+
+

सफल विद्यालय

सफल बन्ने सपना सबै विद्यालयको हुन्छ, तर जुन विद्यालयसँग स्पष्ट अल्पकालीन र दीर्घकालीन दृष्टिकोण छ, पुग्नलाई गन्तव्य छ, यात्रा गर्ने चाहना र अठोट छ, उनीहरू मात्र त्यो सहयात्रामा लागिरहन सक्छन् ।

प्रेम बहादुर विश्वकर्मा प्रेम बहादुर विश्वकर्मा
२०७९ माघ २५ गते ९:३०

सफल वा गुणस्तरीय जीवन जिउनका लागि सही विद्या अर्थात् ज्ञान, सीप, क्षमता, संस्कार र धारणा सिकाउने ठाउँ विद्यालय हो । यदि यसले माथि उल्लेखित आयामहरू सिकाउन सक्यो र त्यहाँबाट दीक्षित विद्यार्थीहरूले सफल र सन्तुष्ट जीवन बाँच्न सकेका छन् भने त्यस्ता विद्यालयलाई सफल विद्यालय भन्न सकिन्छ । यदि त्यसो गर्न सकेन भने विद्यालय सफल सावित हुन सक्दैन ।

एउटा समाज र राष्ट्र सफल हुन त्यहाँका विद्यालय सफल हुनुपर्छ । यो असफल र यथास्थितिका कुरा सिकाउने तर काम नसिकाउने, ज्ञान र सीप फलाक्ने तर त्यसको प्रयोग गर्न नसिकाउने, अध्ययन, अनुसन्धान, अन्वेषण र उत्पादनभन्दा पनि रटान सिकाउने, काम, कर्तव्य र अधिकार एवं मूल्यमान्यता व्यवहारमा प्रयोग गर्नुभन्दा पनि जागिर खान र परम्परा धान्नमात्र सिकाउने भएमा त्यो देश या त यथास्थितिमा रहन्छ या असफल हुन्छ । त्यसैले हरेक विद्यालयहरू सफल हुन आवश्यक छ ।

एउटा विद्यालय सफलताका पछाडि धेरै विषय जोडिएका हुन्छन् । विद्यालय एउटा संगठित संस्था हो । यसको आफ्नै दृष्टिकोण तथा गन्तव्य, कार्यप्रणाली, विधि र निर्देशन गर्ने नीतिनियम हुन्छ । यसकै आधारमा रणनीति, योजना र कार्यक्रम तय गरिएको हुन्छ । उद्देश्य पूरा गर्न बनाइएका योजना र कार्यान्वयन गर्न आवश्यकता अनुसार शिक्षक तथा कर्मचारीको व्यवस्थापन गरिन्छ । काममा स्पष्टता ल्याउन र दोहोरोपन घटाउन आ-आफ्नो कार्यविभाजन र कार्यजिम्मेवारीको बाँडफाँड गरिएको हुन्छ । दैनिक रूपमा सुचारु हुने सिकाइ क्रियाकलाप, प्रशासनिक काम आदि यसैबाट निर्देशित हुन्छन् । समग्रमा यी सबै आवश्यकता र सन्दर्भअनुसार परिमार्जित हुँदै विनाबाधा र अड्चन कार्यसम्पादन हुने विद्यालय सफल विद्यालय हो ।

दृष्टिकोण, गन्तव्य तथा उद्देश्य
हरेक विद्यालय निश्चित नीति, विधि र उद्देश्य लिएर स्थापना भएका हुन्छन् । प्राय: सबै विद्यालयको मूलमन्त्र गुणस्तरीय शिक्षा प्रदान गर्नु हो र यो सफल विद्यालयको सूचक पनि हो । तर हाम्रो समाजमा गुणस्तरीय शिक्षाको मापदण्डको रूपमा तीन/चार घण्टामा लिइने परीक्षाबाट प्राप्त नतिजालाई बुझ्ने बुझाउने गरिएको छ । अर्थात् सरकारले मान्यता दिएको परीक्षामा पहिले बढी अंक र अहिले अक्षरांक वा ए प्लस ल्याउने विद्यालय बढी सफल भनेर चिनिने र चिनाउने चलन छ । यो त केवल सिकाइ उपलब्धि हो अर्थात् सफल विद्यालयको पहिलो खुट्किलो हो । सफल विद्यालय हुनु सहयात्राको समापन होइन बरु यो त अनवरत विद्यालय समूहको सहयात्रा हो ।

