+
+

लालबाबुसँग हारेपछि शेखरले स्वभाव बदले, अहिले उनैसँग बदला लिए

हरि अधिकारी हरि अधिकारी
२०७९ मंसिर ९ गते ११:२४
फाइल तस्वीर

९ मंसिर, विराटनगर । मनोविज्ञान भन्छ – बानी बदल्न सकिन्छ, स्वभाव बदल्न सकिन्न । तर ०७४ को चुनाव शेखर कोइरालाका लागि यस्तो घुम्ती बनिदियो, जसबाट उनले आफ्नो कार्यशैली र स्वभाव नै बदल्न पुगे ।

नेपाली कांग्रेसको उम्मेदवारका रुपमा मोरङ-६ मा पाँच वर्षअघि लड्दा शेखरलाई एमालेका उम्मेदवार लालबाबु पण्डितले चुनौती दिएका थिए । सामान्य प्रशासन मन्त्री बन्दा गरेका विभिन्न कामले चर्चाको शिखरमा रहेका लालबाबुसँगको प्रतिष्पर्धाबारे पत्रकारले सोध्दा शेखरले भनेका थिए, ‘को लालबाबु, म चिन्दिनँ ।’

बस्, उनलाई हराउन यही र यस्तै बोली–व्यवहार काफी थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा डाक्टर शेखर पराजित हुनुको प्रमुख कारण उनकै व्यक्तिगत स्वभाव थियो । कांग्रेसको १४औं महाधिवेशनपछि राजनीतिक कद बढाएका डाक्टर शेखरले यो पटक स्वभाव परिवर्तन मात्रै गरेनन्, पुरानै प्रतिस्पर्धीलाई सहज रुपमा पराजित गरे ।

मोरङ-६ को शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ३५ हजार २१८ मतसहित डाक्टर शेखर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

२०७४ सालको निर्वाचनमा डाक्टर शेखरलाई पराजित गरेका एमाले उम्मेदवार पण्डितले २२ हजार ९३२ मत मात्रै ल्याए । दुईबीचको मतान्तर ८ हजार२२९ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादवकुमार प्रधानले ९५७१ र राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।

चिकित्सक पेशाबाट विरासतको राजनीतिमा आएका शेखरको स्वभाव हत्तपत्त नबोल्ने थियो । कार्यकर्ता नमस्कार पनि नर्फाएको गुनासो गर्थे । ‘पहिलेको चुनावमा डाक्टरले नमस्कार नफर्काएको गुनासो धेरै आउँथ्यो, तर यसपाली स्वभावजन्य गुनासाहरु आएनन्,’ शेखरको चुनावी अभियानमा खटिएका एक नेताले भने, ‘पार्टी भित्र पनि यसपालि ठूलो अन्तरघात भएन ।’

देशलाई तीनवटा प्रधानमन्त्री दिएको कोइराला परिवारबाट उनले विरासतको राजनीति गरिरहेका छन् ।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १० वर्ष नेतृत्व गरेका शेखर २०६१ सालपछि सक्रिय राजनीतिमा छन् ।

शेखरले २०६२–०६३ को जनआन्दोलनअघि दिल्लीमा १२ बुदे समझदारी र शान्ति सम्झौताका लागि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही माओवादीबीच सम्वादका लागि पुलको काम गरे ।

गिरिजाप्रसादको दूत भएर उनले तत्कालीन विद्रोही माओवादी र भारतसँग सम्वाद गरेका थिए । माओवादी अध्यक्ष प्रचण्ड पनि १२ बँदे समझदारी र शान्ति सम्झौतामा डाक्टर शेखरको महत्वपूर्ण भूमिका रहेको बताउँछन् ।

‘डाक्टर शेखर सक्रिय नभएको भए १२ बुँदे समझदारी बन्थ्यो कि बन्दैनथियो होला भनेर बेला बेला सोच्नेगर्छु,’ केही दिनअघि प्रचण्डले मोरङ आएर भनेका थिए, ‘गिरिजाप्रसाद कोइरालाको दाहिने हातको रुपमा उहाँ हुनुहुन्थयो, जतिबेला हामी १२ बुँदे समझदारी र शान्ति सम्झौता गर्दैथियौं ।’

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संस्थापक रेक्टरको रुपमा २०५० साल साउन १० गतेबाट काम सुरु गरेका शेखर २०५५ कात्तिक २५ सम्म सोही जिम्मेवारीमा रहे । २०५५ कात्तिक २६ गतेदेखि पाँच वर्षसम्म वीपीको उपकुलपति भएर काम गरे । वीपी प्रतिष्ठानको १० वर्षे जागिर सकिएपछि उनी पूर्णकालीन राजनीतिमा आएका हुन् ।

शेखरलाई आमा नोनाले मोरङ १ (गिरिजाप्रसादको क्षेत्र) केन्द्रित राजनीति गराउन चाहेकी थिइन् । तर शेखरले काका(गिरिजा)को क्षेत्र रोजेनन् । विराटनगर केन्द्रित राजनीति गर्ने भन्दै उनले तत्कालीन मोरङ क्षेत्र नम्बर ७( हाल ६) रोजे ।

नेपालको राजनीतिक परिवर्तनको नेतृत्वकर्ता शेखर परिवारले २०१५ सालयताका कुनै पनि निर्वाचनमा मोरङ छाडेको छैन । १५ वर्षयता शेखरले चुनाव लडिरहेका छन् । यो चुनावसँगै डा. शेखरले हालसम्म पाँच वटा चुनाव लडेका छन् । जसमा तीन पटक सफल भए,दुई पटक असफल ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग ६७५ मतान्तरले पराजित भएका थिए ।

२०६४ को संविधानसभा निर्वाचनमा मोरङको तत्कालीन क्षेत्र नम्बर ७ मा उम्मेदवार बनेका शेखर तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार विजयकुमार गच्छदारसँग ५ हजार १५५ मतले पराजित भए ।

मोरङ ७ र सुनसरी ३ बाट पनि निर्वाचित गच्छदारले मोरङ ७ छाडेपछि २०६५ चैत २८ गते उपनिर्वाचन भयो । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार शेखर १२ हजार ७१ म्त पाएर विजयी भए । दोस्रो स्थानमा रहेका तत्कालीन फोरमका चुमनारायण तवदारले ११ हजार ३९७ मत प्राप्त गरेका थिए ।

२०७० सालको दोस्रो संविधासभा निर्वाचनमा डा. शेखरले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई पराजित गरे । १२ हजार ९८२ मतसहित शेखरल विजयी हुँदा गच्छदारले १० हजार ५६४ मत पाएका थिए ।

२०७२ सालमा संविधान जारी हुँदा ९ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ६ वटा कायम हुँदा उनको क्षेत्र ६ नम्बरमा पर्‍यो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत सहित विजयी हुँदा शेखरले ३३ हजार २६६ मत पाएका थिए । यो पटक भने पण्डितलाई नै पराजित गरे ।

अल इण्डिया मेडिकल साइन्स इन्ष्टिच्युट (एमस), भारतबाट एमडी गरेका उनी २०२७ सालमा नेविसंघमा जोडिएका थिए । महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीति गरेका उनले २०२८ सालमा पार्टी सदस्यता लिए । उनी कांग्रेसको ११औं, १२औं र १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल उनी संस्थापन इत्तर समूहका नेता बनेका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?