+
+

संसद सुरू भएको दुई दिनमै किन उठ्यो विघटनको बहस ?

ओलीले देउवालाई घोचपेच गर्दैगर्दा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहज देखिँदैनन् । विघटन असंवैधानिक थियो भन्ने तर्कमा ताली बजाउँ भने देउवाको गठबन्धन छाडेर ओलीकोमा उनी पुगेको नयाँ यथार्थ छ । ताली नबजाउँ भने विघटनलाई कारण देखाउँदै विगतमा उनै देउवासँग मिलेर ओली सरकार ढालेको, अनि नयाँ गठबन्धन बनाएर देउवालाई प्रधानमन्त्री मानेको निकट इतिहास छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १५:१०
संसदमा सम्बोधनपछि एमाले अध्‍यक्ष केपी शर्मा ओलीसँग हात मिलाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा। तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२६ पुस, काठमाडौं । संसदको पहिलो र दोस्रो बैठकमै संसद विघटनको बहसले प्रमुखता पायो । यो बहसमा सामेल भए दुई ठूला दल कांग्रेस र एमाले । कांग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो प्रतिनिधिसभा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गरेको स्मरण गराए । एमाले अध्यक्ष ओलीले उनै देउवालाई गुरु मानेर विघटन गर्दा प्रतिगमन भनेको भन्दै कटाक्ष गरे ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने घोषणा गर्दै देउवाले ओलीलाई आज संसदमा भने, ‘प्रतिनिधिसभाको हिजो बैठकमा एमाले अध्यक्ष वर्तमान सत्तासिन नेताको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदारसँग उठाउनु भएको छ । संविधानको पालना र रक्षाका लगि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौं । सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरुप संसद पुनस्थापिना गरेको थियो । आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ ।’

यसको जवाफ दिने क्रममा ओलीले देउवालाई आफ्नो इतिहास सम्झाए । ०४८ को चुनावमा बहुमत पाए पनि कांग्रेसले ०५० मा संसद विघटन गरेको, अनि ०५६ मा बहुमत पाए पनि ०५९ मा संसद विघटन गरेको थियो कांग्रेसले । त्यस बेला ०४७ को संविधानले विघटनको अधिकार बहुमत प्राप्त प्रधानमन्त्रीलाई दिएको पनि थियो । हालको संविधानमा भने प्रधानमन्त्रीलाई यो अख्तियार छैन ।

यति हुँदाहुँदै पनि ओलीले देउवालाई नै गुरु थापेर विघटन गर्दा पनि जस नपाएको व्यंग्य गरे । उनले हिजो सोमबार पनि आफ्नो विघटन निर्णय सही भएको भन्दै देउवा तथा प्रचण्ड दुवैलाई परोक्ष सन्देश दिएका थिए ।

‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ? मितिमा भने ओली चिप्लिएका छन् । देउवाले ०५९ जेठ ८ मा विघटन गरेका थिए ।

ओलीले देउवालाई घोचपेच गर्दैगर्दा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहज देखिँदैनन् । विघटन असंवैधानिक थियो भन्ने तर्कमा ताली बजाउँ भने देउवाको गठबन्धन छाडेर ओलीकोमा उनी पुगेको नयाँ यथार्थ छ । ताली नबजाउँ भने विघटनलाई कारण देखाउँदै विगतमा उनै देउवासँग मिलेर ओली सरकार ढालेको, अनि नयाँ गठबन्धन बनाएर देउवालाई प्रधानमन्त्री मानेको निकट इतिहास छ ।

ओली बोलेपछि राेष्ट्रम पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संविधानको प्रावधान लत्याउँदै विघटन गरे पनि आफ्नो कदमको पक्षमा ‘गर्जिएकामा अचम्म मानेको’ टिप्पणी गरे । उनले पहिलेको व्यवस्था जे भए पनि अहिलेको संविधानले त्यस्तो सुविधा नदिने भन्दै ओलीलाई साबधान गराए ।

नेपालको टिप्पणीका बीच संसदमा सबैभन्दा बढी सिट भएका दुई दलका प्रमुख नै पहिलो र दोस्रो दिनको भाषणबाजीमा लागेको दृश्य भने सहज देखिँदैन । अघिल्लो संसदमा प्रधानमन्त्री बनेका ओलीलाई दुई तिहाई बहुमत प्राप्त थियो । तर संसद दुईपल्ट विघटन भयो ।

यसपल्ट प्रधानमन्त्री प्रचण्डले झन्डै सर्वसम्मति जुटाएका छन् । तै पनि कसैको साथमा बहुमत नदेखिएकाले अगाडिका दिनहरुबारे अनेक सन्देहहरु जन्मिएका छन् । ती सन्देहहरुलाई हिजो र आज संसदमा भएका विघटन-बहसले पुट दिएका छन् । उसमाथि ठूला दुई दलका शीर्ष नेता नै यसमा सामेल हुनुले अगाडिको परिस्थिति सहज छैन भन्ने देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?