्ट कमजोर देखिँदै गर्दा यो क्षेत्रले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई नयाँ सांसदका रुपमा पाउने बलियो सम्भावना देखाएको छ ।

अनलाइनखबरले ललितपुर-३ का भित्री शहरका घना बस्ती, शहर छेउका बस्ती र ग्रामीण क्षेत्र गरी तीन किसिमका ठाउँमा ‘एक्जिट पोल’ गरेको थियो । यी तीन किसिमका क्षेत्रका मतदान केन्द्र (बुथ) मा मतदान गरेर फर्केका ९०–९० जना गरी २ सय ७० जना मतदातासँग हामीले गरेको सर्वेक्षणले यस्तो आँकडा देखाएको हो ।

सर्वेक्षणमा सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीमा भोट हालेको बताए । २४ प्रतिशतले नेकपा एमाले, ६ प्रतिशतले नेकपा माओवादी केन्द्र र ३ प्रतिशतले राप्रपालाई मत दिएको बताए । त्यस्तै ९ प्रतिशतले यीबाहेक अन्य दललाई र २३ प्रतिशतले कसलाई भोट हालेको खुलाउन चाहेनन् ।

सर्वेक्षणमा सहभागीमध्ये २८.७ प्रतिशतले अघिल्लो निर्वाचनमा एमोललाई, १०.९ प्रतिशतले माओवादी केन्द्रलाई ४ प्रतिशतले राप्रपालाई, ४ प्रतिशतले विवेकशील साझालाई र १४.२ प्रतिशतले यी बाहेक अन्य पार्टीलाई मत दिएको बताएका थिए । त्यस्तै २४.३ प्रतिशतले यसअघि कसलाई मत दिएको खुलाउन चाहेनन् भने २.४ प्रतिशतले यसअघि मतदान नगरेको बताए ।

समानुपातिक प्रणालीमा पनि २३.६ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई, २४.४ प्रतिशतले नेकपा एमालेलाई, ४.९ प्रतिशतले नेपाली कांग्रेसलाई, ६.९ प्रतिशतले राप्रपालाई, मत दिएको बताए भने २४.४ प्रतिशतले कसलाई मत दिएको खुलाउन चाहेनन् ।

सर्वेक्षणमा सहभागी भएका २७० मध्ये १८ देखि ३५ वर्ष उमेर समूहका २४ प्रतिशत, ३६ देखि ५५ वर्ष उमेर समूहका ४४ प्रतिशत र ५६ वर्षमाथिका ३२ प्रतिशत मतदाता दिए ।

सहभागीमध्ये ३७.२ प्रतिशतले आफू साक्षर मात्र, १२ कक्षा पास भएका २१.१ प्रतिशत,स्नातक वा सो भन्दा माथि अध्ययन गरेका ३६ प्रतिशत र शैक्षिक योग्यता खुलाउन नचाहने ५.७ प्रतिशत थिए ।

सहभागीमध्ये ४०.७ प्रतिशतले परिवारका सदस्य विदेशमा रहेका र ५९.३ प्रतिशतले विदेशमा नरहेको बताएका थिए । सर्वेक्षणमा पहिलोपटक भोट हाल्ने ७.३ प्रतिशत र यसअघि पनि मतदान गरेका ९२.७ प्रतिशत थिए ।

ललितपुर–३ का अधिकांश मतदानस्थलमा तोसिमालाई भोट हाल्ने मतदाता भेटिए । उनीहरुले यसअघि दुई पटकसम्म सांसद भइसकेको नेता भन्दै भुसालको विकल्प खोज्ने गरी मतदान गरेको प्रष्ट उल्लेख गरेका थिए ।

ललितपुर महानगर १ को वडा कार्यालयस्थित मतदान केन्द्रमा भेटिएका ५८ वर्षीय मतदाताले भोट बदलेको जानकारी दिए । ‘यहाँ मेरो पार्टीको उम्मेदवार भएन, त्यसैले योपल्ट घन्टीलाई भोट’, उनले भने, ‘भोट जितेर अनुहार नदेखाउने नेतालाई भन्दा नयाँ मान्छेलाई नै हेरौं भन्ने लागेर भोट हालियो ।’

यस्तै प्रवृत्तिको टिप्पणी गर्ने मतदाताहरुको संख्या ललितपुर–३ मा ठूलो छ ।

अनलाइनखबरले यो ‘एक्जिट पोल’ देशभरिका १६५ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ ४ निर्वाचन क्षेत्रमा गरेको छ । यसअघिको निर्वाचन परिणामलाई आधार मानेर हामीले निर्वाचन क्षेत्र छनौट गरेका हौं ।

