+
+

अखिलको अध्यक्षमा चार जनाको दाबी

नुनुता राई नुनुता राई
२०७९ माघ ६ गते १८:०६

६ माघ, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन नजिकिएसँगै नेतृत्वको दावेदारहरुले गतिविधि बढाएका छन् ।

आगामी २–४ फागुनमा तोकिएको महाधिवेशनबाट संगठनको अध्यक्ष बन्नेगरी वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, अर्का उपाध्यक्ष लोकेश निरौला र महासचिव समिक बडालले तयारी गरिरहेका छन् ।

यी चारै जनाले सर्वसहमत र मतदान हुँदा समेत जित्ने दाबी गरिरहेका छन् । ‘कसले बाजी मार्छ भन्ने प्रष्ट छैन, तर तयारी गरिरहनुभएको देखिन्छ’, उपाध्यक्ष निशा अधिकारी भन्छिन् ।

संगठनको वरिष्ठ उपाध्यक्ष भएकाले आफू स्वभाविक दावेदार भएको लामिछाने बताउँछन् । अनुभव र योग्यताका आधारमा अब आफूले नेतृत्व पाउनुपर्ने उनको तर्क छ । अहिलेका अध्यक्ष सुनिता बराललाई एकपटक नेतृत्व छोडेकाले अब अखिलको नेतृत्व आफूले पाउनुपर्ने लामिछानेले बताउने गरेका छन् ।

तर उनलाई सजिलै नेतृत्व छोड्ने पक्षमा उपाध्यक्षहरू मोती र लोकेश देखिँदैनन् । यी दुवै उपाध्यक्षले अध्यक्ष बन्ने तयारी गरिरहेका छन् । ‘विद्यार्थी आन्दोलन र अखिलमा लागेको समयले पनि अब मैले अध्यक्ष बन्नुपर्छ भन्ने हो, त्यही अनुसार तयारी गरिरहेको छु’, निरौला भन्छन् ।

मोती त कार्यसमिति सदस्यहरुको समर्थनले पनि अध्यक्ष बन्ने आफूसँग बलियो आधार भएको बताउँछन् । ‘धेरै जना साथीहरु उस्तैउस्तै छौं । त्यसमध्ये पनि हामी दुई तीन जना अध्यक्षको बलियो दाबेदार हौं’, उनी भन्छन्, ‘अहिले समितिमा हुनु भएका धेरै साथीहरुले मलाई समर्थन गर्नुभएको छ ।’

महासचिव समिक बडाल पनि महाधिवेशनबाट निर्वाचित अध्यक्ष बन्ने बलियो तयारीमा छन् । ‘अहिले महासचिव भएकाले स्वभाविक रुपले अध्यक्षको दाबेदार हुँ । संगठनमा लागेको हिसाबले त म सर्वसम्मत हुनुपर्ने नेतृत्व हो’, महासचिव बडाल भन्छन्, ‘पदाधिकारी साथीहरुले पनि महाधिवेशनबाट नेतृत्व तपाईं भन्नुभएको छ ।’ सर्वसहमत र मतदान दुवै विधिबाट आफू अध्यक्ष बन्ने विश्वासमा बडाल छन् ।

आरआर क्याम्पसका सभापति रहेका तपेन्द्रजंग शाही, आकांक्षी अहिले धेरै देखिए पनि बलियो प्रतिस्पर्धा आरसी र समिकबीच हुने बताउँछन् । ‘सर्वसम्मत भयो भने को हुन्छ थाह भएन, तर निर्वाचनमा आरसीसँग समिकको प्रतिस्पर्धा हुन्छ’, शाही भन्छन् ।

आरसी, समिक, मोती र लोकेशका पक्षधरले चुनावी लबिङ नै सुरु गरिसकेका छन् । उनीहरुले आफूले समर्थन गरेकै नेताले जित्ने आधार तयार पारिरहेका छन् ।

यसपटक अखिलले पदाधिकारी संख्या घटाएकाले पनि आकांक्षी व्यवस्थापनमा समस्या देखिएको छ । गएको १–२ असोजमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या ३२ बाट १७ मा झार्ने निर्णय गरेको छ । त्यो निर्णयअनुसार, एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, नौ सचिव र एक कोषाध्यक्ष चयन हुनेछ ।

केन्द्रीय कमिटी सदस्य पनि ५३३ बाट १९९ मा झार्ने निर्णय अखिलले गरेको छ । पदाधिकारी र केन्द्रीय सदस्य संख्या घटाउने निर्णयले पनि यो महाधिवेशनमा आकांक्षीहरुको व्यवस्थापन सजिलो देखिँदैन । तर महाधिवेशनले चुस्त र योग्य नेतृत्व तयार पार्ने स्थायी कमिटी सदस्य सजिना थापामगर बताउँछिन् । ‘नेतृत्व चयन गर्नकै निम्ति महाधिवेशन हुने हो । त्यसैले संख्या समस्या हुँदैन’, उनी भन्छन् ।

सात वर्षपछि महाधिवेशन

अखिलका केन्द्रीय सदस्य निता घतानी सात वर्षपछि अखिलले महाधिवेशन गर्न लागेकाले आकर्षण र गतिविधि धेरै देखिएको बताउँछिन् । ‘धेरै समयपछि महाधिवेशन हुने भएकोले धेरैमा उर्जा थपिनुको साथै विभिन्न पदमा आकांक्षा छ । समय समयमा भएको भए सबैको पालो पुगेर नयाँ पुस्ता आइसक्ने स्थिति हुन्थ्यो’, उनी भन्छिन् ।

अखिलको २२औं महाधिवेशन २०७२ को फागुनमा भएको थियो । त्यो महाधिवेशनले अध्यक्षमा नविना लामा र महासचिव ऐन महर निर्वाचित गरेको थियो । लामा २०७४ कै प्रतिनिधिसभा सदस्य चुनावबाट सांसद भइन् । उनलाई एमालेले समानुपातिक कोटाबाट सांसद बनाएको थियो ।

तर २०७५ वैशाखमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो । पार्टी एकतापछि अखिलको संयोजक ऐन महर र सहसंयोजक माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रञ्जित तामाङ भए ।

नेकपाको एकता प्रक्रिया भंग भएर पुनस्र्थापित एमालेको अखिलमा महर अध्यक्ष भए । २०७८ असोजमा अखिलले महरलाई नेतृत्वबाट बिदा गरेर सुनिता बराललाई ल्यायो । २२औं महाधिवेशनबाट बरालले उपाध्यक्ष जितेकी थिइन् ।

बराललाई पनि गत मंसिरको चुनावबाट एमालेले प्रतिनिधिसभा सदस्य चयन गरेको छ । बराल एमालेको केन्द्रीय सदस्य समेत बनेपछि अखिलले २३औं महाधिवेशनको तयारी गरिररहेको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?