एउटा विद्यालय सफल विद्यालय हुनको लागि दूरदृष्टि, गन्तव्य र उद्देश्य स्पष्ट हुन जति जरुरी छ त्यतिकै विद्यालयको नेतृत्व लगायत यसका सरोकारवाला सबैलाई यसबारे जानकारी हुन आवश्यक छ । सरोकारवालाले स्वामित्व लिन सक्नेगरी यसलाई आवश्यकता अनुसार परिमार्जन गर्नु जरुरी हुन्छ । यसले कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा यससँग सरोकार राख्ने समुदाय सबैलाई उद्देश्यप्रति गोलबन्द हुन सहयोग पुर्‍याउँछ । होइन भने एकातिर सफलताको यात्रामा सहयात्री जतिखेर जहाँ पनि छुट्न सक्छ, अर्कोतिर एक्लै यात्रा गर्दा त्यसको उद्देश्य र अर्थ पनि पूरा हुँदैन । यसको अन्त्य जुनसुकै बेला पनि हुनसक्छ अर्थात् यसको बाटो बदलिन सक्छ ।

सफल बन्ने सपना सबै विद्यालयको हुन्छ, तर स्पष्ट अल्पकालीन र दीर्घकालीन दृष्टिकोण, गन्तव्य र दृढ इच्छाशक्ति भएका विद्यालय मात्र त्यो सहयात्रामा लागिरहन सक्छन् ।

नीति, रणनीति, योजना, कार्यक्रमहरू तथा सूचकहरू
सफल विद्यालयको समग्र नीति हुन्छ । नीति उद्देश्यसँग अक्षुण्ण हुन्छ । आवश्यकता अनुसार नीतिनिर्माण पनि गरिन्छ । यो नीतिनिर्माण प्रक्रिया पूर्णतया लोकतान्त्रिक हुन्छ । यसलाई पूरा गर्नका लागि रणनीति र कार्यान्वयनको योजना बनाइन्छ । अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्दा सम्पादनका सूचक पनि निर्माण गरिन्छ । यस्ता प्रक्रियालाई अगाडि बढाउँदा सहभागिता र विविधतालाई गुणस्तरियतासँग जोड्नुपर्छ । विविधतालाई सम्बोधन गर्न समावेशिता, समानता र समताको ख्याल गरिन्छ ।

आवश्यकता र सान्दर्भिकताका आधारमा सबै प्रक्रियामा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी र सरोकारवालाको सक्रिय सहभागिता गराउनुपर्छ । यसले सरोकारवालाको चासो, जिम्मेवारी र जवाफदेहितामा वृद्धि हुन्छ । योजना बनाउँदा कार्यक्रमहरूलाई रणनीतिले प्राथमिकीकरण गर्छ । सूचकहरूको निर्माणले स्व:अनुगमन र मूल्यांकन गर्न सिकाउँछ । यसले कुनै पनि योजना पूर्ण रूपमा बिग्रनुभन्दा पहिले नै सच्याउने र पुनरावलोकन गर्ने अवसर प्रदान गर्छ ।

भौतिक अवस्था, सुविधा तथा वातावरण
वास्तवमा विद्यालय भनेको भौतिक संरचनाको थुप्रो मात्र नभई त्यसमा चलेको भौतिक, मानवीय तथा सिकाइ प्रक्रियाको जीवन्त चक्र हो । विद्यालयमा आवश्यकताअनुसार भवन, इन्टरनेटसहितको श्रव्यदृश्य कक्षाकोठा, सेतोपाटी, हरियोपाटी, बस्ने व्यवस्था, मार्कर लगायत पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, बगैँचा, खेल मैदान, खाजाघर, उपचारकक्ष, मनोसामाजिक परामर्शकक्ष, कार्यक्रम सभाहल, पौडी खेल्ने ठाउँ, शौचालय, खानेपानी, चमेनागृह आदि उपलब्ध हुनु आवश्यक हुन्छ । साधन स्रोत आफैंमा अर्थपूर्ण हुन्छ। अझ बढी महत्वपूर्ण हुन्छ उपलब्ध साधनस्रोतको अधिकतम् प्रयोग, यसलाई सिकाइसँग जोड्ने वातावरण, नीति निर्माण तथा कार्यान्वयनको प्रणाली पनि । यसले कुनै विद्यालय सफल हुने बाटोमा हिँडिरहेको छ कि छैन भन्ने संकेत गर्छ ।