छनौट गरिएका प्रत्येक निर्वाचन क्षेत्रमा मतदाता संख्या घटीमा ७० हजारदेखि बढीमा १ लाख २४ हजार रहेकाले उक्त संख्याको ९० प्रतिशत ‘कन्फिडेन्स इन्टर्भल’ मा ५ प्रतिशत ‘इरर मार्जिन’ राख्दा निस्कने ‘स्याम्पल’ संख्या २७० आयो । जुन यस सर्वेक्षणको ‘स्याम्पल’ संख्या हो ।

निर्वाचन क्षेत्रहरुमा धेरै मतदान केन्द्रहरु हुने तर सबै मतदान केन्द्रमा पुग्न स्रोतको अभाव हुने भएकोले प्रति निर्वाचन क्षेत्रमा ३ बुथ छनौट गरी प्रति बुथ ९० जनासँग प्रश्नावली सोधियो ।

सर्वेक्षणलाई प्रतिनिधिमूलक बनाउन मतदानका लागि बिहान, दिउँसो र अबेर आउने मतदाताहरुसँग प्रश्नहरु सोधिएको थियो । मतदानस्थलमा मत दिएर आउने प्रत्येक ११ जना पछिका नयाँ मतदातालाई प्रश्न गरिएको थियो ।

एक्जिट पोल सर्वेक्षणका अतिरिक्त हामीले सोही निर्वाचन क्षेत्रमा हाम्रो सम्पादकीय टोलीसहित राजनीतिक संवाददाताहरुलाई परिचालित गरेका थियौं, जसले आम सर्वसाधारणको मनोभाव बुझ्न अझै सहज भयो ।

अनलाइनखबरको टिमले संकलन र प्रशोधन गरेको तथ्यांकलाई ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) का अध्येताहरुको डाटा टिमले अध्ययन तथा विश्लेषण गरेको थियो ।

जीआईआईएसका कार्यकारी निर्देशक उत्तमबाबु श्रेष्ठले अनलाइनखबरको तथ्यांक अध्ययन गरिसकेपछि भने, ‘स्थानीय चुनावमा विगतका पार्टीहरुले ल्याएको मतको रुझानका आधारमा सत्ता गठबन्धनले जुन मत पाउने अपेक्षा राखेको थियो, त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका घन्टी चिह्नबाहक उम्मेदवारले तुसारापात गरेका छन् ।’

श्रेष्ठले भने, ‘प्रतिपक्षी एमालेले भने आफ्नो परम्परागत भोटलाई ७० देखि ८० प्रतिशतसम्म सुरक्षित गर्न सकेको देखिन्छ ।’

उनले गठबन्धनभित्रैको दल माओवादी केन्द्रले भने आफ्ना उम्मेदवारका लागि गठबन्धनको मुख्य घटक कांग्रेससहितको मत साटफेर गरी आफूतर्फ ल्याउन नसकेको विश्लेषण गरे ।

अनलाइनखबरको एक्जिट पोल तथ्यांक विश्लेषण गर्दै उनले थपे, ‘माओवादी तर्फका उम्मेदवारले पाउने ठानेको कांग्रेससमर्थकको ठूलो भोट विभिन्न उम्मेदवारलाई बाँडिएको देखिन्छ । ललितपुर ३ मा त अघिल्लो चुनावमा कांग्रेसलाई भोट हाल्ने ५० प्रतिशभन्दा बढीले घन्टीमा भोट हालेको तथ्यांकमा देखियो ।’

श्रेष्ठले भनेकै जस्तो अवस्था मतदाताहरुमा देखिन्छ । विगतमा विवेकशील साझा पार्टीलाई भोट हाल्नेमध्ये थुप्रैले यसपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई घन्टी चिह्नमा मतदान गरेको पाइयो । कांग्रेसलाई भोट हाल्दै आएकालगायत मतदाताले खुलेआम यसपल्ट ‘घन्टी बजाउने’ भन्दै हिँडिरहेका थिए ।

हाम्रो एक्जिट पोलको नतिजा अध्ययन गर्दा तोसिमालाई भोट दिएको बताउनेमध्ये शहरी वर्ग, उच्चमध्यम आय भएको समूह, ३५ वर्षभन्दा कम उमेरका युवा, अनि परिवारको सदस्य विदेशमा हुनेमध्येका बढी पाइए ।

