+
+

संसद छिर्ने व्यवसायी बढ्दो, कसरी रोकिएला स्वार्थको द्वन्द्व ?

पछिल्लो समय राजनीतिक दलहरुमा ठूला उद्योगी–व्यवसायीको पकड बढ्दै गएको छ । चुनावबाट तिनै व्यापारीहरु प्रत्यक्ष रुपमै चुनिएर आएका छन् ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ मंसिर १३ गते १६:५५

१३ मंसिर, काठमाडौं । चुनावी खर्च महँगो हुँदै गर्दा राजनीतिज्ञहरू नै प्रत्यक्ष चुनावमा जान डराउन थालिसके । यसैकारण पनि हालै सकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दलहरुबाट धेरै उद्योगपति र व्यवसायीहरुले टिकट हत्याए र थुप्रैले बाजी जिते पनि ।

पछिल्ला संसदीय चुनावहरुबाट ‘राजनीतिज्ञ’का रुपमा व्यवसायीहरु संसद पुग्ने क्रम बढेकै थियो । तर, त्यस्तो प्रवृत्तिको आलोचना धेरै हुन थालेपछि यसपटक धेरै व्यवसायीहरु प्रत्यक्ष चुनाव लड्न गएका थिए । १५८ निर्वाचन क्षेत्रको नतिजा आइसक्दा संसदीय चुनावमा त झण्डै ३ दर्जन उद्योगी–व्यवसायी प्रत्यक्ष चुनावबाटै संघीय सांसदमा जनअनुमोदित भएका छन् । यसमा धेरैजसो राजनीति र व्यवसायलाई सँगसँगै अघि बढाएकाहरु छन् ।

व्यवसायीहरु संसदमा पुग्नु नौलो नभएपनि नीति निर्माण तहमा प्रत्यक्ष संलग्न हुने गरी सांसद बनेपछि आफूले सम्हालेका व्यवसायिक जिम्मेवारी त्याग्ने अन्तर्राष्ट्रिय अभ्यासहरु छन् । तर, विगतबाटै नेपालका यस्तो अभ्यास कमजोर छ । सांसद पनि रहने र व्यवसायिक जिम्मेवारीहरु नत्याग्ने प्रवृत्तिले स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सिर्जना भएर संसदले बनाउने कानुनहरु सम्बन्धित क्षेत्रका व्यवसायमा संलग्न सांसदहरुको ‘स्वार्थ’मा समेत बनेका उदाहरण नेपालमा प्रशस्तै छन् ।

नेपालमा संसदीय मामिलामा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’काबारे अनुसन्धान गरेका किरण चापागाईं सांसदहरुले आफ्नो व्यावसायिक स्वार्थ बाझिन सक्ने ठाउँ यहाँ–यहाँ छ भनेर घोषणा गर्ने प्रावधानकै खाँचो देख्छन् । ‘स्वार्थ हुने ठाउँबाट संलग्नता त्याग्दै त्यस्ता ठाउँको स्वामित्व र सेयरहरू अन्यलाई हस्तान्तरण गरेमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को अवस्था हुँदैन,’उनी भन्छन् ।

चुनाव लड्न र जित्न पाउनु योग्य नागरिकको राजनीतिक अधिकार भएपनि स्वार्थको व्यवस्थापन नगरिए संसदबाट बन्ने कानुनहरु स्वार्थप्रेरित बन्ने जोखिम रहेको चापागाइँ निचोड छ । ‘सांसद बनेपछि कुनै व्यवसायिक ग्रुपको ग्रुपको अध्यक्ष रहेकाहरुले अब छोड्नुपर्यो,’ उनी भन्छन्,‘आफ्नो स्वार्थ बाझिने विषय यी–यी भनेर आफैंले घोषणा गर्नुपर्छ र त्यस्ता विषयमा अलग रहनुपर्छ ।’

विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्की व्यवसायीहरूले राजनीतिज्ञ र सत्ताधारीको भूमिकामा आउनुअघि नै आफ्ना व्यावसायिक जिम्मेवारी छोड्नुपर्ने बताउँछन् ।

‘राजनीति गर्ने हो भने आफ्नो पेशा व्यवसाय छोडेर सेवाभावले राजनीति मात्रै गर्छु भन्नु पर्छ’ उनी भन्छन्, ‘व्यापारीहरु आफ्नो उद्योग धन्दा व्यवसायलाई मलजल गर्ने उद्देश्य राखेर राजनीतिमा आउनु हुँदैन ।’

