+

शिलाजित कसरी खाने, के छन् फाइदा ?

२०७९ माघ  २७ गते १०:०५ २०७९ माघ २७ गते १०:०५
शिलाजित कसरी खाने, के छन् फाइदा ?

विशेषगरी उच्च पहाडी क्षेत्रमा पाइने शिलाजितलाई शक्तिवर्द्धक खनिज पदार्थ मानिन्छ । यसका धेरै फाइदा हुने भएकाले आयुर्वेदले शिलाजितलाई रसायन भनेको छ । साधारणतया धेरैले शिलाजितलाई यौन क्षमता बढाउने औषधि भनेर चिन्छन् ।

शिला अर्थात् चट्टानबाट निस्किएको खनिज भएकाले यसलाई शिलाजित नाम दिइएको बताइन्छ । यसमा डिबेन्जो–ए–पाइरोन्स, प्रोटिनजस्ता ४० खनिज तत्व हुन्छन् ।  सूर्यको प्रत्यक्ष किरण पर्ने भीरपाखा र चट्टानमा शिलाजित पाइन्छ ।

नेपालको  मध्य र पश्चिमी हिमाली जिल्लामा शिलाजित पाइन्छ । त्यसमध्ये पनि जुम्ला र मुगुमा यो धेरै उपलब्ध हुन्छ । सूर्यको तापले पहाडको चट्टानको धातु पग्लिएर शिलाजित बन्छ ।

शिलाजितका फाइदा

शिलाजितले छिटो बुढ्यौली आउन नदिने, रोगप्रतिरोधी क्षमता बढाउने, रगत शुद्धीकरण गर्ने, यौनशक्ति बढाउने कार्य गर्छ । यो पिसाबसम्बन्धी रोग, एनेमिया, अल्जाइमर, मधुमेह, उच्च रक्तचापका बिरामीको लागि रामवाण नै मानिन्छ ।

शिलाजितमा पाइने फुलभिक एसिडले एन्टीअक्सिडेन्ट र इन्फ्लेमेटरीको रूपमा काम गर्छ । जसको नियमित प्रयोगले बुढ्यौली लक्षण जस्तै आँखाको दृष्टि शक्ति, कानको सुन्ने शक्ति बढाउनेदेखि छाला स्वस्थ राख्ने काममा शिलाजितको ठूलो भूमिका हुन्छ ।

खानुअघि शिलाजित शुद्धीकरण आवश्यक

शिलाजित खाने आफ्नै तरिका छन् । यसलाई जथाभावी खानु राम्रो हुँदैन । जम्मा गरिएको कच्चा शिलाजितलाई पहिले शोधन अर्थात् शुद्ध गर्नुपर्छ । यसका लागि गौमूत्रमा १० दिन जति डुबाएर राख्नुपर्छ र त्रिफला चूर्णको काँडामा पकाएर मात्र प्रयोग गर्न सकिन्छ । अर्को तरिका भनेको सूर्यको तापमा शिलाजित सुकाउने हो । पहिले गौमूत्रमा डुबाएर राख्ने र त्यसपछि ठूलो भाँडामा राखेर घाममा सुकाउनुपर्छ ।

घामको तापले गौमूत्रमा घोलिएको शिलाजितमाथि तरजस्तो जम्मा हुँदै जान्छ । त्यसलाई जम्मा गर्दै पुनः अर्को भाँडामा राखेर घाममा सुकाउन सकिन्छ । यसरी पटक–पटक घामको तापमा सुकाइएको शिलाजितलाई सूर्य तापी शिलाजित भनिन्छ । जुन निकै गुणकारी हुन्छ ।

शक्ति प्राप्त गर्न शरीर शुद्धीकरण 

कुनै पनि रसायनकर्म आयुर्वेदिक औषधि प्रयोग गर्नुअघि शरीर शुद्धीकरण गर्नु आवश्यक छ । रसायन औषधिको शरीरको बाह्य शोधन र आन्तरिक शोधन आवश्यक हुन्छ । बाह्यमा शरीरमा बाफले सेकाउने वा घाममा बस्ने, पसिना निकाल्ने, कम्बल ओढ्ने, शरीरमा तेल मालिस गर्ने गर्नुपर्छ । यसले शरीरमा भएको विषाक्त पदार्थ बाहिरिन्छ ।

आन्तरिक शोधनमा  शरीरले पचाउन नसकेको पदार्थलाई हटाउन उपवास गरिन्छ । उपवास गर्न सबैभन्दा पहिला व्यक्तिको उमेर, शारीरिक र मानसिक अवस्था, रोग प्रकृति, कुन समयमा गर्ने, कुन मौसममा भनेर हेरेर चिकित्सकले निर्जल गर्न सकिन्छ वा केही अन्नपानी खाएर गराउने भन्ने कुरा तय हुन्छ । युवा र प्रौढावस्थाका व्यक्तिले निर्जल उपवास गर्न सक्छन् भने वृद्धाहरुले एक छाक जौको पिठो पकाएर अन्न थोरै र पानी धेरै हालेर जाउलो खान सक्छन् ।

शिलाजितको उपलब्धता

बजारमा शोधन गरिएको शिलाजित क्याप्सुल र लेदोको रुपमा पाइन्छ । क्याप्सुल खाएपछि दूध खान सकिन्छ । लेदोको रुपमा छ भने दूधमा घोलेर खान सकिन्छ । शिलाजित शुद्ध भन्दै धेरैठाउँमा प्रशोधन नभएको बेच्ने गरेको पाइन्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्रै पहिचान गरेर सेवन गर्नुपर्छ ।

कुन उमेरकाले कति मात्रा खाने ?

शुद्ध गरिएको शिलाजित दुई ग्राम बिहान र बेलुकी दूधसँग मिसाएर खान सकिन्छ । रोगको प्रकृति हेरेर पनि चिकित्सकको सल्लाहमा शिलाजितको मात्रा घटबढ गराउन सकिन्छ । युवा र वृद्ध उमेरका व्यक्तिले मात्रै शिलाजित खानुपर्छ, बालबालिकाका लागि यो उपयोगी हुँदैन ।

कुनै असर छ कि ?

शिलाजितले शरीरलाई अति दुष्प्रभावी बनाउँदैन । राम्ररी शोधन नगरिएको शिलाजित प्रयोग गरेमा भने केही नकारात्मक असर पुर्‍याउन सक्छ ।

बान्ता हुने, झाडापखाला लाग्नेजस्ता पाचनप्रणलीका समस्या हुन सक्छन् । यसैगरी एलर्जी पनि देखिन सक्छ । गौमूत्रको एलर्जी हुनेले शिलाजित प्रयोग गर्नु हुँदैन । त्यसले स्वास्थ्य समस्या निम्त्याउँछ । शुद्ध शिलाजित मात्राअनुसार खाँदा नकारात्मक असर त्यति गर्दैन ।

तर शक्ति दिन्छ भन्दैमा शिलाजित निरन्तर खानु भने हुँदैन । यसले जटिलता निम्त्याउन सक्छ । पित्तको वृद्धि गराउने हुँदा शिलाजित खाएपछि अत्यधिक गर्मी भएको अवस्थामा तत्काल खान छाड्नुपर्छ । शिलाजितको प्रयोग गर्नुअघि सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ ।

(आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक डा. केशरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख हुन् । उनले भारतको राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेसबाट द्रव्यगुणमा एमडी गरेका छन् ।)

आयुर्वेद शिलाजित
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्था : आठ भ्रम र सत्य

गर्भावस्था : आठ भ्रम र सत्य

लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने ३ समस्या

लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने ३ समस्या

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

सर्पले टोकेमा के गर्ने, के हो एन्टिभेनम ?

सर्पले टोकेमा के गर्ने, के हो एन्टिभेनम ?

बच्चाले झुटो बोल्नुका ४ कारण

बच्चाले झुटो बोल्नुका ४ कारण

गर्मीयाम किन धेरै लाग्छ झाडापखाला ?

गर्मीयाम किन धेरै लाग्छ झाडापखाला ?