+
+

वैशाख १ गते ‘हेभिवेट’ भिडन्त : नाइँ नभन्नु ल ६, प्रसाद २ र जारी आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १७:३४

काठमाडौं । आगामी वैशाख १ गते घरेलु बक्स अफिसमा ‘हेभिवेट’ भिडन्त तय भएको छ । कम्तीमा तीन ठूला ब्राण्डका फिल्मले नयाँवर्ष छेकोलाई प्रदर्शन मितिको रुपमा घोषणा गरिसकेका छन् ।

‘कबड्डी’ सिरिज निर्माताको नयाँ फिल्म ‘जारी’ले औपचारिक रुपमै उक्त मितिमा आउने घोषणा गरेपछि भिडन्त त्रिपक्षीय हुने निश्चित भएको छ ।

यसअघि ‘नाइँ नभन्नु ल ६’ र ‘प्रसाद २’ले पनि नयाँवर्षको पहिलो दिनलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् । उक्त मितिमा झरना थापाको ‘भगवत् गीता’ पनि आउने बताइए पनि छायांकन सुरु भइनसकेकाले रिलिजको सम्भावना न्यून छ । जारी र नाइँ नभन्नु लको छैटौं सिरिजले यसअघि नै वैशाख १ को मिति ‘लक्ड’ गरिसकेका छन् । ‘प्रसाद २’ पछिल्लोपटक थपिएको हो ।

कबड्डी टोलीको नयाँ फिल्म ‘जारी’मा दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिका छ । यो जोडीको पछिल्लो फिल्म कबड्डी ४ ले यसै वर्ष नेपाली बक्स अफिसमा २४ करोड र डायस्पोरामा १० करोड हाराहारीमा कमाइ गरेको थियो । ‘नाइँ नभन्नु ल’ शीर्षकको कारण ब्राण्ड बनेको छ । धेरैको मुखमा झुण्डिएको यो नामले दर्शकलाई पनि हलसम्म तान्न सक्ने अनुमान छ । ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारीको अभिनय छ । यसको अघिल्लो श्रृंखलाले राम्रो कमाइ गरेको थियो ।

आशा गरिएका फिल्म एकैसाथ रिलिज हुँदा बक्स अफिसमा तीनै फिल्मलाई असर पर्ने पक्का छ । शो बाँडफाँटदेखि दर्शकको मनोविज्ञान बाँडफाँटसम्मको जोखिम तीनै फिल्मले व्यहोर्नुपर्नेछ । तर महत्वपूर्ण कुरा यी तीन फिल्मको व्यावसायिक भविष्य दर्शककको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । पछिल्लो समय नयाँवर्ष, दशैं, तिहारजस्ता ठूला पर्व आउन एक वर्ष बाँकी रहँदै निर्माताले रिलिज मिति घोषणा गरिसकेका हुन्छन् । तर रिलिज घोषणा गर्दा आफूहरुसँग परामर्श नगरेको गुनासो चलचित्र संघको छ ।

हुन सक्छ यही कारण हालै क्यूएफएक्सले ठूला फिल्मलाई एकैसाथ रिलिज नगर्ने नीतिगत योजना अघि सारेको थियो । यो योजना कार्यान्वयन हुन्छ या हुँदैन, फागुन १९ गते छक्कापञ्जा ४ र छड्के २ को रिलिजमा निर्भर हुनेछ । तर ठूला फिल्म एकैसाथ जुध्दा यसले फिल्मलाई मात्र होइन, उद्योगलाई प्रभावित गर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?