यस्ता विषयमा विज्ञहरुले पटक–पटक आवाज उठाएपनि नेपालमा स्वार्थको संघर्षसम्बद्ध कानून, विधि र पद्धति छैन । स्वार्थको द्वन्द्व हुने निर्णयलाई नियमन गर्ने निकाय र संयन्त्र पनि नभएकाले यो विषय अहिलेसम्म नैतिक मात्रै बन्न पुगेको छ । यसले उद्योगी–व्यवसायी जनताबाट चुनिएर संसदमा आउँदा पनि अशंका गर्ने ‘स्पेस’ बनेको छ ।

उद्योगीहरु पनि सांसद

पछिल्लो समयमा राजनीतिक दलहरुमा ठूला उद्योगी–व्यवसायीको पकड बढ्दै गएको छ । चुनावबाट तीनै व्यापारीहरु प्रत्यक्ष रुपमै चुनिएर आएका छन् ।

प्रत्यक्ष चुनावमै जनताले विश्वास गरेर जिताएको व्यवसायीमध्ये सबैभन्दा धनाढ्य हुन्, विनोदकुमार चौधरी । चौधरी ग्रुप तथा सीजी कर्प ग्लोबलका अध्यक्ष समेत रहेका नेपालका एक मात्रै डलर अर्वपति चौधरी नवलपरासी पश्चिम–१ बाट निर्वाचित भएका छन् ।

चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।

चौधरी यसअघि नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद थिए । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका ६७ वर्षीय चौधरी को १.५ बिलियन डलर (१ खर्ब ९८ अर्ब रुपैयाँ) सम्पत्ति रहेको विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोब्र्स म्यागजिनले जनाएको छ ।

विनोदकुमार चौधरी

उनी मातहत १६० कम्पनी छन्, १२३ वटा ब्रान्ड चौधरीको व्यवसायमा जोडिएका छन् । ५ वटै महाद्वीपका २७ देशमा चौधरी ग्रुपको उपस्थिति छ । चाउचाउको विश्व बजारमा चौधरीको वाइ–वाइ ब्रान्डको २.६ प्रतिशत हिस्सा छ । उद्योग, व्यापार, पर्यटन, शिक्षा, मनोरञ्जन, वित्त, सञ्चार र निर्माण क्षेत्रमा लगानी गरेका चौधरी यसपटक जनताबाटै प्रत्यक्ष चुनिएर सांसद प्रवेश गर्दैछन् ।ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उदयशमशेर राणा पनि व्यवसायमा संलग्न छन् । हस्तकला व्यवसायसँगै राजनीतिक यात्रा गरिरहेका राणाले २३ हजार ९९२ मत पाएर नेकपा एमालेका नवराज सिलवाललाई हराएर सांसदको ढोका खुला गरेका हुन् ।

काठमाडौं–७ बाट ८ हजार ७४३ मतसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पनि व्यवसायी नै हुन् । पराजुली हस्तकलासहित निर्यातजन्य वस्तुहरुको उत्पादन गर्छन् । उनले काठमाडौंमा हिमालयन ह्यान्डिक्राफ्ट इण्डष्ट्रिज चलाइरहेका छन् ।

पर्सा–३ बाट निर्वाचित राजकुमार गुप्ता पनि वीरगञ्जका चर्चित व्यवसायी नै हुन् । कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै सांसद बनेका गुप्ता भाँडाकुँडा बनाउने स्टिल उद्योग चलाउँछन् ।

मकवानपुर–१बाट सांसद चुनिएका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह पनि व्यवसायी नै हुन् । २७ हजार ८१६ मत प्राप्त गररेर कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायलाई हराएका उनी स्क्राप (कवाडी) व्यवसायी हुन् । त्यसबाहके उनको तार जाली उद्योगमा समेत लगानी छ ।

निर्माण व्यवसायीको बोलवाला

विगतकै शैलीमा थुप्रै निर्माण व्यवसायीहरु पनि संघीय संसदमा चुनिएका छन् । विशेषगरी संसदको विकास तथा प्रविधि समितिमा बस्ने र सार्वजनिक खरिद ऐन र नियमावलीको संशोधनमा भूमिका खेल्ने गरेकाहरु नै यसपटक सांसदमा दोहोरिएका छन् ।

रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका मोहन आचार्य निर्माण व्यवसायी हुन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । आचार्यको रसुवा कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गमा रहेको निर्माण कम्पनी हो ।

