+
+
सैन्य सत्ताका दुई बर्ष :

बर्मामा सबथोक छ, शान्ति र स्वतन्त्रता छैन

म्यान्मारमा अहिले अशान्ति छ, देशभर गृहयुद्ध छ । सर्वसाधारणले हतियार उठाएका छन् । सेनाले २९४० निर्दोषको ज्यान लिएको छ । करिब १२ लाख बर्मेलीहरू विस्थापित छन् भने ७० हजारभन्दा बढीले देश छाडेका छन् ।

सुधा अत्रि सुधा अत्रि
२०७९ माघ १८ गते १९:४८

मिचिनाकी २३ वर्षीया हिरादेवी गाउँ छोडेर सैन्य सरकार जुन्ताविरूद्ध सशस्त्र संघर्षमा सामेल भएको दुई वर्ष पूरा भयो । जनप्रदर्शनमा होमिँदा उनले भर्खरै उच्च माध्यमिक तहको पढाइ पूरा गरेकी थिइन् ।

नेपाली भाषी हिरादेवीले केआईए गोर्खा बटालियनमा सरिक हुन विश्वविद्यालय भर्ना हुने योजनासमेत थाती राखिन् । अनि उनी केआईएमा जोडिइन् । केआईए गोर्खा बटालियनको नेतृत्व नेपाली भाषी कमान्डरले गर्छन्, जो सधैं नेपाली ढाका टोपीमा सजिएका हुन्छन् ।

केआईए भनेर चिनिने कचिन स्वतन्त्र सेना म्यान्मारको सबैभन्दा ठूलो सशस्त्र विद्रोही समूह हो । सेनाविरूद्धको आन्दोलनको अग्रपंक्तिमा वीर गोर्खाली अर्थात् नेपाली भाषी पनि छन् । उनीहरू पूर्ण प्रजातन्त्र र स्वतन्त्रता चाहन्छन् । केआईएमा झण्डै एक हजारभन्दा बढी नेपाली भाषी विद्रोही सेना छन् ।

एकताका म्यान्मारको दोस्रो नेपाल भनेर चिनिने मिनिचामा जातीय विद्रोहीको ज्यादै प्रभाव छ । ठूलो संख्यामा नेपाली भाषीहरू बसोबास गर्छन् । हिरादेवी पनि त्यहीँ नेपाली गाउँमा हुर्किएकी गोर्खाली हुन् । म्यान्मारमा प्रदर्शनका क्रममा एक दर्जन नेपाली भाषीले पनि ज्यान गुमाएका छन् ।

‘आँखाअघिको अन्याय टुलुटुलु हेर्न सकिनँ । हत्या गरिएका निर्दोष नागरिकको खबर बढेर बस्न सकिनँ । अनि मैले विद्रोह गर्ने सोच बनाएँ’, काँधमा बन्दुक र कम्मरमा पानी बोकेर हिँडिरहेकी हिरादेवीले भनिन् ।

हिरादेवी फेब्रुअरी २०२१ को विरोध प्रदर्शनमा गोली हानिएकी १९ वर्षीय विद्यार्थी म्या त्वे त्वे खाइङको मृत्युपछि केआईए गोर्खा बटालियनमा सहभागी हुन उत्प्रेरित भएको बताउँछिन् । हिरादेवीका आमा–बाबु सुरुसुरुमा छोरीले लडाइँको प्रशिक्षण गर्दा चिन्तित थिए । तर उनीहरूले विस्तारै यो चिन्ता त्यागिदिए ।

फेब्रअरी १ मा म्यान्मार सेनाले नागरिक सत्ता कब्जामा लिएर कू गरेको दिन हो । अहिले पनि म्यान्मारमा सेनाविरूद्धको प्रदर्शन जारी छ । तर सेनाले शान्तिपूर्ण आन्दोलन दबाइरहेको छ । प्रजातन्त्र खोज्दै हिँडिरहेका स्वतन्त्र नागरिकमाथि क्रुर व्यवहार गरिरहेको छ ।