कुनैपनि विद्यालयको भौतिक सुविधा महत्त्वपूर्ण हुन्छ । विद्यालय भवन, खेल मैदान, उद्यान, पुस्तकालय, प्रयोगशाला, खेल सामग्री, शौचालय, उपचार कक्ष आदिले विद्यार्थीको विकास र अनुशासन व्यवस्थापनमा ठूलो अर्थ राख्दछ । सिकाइ प्रक्रियामा भौतिक सुविधाको समुचित प्रयोग थप महत्वपूर्ण विषय हो । यसलाई विद्यालयमा सिकाइको वातावरण भनिन्छ । उपलब्ध संरचनामा सुनिश्चित सिकाइको वातावरण विद्यालयको जीवन हो । जसरी श्वासविनाको शरीर मृत हुन्छ, त्यसरी नै सिकाइ वातावरण विनाको भौतिक संरचनाले विद्यालय मृत हुन्छ । विद्यार्थीले सुरक्षित, प्राकृतिक, शान्त, मनोरम वातावरणमा अधिकाधिक सिक्ने अवसर सिर्जना गरिनुपर्छ । शिक्षकले उपलब्ध सामग्री केका लागि र कसरी प्रयोग गर्छन् र गर्न दिन्छन् भन्ने कुराले सिकाइ वातावरण सिर्जना गर्छ । त्यसले सिकाइमा प्रभाव पार्छ र सिकाइले सिकाइ उपलब्धिमा ।

आर्थिक अवस्था
विद्यालय सफल र सक्षम हुनको लागि विद्यालयको आर्थिक पक्ष पनि बलियो हुन त्यत्तिकै जरुरी छ । विद्यालयको भौतिक सुविधाअन्तर्गत भवन, खेल मैदान, पुस्तकालय लगायत व्यवस्थापन गर्नुको साथै सिकाइ सामग्री, शिक्षक तलबभत्ता, तालिम, वृत्ति विकासको अवसर, अध्ययन तथा अनुसन्धान आदिका लागि आर्थिक समृद्धिले उल्लेखनीय प्रभाव पार्दछ । आवश्यकताअनुसार अध्ययन भ्रमण, अन्तरविद्यालय कार्यक्रम, कार्यशाला, गोष्ठी, सामाजिक उत्तरदायित्व निभाउने अतिरिक्त कार्यक्रमहरू गर्न पनि आर्थिक स्रोतको आवश्यकता पर्छ भूमिका खेल्छ ।

बजेटलाई प्रथामिकीकरण गरी शीर्षकअनुसार व्यवस्थापन गर्न सक्ने नेतृव क्षमताले विद्यालयको प्रगति निर्धारण गर्छ । विद्यालयले अनुसन्धान, अध्ययन र पाठ्यक्रम विकास कम खर्च गरेको देखिन्छ । अरुले बनाएको तयारी पाठ्यक्रम, पाठ्यपुस्तक, विधि, तरिका र उपायहरू पस्कने हैसियतमा बस्ने विद्यालय नवप्रवर्धनमुखी बाटोमा अगाडि बढ्न सक्दैनन् । यसले अधिकांशत: यथास्थितिको बाटो अँगाल्छ ।

शिक्षण विधि र सिकाइ प्रक्रिया
विद्यार्थीलाई ज्ञान थोपर्ने भन्दा खोज्न प्रेरित गर्नुपर्छ । यसलाई विद्यालयले अपनाउने विधि र तरिकाले निर्धारण गर्छ । शिक्षकले त्यसको योजना बनाउँदै लागु गर्छ । आवश्यकताअनुसार यसलाई परिमार्जन, पुनरावलोकन र परिवर्तन गर्नुपर्छ । देश, काल र परिस्थिति अनुरूप र पाठ्यक्रमले निर्धारण गरे अनुसारको विषयवस्तुलाई तोकिएको विधिबाट सिकाइ सहजीकरण गर्नुपर्छ ।

सिकाइ प्रक्रिया लोकतान्त्रिक, न्यायोचित र बालकेन्द्रित भयो भने मात्र यहाँबाट दीक्षित विद्यार्थीहरू योग्य, सीपयुक्त, अन्वेषक, सदाचारी, बफादार र जिम्मेवार नागरिक हुनसक्दछन् । विद्यार्थीलाई कक्षामा सिकाउनुपूर्व उद्देश्य र सामग्री निर्माणमा पनि सहभागी बनाउन सकियो भने उनीहरूले धेरै सीप सिक्न सक्छन् ।

सिकाउने विधिमा विद्यार्थीको तन र मन दुवै तरिकाले सहभागी गर्नुपर्छ । ज्ञान खोज्ने, त्यसलाई व्याख्या विश्लेषण गर्ने, त्यसकै आधारमा सिर्जना गर्ने, सूचकहरूको प्रयोग गर्दै स्वमूल्यांकन गर्ने अवसर दिइयो भने उनीहरूले आवश्यक पर्ने सबैखाले सीप प्राप्त गर्न पाउँछन् ।

विद्यालयले जागिर पाउने सीपलाई मात्र कक्षाकोठाको सिकाइमा समावेश गरेको र बढावा दिएको देख्न सकिन्छ । एक अर्कासँग समूहमा मिलेर काम गर्ने, अरुको विचारको कदर गर्ने, प्रविधिको प्रयोग गर्ने, सहकार्यलाई बढावा दिने, समन्वय गर्ने, परेको बेला सहयोग गर्ने, आफ्ना समस्यालाई पहिचान गरी समयमै समाधान गर्न सक्ने, अप्ठेरो परेको ठाउँमा नेतृत्व लिन सक्ने र आफूले गरेका हरेक कामलाई संसारको प्रणालीसँग दाँजेर हेर्न सक्ने जस्ता सीप सिकाइमा जोड दिन जरुरी छ । यो कुरा कापीमा लेखेको आधारमा मापन गर्न सकिँदैन । यसलाई अवलोकन गरेर मात्र यकिन गर्न सकिन्छ । त्यसैको लागि नै पाठ्यक्रमले आन्तरिक मूल्याङ्कनको व्यवस्था गरेको छ ।

यदि यो सफल भयो भने यसका शिक्षार्थीहरू पनि सफल हुन्छन् । उनीहरूको जीवन सफल र गुणस्तरीय हुन्छ । उनीहरू सुखी र खुसी दुवै हुन्छन् । त्यसपछि मात्र सफल समाज र सफल देशको परिकल्पना गर्न सकिन्छ ।

नेतृत्वशैली तथा प्रशासनिक प्रणाली
शैक्षिक प्रशासनमा नेतृत्वशैली मिश्रित प्रकारको हुन्छ । विद्यालयको उद्देश्य र साझा गन्तव्य निर्धारण लोकतान्त्रिक प्रणालीबाट हुनुपर्छ । निर्णय प्रक्रिया सामूहिक हुनुपर्छ । कार्यान्वयन र सूचना प्रवाहका लागि बहुल नेतृत्व प्रणाली अपनाइएको हुन्छ ।

एउटा प्रधानाध्यापकको नियन्त्रणमा मात्र विद्यालय चलेको हुँदैन, धेरै नेतृत्वबाट यो संचालित हुन्छ । विभिन्न सहायक प्रधानाध्यापक, संयोजक, विभागीय प्रमुख, कक्षा शिक्षक आदिमा अधिकारसहितको नेतृत्व विभाजन गरिएको हुन्छ । आफ्नो काम, कर्तव्य र अधिकारप्रति सबै स्पष्ट, जिम्मेवार र जवाफदेही हुनुपर्छ । सबैलाई समान रूपमा नीतिले परिचालन गरेको हुन्छ ।

सानो सानो एकाइ वा समूहमा विभाजित कर्मचारीहरूको नियमित भेटघाट, छलफल, बैठक हुन्छ । यसले आइपर्ने चुनौतीको सामना गर्ने, समाधानको खोजी गर्ने, भैरहेको कामको अभिलेखीकरण र निर्देशनको सम्प्रेषण गर्ने गर्छ । कामहरू योजनाअनुसार हुन्छन् । सबैकुरा पारदर्शी हुन्छन् । गरिएका हरेक कामको लेखाजोखा र अभिलेख राखिएको हुन्छ । काम गर्ने सबै शिक्षक तथा कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गरिन्छ । यसकै आधारमा पुरस्कार र दण्डको व्यवस्था पनि गरिएको हुन्छ । महत्त्वपूर्ण कुरा यसमा कसैले कसैलाई आरोप र प्रत्यारोपभन्दा पनि गल्तीको जिम्मेवारी लिई सुधार्ने व्यवहार देखाउँछन् ।

शिक्षकको अवस्था र पेशागत विकास
उपलब्ध साधन स्रोत, प्रविधि र विधिको प्रयोग गर्दै सिकाइलाई जीवन्त, उपयोगी, दिगो र उत्प्रेरक बनाउनमा सबैभन्दा ठूलो भूमिका शिक्षक कै हुन्छ । यसमा शिक्षकको ज्ञान, सीप, क्षमताले काम गर्छ नै तर त्योभन्दा पनि उल्लेखनीय कुरा उनीहरूको सिकारुप्रतिको जिम्मेवारीबोध र इच्छाशक्तिले बढी काम गर्छ ।

हामी शिक्षकले विद्यार्थीलाई विद्यालयबाट नै लोकतान्त्रिक प्रणालीमा अभ्यस्त बनायौँ भने उनीहरूले लोकतन्त्र भनेको उत्पादित नतिजा नभई प्रक्रिया हो भन्ने कुरा बुझ्नेछन् । त्यसैगरी नम्रता, शिष्टता, विनयशीलता, संस्कार र शान्तिपूर्ण व्यवहार उनीहरूलाई देखाउन सकियो भने उनीहरू पनि त्यस्तै गरी बोल्न र व्यवहार गर्न सिक्नेछन् ।

शिक्षकले कस्तो भाषाको प्रयोग गर्छन्, कति संस्कारी व्यवहार गर्छन्, आफ्नो पेशा र कामप्रति कति लगाव राख्छन् ? विद्यार्थी र उनीहरूको जीवनप्रति कति जिम्मेवार, जवाफदेही र समर्पित छन् भन्ने विषयले सिकाइलाई दिगो, उपयोगी र उत्पादनशील बनाउन सहयोग गर्छ । समग्रमा उनीहरूको सिको गर्दै विद्यार्थीले नम्रता, शिष्टता, इमान्दारिता, लगनशीलता, सिर्जनशीलता आदि पनि थाहै नपाई सिक्छन् ।

कुनैपनि व्यक्ति वा संगठन सफल हुनु भनेको स्थिर कुरा होइन । हिजोको सफल विद्यालय आज असफल र आजको असफल विद्यालय भोलि सफल पनि हुन सक्छ । त्यसैले यो सफलता गन्तव्य नभई सम्पूर्ण विद्यालय समूहको अनवरत सहयात्रा हो ।

संसार गतिशील छ र हाम्रो जीवन पनि त्यत्तिकै परिवर्तनशील छ । यो परिवर्तन भएको ज्ञान र सीपलाई विद्यार्थीमाझ पुर्‍याउनका लागि शिक्षक अध्यावधिक हुन आवश्यक छ । अध्यावधिक हुँदा भैरहेको ज्ञानलाई थपथाप गर्नुपर्ने हुन्छ भने कतिपय अवस्थामा उच्च शिक्षामा पेशागत तालिम, गोष्ठी, सेमिनार आदिमा पनि सहभागी हुनुपर्ने हुन्छ । यसका साथै आफ्नो पेशामा भएको समस्याहरूको बारेमा अध्ययन, अनुसन्धान, छलफल गर्नुका साथै बैठक र अन्तरक्रिया आयोजना गर्नुपर्ने हुन्छ ।

एक शिक्षकले अर्को शिक्षकको कक्षा अवलोकन गरी सकारात्मक पृष्ठपोषण दिने आदिले पनि सिकाइ प्रक्रियामा सुधार ल्याउँछ । पेशाप्रति अभिप्रेरित र पेशागत शिक्षक सँधैभरि अध्यावधिक भइरहन्छ । विद्यार्थी र आफ्नो पेशालाई हरपल माया गर्छ । आफू त्यो पेशामा हुनुको गौरव गरिरहन्छ ।

विद्यार्थीको अवस्था र सहभागिता
विद्यार्थी उत्सुक, जागरुक, सक्रिय र कर्मशील हुनु जरुरी छ । हरेक शिक्षकले यस्तै गुण भएका विद्यार्थीको अपेक्षा गर्छन् तर सबै स्वभाव र प्रकृतिले खोजेजस्तै नहुन सक्छन् । उनीहरू जन्मजात र परिवारबाट प्राप्त गुण र दोष बोकेर विद्यालय आउने हुन् । कोही खुला हुन्छन् त कोही अन्तर्मुखी । कुनै अत्यन्त सिर्जनशील हुन्छन् भने कुनै ढिलो सिक्ने र बुझ्ने हुन्छन् । कुनै हँसिलो हुन्छन् त कुनै दु:खी, कुनै जे भन्दा वा गर्दा पनि फरक नपर्ने हुन्छन् भने कुनै इखालु । कसैले हेरेर सिक्छन् भने कसैले सुनेर । कसैले आफैं नगरी सिक्दैनन् भने कसैले पढेर सिक्छन् । यस्तै यस्तै आठ प्रकारका सिकारु भनेर गार्डनरले व्याख्या गरेको कुरा हामी शिक्षा क्षेत्रमा काम गर्नेका लागि कुनै नयाँ कुरा होइन ।

सिकारुहरू जुनसुकै गुण बोकेर आए पनि सिकाइ प्रक्रियामा सक्रिय, प्रेरित र लगनशील भई सिक्नुपर्दछ । अन्यथा कोही दिक्क मानेर विद्यालय छोड्नेसम्मको निर्णय गर्न पुग्छन् भने कोही कुलत र दुर्व्यसनीमा फस्ने सम्भावना पनि उत्तिकै हुन्छ । कुनैले आफ्ना नजिकका ठूला मान्छेहरूको अभिलाषालाई आफूले पूरा गर्न सकिँदैन भन्ने डरले जीवनत्याग गर्ने गरेको पनि भेटिन्छ । तर यदि उनीहरूलाई सिकाइ प्रक्रियाको सुरुको योजनादेखि अन्तिम मूल्याङ्कनसम्म सहभागी बनाउन सकियो भने बढी जिम्मेवार, परिवर्तनको नेतृत्वकर्ता, अन्वेषक र उत्सुक हुनुका साथै स्वअनुगमन र स्व:मूल्याङ्कन पनि सिक्छन् ।

विद्यार्थीलाई जिज्ञासु, अध्ययनशील र जिम्मेवार बनाउनका लागि विद्यालयले तदनुरूपकै शान्त, सुन्दर, साधन स्रोत सम्पन्न र प्राकृतिक वातावरण बनाउन आवश्यक छ । यस्तो वातावरणमा सिकारूहरूले सिक्न पाउने अवसर सबैभन्दा ठूलो विषय हो । कक्षाकोठामा सञ्चालन भएका सिकाइ क्रियाकलापमा बोल्ने, सुन्ने, लेख्ने, खोज्ने, साथीसँग मिलेर काम गर्ने, एकअर्कामा समन्वय गर्ने, एकले अर्काको विचारको सम्मान गर्ने, शान्ति र सहिष्णुता कायम गर्ने, शिष्ट व्यवहार गर्ने, परेका समस्या र चुनौतीहरूलाई सामना र समाधान गर्ने, व्याख्या विश्लेषण र रचना गर्ने जस्ता सोचाइ सीपहरू शिक्षकको योजनामा हुनुपर्छ । उनीहरूलाई प्रत्येक क्रियाकलापमा कस्तो र कति भूमिका दिने भन्ने निर्णयले उनीहरूको सहभागिता, समर्पण तथा सिकाइ उपलब्धिमा उल्लेखनीय प्रभाव पार्छ ।

अभिभावकको सहभागिता र सक्रियता
अभिभावक विद्यालयका विद्यार्थीका स्रोत, सचेतक र शुभचिन्तक हुन् । उनीहरू विद्यालयका अभिन्न अङ्ग हुन् । उनीहरू विद्यालयले निकालेको नतिजाको दोस्रो उपभोक्ता पनि हुन् । उनीहरू कहिले पनि विद्यालय बिग्रोस्, नराम्रो होस् भन्ने चाँहदैनन् । विद्यालयमा आउने विद्यार्थी अभिभावककै जीवनशैलीबाट प्रभावित हुने भएकोले उनीहरूकै शारीरिक र मानसिक प्रतिबिम्ब हुन् । विद्यार्थीका बारेमा शिक्षकले गहन ढंगले बुझ्न सक्दा उनीहरूलाई सिकाउनमा सहजता हुन्छ । उनीहरूको बुझाइ, सहभागिता, चासो, ज्ञान आदिले विद्यालयको विकासमा धेरै अर्थ राख्छ । जति धेरै उनीहरूको सहभागिता, सल्लाह, सहयोग विद्यालयलाई प्राप्त हुन्छ त्यति नै विद्यालयले गति लिने कुरामा शङ्का छैन ।

अन्य विद्यालय र समुदायसँगको सम्बन्ध
विद्यालय समुदायमा एक्लै हुँदैन र सँधैभरि आफैले मात्र पनि राम्रो गरिरहन सक्दैन । एकअर्कामा भए गरेका असल अभ्यासको बारेमा लेनदेन गर्नुपर्छ । परिआएका साझा समस्याको पहिचान र समाधानको खोजीका लागि सामूहिक छलफल, विमर्श, अन्तरक्रिया आदिको आयोजना गर्नुपर्छ । मिलेर सामुदायिक उत्तरदायित्वलाई पूरा गर्ने परिपाटी र अभ्यास गर्नुपर्छ । समुदायमा विभिन्न पेशामा काम गर्ने मानिस हुनुका साथै शिक्षण र व्यवस्थापन क्षेत्रमा काम गरी निवृत जीवन बिताइरहेका मानिस हुन्छन् । उनीहरूलाई पनि दीर्घकालीन नीति, लक्ष्य आदि बनाउँदा समावेश गर्न सकियो भने एकातिर उनीहरूले सम्मानित भएको महसुस गर्छन् भने अर्कातिर उनीहरूको विशिष्ट ज्ञानको प्रयोग विद्यालयको विकासमा गर्न सकिन्छ ।

सफल विद्यालयका चुनौतीहरू
कुनै पनि शिक्षालय चुनौतीरहित हुँदैनन् । कसैलाई भौतिक सुविधा, आर्थिक अवस्था, नीति, नेतृत्व र कार्यान्वयनको चुनौती हुन्छन् भने कसैलाई अनुगमन र मूल्याङ्कनको । कतिपयलाई समुदायको पनि चुनौती हुन्छ । असफललाई कसरी सफल बनाउँदै लैजाने जाने भन्ने चुनौती हुन्छन् भने सफल भएकालाई कसरी सफल भइरहने र नयाँ नयाँ कुरा सिक्ने भन्ने चुनौती हुन्छ । सफल वा असफल हुनमा उनीहरूको नीतिगत, रणनैतिक, कार्यक्रम, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन लगायत पक्रिया र नेतृत्वको पनि समस्या हुन सक्छ । यसैगरी कार्यान्वयनमा तदारुकता, जिम्मेवारी बोध र पेशागत समर्पणले असर गर्छ ।

प्रशासनिक प्रणालीले योजना निर्माण, कार्यान्वयन, अनुगमन, पुनरावलोकनदेखि मूल्याङ्कनसम्मको समग्र चरणमा फरक पार्दछ किनकि नीतिकै आधारमा प्रशासन चलेको हुन्छ । यसमा सूचना प्रणालीको विषय पनि उत्तिकै चुनौतीपूर्ण छ ।

समग्रमा एउटा विद्यालय सफल हुनको लागि नीति, विधि, नेतृत्व, रणनैतिक सोच, योजना, नेतृत्व शैली, प्रशासनिक प्रणाली र शिक्षक-कर्मचारीको ज्ञान, सीप, क्षमताले असर गर्छ । पेशा र कार्यस्थलप्रतिको सकारात्मक दृष्टिकोण, तत्परता, नियमितता एवं समर्पण भावले सफल हुने कि नहुने कुराको निर्धारण गर्छ ।

कुनैपनि व्यक्ति वा संगठन सफल हुनु भनेको स्थिर कुरा होइन । हिजोको सफल विद्यालय आज असफल र आजको असफल विद्यालय भोलि सफल पनि हुन सक्छ । त्यसैले यो सफलता गन्तव्य नभई सम्पूर्ण विद्यालय समूहको अनवरत सहयात्रा हो । यसमा विद्यालयलाई संस्थागत बनाउने, सँधैभरि एक अर्काबाट सिक्ने र सिकाउने, विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विद्यार्थीलाई माया, हेरचाह र उनीहरूको जीवनका लागि चाहिने गुणहरू सिकाउनमा जिम्मेवार, जवाफदेही हुनुपर्छ । शिक्षक आफ्नो पेसाप्रति इमान्दार हुने कुराले विद्यालय सफल, असफल वा यथास्थितिमा रहने भन्ने कुराको निर्धारण गर्छ ।

लेखक सैनिक आवासीय महाविद्यालय, मङ्गलगढी सुर्खेतका प्रिन्सिपल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?