यो मतदान प्रवृत्ति र गत स्थानीय चुनावमा काठमाडौं महानगरको बालेन शाहलाई भोट हाल्नेहरुको प्रवृत्ति करिब उस्तै देखिन्छ । यति हुँदाहुँदै पनि प्रौढ पुस्ताका थुप्रै सदस्यहरुले तोसिमालाई भोट हालेको हामीसँग बताए ।

ललितपुर महानगरपालिका वडा १ को मतदानस्थलबाट उकालो लाग्दै सानेपा हाइटमा पुग्दा सडकपेटिबाटै छिमेकीलाई बोलाउँदै गरेका ४६ वर्षीय एक पुरुषले भने, ‘ओ दाइ ।

ओर्लिनुहोस् है, घण्टी बजाउन जाउँ’, उनी थिए, ललितपुरको एक निजी स्कुलका शिक्षक । पुराना दलहरुप्रति निराश सुनिएका उनले भने, ‘बाउ, बाजे सबैले पुराना दललाई भोट हालेर हेरे । तर, केही भएन, त्यै भएर यसपालि नयाँ मान्छे र पार्टी रोजेका हौं ।’

उनको परिवारमा ६ जना मतदाता छन् । परिवारका सबैजनाले घण्टीमा मतदान गर्ने निर्णय गरेको उनले सुनाए ।

ललितपुर सानेपाको टीकाविद्याश्रमको मतदानस्थलको ढोका अगाडि उभिएरै ६२ वर्षे बृद्धले मतदान गर्न छिर्नेहरुलाई ‘ए नानी, बाबु घण्टी बजाउ है’ भन्दै खुलेआम अनुरोध गरिरहेका भेटिए । हामीसँग कुराकानी गर्न हच्किएका उनी गठबन्धनकी उम्मेदवार पम्फा भुसाल मतदानस्थलमा आइपुग्दा अलिक पर्तिर गए । भुसाल फर्किएपछि उनी फेरि ढोका अगाडि आए र उसैगरी ‘घण्टी’ अनुरोध गर्न थाले ।

नयाँ पार्टीको नयाँ उम्मेदवार भए पनि ललितपुर महानगरको वडा नम्बर २ मा रहेको टीका विद्याश्रम क्षेत्र तोसिमाका पक्षमा मतदाताले खुलेआम अपिल गरिरहेका भेटिए । मतदान सुरु हुँदैगर्दा त्यहाँ पुगेकी उनलाई वरिपरिका घरको छत र बार्दलीबाट घण्टी बजाएर हौसला बढाएका थिए ।

दिउँसो करिब १२ बजे कार्की टीका विद्याश्रमको मतदानस्थल पुग्दा मतदाताको उत्साह लोभलाग्दो थियो । नाम नखुलाउन चाहेका ६० वर्षे मतदाताले ‘पुरानाको त नाम पनि बिर्सिसकियो, यसपालि नयाँलाई पालो दिने हो,’ भन्दै तोसिमा कार्कीलाई मत हालेको सुनाए ।

ललितपुर–३ मा अनलाइनखबरले भेटेका अधिकांश महिला मतदाताले तोसिमालाई भोट हालेको बताए । ‘पढेकी महिला हुन्, उनले मौका पाएमा राम्रो गर्छिन्,’ अधिकांश महिलाको राय यस्तै थियो ।

कतिपय मतदाताले अनलाइनखबरको सर्वेक्षण फारममा लेखिएको दलको नाममाथि केरमेट गर्दै घण्टीमा मत हालेको लेखे । सर्वेक्षण फारममा दलको नाम केरमेट गर्दै एक मतदाताले भने, ‘मलाई मन नै पर्दैन दलहरु । यिनीहरुलाई भोट दिएर यत्रो वर्षमा के भयो र !’