विक्रम पाण्डे

चितवन–३बाट निर्वाचित राप्रपाका विक्रम पाण्डे पनि निर्माण व्यवसायी नै हुन् । ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका पाण्डेको कालिका कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गको ठेकदार कम्पनी हो । पाण्डे पछिल्लाे समयमा यात्री मोटरसाइकलदेखि विभिन्न इनोभेसन र स्टार्टअप बिजनेसमा पनि लगानी गरेका छन् ।

रामेछापबाट प्रतिनिधि सभा सदस्य बनेका कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) पनि व्यवसायी हुन् । नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९को फराकिलो मतान्तरले पराजित गर्दै सांसद बनेका कान्छाराम निर्माण व्यवसायमा संलग्न छन् । उनको कान्छाराम कन्स्ट्रक्सन पनि नेपालको ‘क’ वर्गको ठेकेदार कम्पनी हो ।

डोल्पाबाट निर्वाचित एकीकृत समाजवादीका धनबहादुर बुढा पनि निर्माण व्यवसायी हुन् । उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत मात्रै पाए । यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका उनी हिमाली निर्माण सेवाका सञ्चालक हुन् ।

दाङ–३ बाट चुनाव जितेका कांग्रेस नेता दीपक गिरी पनि साझेदारीमा व्यवसायमा संलग्न छन् । नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरेका उनको क्रसर उद्योगमा लगानी छ । ओम नमः शिवाय र स्वर्गद्वारी क्रसरमा गिरीकी श्रीमती सञ्चालक छिन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व–२ नेपाली कांग्रेसका विष्णुकुमार कार्की पनि व्यवसायी हुन् । क्रसर व्यवसायमा संलग्न रहेका उनी नेकपा एमालेका उम्मेदवार तिलक महतलाई २ हजार २१ मतान्तरले हराएका हुन् । कार्कीको पक्षमा ३६ हजार १०४ मत आउँदा नेकपा एमालेका तिलक महतले ३४ हजार ८३ मत प्राप्त गरेका छन् ।

पर्यटन र सेवा उद्यमी पनि सांसद

पर्यटनसहित विभिन्न सेवा उद्योगमा लगानी गरेकाहरु पनि यसपटक संघीय सांसद बनेका छन् ।

यो चुनावमा नेपाली कांग्रेसबाट जितेका व्यवसायीमा पर्छन्, मुस्ताङका २९ वर्षीय योगेश गौचन । झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीका छोरा योगेश पर्यटन व्यवसायी हुन् । चुनावमा योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका तुलाचनले तीन हजार ७८ मत मात्रै पाएका थिए ।

भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ भने ट्राभल्स कम्पनी पनि चलाउँछन् ।

गोरखा–१बाट निर्वाचित भएका राजेन्द्र बजगाइँ पर्यटन व्यवसायमा संलग्न छन् । ट्राभल कम्पनी गोर्खा इन्काउन्टर्सको प्रबन्ध निर्देशक रहेका उनले पर्यटनसम्बद्ध विभिन्न व्यवसायमा लगानी गरेका छन् । बजगाईं ३३ हजार ४२८ मतसहित निर्वाचित हुँदा बस्नेतले १६ हजार ७८५ मत पाए । अहिले उनको लगानीमा काठमाडौंमा वर्णवास म्युजियम होटल बनिरहेको छ । उनी विभिन्न क्यासिनोहरुमा समेत लगानी गरेका छन् ।

संखुवासभा–१बाट निर्वाचित कांग्रेसका दीपक खड्का पनि विभिन्न व्यवसायमा संलग्न छन् । ३२ हजार १५८मतसहित नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई हराएर सांसद बनेका खड्काको रेस्टुरेन्ट, बैंक्वेट लगायतका व्यावसायिक फर्ममा लगानी छ ।

कृष्णकुमार श्रेष्ठ ‘किसान’

बारा–४बाट निर्वाचित एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले पनि उद्योग  तथा व्यवसायमा लगानी गरेका छन् । एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरेका श्रेष्ठ उद्योग, होटल, घरजग्गा तथा हार्डवेयर व्यवसायमा संलग्न छन् । उनी बाराको सिमरामा होटल क्लासिक प्लाजा पनि चलाउँछन् । बाराका क्लासिक म्याट्रेस र ग्यास–वान ग्यास उद्योगमा पनि श्रेष्ठकै लगानी छ । बारामा घरजग्गा व्यवसायमा पनि उनले हात हालेका छन् ।

काठमाडौं–८ बाट चुनाव जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ पनि व्यावसायिक पृष्ठभूमिका हुन् । १० हजार १०५ मत पाएर हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई हराएका श्रेष्ठ रेस्टुरेन्ट लगायत पर्यटनसम्बद्ध व्यवसायमा संलग्न छन् ।

