+

मकैको च्याख्ला उत्तम कि चामल ? 

२०७९ मंसिर  ९ गते १२:५२ २०७९ मंसिर ९ गते १२:५२
मकैको च्याख्ला उत्तम कि चामल ? 

अहिले चामलको विकल्पमा धेरैले च्याख्ला  खाने गर्छन् । के चामलको साटो मकैको च्याख्ला  उपयुक्त हुन्छ ? धेरैको मनमा यो प्रश्न हुनसक्छ ।

उपलब्ध हुँदा मकैको च्याख्ला  खानु पनि स्वास्थ्यको हिसाबले राम्रो हो । तर, चामल चाहिँ विष नै यो त छुनै हुन्न भन्ने पनि हैन । बजारमा पाइने पोलिस भएको चामलमा कार्बोहाइड्रेट मात्र बढी पाउने भयो । त्यसैले तरकारी दालसँग मिसाएर खाइन्छ, यसरी सागसब्जी दालसँग खाँदा चामल पनि त्यति बेफाइदाजनक हैन । चामलबाट कार्बोहाइड्रेट, सागबाट भिटामिन मिनरल्स प्राप्त हुन्छ ।

चामल कार्बोहाइड्रेट, च्याख्ला फाइबरको राम्रो स्रोत

मकैको च्याख्ला  पाए चाहिँ खाने, चामल खाँदै नखाने बिष नै हो भन्ने होइन । चामलमा पनि शरीरलाई शक्ति दिने कार्बोहाइड्रेट पाइन्छ । तर च्याख्लामा धेरै फाइबर हुने भएकोले र यसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट पाइने भएकोले च्याख्ला  खानु राम्रो हो ।

चामल चटक्कै छाडेर च्याख्ला  खाँदा

चामल चटक्कै छाडेर च्याख्ला  खाँदा शरीरलाई सिधै असर त गर्दैन । तर, मकैमा कतिपय अमिनो एसिडहरूको अभाव हुन्छ ।

हाम्रो शरीरलाई चाहिने ‘अलैलिन’ र ‘ट्रिप्टोफान’ लगायतका अमिनो एसिड पाइँदैन । त्यसैले मकैको च्याख्लाले मात्र पोषण पुरा गर्दैन, हरियो सागपात, दाल, गेडागुडीसँग मिलाएर खानुपर्छ । जसरी हामी चामलको भात खाँदा जसरी दाल तरकारीसँग खान्छौ त्यसरी खाँदा कुनै असर पर्दैन ।

च्याख्ला मा पोषक तत्वको भण्डार

धानलाई ढिकीमा कुटेर त्यसको भुस मात्र निकालेको चामलमा पनि धेरै पोषक तत्त्व पाइन्छ । विभिन्न भिटामिन मिनरल्स पनि त्यसमा पाइन्छ । तर , बजारमा पाइने चामल पोलिस गरेको भुस र ढुटो निकालेको हुन्छ । जसले गर्दा चामलमा स्टार्च मात्र हुन्छ ।

केपी लम्साल

बजारमा पाइने चामलसँग तुलना गर्दा च्याख्लामा  धेरै पोषक तत्त्व पाइन्छ । च्याख्लामा भिटामिन सी, डी, इ, लगायतका भिटामिनहरू पाइन्छ । मकैको बोक्रासहित बनाइने भएकोले यसमा प्रशस्त फाइबर पनि हुन्छ ।

च्याख्ला ले पाचन प्रणाली राम्रो

च्याख्लामा प्रशस्त मात्रामा फाइबर हुने भएकोले पाचन प्रणालीलाई राम्रो बनाउँछ  र पेट सफा रहन्छ । यसमा विभिन्न भिटामिन मिनरल्स पनि पाइने भएकोले यसले शरीरलाई चाहिने पोषण पनि दिन्छ ।