जावलाखेल फुटबल मैदानको चौरमा अनलाइनखबरले भेटेका अधिकांश मतदाताले यसपटक पुराना र ठूला दललाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत नदिएको सुनाए । मतदान गरेर फर्किएकी ४८ वर्षे एक गृहिणीले घण्टी चुनाव चिह्नमा भोट हालेको बताउँदै भनिन्, ‘विचरीलाई अस्तितिर खुबै दुःख दिए । आफू केही काम गर्न सक्दैनन् गर्छु भनेर आउनेलाई पनि रोक्छन्, त्यही रिसले घण्टीमा भोट हाले ।’

उनको संकेत निर्वाचन आयोगतर्फ थियो, जसले तोसिमाले लाभको पद लिएको भन्दै उम्मेदवारी खारेजको सूचना निकालेको थियो । सर्वोच्च अदालतले त्यसलाई फुकुवा गरिदिए पनि आयोग स्वयं उजुरी हाल्न गएको कुराले मतदाता आक्रोशित देखिए ।

जावलाखेलबाट एकान्तकुनास्थित बाग्मती अञ्चल यातायात कार्यालयमा रहेको मतदानस्थलमा अनलाइन खबरले भेटेर कुराकानी गरेका धेरैजसो मतदाताले घण्टी चुनाव चिह्नमा भोट हालेको सुनाए ।

‘यसपालि पनि भोट परिवर्तन भने कहिले गर्ने त ?,’ एकान्तकुनामा भेटिएका अधिकांश महिला मतदाताले भने, ‘कहिलेकाहीँ त नयाँलाई पनि मौका दिनुपर्‍यो ।’ उनीहरुले भनेको भोट परिवर्तन र नयाँको संकेत राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की हुन् ।

यस अगाडिका चुनावमा विवेकशील साझालाई भोट हालेको बताउने अधिकांश मतादाताले यसपटक तोसिमा कार्कीलाई भोट दिएको अनलाइनखबरको सर्वेक्षणले देखाउँछ ।

०६४ देखि कांग्रेसलाई भोट दिइरहेको बताउने एकान्तकुनाका ५२ वर्षे पुरुषले यसपटक आफूले कांग्रेसको सट्टा घण्टीलाई भोट दिएको सुनाए । आफ्नो छोरा, छोरी र श्रीमतीसँगै मतदान गरेर फर्किएका उनले अनलाइनखबरसँग भने, ‘अब छोराछोरी पुस्तालाई अगाडि सार्नु पर्‍यो नि । सधैं हामी बुढाबुढी मात्र अगाडि लागेर हुँदैन ।’

खोकना क्षेत्रमा भने भुसाल र एमाले उम्मेदवार अमृत खड्कालाई भोट हाल्ने मतदाता धेरै भेटिए । तर, खोकनामा भेटिएका कतिपय युवा मतदाताले भने तोसिमा कार्कीलाई मत दिएको सुनाए ।

ललितपुरको सातदोबाटोस्थित महेन्द्र आदर्श माविमा रहेको मतदानस्थलमा भेटिएकी एक महिलाले तोसिमालाई भोट हालेको सुनाइन् । उनले भनिन्, ‘अब नयाँको जमाना हो । पुरानाको म्याद सकियो ।’

हरिसिद्धिस्थित हरिसिद्धि माविमा रहेको मतदानस्थलमा टोलसुधार समितिले नै निर्णय गरेर तोसिमालाई भोट दिएको बताउने मतदाता भेटिए । ५४ वर्षे ती मतदाताले भने, ‘हाम्रो टोल सुधार समितिले नै निर्णय गरेर तोसिमालाई मत दियौं ।’ यसरी सामुहिक मत परिवर्तनको कारण सुनाउँदै उनले भने, ‘सांसद परिवर्तन नगरी अरु चिज परिवर्तन हुँदैन भन्ने लागेर यसपटक मत परिवर्तन गर्ने निर्णय गर्‍यौं ।’

तोसिमालाई भोट हालेको बताउने अधिकांश मतदाताले पुराना दल र यस अगाडिका सांसदप्रति आक्रोश पोखे । हरिसिद्धिमा भेटिएका ४३ वर्षे एक पुरुषले भने, ‘दुई पटक गरेर १० वर्ष सांसद भए खै के गरे त ? यसपालि त नयाँलाई मौका दिउँ भनेर घण्टीमा भोट हाले ।’
यस बाहेक यी क्षेत्रमा आफूले कसलाई मत हालेको भनेर बताउन नचाहाने मतदाता पनि भेटिए । तथ्यांकमा यी मतदाताको उल्लेख्य अनुमात देख्न सकिन्छ ।

सागर चन्द, लिलु डुम्रे, शिव मुखिया, गोविन्दराज नेपाल, नमिता दाहाल,अमृत चिमरिया, प्रसुन संग्रौलाको रिपोर्टिङ 

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?