+
+

गोरखामा प्रचण्डलाई सघाएका बाबुराम के गर्दैछन् ?

प्रत्यक्षतर्फ चुनाव नलडेका डा. बाबुराम भट्टराई समानुपातिकमा पनि बसेनन् । राष्ट्रपतिमा पनि उनले दावी गरेको देखिएको/सुनिएको छैन । उनले समाजवादी केन्द्रको लागि वैचारिक काम गर्ने र समृद्धिका लागि अधिकार सम्पन्न कुनै प्राधिकरण बनाएर नेतृत्व लिने इच्छा देखाएको नेसपाका एक नेता बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते २०:००

१४ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत भदौ तेस्रो साता जापान भ्रमणमा थिए । २४ साउन २०७९ मा टोकियोमा नेपाली पत्रकारहरूसँगको कुराकानीमा उनले चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बताएका थिए ।

जापानबाट फर्केलगत्तै उनी चितवनमा चुनावलक्षित दौडधुपमा देखिए । २४ भदौमा प्रेस सेन्टर, कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भनेका थिए, ‘यो पटक पनि चितवनबाटै चुनाव लड्छु, जित्छु भन्नेमा विश्वस्त छु ।’

१० असोज २०७९ मा उनी भरतपुर–१४, शिवनगरस्थित घरमा सरे । करिब १० कट्ठा जग्गामा बनेको एकतले घरमा सर्न उनी बिरामी पत्नी सीतालाई लिएर चितवन पुगेका थिए ।

४० वर्षपछि तपाईहरूकै काखमा फर्केको छु’, त्यसबेला उनले भनेका थिए, ‘बा बितेपछि उहाँको नाममा भएको जग्गामा यो घर बनाएर भित्रिएको छुँ । तपाईहरूको सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दछु ।’

चितवनबाटै चुनाव लड्ने तयारी गरिरहेका प्रचण्डलाई नेपाली कांग्रेस चितवनका नेताहरू भने चितवन क्षेत्र नम्बर ३ छाड्न भनिरहेका थिए । मंसिर ४ गतेलाई निर्धारित चुनाव नजिकिँदै गर्दा त्यहीँको घरमा सरेका उनले चाहिँ भावनात्मक कुराहरू बोल्दै दौडधुप पनि बढाएका थिए ।

बाबुरामको त्यो निर्णय

चितवनमा उठ्न मेहनत गरिरहेका प्रचण्ड मनोनयन दर्ता गर्ने मिति नजिकिँदै जाँदा गोर्खातिर सर्ने स्थितिमा पुगे । सत्ताका सहयात्री दल कांग्रेसका स्थानीय नेताहरूको भनाई र आफ्नै अवलोकनले पनि उनको मनमा ढ्याङ्ग्रो बजाउन थालेको थियो ।

त्यही द्विविधाको बेला प्रचण्डको तारणहार बन्न पुगे उनका पूर्व कमरेड डा. बाबुराम भट्टराई । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष भट्टराईले यसपटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गर्दै असोज तेस्रो साता भने, ‘यो क्षेत्रका जनताले अझ सक्षम व्यक्तिको नेतृत्व पाउनुहुनेछ ।’

डा. भट्टराईले ‘अझ सक्षम नेतृत्व’ भनेको अरु कोही नभएर प्रचण्ड नै थिए । उनले आफ्नो जित निश्चित भएको भूगोल किन प्रचण्डलाई छाडे त ? ‘वैकल्पिक राजनीतिबाट राष्ट्रिय मूलधारमा फर्कने प्रयास असफल भएपछि निराश उहाँले समाजवादी केन्द्र बनाउन प्रचण्डसँग सहकार्य गर्नुको विकल्प देख्नुभएन’, नेसपाका एक नेता भन्छन् ।

सहकार्य गर्नुपर्ने अवस्थामा सांसद दाबी गर्दा प्रचण्डसँग विश्वासको वातावरण नबन्ने बाबुरामको बुझाई रहेको ती नेताको दाबी छ । समानुपातिकबाट समेत सांसद नबन्ने निर्णय चाहिँ किन त ?

‘त्यताबाट पनि प्रधानमन्त्री बन्न सकिने होइन’, नेसपाका ती नेता भन्छन्, ‘पार्टीको वैचारिक काम र देशमा समृद्धिका लागि योगदान गर्न पद नै किन चाहियो र भन्दै उहाँले प्रचण्डलाई गोरखा ल्याउनु भयो ।’

प्रचण्ड खुसी हुँदै गोरखा आउने भएपछि चुनाव लड्ने तयारीमा रहेका नारायणकाजी श्रेष्ठले पनि ‘वाक ओभर’ दिए । चितवनमा कांग्रेसबाट पूरा सहयोग नहुने र नेकपा (एमाले)ले पनि हराउन खनिने बुझेका प्रचण्ड यसरी बाबुरामको बाटोबाट गोरखामा विजयी पनि भए ।

सम्बन्ध सुधार्दै, विश्वास बढाउँदै

चितवनबाट गोरखा उक्लने वातावरण बन्दैगर्दा पोखरा पुगेका प्रचण्डले २५ भदौमा भनेका थिए, ‘उहाँलाई माओवादीमा स्वागत नै गरौं, कहीँकतै अपमान हुनेखालका कुरा नगरौं ।’

भदौ ३१ गते बाबुरामको परिवारसँग डिनर खाएका प्रचण्डले असोज ८ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र नभई धेरै पछिसम्मलाई हुने’ बताए ।

४ मंसिरको चुनावी परिणामपछि प्रचण्ड–बाबुराम सम्बन्ध थप बलियो बनेको छ । नयाँ गठबन्धन बनाउँदा होस् वा बालकोट र राष्ट्रपति निवास जाँदा, बाबुरामसँगको परामर्श नटुटेको प्रचण्डको सचिवालयका एक सदस्य बताउँछन् ।

प्रचण्डकै आग्रहमा बाबुराम सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुन थालेको ती नेताले बताए ।

चर्चा विकास प्राधिकरणको

प्रत्यक्षतर्फ चुनाव नलडेका डा. बाबुराम भट्टराई समानुपातिकमा पनि बसेनन् । राष्ट्रपतिमा पनि उनले दावी गरेको देखिएको/सुनिएको छैन । उनले समाजवादी केन्द्रको लागि वैचारिक काम गर्ने र समृद्धिका लागि अधिकार सम्पन्न कुनै प्राधिकरण बनाएर नेतृत्व लिने इच्छा देखाएको नेसपाका एक नेता बताउँछन् ।

उनका अनुसार, अघिल्लो सत्ता गठबन्धनमा प्रचण्ड, शेरबहादुर देउवा र बाबुरामबीच अधिकारसम्मन्न विकास प्राधिकरण बनाउने सहमति भएको थियो । माओवादी केन्द्रको चुनावी घोषणापत्रमा राष्ट्रिय व्यापार प्राधिकरण, राष्ट्रिय रोजगार प्राधिकरण, यातायात व्यवस्था प्राधिकरण लगायत गठन गर्ने उल्लेख छ ।

तर, अहिले नयाँ सत्ता गठबन्धन छ, जसमा नेकपा (एमाले)का अध्यक्ष केपी ओली निर्णायक रहनेछन् ।

रपनि, नेसपाका नेता गंगानारायण श्रेष्ठ भन्छन्, ‘नयाँ समीकरणले सिर्जना गरेको नयाँ अवस्थामा जनतालाई महसुस हुनेगरी काम गर्न डा. भट्टराईले कुनै भूमिका लिनपर्छ भन्ने बुझाइमा एकरूपता नै देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?