संसद यात्रामा मेडिकल र शिक्षा व्यवसायी

मेडिकल शिक्षा तथा संस्थागत शिक्षा क्षेत्रमा लगानी गरिरहेकाहरुले पनि प्रत्यक्ष चुनाव जितेका छन् ।

सप्तरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका तेजुलाल चौधरीले प्याब्सनका पूर्वउपाध्यक्ष हुन् । तेस्रो पटक सप्तरी ४बाट विजयी भएका चौधरीले २३ हजार ४११ मत पाएका थिए । ललितपुरको कुपन्डोलमा रहेको नाइटेंगल स्कुलका सञ्चालक रहेका चौधरी शिक्षा क्षेत्रका लगानीकर्ता हुन् ।

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका दुर्लभ थापा पनि लगानीकर्ता हुन् । एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका उनको मेडिकल शिक्षाको क्षेत्रमा लगानी छ । उनको नासा कलेजमा लगानी छ ।

सुनिलकुमार शर्मा

मोरङ–३ बाट विजयी भएका कांग्रेसका सुनिलकुमार शर्मा मेडिकल व्यवसायी हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याए भने ।  एमाले उम्मेदवार भानुभक्त ढकालले २५ हजार ८९५ मत मात्रै पाए । निर्वाचित भएका शर्मा शर्मा नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज, काठमाडौंको सञ्चालक हुन् ।

सिन्धुली–१बाट निर्वाचित भएका कांग्रेस नेता श्यामकुमार घिमिरे मेडिकल व्यवसायी हुन् ।  घिमिरेले ३० हजार ३९१ मत ल्याएर नेकपा एमालेका प्रदिपकुमार कटुवाल क्षेत्रीलाई पराजित गरेका हुन् । घिमिरे समाज डेन्टलका सञ्चालक हुन् ।

धादिङ–१बाट निर्वाचित बाग्मती प्रदेशका मुख्यमन्त्री तथा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेको काठमाडौंको मनमोहन मेडिकल कलेजमा लगानी छ । पाण्डे ३५ हजार ९३४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठी २७ हजार ९५३ मत मात्रै पाए । निर्वाचित पाण्डेले धादिङका क्रसर उद्योगमा समेत छोराका नाममा लगानी गरेका छन् ।

बैंक वित्त क्षेत्रका लगानीकर्ता पनि माननीय

डा. वीरेन्द्र महतो

सिन्धुपाल्चोक–१बाट निर्वाचित मोहनबहादुर बस्नेत विभिन्न व्यवसायमा संलग्न छन् । एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८७४ काे भारी मतान्तरसहित पराजित गरेका बस्नेत एनसीसी बैंकका सञ्चालक छन् भने सिल्क ट्रान्सपोर्टमा पनि उनको लगानी छ ।

सिराहा– ४बाट चुनाव जितेका डा. वीरेन्द्र महतो पनि व्यवसायी हुन् । माछापुच्छ्रे  बैंकको सञ्चालक समिति अध्यक्ष रहेका महतोको विभिन्न क्षेत्रमा लगानी छ । उनी अर्वपति उपेन्द्र महतोका दाइ समेत हुन् । जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् । महतोको टेलिकम, मेडिकल र बैंक तथा वित्तीय संस्थाहरुमा लगानी छ ।

मोरङ ५ मा चुनाव जितेका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल व्यवसायी पनि हुन् । एमालेले जसपासँग गठबन्धन गरेर टिकट नदिएपछि स्वतन्त्र रुपमा उठेका उनले ४ हजार ३३४ मतान्तरले माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका थिए । उनी जीवन विकास लघुवित्तका लघुवित्तका संस्थापक लगानीकर्ता हुन् ।

चितवन–१बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल चर्चित सेयर लगानीकर्ता हुन् । ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पराजित गरे । सेयर बजारमा समस्या परेपछि अनसन समेत बस्ने गरेका उनले क्याफेमा समेत लगानी गरेका छन् ।

सुनसरी–३ मा कांग्रेस नेता विजयकुमार गच्छदारसँग ठूलो अग्रता बनाएकी एमालेकी भगवती चौधरीले पनि राजनीति र व्यवसाय सँगसँगै अघि बढाइरहेकी नेता हुन् । फर्वाड कम्युनिटी लघुवित्त वित्तीय संस्थाकी सञ्चालक समिति अध्यक्ष हुन् ।

हाइड्रोदेखि स्टार्टअपसम्मका लगानीकर्ता

शिशिर खनाल

डोटीबाट प्रतिनिधिसभा सदस्य चुनिएका एकीकृत समाजवादीका प्रेम आले राजनीतिसँगै व्यवसाय पनि गर्छन् । नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका आले घरजग्गा र काठ व्यवसयमा संलग्न छन् ।

काठमाडौं–६ बाट प्रतिनिधि सभामा बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि व्यावसायिक क्षेत्रमा सक्रिय छन् । १४ हजार २०४ मत ल्याएर खनाल निर्वाचित भएका उनी लजिष्टिक कम्पनी ‘पिक एन्ड ड्रप’ का सह–संस्थापक हुन् ।

धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित एमालेकी जुलीकुमारी महतो पनि व्यावसायिक क्षेत्रकी लगानीकर्ता हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी उनी यूटिएलसहित नेपालको टेलिकम क्षेत्रमा लगानी गर्छिन् ।

झापा–४बाट निर्वाचित नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू पनि व्यावसायिक पृष्ठभूमिकै पुनःनिर्वाचित सांसद हुन् । २९ हजार ३१५ मतसहित नेपाली कांग्रेसका देउकुमार थेवेलाई हराएका लिम्बु पूर्व म्यानपावर व्यवसायी हुन् । पछिल्लो सयममा उनले जलविद्युत् लगायतका क्षेत्रमा लगानी गरेका छन् ।

पाँचथरबाट विजयी भएका एमालेका बसन्तकुमार नेम्वाङ राजनीति र व्यवसाय सँगसँगै अघि बढाइरहेका नेता हुन् । कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका नेम्वाङ जलविद्युत क्षेत्रका लगानीकर्ता हुन् । नेम्वाङ पूर्वी नेपालमा कनिसकेका बनिरहेका हेवा–ए लगायतका जलविद्युत आयोजनाका प्रवर्धक हुन् ।

हिमाली जिल्ला मनाङबाट प्रतिनिधिसभा सदस्य बनेको नेपाली कांग्रेसका टेकबहादुर गुरुङ म्यानपावर व्यवसायी हुन् । नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३२८ मतान्तरले हराएका गुरुङ काठमाडौंको फनपार्कको सञ्चालक समेत हुन् । फनपार्कका लागि समाजकल्याण परिषदको जग्गा भाडा लिंदा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा परेकाले गुरुङ तत्काल संसद भवन प्रवेश गर्न पाउने छैनन् ।

स्वार्थको संघर्ष विषयको अध्ययेता चापागाइँ स्वार्थ बाझिँदा बाझिँदैको अवस्थामा अन्य सांसदहरु पनि संसद छिर्न नहुनेमा जोड दिन्छन् । उनकाअनुसार हालको संसद नियमावलीमा स्वार्थको व्यवस्थापन गर्न केही प्रावधान भएपनि निष्प्रभावी र अपर्याप्त छन् । अब तत्कालै नियमावलीलाई संशोधन गरेर स्वार्थको व्यवस्थापनको लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘स्वार्थ समूहको योजनामा वैदेशिक भ्रमणमा जाने, उपहार, सम्मान पुरस्कार लिने जस्ता कुरा रोक्नुपर्छ,’ उनी भन्छन्,‘संसदमा आफ्नो स्वार्थ भएको विषय डिक्लियर गर्ने नियमावलीमै व्यवस्था गर्नुपर्छ ।’

स्वार्थको संघर्ष हुने काममा सांसदहरु संलग्न भए उजुरी गर्न बनाउने भनिएको समिति अहिलेसम्म बन्न नसकेको भन्दै उनले भविष्यमा सांसदलाई पनि दण्डित गर्नेसम्मका प्रावधान राख्नुपर्ने बताए ।  यसो नभए सांसदको निर्णय र त्यहाँबाट बन्ने कानुनहरु स्वार्थ समूहको स्वार्थमै बन्ने खतरा हुने उनको भनाइ छ ।

‘आफ्नो पृष्ठभूमि मिल्ने र स्वार्थ गाँसिने संसदीय समितिमै बस्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,’ उनी भन्छन्,‘संसदमा आउने विषयगत गोप्य सूचनाहरुको सुरक्षाका लागि पनि संसद चुनिएका उद्योगपति र व्यवसायी आफैंले नैतिकता देखाए राम्रो हुनेथियो ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक विषयमा कलम चलाउने घिमिरे अनलाइनखबरको आर्थिक ब्युरोको संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?