सेनाले सत्ता कब्जा गर्नुअघि नेपाली भाषी हिरादेवीजस्ता युवाहरू प्रजातन्त्रको उपभोग गरेर हुर्किएका थिए । सशस्त्र जातीय विद्रोही समूहले सेनासँग लड्न वर्षाैंदेखि मोर्चा कसिरहेका छन् । म्यान्मारको विभिन्न क्षेत्रमा अनेकौं लडाकू दस्ताहरू बनिरहेका छन् ।

म्यान्मारको युवा शक्ति सैनिक शासन फाल्न सशस्त्र संघर्षमा होमिएको छ । शान्तिपूर्ण आन्दोलनमाथि जुन्ता सरकारको दमनपछि पछिल्लो पुस्ता प्रजातन्त्र पुनःस्थापनाका लागि युद्ध मैदानमा उत्रिएको दुई वर्ष पुग्यो । सैन्य सरकारको विकल्प मानिने राष्ट्रिय एकता सरकारले पीपुल्स डिफेन्स फोर्स (पीडीएफ)को गठनलगत्तै ठाउँ–ठाउँमा सैन्य प्रशिक्षण जारी छ । सैनिक सत्ताविरूद्ध लड्न युवाहरूको ठूलै जमात उत्साहपूर्वक आ–आफ्नो ठाउँमा खडा भएको छ ।

स्वतन्त्रता खोसिएका बर्मेलीहरू ज्यानै जोखिममा राखेर युद्धमा खटिएका छन् । म्यान्मारमा सैन्य कू यता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरू सैनिक हिरासतमा छन् । उनीहरू विरूद्ध जुन्ताले भिन्नभिन्नै झूटा आरोप लगाइएको छ र उनलाई ३३ वर्ष जेल सजाय सुनाएको छ ।

राजनीतिक बन्दीहरूको रिहाइ र नागरिक शासन फिर्ताको माग गर्दै देशभर दिनहुँ विरोध प्रदर्शन जारी नै छ । तर सैनिक सत्ताले पटक्कै सुनेको छैन । जुन्ता आफ्नो सत्ता टिकाउन क्रुर र हिंसात्मक काममा लागेको छ ।

शहर तथा ग्रामीण भेगबाट हजारौं नागरिक लडाईंका लागि सैन्य प्रभावित क्षेत्रमा जान थालेका छन् । सशस्त्र समूहमा भर्ना भएपछि लडाकूहरू दुर्गम क्षेत्रमा सञ्चालित सैन्य प्रशिक्षणमा सहभागी हुन्छन् । तालिम प्राप्तपछि उनीहरू कार्यक्षेत्रमा खटिन्छन् । कतिपय प्रान्तमा वर्षौंदेखि संघर्ष गर्दै आएका सशस्त्र समूह सक्रिय छन् । उनीहरूसँग मिलेर पीडीएफ लडाकूहरु राज्यसत्तामाथि हमला गर्न लागिपरेका छन् ।

चीन, थाइल्यान्ड, लाओस, बंगलादेश र भारतजस्ता विशाल राष्ट्रले घेरिएको एउटा सुन्दर मुलुक ‘बर्मा’ अर्थात् म्यान्मारमा अहिले अशान्ति छ । देशभर गृहयुद्ध छ । सर्वसाधारणले हतियार उठाएका छन् ।

सेनाले २९४० जना सर्वसाधारणको ज्यान लिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार, करिब १२ लाख बर्मेलीहरू विस्थापित छन् । ७० हजारभन्दा बढीले देश छाडेका छन् । विद्यालय र धार्मिकस्थलमा समेत नागरिक–हत्या भइरहेको छ ।
म्यान्मारका कलिला नानीबाबुहरू सुन्दर भविष्य प्रति चिन्तित छन् । के छैन म्यान्मारमा ? सबथोक छ । तर शान्ति र स्वतन्त्रता छैन । उनीहरू दुई वर्षदेखि कहालीलाग्दो कुहिरोभित्र हराइरहेका छन् ।

(सुधा अत्रि नेपाली भाषी बर्मेली पत्रकार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?