च्याख्ला लाई राम्ररी भण्डारण गर्नु जरुरी

मकैको मुख्य समस्या भनेको ‘माइकोटोसिन’ढुसीले निकाल्ने विषाक्त रसायन हुन्छ, जुन शरीरको लागि घातक हो । नेपाल जस्तो भण्डारण गर्ने राम्रो व्यवस्था नभएको ठाउँमा त्यो ढुसी उत्पन्न हुने सम्भावना हुन्छ ।

त्यस्तो ढुसी आएपछि गाईबस्तुलाई खुवाउने चलन हुन्छ । गाईबस्तुलाई खुवाउँदा पनि त्यो दूध मार्फत आउँछ । त्यसैले राम्ररी भण्डारण गरिएन वा राम्ररी प्याक गरिएन भने यो ढुसीको समस्या  हुन्छ । नत्र मकैमा  मिसावट र विषादी हुने भय हुँदैन ।

ढिँडो र च्याख्ला  उस्तै 

मकैको ढिँडो र च्याख्लाबाट लगभग उस्तै पोषक तत्त्व प्राप्त हुन्छ । बोक्रा नफाली पिठो च्याख्ला  बनाएको छ भने दुवैमा उस्तै पोषक तत्त्व पाइन्छ । तर, पिठो बनाउँदा बोक्रा फालिने भएको पोषक तत्त्वमा फरक  पर्छ । मकैमा पाइने फाइबर र केहि भिटामिनहरू पनि घट्छ ।

ढिँडो खाए पनि च्याख्ला  खाए पनि बोक्रा नफालिएको खानु पर्यो । बोक्रा फालेर बनाइएको पिठोको ढिँडोमा पोषक तत्त्व कम हुने भएकोले मकैको बोक्रा नफालिएको च्याख्ला  खानु नै उपयुक्त हुन्छ ।

मधुमेहमा च्याख्ला  नै राम्रो भन्ने हुँदैन

मधुमेह छ भने चामल तुरुन्तै छोडेर च्याख्ला , रोटी जति खाए पनि हुन्छ भन्ने जुन भ्रम छ त्यो गलत हो । रगतमा सुगर बढ्ने भनेको खानाबाट आउने कार्बोहाइड्रेट र इस्ट्राचबाट हो । त्यसैले ढिँडो र च्याख्लामा फाइबर हुने भएकोले चामलको हिसाबमा केही फाइदाजनक हुन सक्छ ।

मधुमेहको हकमा ‘ग्लाइसेमिक इंडेक्स’ खानेकुरामा भएको चिनीजन्य पदार्थले रगतमा चिनीको मात्र कसरी बढाउँछ  भन्ने हो । ‘ग्लाइसेमिक इंडेक्स’ कम भएको खानेकुरा मधुमेहको लागि राम्रो मानिन्छ । मकैमा चामलको भन्दा बढी ‘ग्लाइसेमिक इंडेक्स’ हुन्छ । यो च्याख्लामा ९३  देखी ९८ प्रतिशत  हुन्छ भने चामलमा ७३ देखी ८० प्रतिशत हुन्छ । यो हिसाबले चामलले भन्दा च्याख्लाले  मधुमेह बढाउने भयो ।

फाइबरको हिसाबले हेर्दा भने च्याख्लामा बढी हुन्छ त्यसैले उपलब्ध छ भने च्याख्ला  खाँदा पनि हुन्छ । कति मात्रामा खाने त्यो बढी महत्त्वपूर्ण हुन्छ । प्रशस्त फाइबर  भएकोले मोटोपना नियन्त्रण गर्न भने च्याख्ला  चामल भन्दा उपयुक्त हुन्छ । एउटै खानेकुरा सबै  रोगको लागि उपयुक्त हुँदैन परिस्थिति र रोग हेरेर फरक पर्न सक्छ ।

लेखक पोषणविद् हुन् ।

केपी लम्साल मधुमेह
लेखक
केपी लम्साल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय