+

बच्चालाई डाइट प्लान कति जरुरी ?

२०७९ पुष  २९ गते १७:३० २०७९ पुष २९ गते १७:३०
बच्चालाई डाइट प्लान कति जरुरी ?

काठमाडौं । शिशु जन्मिएदेखि ६ महिनासम्म आमाको दूध मात्रै खुवाइन्छ । शिशुको उमेर ५-६ महिना पुगेपछि दूधसँगै पूरक खाना पनि खुवाउन थालिन्छ ।

६ महिनासम्म बच्चाको पाचन प्रणाली कमजोर हुन्छ भने ६ महिनापछि बिस्तारै पाचन प्रणाली बलियो हुँदै जान्छ । त्यसैले ६ महिनापछि बालबालिकालाई दिइने पूरक खाना सजिलै पच्ने खालको हुुनुपर्छ ।

चना, जौ, गहुँ, मकै, काजु, बदाम आदिको मिश्रण गरेर लिटो बनाएर बच्चालाई खुवाइन्छ । बच्चालाई लिटो र गाईभैंसीको दूध पनि खुवाइन्छ । तर यसरी मिसाएर बनाएको लिटो वा दूध बच्चालाई नपच्ने वा एलर्जी हुने पनि हुन सक्छ । किनकि सबै बच्चाको शरीर, पाचन प्रणाली एकै प्रकारको हुँदैन । कसैलाई त्यो लिटो राम्ररी खान्छन् भने कसैले खाँदैनन् ।

बच्चाले मलाई यो मन परेन त भन्न जान्दैन । अभिभावकहरूले पनि मेरो बच्चाले किन दूध खाएन किन लिटो खाएन ?  किन दूध खाएन भनेर कहिल्यै याद गरेका हुँदैनन् ।

बच्चाले किन खाना खाएन भन्ने चिन्ता त हुन्छ । तर के कारणले खाएन भनेर सोचेका हुँदैनन् । बच्चाले कुनै खानेकुरा खाएन भने उसलाई खानाको एलर्जी भएको हुन सक्छ वा उसलाई ग्यास्ट्रिक भएको हुनसक्छ । बच्चालाई पनि ग्यास्ट्रिक हुन्छ र भन्ने अभिभावकको प्रश्न हुन्छ । ठूलो मान्छेलाई जस्तो लक्षण नदेखिए पनि बच्चालाई पेट ढुस्स हुने र खाना नपच्ने जस्ता समस्या हुन्छन् । त्यसैले पूरक खाना सुरु गर्नुअघि एक पटक चिकित्सक तथा पोषणविद्को सल्लाह लिएको राम्रो हुन्छ । आफ्नो बच्चालाई कुनै खानाको एलर्जी छ कि भनेर बच्चाको ब्लड ग्रुप के छ ? बच्चाको लागि कुनै खाना मन्द विष पो हुन सक्छ कि भनेर पत्ता लगाउन सकिन्छ ।

तीन वर्षभित्र बच्चालाई खाना खुवाउने बानी पारिसक्नुपर्छ

कुनै नयाँ खाना खाँदा त्यसको स्वादमा बानी पर्न जिब्रोको ‘टेस्टबर्ड’लाई एक हप्ता जति समय लाग्छ । त्यस्तै बच्चाले नयाँ खानेकुराको स्वाद लिन्छ भने उसलाई पनि त्यसमा भिज्न समय लाग्छ । तर हाम्रो बानी के हुन्छ भने एउटा खानेकुरा चखायो र बच्चाले मन पराएन भने भोलिपल्ट अर्को खानेकुरा दिने गर्छौं । यसो गर्दा बच्चाले त्यो कुराको टेस्ट राम्ररी लिन पाउँदैन ।

हामीलाई कुनै पनि खानेकुराको बानी पार्न एक हप्ता लाग्छ भने बच्चालाई पनि समय लाग्छ । एउटा खाना उसलाई सात पटकसम्म लगातार दिंदा उसलाई त्यो मन परेन वा उसलाई पचेन भने मात्र त्यो खानेकुरा नदिनु उचित हुन्छ । बच्चालाई खानाको बानी पार्नु जरुरी छ अनि मात्र उसले त्यसको स्वाद बुझ्छ मन पराउँछ र खान खोज्छ ।

तीन वर्षको उमेरभित्रमा बच्चालाई सबै खानेकुरा चखाइसक्नुपर्छ । अनि मात्र उसको खाने बानीको विकास हुन्छ । सबै खानेकुरा यो उमेर चखाउँदा उसलाई केही खानेकुराको एलर्जी छ भने त्यो पनि थाहा हुन्छ ।

अन्य देशमा बच्चालाई परिवारका अन्य सदस्यसँग राखेर आफैं खान दिइन्छ । उसले त्यो खाना आफैं खान्छ, खेल्छ र नखाएको फाल्छ । आमाले के खाएको छ बाबाले के खाएको छ हेर्छ, मेरो भन्दा मीठो पो छ कि भनेर निकालेर खान्छ । आमाले तरकारी खाएको छ भने त्यो निकालेर खान्छ । बुबाले मासु खाएको छ भने मासु झिकेर खान्छ । जसले गर्दा बिस्तारै उसको सबै खानेकुरा खाने बानीको विकास हुँदै जान्छ । ठूलो हुँदै जाँदा उसलाई सबै खाना मीठो लाग्छ र खाना फाल्न हुँदैन भन्ने कुरा पनि सिक्दै जान्छ ‘टेबल म्यानर’ उसले सिक्छ ।

तर हाम्रोमा के चलन छ भने बच्चाले खाना पोखाउँछ फाल्छ भनेर अभिभावकले नै खुवाइदिन्छन् । बच्चालाई जबरजस्ती कोचेर खुवाइन्छ । अहिले प्रायः सबै अभिभावक व्यस्त छन् बिहान अफिस पुग्न हतार हुन्छ । १० बजे अफिस पुग्न ९ बजे निस्किसक्नुपर्‍यो त्यसैले आफू हतारहतार खायो अनि बच्चालाई पनि हतारहतार कोच्चायो । अझै खान मानेन भने मोबाइल दियो अनि झुक्काएर खुवायो । आरामले बसेर खानेकुराको बारेमा बताएर सिकाएर खुवाउने फुर्सद छैन । बच्चाले त्यो खानाको स्वाद पायो कि पाएन उसलाई मीठो लाग्यो कि लागेन भन्ने पनि याद हुँदैन ।

बच्चामा खाने बानी कसरी बसाउने ?

पहिले अभिभावकलाई बच्चाका लागि खाना पुर्‍याउन गाह्रो हुन्थ्यो, अहिले भने भएको खाना बच्चालाई कसरी खुवाउनु भन्ने चिन्ता हुन्छ । मेरो बच्चाले खाँदैन भन्ने गुनासो धेरै सुनिन्छ ।

मेरो बच्चाले खानै खाएन भन्ने अभिभावकको गुनासो हुन्छ । तर बच्चाले किन मन पराएन ? कसरी बनाउँदा मन पराउँछ भन्ने याद हुँदैन । मेरो बच्चाले त उसिनेको अण्डा मात्र खान्छ अम्लेट खाँदैन वा अम्लेट मात्र खान्छ उसिनेको खाँदैन भन्ने गुनासो हुन्छ । त्यसमा गुनासो गर्न पर्दैन, उसलाई जसरी मन पर्छ त्यसरी बनाएर दिंदा हुन्छ ।

बच्चाले तरकारी खाँदैन भने तरकारी राखेर परौठा बनाएर वा चटपटे जस्तो  सलाद बनाएर दिन सकिन्छ । उसमा खाने बानी बसाउन रेसिपी परिवर्तन गरेर दिन सकिन्छ ।

बच्चालाई परिवारका सबै सदस्यसँगै राखेर आफैं खान दिनुपर्छ । पोखाउँछ वा फाल्छ भनेर आफंै खुवाइदिनु हुँदैन । यसो गर्दा पनि उसको सबै खानेकुरा खाने बानी बस्छ ।

एक दिन एउटा खानेकुरा दिंदा उसले त्यो मन पराएन भनेर भोलिपल्ट अर्को खाना नदिने लगातार ७ पटक सम्म त्यो खाना दिंदा उसलाई त्यो खाना मीठो लाग्न सक्छ । सात पटकसम्म खाँदा पनि उसलाई त्यो मन परेन मात्र उसलाई यो खानेकुरा दिनुहँदैन ।

खाना खाने बेलामा अभिभावकहरूको झगडा पर्छ भने पनि बच्चा खाना खान नमान्ने डराउने हुन्छ । यो कुरामा पनि अभिभावले ध्यान दिनुपर्छ । सानो बच्चाले औंला चुसिरहन्छ भने उसले मतिर ध्यान देऊ भनेको हो यो सबै कुरा अभिभावकले ध्यान दिनुपर्छ ।

बच्चाले खाना खाइरहेको बेला उसको अगाडि बसेर आफूले पनि खाने यो खानेकुरा यो नाम यो हो यसले स्वास्थ्यमा यस्तो फाइदा गर्छ भन्दै सिकाउँदै खाना दिनुपर्छ ।

अभिभावकले ७ वर्ष सम्म बच्चाको खानपानमा ध्यान दिनुभयो, उसलाई खाना खाने बानी बसाउन मेहनत गर्नुभयो भने त्यसपछि मेहनत गर्नुपर्दैन उसमा सबै खाना खाने बानी बस्छ ।

उसको बच्चाले एक कचौरा भात खान्छ मेरो बच्चाले खाँदैन भन्ने पनि गुनासो हुन्छ अभिभावकको । तपाईँको बच्चा र उसको बच्चाको उसको पचन प्रणाली फरक होला, स्वाद फरक होला भन्ने सोच्नुपर्छ । बच्चाको खानमा अरुसँग तुलना गर्नु हुँदैन । यसलाई जस्तो खाना मन पर्छ, जति मन पर्छ त्यति दिनुपर्छ ।

(पोषणविद् अनुश्री आचार्यसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डाइट प्लान बच्चा
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्था : आठ भ्रम र सत्य

गर्भावस्था : आठ भ्रम र सत्य

लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने ३ समस्या

लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने ३ समस्या

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

सर्पले टोकेमा के गर्ने, के हो एन्टिभेनम ?

सर्पले टोकेमा के गर्ने, के हो एन्टिभेनम ?

बच्चाले झुटो बोल्नुका ४ कारण

बच्चाले झुटो बोल्नुका ४ कारण

गर्मीयाम किन धेरै लाग्छ झाडापखाला ?

गर्मीयाम किन धेरै लाग्छ झाडापखाला ?